काठमाडौँ । ‘रुसमा नेपाल अध्ययन’ विषयक एकदिने गोष्ठी काठमाडौँमा सम्पन्न भएको छ । शैली थिएटर र काठमाडौँस्थित रुसी सदनको संयुक्त आयोजनामा मङ्गलबार रुसी भवनमा आयोजित उक्त कार्यक्रम नेपाल–रुस कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा सञ्चालन भइरहेका कार्यक्रमहरूको शृङ्खलाअन्तर्गत परेको हो ।

शैली थिएटरका सल्लाहकार तथा साहित्यकार महेश पौड्यालको अध्यक्षतामा सम्पन्न गोष्ठीमा काठमाडौँस्थित रुसी राजदूतावासका कार्यवाहक राजदूत रिनचेन रक्षायेभ विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो । स्वागत मन्तव्यमा उहाँले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरूले दुई देशबीच कला र साहित्यको आदान–प्रदानलाई सशक्त बनाउने उल्लेख गर्दै साहित्यिक तथा सांस्कृतिक समझदारीले द्विपक्षीय सम्बन्ध सुदृढ पार्न महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

मुख्य वक्ता समालोचक, प्राध्यापक तथा कूटनीतिज्ञ प्रा. डा. जङ्गब चौहानले रूसमा नेपालप्रति देखिएको साहित्यिक रुचिको ऐतिहासिक परिप्रेक्ष्य प्रस्तुत गर्नुभयो । उहाँले लक्ष्मीप्रसाद देवकोटाको रूस भ्रमण, ल्युडमिला अगानिनासँगको सम्बन्ध तथा त्यसपछिका अनुवाद परम्परालाई नेपाल–रूस साहित्यिक सम्बन्धका महत्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गर्नुभयो । साथै कृष्णगोपाल श्रेष्ठ, राहुल साङ्कृत्यायन र डा. बलराम अर्याललगायतका विद्वानहरूको योगदानको पनि स्मरण गर्नुभयो ।

कार्यक्रममा शैली थिएटरका निर्देशक नवराज बुढाथोकीले विगत डेढ दशकमा मञ्चन गरिएका अठार रुसी नाटकहरूको परिचय प्रस्तुत गर्नुभयो। ती नाटकहरू रुसी वा अन्य भाषाबाट अनूदित तथा रूपान्तरण गरिएका हुन्, जसमा आन्तोन चेखभ, निकोलाई गोगोल र लियो टोल्स्टोयका कृतिहरूका साथै केही लोककथाहरू समावेश छन् ।

रुसी भवनकी निर्देशक अनास्टासिया खोख्लोभाले नेपालको साहित्यिक तथा सांस्कृतिक समृद्धिलाई रुसी दृष्टिकोणबाट बुझ्ने प्रयासले दुई देशबीचको मित्रतालाई थप मजबुत बनाउने बताउनुभयो । उहाँले सांस्कृतिक कूटनीतिमा देखिएको खाडल पुर्न यस्ता कार्यक्रमको आवश्यकता औँल्याउँदै शैली थिएटरको पहलको प्रशंसा गर्नुभयो ।

मस्कोस्थित नेपालसँगको सहयोग तथा मैत्रीसम्बन्धी रुसी समाजका प्रतिनिधि दिपेश दाहालले भर्चुअल माध्यमबाट शुभकामना व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राध्यापक, अनुसन्धानकर्ता, साहित्यकार, रंगकर्मी तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम सिलाश थापा तामाङले सञ्चालन गर्नुभएको थियो ।

शैली थिएटर र रुसी भवनबीच विगत १८ वर्षदेखि सहकार्य रहँदै आएको छ । प्रस्तुत गोष्ठी वर्षभर सञ्चालन गरिने संयुक्त कार्यक्रमहरूको शृङ्खलाअन्तर्गत आयोजना गरिएको हो ।