भरतपुर । लेखक निर्दोष जीवनको नयाँ कृति ‘प्रेमको सुगन्ध’ सार्वजनिक भएको छ। गजल मञ्च चितवनद्वारा प्रकाशित उक्त कृति शुक्रबार गैंडाकोटमा आयोजित एक समारोहबीच विमोचन गरिएको हो।

काव्य काफिया र वि–फाइभको संयुक्त आयोजनामा द नारायणी रिसोर्टमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि साहित्यकार उषा शेरचन, काव्य काफियाका संयोजक रामकृष्ण अनायास, गैंडाकोट नगरपालिका–१ का वडाध्यक्ष सुरेन्द्रप्रसाद रेग्मी तथा अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संयुक्त रूपमा कृति विमोचन गर्नुभएको थियो।

कृति विमोचनपछि विशिष्ट अतिथि सुरेन्द्रप्रसाद रेग्मीले प्रेमले मानिसलाई एकताको सूत्रमा बाँध्ने उल्लेख गर्दै प्रेम दिवसको सन्दर्भमा प्रकाशित कृतिले सबैलाई प्रेमको भावनामा समाहित हुन प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि उषा शेरचनले साहित्यमा मुक्तक विधाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै लेखक निर्दोष जीवनका मुक्तकहरू सुन्दर र प्रभावकारी रहेको बताउनुभयो।

अक्षर समूह चितवनका अध्यक्ष लेखराम सापकोटाले संग्रहमा समेटिएका मुक्तकहरू सरल, लयबद्ध र विषयगत विविधतायुक्त रहेको धारणा राख्नुभयो। उहाँका अनुसार कृतिमा प्रेमिल भावनासँगै सामाजिक यथार्थ, राष्ट्र र राष्ट्रियता तथा नारी जीवनका पीडा समेटिएका मुक्तकहरू समावेश छन्। उहाँले संग्रहबाट केही मुक्तक प्रस्तुत गर्दै तिनको विश्लेषणसमेत गर्नुभएको थियो।

मुक्तककार निर्दोष जीवनले प्रेमका सन्दर्भमा प्रसिद्ध लेखक पावललाई स्मरण गर्दै प्रेम सहनशील, दयालु र अमर हुने धारणा प्रस्तुत गर्नुभयो। प्रेमको भावनालाई जीवनमा आत्मसात गर्न सके जीवन सधैँ सुगन्धित रहने उहाँको भनाइ थियो।

साहित्य लेखनसँगै गायन र सङ्गीतमा समेत रुचि राख्ने निर्दोष जीवन गीत, मुक्तक र अन्य विधामा सक्रिय रहँदै आउनुभएको छ। उहाँको ‘आशीर्वाद’ (गजल, मुक्तक र हाइकु संग्रह) पहिलो कृति हो भने ‘नयाँ जीवन’, ‘प्रार्थना’, ‘मैयाँ’, ‘कोर्राको चोट’, ‘फस्ट लभ’, ‘प्रिय साथी’, ‘मेरो गीत’ र ‘नोस्टाल्जिया’ लगायत कृतिहरू यसअघि प्रकाशित भइसकेका छन्।