‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरूलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उद्देश्य हो । आगामी दिनमा पाठक तथा स्रष्टाहरूको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ । हाम्रो उद्देश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरूलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौँ – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटुन् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरू सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरू साहित्यपोस्टको कार्यालयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसै क्रममा ‘साताका पुस्तक’मा यो साता ६ पुस्तक ।

० ० ० ०

१. हाम्रो पत्रकारिताको हाते पुस्तक — बद्रीप्रसाद ढकाल 

अनुसन्धानात्मक विज्ञ बद्रीप्रसाद ढकालकृत पुस्तक हो – “हाम्रो पत्रकारिताको हाते पुस्तक” । प्रस्तुत पुस्तक ‘सञ्चार र आमसञ्चार’देखि लिएर ‘पत्रकारिता र सामाजिक उत्तरदायित्व’लगायत आठ अध्यायहरूमा विभाजित छ । पत्रकारिताको सिद्धान्तलाई आधार बनाएर पत्रकारिताका विभिन्न पक्षको सटिक विश्लेषण गरिएको यो पुस्तक खोजमूलक ढाँचामा संरचित छ । पुस्तकले समाचार लेखनको ढाँचाको समेत राम्ररी चित्रण गरेको छ ।

भूमिकामा नवराज रिजाल लेख्छन्, “प्रस्तुत विषयक पुस्तकभित्र आमसञ्चार र पत्रकारिता, समाचारका मूलभूत सिद्धान्त, परिचय, परिभाषा, तत्त्व र प्रकार जस्ता विषयलाई अत्यन्तै सरल र सहज भावमा प्रस्तुत गरिएको छ । सम्पादन कार्यको गहन विषयलाई उठान गरेर व्याख्या र विश्लेषण समेत गरिएको छ । पत्रकारिता के हो त ? जान्न खोजिरहेका, भर्खरै प्रवेश गरेका र पत्रकारितालाई पेसा बनाइरहेकाहरूका लागि यो पुस्तक अत्यन्तै महत्त्वपूर्ण छ । यसको अलावा ‘पत्रकारिताको हाते पुस्तक’विषय अध्ययन अध्यापन गराउनेहरूका लागि त झन् यो पुस्तक अझ धेरै सहयोगी हुनेछ ।”

भुँडीपुराण प्रकाशनबाट बजारमा ल्याइएको १ सय १० पृष्ठमा आबद्ध यस पुस्तकको मूल्य २ सय २० रुपियाँ रहेको छ ।

० ० ० ०

२. पृथक् बाटो — युवराज मैनाली 

साहित्यकार युवराज मैनालीकृत बृहत् आयामको लघुकथा सङ्ग्रह हो — “पृथक् बाटो” । यसमा ‘अनिष्ट’, ‘गन्तव्य’, ‘छ-छ, छैन’, ‘जलन’, ‘पद’, ‘फल’, ‘मोह’, ‘व्यापार-अपार’, ‘हो र त्यो आउँदै छ ?’लगायत २ सय ३३ वटा लघुकथा सङ्ग्रहित छन् । सरल भाषाशैलीबाट अनेकानेक, फरक-फरक विषयवस्तुको कथात्मक प्रस्तुति पाइन्छ । वर्तमान नेपालको वास्तविक चित्रण गरिएको छ । कतिपय लघुकथामा स्वैरकल्पनाको पनि प्रयोग गरिएको छ ।

“युवराज मैनालीको यस सङ्ग्रहमा सङ्कलित लघुकथाको उल्लेख्य पक्ष प्रयोगशीलता हो । यो कथ्य र शिल्प दुवै क्षेत्रमा पाइन्छ । यिनका कतिपय  लघुकथामा कविता, निबन्ध र नाटकको सम्मिश्रण भेटिन्छ भने कतिपय कथामा परम्परालाई भत्काइएको भेटिन्छ । यही प्रयोगशीलताका कारण यिनका कतिपय लघुकथा सामान्य पाठकका लागि अलि क्लिष्ट र दुर्बोध पनि हुन पुगेका छन् ।” प्रा. डा. खगेन्द्रप्रसाद लुइँटेल लेख्छन्, “यिनका लघुकथाबाट विरेचन प्राप्त गर्न मन र मस्तिष्क दुवैको सन्तुलित प्रयोग गरिनुपर्छ । यसमा कुनै तत्काल करेन्ट लाग्ने खालका छन् भने कुनै निकै पछि मात्र सुस्तरी करेन्ट लाग्ने खालका छन् । समग्रतः यस सङ्ग्रहमा सङ्कलित लघुकथालाई हेर्दा अनेकौँ लघुकथाको कथ्य र शिल्प दुवै प्रचलित परम्पराभन्दा पृथक् र नवीन बाटोतर्फ उन्मुख भएकाले यसको मूल शीर्षक पृथक् बाटो सान्दर्भिक एवं सामञ्जस्यमूलक छ । यी सबै सन्दर्भबाट हेर्दा मैनालीको लघुकथाकारिता उल्लेख्य रहेको छ ।”

