काठमाडौँ । स्रष्टा साँझ अमेरिकाले फागुन १७ गते आइतबार जुम प्रविधिमार्फत् लघुकथाकार लता के.सी.को ‘पाहुर’ लघुकथाकृतिमाथि परिचर्चा कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा परिचर्चाकार वन्दना घिमिरेले कृतिकार के.सी.को व्यक्तिगत तथा साहित्यिक परिचय प्रस्तुत गर्दै कृतिमा समेटिएका ६३ वटा लघुकथाका कथाभाव, लघुकथामा चित्रित महिला पात्रहरूको अवस्था तथा विषयवस्तुबारे स्पष्ट पार्नुभएको थियो।
परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले लघुकथाका विषयवस्तुमा पाइने चिन्तन, मनन र वैचारिक पक्षको विश्लेषण गर्दै विषय, उद्देश्य तथा कालखण्डसम्बन्धी पक्षमा सुझाव दिनुभएको थियो। त्यसैगरी परिचर्चाकार डा. हरिप्रसाद भण्डारीले लघुकथाको प्रकृति, उद्देश्य र विशेषतामाथि गहन विश्लेषण प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा प्रा. डा. कपिल लामिछानेले लघुकथाका सबल र दुर्बल पक्षमाथि विहङ्गम दृष्टिकोण प्रस्तुत गर्दै आगामी कृतिका लागि शुभकामनासहित मार्गदर्शन गर्नुभएको थियो।
लघुकथा गानबाट सुरु गरिएको कार्यक्रममा अमर कार्की, निर्मला बराल, कल्पना पौडेल ‘जिज्ञासु’, गङ्गा अभिलाषी र महेन्द्र नेउपानेलगायत अतिथिहरूको उपस्थिति रहेको थियो। अतिथि कार्कीले फ्लोरिडाबाट, बरालले काठमाडौँबाट तथा जिज्ञासुले बाँकेबाट शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
प्रा. विश्वराज अधिकारीद्वारा सञ्चालन गरिएको कार्यक्रमकाे अन्त्यमा कृतिकार लता के.सी.ले लघुकथा लेखनको प्रक्रिया, उद्देश्य र विषयवस्तुका बारेमा आफ्नो धारणा व्यक्त गर्दै कार्यक्रम प्रोत्साहनमूलक र फलदायी भएको बताउनुभयो। साथै कार्यक्रमका क्रममा प्राप्त सुझावहरू मनन गर्ने प्रतिबद्धता जनाउँदै आयोजक, सहजकर्ता, परिचर्चाकार, अतिथिहरू तथा दर्शक–श्रोताप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
र यो पनि पढ्नुहोस्...
स्रष्टा साँझ अमेरिका द्वारा लता के.सी.को ‘पाहुर’ लघुकथाकृतिमाथि परिचर्चा
३० जेष्ठ २०८३, शनिबार 








