पारिजात स्मृति केन्द्रको आयोजनामा ५ दिने महिला पुस्तक प्रदर्शनी सम्पन्न भएको छ ।
उक्त प्रदर्शनीमा १ सय भन्दा बढी महिला साहित्यकारहरूको पुस्तकहरू बिक्री वितरण राखिएको थियो ।
फिनिक्स बुक्सका संयोजक गणेश सुबेदीले महिला साहित्यकारहरूको पुस्तक प्रचारप्रसार गर्ने उद्देश्यले प्रदर्शनी गरिएको बताउनु भयो ।
प्रदर्शनीको अवलोकन गरिरहेकी लेखिका अचर्ना थापा प्रदर्शनीमा नगण्य पाठक उपस्थिति देखेर दुखी भइरहेकी थिइन् । साहित्यपोस्टको संवादमा उनले भनिन्, “महिला पुस्तक प्रदर्शनी भएको कारणले पुरुषपाठकको उपस्थिति शून्य जस्तै देखिएको छ । महिलाको साहित्य प्रदर्शनी महिलाका लागि मात्र हो भन्ने मानसिकता भएर हो या प्रचारप्रसार नपुगेको कारणले हो । नगण्य पाठकको उपस्थितिले मलाई चिन्ता लागेको छ ।”
पारिजात स्मृति केन्द्रको पहल र फिनिक्स बुक्सको संयोजनमा भएको उक्त प्रदर्शनी ५ सय बढी साहित्यप्रेमीहरूले अवलोकन गरेको बताइएको छ ।
पहिलो दिनको प्रदर्शनीमा ‘मैले चिनेको पारिजात’ अन्तरसम्बादको ऋङ्खला- १ मा डा. राजेन्द्रप्रसाद अधिकारी र शान्ती कुमारी राई ऋङ्खला-२ मा रघुजी पन्त र इन्दिरादलीले पारिजातसँग सम्झना र पारिजातको नेपाली साहित्यमा पुऱ्याएको योगदानको विविध कोणबाट चर्चा र विश्लेषण गरे । पहिलो दिनको दुवै चरणको कार्यक्रमको संचालन विन्दु शर्माले गरेकी थिइन् ।
कार्यक्रमको दोस्रो दिनको पहिलो चरणमा ‘मैले चिनेको पारिजात’ अन्तरसम्बादको ऋङ्खला-१ मा पम्फा भुषाल र आहुतिले पारिजातको जीवन, राजनीति, सिर्जना र संघर्षका विविध आयाम बारे धारणा राखे ।
कार्यक्रमको दोस्रो दिनको दोश्रो चरणमा ‘महिला लेखन कठिनाइ र सम्भावना’ का बारेमा छलफल भएको थियो । छलफलमा सुलोचना मानन्धर, धनकुमारी सुनार र कैलाश राईले भाग लिएका थिए ।
कार्यक्रमको तेस्रो दिनको पहिलो चरणमा ‘लेखक, प्रकाशक र बजार’ विषयमा छलफल भएको थियो । उक्त छलफलमा दीपक सापकोटा सहित अर्चना थापा, गणेश सुवेदी र राजेश्वरी सुवेदी सहभागी भएका थिए ।
कार्यक्रमको तेस्रो दिन दोस्रो चरणमा ‘पारिजात मिथक र यथार्थ’ विषयमा अमृता शर्मा सहित डा. महेश मास्के सहभागी भएका थिए ।
कार्यक्रममा खगेन्द्र संग्रौला, विष्णुदेवी श्रेष्ठ, राजकुमार केसी, गीता त्रिपाठी, सरिता शाह, सिर्जना अधिकारी, अशोक थापा र लक्ष्मी रुम्बाहरूले पनि पारिजातका विषयमा आ–आफ्ना धारणा प्रस्तुत गरेका थिए ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।