यस पुस्तकलाई तन्नेरी प्रकाशनले बजारमा ल्याएको हो ।

० ० ० ०

३. पोलेको मकै — श्रीराम राई 

विविध विधामा कलम चलाउने युवा स्रष्टा श्रीराम राईको बालकथा सङ्ग्रह हो — “पोलेको मकै” । यसमा ‘मुनाको अभिमान’, ‘बुबाको एसएमएस’लगायत अन्य ५ वटा कथाहरू सङ्ग्रहित छन् ।

सरल र सहस भाषाशैलीको प्रयोगबाट कथाहरू सन्देशमूलक तथा रोचक छन् । पात्रहरू जति सकारात्मक छन् त्यति नौला र उत्साही पनि छन् । उपयोगी भए जस्तै पठनीय छन् ।

पुस्तकको कभर पृष्ठमा लेखिएको छ, “विद्यालय तहका सबै बालबालिकाका लागि उपयोगी बालमनोविज्ञानमा आधारित कथाहरू रमाइला र शिक्षामूलक छन् ।”

३३ पृष्ठमा फैलिएको गङ्गा कर्माचार्य पौडेलद्वारा प्रकाशित पुस्तकको मूल्य ९९ रुपियाँ रहेको छ ।

० ० ० ० 

४. नि हाउ ! नमस्ते ! — लक्ष्मी लम्साल ‘लक्ष्मीपूजा’ 

पत्रकार लक्ष्मी लम्साल ‘लक्ष्मीपूजा’को गैरआख्यान पुस्तक हो — “नि हाउ ! नमस्ते !” ।

२ सय ६२ पृष्ठमा बुनिएको यस पुस्तकमा ‘भाषा संस्कृति’, ‘चिनियाँ वसन्त पर्व र नेपाली दशैँ’, ‘गरिबी निवारणका चिनियाँ सूत्रहरू’, ‘तितो चियाको मिठो कथा’लगायत १५ थान नियात्रा सङ्ग्रहित छन् ।

मेरो भनाइमा लेखक लेख्छन्, “चीन कसरी फेरिँदै गयो, के कसरी यहाँ समृद्धिको ढोका खुल्यो, कसरी मानिसहरू आधुनिक हुँदै गए इत्यादि कुराहरू पस्किएबाट हामीले एउटा छिमेकीसँगको केही जानकारी र अवधारणा बनाउन सकौँला कि भन्ने मनसाय राखिएको छ ।”

पुस्तकको पछिल्लो पृष्ठमा लेखिएको छ, “सी श् का ठुलठुला खुट्टा थिए, साहसी सुन्दरी वाङ्गका पाखुरा बराबर थिएनन्, एउटा अग्लो अर्को होचो, त्याओको आँसुमा समस्या थियो, एउटा ठुलो अर्को सानो र याङ्गलाई थाङ्ग राजवंश कालमा दरबारकी सबैभन्दा सुन्दरी मानिन्थ्यो तर उनको शरीरबाट दुर्गन्ध फैलिन्थ्यो । त्यसपछिको समाजले साना खुट्टा हुनु चिनियाँ महिलाको सुन्दरताको मानक मान्यो जसका लागि काठका जुत्ता बनाएर सानैदेखि जडान गरिदिने चलन थियो, खुट्टा बढ्न नपाएर सानै रहन्थे जसलाई सुन्दरताको रूपमा लिइन्थ्यो तर अहिले त प्लास्टिक सर्जरीको व्यवसाय फस्टाएको छ ।

अहिले मोडिएका परेला, बाक्लो नितम्ब, ठुला स्तन, ठुला आँखा, भँगेराको जस्तो आवाज, मिठो बोली, ज्ञानी, प्रवीण, चन्द्रमाजस्तो उज्ज्वलता, असल प्रवृत्ति भएकी युवतीलाई सुन्दरताको कसीमा राख्ने गरिन्छ । हिन्दु समाजमा बत्तीस गुणले युक्त युवतीलाई सुन्दरताकी प्रतीक मानिन्छ । यस विषयमा चाइना डेली ब्लगमा व्यापक टिप्पणी पनि चलेको थियो । तब हिन्दु युवतीका सुन्दरताका प्रतीक मानिने कुराहरूलाई धेरै महादेशबाट आएका प्रयोगकर्ताहरूले हावामा उडाइदिए ।”

पुस्तकलाई बुलबुल पब्लिकेसनले बजारमा ल्याएको र यसको मूल्य ३ सय रुपियाँ रहेको छ ।

० ० ० ०

५. सम्झनाका फूलहरू — तारादेवी सुनुवार 

कवि तारादेवी सुनुवारको पाँचौँ कृति हो — “सम्झनाका फूलहरू” । १ सय १० पृष्ठमा मौलाएको यस पुस्तकमा १ सय वटा गजल सङ्ग्रहित छन् । प्रेम, कौतुहलता, पीडा आदि विषयलाई कलात्मक ढङ्गले पस्किएका गजलहरू सरल भएरै सुन्दर छन् ।

