काठमाडौँ — साहित्यकार तथा साहित्यपोस्ट अंग्रेजीका सल्लाहकार सम्पादक शरद प्रधानद्वारा रचित निजात्मक निबन्ध ‘जीवन भ्रम हो सिमोन !’ प्रकाशित भएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा उक्त कृतिलाई बजारमा ल्याइएको औपचारिक जानकारी दिइएको हो । भारतीय नेपाली साहित्यलाई पार्श्वमा राखेर उक्त कृति लेखिएको लेखक प्रधानले जनाउनु भएको छ ।
सभापति र प्रमुख अतिथिको औपचारिकता बिना सम्पन्न उक्त कार्यक्रममा रोचक घिमिरे, मनप्रसाद सुब्बा, शरच्चन्द्र वस्ती, प्रा. डा.गोविन्दराज भट्टराई, प्रा. डा. कुमार कोइराला, डा.तुलसी भट्टराई, बद्रीप्रसाद ढकाल, अनिता पन्थी र तैँ तैँ धिताल लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै साहित्यकार गोविन्दराज भट्टराईले छरिएका गतिला लेखहरूलाई कृतिको रूप दिएकै कारण शरद प्रधान दोस्रो पटक कृतिका लेखक हुन पाउनु भएको बताउनु भयो । यसअघि ‘स्मृति बिम्ब’ नामक पुस्तक पनि छरिएर रहेका कृतिहरूबाट जन्मेको स्मरण गर्दै डा. भट्टराईले साहित्यिक कृतिले लेखकलाई स्थापित गरेका उदाहरणहरू दिनुभयो ।
“शरदले एक थामिनसक्नु, विश्ववन्द्य नारीलाई उच्चासनमा राखेर आफ्ना मनका प्रेम, बौद्धिकता, स्वतन्त्रता विषयक मनोभव सुनाएका छन् । त्यसैगरी मन थामिनसक्नु भएका नेपाली स्रष्टाले यी संवादमा सहभागी बन्ने अवसर पाएका छन । शरद एक स्वतन्त्रताप्रेमी बौद्धिक हुन् । यी निबन्धहरू शरदकै सिर्जनात्मक आत्मकथालाई थोरै उघार्दै छोप्तै खुला स्रोतहरू (तत्कालीन) छन्, महान गीतकार स्रष्टा चिन्तकका प्रतिध्वनिहरू बतासमा उडेर आउँछन, मनमा ठोक्किन्छन् । तिनैलाई पक्रेर संकलन गरेर आफ्नो स्वर दिएका छन् । उनका प्रत्येक रचना अतीतमोह (नोस्टाल्जिया) को वरिपरि रहेछन् । मनले केके थोक खोज्छ तर जीवनले अर्कै बाटो कताकता लान्छ सिमोनलाई सुनाउँदा पो अलिकति उपाशमन मिल्छ कि । प्रत्येक कवि हृदयमा वियोगका प्रतिध्वनिहरु बसिरहेका हुन्छन्, चाहना, बञ्चना, कामना, वासना तिनकै बजार रहेछ यो जीवनको युद्ध ।” भट्टराईको कथन थियो ।
पुस्तकमाथि बोल्दै वरिष्ठ साहित्यिक पत्रकार घिमिरेले भन्नुभयो, “शरद प्रधान नेपाल र भारतबीचको साहित्यिक सेतुका रूपमा निरन्तर सक्रिय रहँदै आउनुभएको छ । उहाँको लेखनले दुई देशका साहित्यिक सम्बन्धलाई सशक्त रूपमा जोड्ने काम गरेको छ ।”
पुस्तकका प्रकाशक ढकालले नवपुस्तालाई भारतीय नेपाली साहित्यप्रति रुचि जगाउने यस पुस्तक फरकफरक विषयवस्तुलाई आधार बनाएर सूक्ष्म तरिकाले खोजअनुसन्धान गरी लेखिएको पाइन्छ भन्ने विचार राख्नुभयो ।
किताब तयारीको समयबारे प्रकाश पार्दै लेखक प्रधानले भन्नुभयो, “यो कृति तयार पार्ने क्रममा मैले लामो समय अध्ययन, अनुसन्धान र अनुभूतिको संयोजन गरेको छु । यसले भारत र नेपालको साहित्यिक परिवेशलाई नजिकबाट नियाल्ने प्रयास गरेको छ ।”
दार्जीलिङबाट नेपाल आइपुग्नु भएका साहित्यकार सुब्बाले भारतीय नेपाली साहित्यको चर्चा गर्दै भन्नुभयो, “सिमोन सम्बोधित अलिक बेग्लै शैलीका यी लेखहरूले कहिले गीत र गीतकारका दशा-दिशा-दृष्टिबारे सुनिरहूँ जस्तो कुरा गर्छन्, कहिले कवि-कविता-पाठकका समयान्तरमा बदलिँदा मूल्याङ्कनलाई हेरिरहूँलाग्दो बिस्कुन फैल्याएर देखाउँछन् । कहिले आलोचकझैँ बोल्छन्, कहिले दार्शनिकलेझैँ जीवनका गम्भीर कुरा गर्छन् । तर जे भन्छन्, कान थापेर सुन्न मन लाग्ने पाराले भन्छन् । विश्व साहित्यको प्रसङ्ग अघि सार्दै हाम्रो साहित्य र साहित्यकारमा रहेका खटकिँदा कुराहरू पनि देखाउन सङ्कोच मान्दैनन् । उताकाहरू कति खुलेर लेख्छन्, हाम्राहरू कति लुकाएर लेख्छन्, भनिदिन्छन् शरद प्रधान । अनि जे भन्छन् घतमा जाने गरी भन्छन् । हो, यहींनेर छ उनको लेखनीको सौन्दर्य ।”
भाषाविद् वस्तीले पुस्तकमा समेटिएका केही लेख साहित्यपोस्टमा पढे पनि समग्र पुस्तकले साहित्यिक ओज बढाएको बताउनु भयो ।
कथाकार अनिता पन्थीले पुस्तकमा नयाँ प्रयोग भएकाले पाठकलाई रुचिकर हुने दाबी गर्नुभयो ।
साहित्यपोस्टकी बर्मा संयोजक धितालले पुस्तकका धेरै जसो लेखहरू पहिले साहित्यपोस्टमा छापिएका र त्यसको पहिलो पाठक हुन पाएकोमा गौरव अनुभव गर्नुभयो ।
धितालले भन्नुभयो, ‘आज साहित्यपोस्टकै कारण यो पुस्तक जन्मेको भन्न पाउँदा मलाई मात्र होइन, सम्पूर्ण साहित्यपोस्ट टिमलाई खुशी मिलेको छ ।’
कृतिलाई अनुसन्धान विमर्श नेपाल, काठमाडौंले प्रकाशन गरेको हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










