क्यानडा  । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)ले साहित्य र संस्कृति संरक्षणमा आफ्नो अभिभावकत्व र जिम्मेवारी प्रस्ट पारेको छ। वाङ्गमय विमर्श तथा साहित्य संवाद कार्यक्रमको अवसरमा सुरेन उप्रेतीसँग विमर्श गर्दै बोर्ड अफ ट्रष्टीका सभापति पदम विश्वकर्माले अनेसासको अभिभावकीय भूमिका र डायस्पोरामा नेपाली भाषा-साहित्यको संरक्षणमा संस्थाको दृष्टिकोण प्रस्तुत गर्नुभयो।

पदम विश्वकर्मा लम्जुङ जिल्लाको धमिलिकुवा जन्मिएका हुन् र विगत २४ वर्षदेखि अमेरिकाको कोलोराडोमा बसोवास गर्दै आउनु भएको छ। उहाँ साहित्यकार मात्र नभई कुशल सङ्गठनकर्ता र नेपाली साहित्यको अभियन्ता पनि हुनुहुन्छ। बाल्यकालदेखिनै कविता लेखन सुरु गर्नु भएको उहाँले, जिल्लास्तरका राष्ट्रिय निबन्ध प्रतियोगितामा उत्कृष्ट हुनुले साहित्यमा रुचि अझ बढाएको स्मरण गर्नुभयो।

नेपाल रेडक्रस र विभिन्न सामाजिक संघसंस्थामा नेतृत्वदायी भूमिकामा रहेर सेवा पुर्‍याउनु भएको उहाँले, २००२ मा अमेरिकामा आएपछि अनेसाससँग आबद्ध हुनु भएको हो। २०१०–२०१२ सम्म कोलोराडो च्याप्टरको अध्यक्ष, २०१२–२०१४ केन्द्रिय महासचिव, २०१४–२०१८ दुई कार्यकाल केन्द्रिय अध्यक्ष, २०१८–२०२२ बोर्ड अफ ट्रष्टी उपसभापति र २०२४–हालसम्म सभापतिको जिम्मेवारी बहन गर्दै आउनुभएको छ।

विश्वकर्मा नेपाली साहित्यमा स्नातक र समाजशास्त्रमा स्नातोकोत्तर हुनुहुन्छ। उहाँले शब्दसुमन (कविता संग्रह), तमसुक (कथा संग्रह), क्वारेण्टाइन (उपन्यास) र हालै पाताल (उपन्यास) प्रकाशित गरिसक्नु भएको छ। नेपाली सांगीतिक क्षेत्रमा पनि सक्रिय, उहाँका गीतहरूमा लमजुङ मेरो घर र आउन बसौँ लोकप्रिय छन्।

विमर्शका क्रममा उहाँले डायस्पोरामा रहेका संघसंस्थाहरूले आफ्नो नेपाली पहिचान र भाषा-संस्कृति जोगाउन जोड दिनुपर्ने बताउनुभयाे । बोर्ड अफ ट्रष्टीको अभिभावकीय भूमिका हरेक बाबुआमाले आफ्ना सन्तानको चिन्ता गर्ने जस्तै अनेसासको दायित्व भएको स्पष्ट गर्नुभयो।

उहाँले व्यक्त गर्नुभयो कि नेपाली भाषा साहित्य र संस्कृतिलाई विश्वभर फैलाउन अनुवाद, पाठशाला स्थापना, सरकारी र संस्थागत सहयोग आवश्यक छ। “हामीले सर्वजन हिताय र अरूको मन नदुख्ने ढङ्गले मात्र आफ्नो सांस्कृतिक जिम्मेवारी पूरा गर्न सक्छौँ,” उहाँले भन्नुभयाे ।

पदम विश्वकर्मा र अनेसासले भविष्यमा नेपाली भाषा-साहित्यको संरक्षण, संवर्द्धन र विश्वव्यापीकरणमा निरन्तर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्याएका छन्।