“तारा बहिनीको गजल लेखन प्रथम प्रयास यस सङ्ग्रहमा समेटिएका गजलहरू सरसरती हेर्दा केही गजलमा प्रर्णअनुप्रास (काफिया)को प्रयोग देखिन्छ भने अधिकांश गजलका सेरहरू प्रायः एकाक्षरी वा शब्दांश अन्त्यानुप्रास(काफिया)को प्रयोग भएको देखिन्छ । केही गजलहरूमा सहायक अन्त्यानुप्रास(हमकाफिया)को समेत प्रयोग भएको पाइन्छ ।” भूमिकामा अतीत मुखिया लेख्छन्, “यहाँ ‘चुँडेर’ र ‘लुछेर’ शब्दको ‘एर’ शब्दांश अनुप्रासमा ‘किन टुक्रायौ मेरो यौवनलाई’ सहायक अन्त्यानुप्रास (हमकाफिया)ले गजल सजाइएको देखिन्छ । यसरी नै मन लागेको छ, नाम थियो, घायल छु, दिन हजुरलाई जस्ता हमकाफिया भएका गजलहरू देखिन्छन् । तर केही गजलहरूमा भने मूल अनुप्रासको गडबडी पनि भएको पाइन्छ ।…अतः बहिनीले गजल विधामा साहित्यिक यात्रा प्रारम्भ गर्नु भएको शुभ साइतले स्वच्छ, सुन्दर र चुलिन्दा गन्तव्य पाओस् ।”

इन्द्रमणि अधिकारीद्वारा प्रकाशित पुस्तकको मूल्य १ सय ३५ रुपियाँ रहेको छ ।

० ० ० ०

६. रमेश विकल: समालोचनात्मक अन्वेषण — गोपी मैनाली

सुरभि साहित्य प्रतिष्ठानबाट प्रकाशन गरिएको “रमेश विकल : समालोचनात्मक अन्वेषण” साहित्यकार गोपी मैनालीको समालोचनात्मक कृति हो । यसमा नेपाली साहित्यका शीर्ष साधक रमेश विकलका कृतित्व र व्यक्तिका सबै आयाममा समालोचना गरिएको छ ।

२ सय १४ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘जीवनी र व्यक्तित्व’, ‘निबन्धकार रमेश विकल ’, ‘रमेश विकलका पात्रहरू ’, ‘रमेश विकलका विचार, दर्शन र दृष्टिकोण ’आदि १७ थान शीर्षकहरू समावेश छन् ।

‘नेपाली साहित्यमा रमेश विकलको स्थान निर्धारण’मा लेखिएको छ, “रमेश विकल नेपाली साहित्यका कथा, उपन्यास, बालसाहित्य, नाटक, निबन्ध र संस्मरण विधामा सिर्जना गर्ने बहुमुखी प्रतिभा हुन् । उनका सिर्जना शाश्वत र जीवन्त छन् । टि.एस.इलियटले भने झैँ । स्रष्टाको मन अनगिन्ती संवेदनाहरू, वाक्यांशहरू, विम्बहरू ग्रहण एवम् एकत्र गर्ने एउटा पात्र हो । जो तबसम्म त्यहाँ रहन्छ जबसम्म ती सबै कण, जसको संयोजनले कुनै नयाँ यौगिक पदार्थ बन्न सक्तछ, एकत्रित हुँदैन’ (साहित्यमा इलियट र उनको सिद्धान्त, मौलो, पृ. ३९) । विकल त्यस्ता स्रष्टा हुन्, जसले सामाजिक संवेदनाहरू, अनुभूतिहरू, भावना र विम्बमा संयोजन गर्ने अदम्य सामर्थ्य छ, यथार्थ घटनालाई भावना र शिल्पमा सजाउने क्षमता छ र लेखकीय समय/सन्दर्भलाई वर्तमानमा निरूपण गरी भविष्यको आकृति चित्र बनाउने प्रतिभा छ । त्यसैले उनका सिर्जनाले समय सन्दर्भको जीवनलाई उठाएर भविष्यको मार्ग चेत दिएका छन् ्।”

मनका केही कुरामा गोपी मैनाली लेख्छन्, “ समालोचना विधाप्रति मेरा आफ्नै बुझाइ र दृष्टिकोण छ । यो अन्वेषण, अनुसन्धान, विवेचना, मूल्याङ्कनकाे सङ्गतिपूर्ण कार्य भएकोले जटिल छ । यो महिमाभन्दा माथि, मतभन्दा माथि सत्मार्गको पहिल्याइ हो ।”