बुढानीलकण्ठ नगरपालिकाले १५ लाख रुपैयाँ खर्चेर वृहत् साहित्यिक सांस्कृतिक महोत्सव गर्ने भएको छ । फागुन ११ र १२ गते हुने उक्त महोत्सवमा १५ सेसन हुनेछन् । स्थानीय निकाय आफैँले सबै कार्यक्रमको नेतृत्व गर्ने बुढानीलकण्ठ नगरपालिकाकी उपमेयर एवं कवि अनिता लामाले पत्रकार सम्मेलनमा जानकारी गराएकी हुन् ।

दुई दिने उक्त कार्यक्रम फरक फरक स्थानमा हुने जनाइएको छ । जसअनुसार पहिलो दिन ११ गते शुक्रवार चुनिखेलमा सांस्कृतिक झाँकीसहितको कार्यक्रम हुनेछ भने शनिवार प्रसिद्ध बुढानीलकण्ठ मन्दिर परिसरमा हुनेछ । महोत्सवमा नगरपालिकाभित्र बस्नुहुने राष्ट्रिय कलाकार, कवि, संस्कृतिविद्, विभिन्न विद्यालयका विद्यार्थीहरू, विभिन्न नगरपालिकाका प्रमुखहरूका बीच सामाजिक, राजनीतिक, उद्योग, व्यवसाय, खेलकुद, स्वास्थ्य, पर्यटन, नाटक तथा रंगमञ्च लगायत सम्पूर्ण विधा तथा क्षेत्रहरूका विशिष्ट व्यक्तिलाई समेटिने जनाइएको छ ।

महोत्सवमा छिमेकी ३ वटा नगरपालिकाका प्रमुखहरूसँग सहकार्यका लागि छलफल हुने बताइएको छ । छिमेकी नगरपालिकाका मेयरहरू बुढानीलकण्ठ नगरपालिका नगर प्रमुख मिठाराम अधिकारी, टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी र गोकर्णेश्वर नगरपालिका नगरप्रमुख दिपक कुमार रिसाल बीच चौतारी शीर्षकमा विशेष कुराकानी हुनेछ । साथै उद्घाटन सत्रमा ७० जना जनप्रतिनिधिहरूले सांस्कृतिक रूपान्तरणका लागि विभिन्न पोशाक एवं भेषभुषामा सजिएर कार्यक्रमको उद्घाटन गर्ने तयारी छ ।

कार्यक्रममा झमक घिमिरे, हरिवंश आचार्य, बुद्धि तामाङ लगायतका कलाकारहरू वक्ताको रूपमा रहने जनाइएको छ  । असल प्रयत्नहरूको सन्दर्भमा हुने बहसमा डा. भगवान् कोइराला, प्रा.डा. मधु दीक्षित र डा. शंकरमान राई सहभागी हुनेछन् । महोत्सवमा नगरपालिकामा भएका खैँजडी भजनदेखि, डम्फु, टुमुना, बाँसुरी लगायतका परम्परागत रूपमा सांस्कृतिक झल्काउने गरी प्रचार प्रसार गरिने बताइएको छ । महोत्सवमा सहभागी हुन चाहनेहरूका लागि भृकुटीमण्डपमा बसको पनि व्यवस्था गरिने जानकारी दिइएको छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ कवि एवं व्यवस्थापनविज्ञ चिन्तक स्नेह सायमि, गजल अभियन्ता बाबु त्रिपाठी एवं युवा पुस्ताका कवि प्रज्वल अधिकारीले कार्यक्रमको काखा, यसको उद्देश्य र यसले पार्ने प्रभावबारे बताउनु भएको थियो ।