काठमाडौं । छहरा साहित्य समाज, धापासीको आयोजनामा लघुकथाकार योगेन्द्र तिमिल्सिना को लघुकथासङ्ग्रह ‘बोकेदाह्री’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । ह्वाइट माउन्टेन स्कुलको सभाकक्षमा आयोजित उक्त कार्यक्रम अनौपचारिक ढंगमा सञ्चालन गरिएको थियो ।
कार्यक्रमको सहजीकरण समाजका उपाध्यक्ष तोया गौतम ले गर्नुभएको थियो । कार्यक्रममा सहभागी वक्ताहरूले सङ्ग्रहभित्रका आफूलाई मनपरेका लघुकथाहरूको चर्चा गर्दै कृतिको साहित्यिक पक्षबारे आफ्ना धारणा राख्नुभएकाे थियाे ।
प्रा. नारायण प्रसाद कट्टेल ले लघुकथासङ्ग्रहका विशेषताबारे प्रकाश पार्दै केही लघुकथाहरूको संरचना र भावबोधको विश्लेषण गर्नुभयो । त्यसैगरी तिलक शर्मा पौडेल, भोला प्रेमी, मीता तिमिल्सिना, भगवती सापकोटा, सारा तिमिल्सिना, आनन्द पौड्याल, ज्ञानेन्द्र प्रसाद दाहाल, रमा शर्मा, रघुनाथ आचार्य र जगन्नाथ देवकोटा लगायतले आ–आफ्नो रुचिका कथाहरूबारे चर्चा गर्नुभएको थियो ।
डा. वासुदेव काफ्ले ले लघुकथाकारको लेखकीय परिचय प्रस्तुत गर्दै सङ्ग्रहका केही कथाहरूको समीक्षा गर्नुभयो । उहाँले विशेषतः ‘सम्बन्ध’ शीर्षकको लघुकथा आफूलाई अत्यन्त मन परेको उल्लेख गर्नुभयो । प्रा. गङ्गाधर कट्टेल ले कृतिमा समावेश लघुकथाहरूको समालोचनात्मक विश्लेषण प्रस्तुत गर्दै यसको साहित्यिक महत्व औंल्याउनुभयो ।
कार्यक्रमको अन्त्यमा लेखक योगेन्द्र तिमिल्सिना ले ‘मान्छे’ शीर्षकको लघुकथा वाचन गर्दै सहभागीहरूको जिज्ञासाको उत्तर दिनुभएको थियो । अन्त्यमा समाजका अध्यक्ष तिमिल्सिनाले सहभागी सम्पूर्ण साहित्यकारहरूलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३० जेष्ठ २०८३, शनिबार 










