साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

निर्दोषको उपन्यासमा पितृसत्तात्मक समाजको कालो छाया

नेपाली पितृसत्तात्मक समाजको कालो छायालाई उपन्यासमा गम्भीर रूमा चित्रित गरिएको छ । कयौँ परिवारमा क्रूर पितृसत्ताको आक्रमण कति भयावह छ भन्ने कुरा उपन्यासमा छर्लङ्ग छ ।

Chovar Blues Mobile Size

आख्यानकार निर्दोष जीवन पछिल्लो समयका सक्रिय युवा हस्ताक्षर हुन्। बहुमुखी प्रतिभाका धनी निर्दोषका चारओटा साहित्यिक कृति र चारओटा साङ्गीतिक एल्बम बजारमा आइसकेका छन्। नवौँ कृतिको रुपमा पाठकको हातमा आइपुगेको नोस्टाल्जिया एउटा औपन्यासिक कृति हो। यो उपन्यास लेखकको महत्वकाङक्षी पुस्तक पनि हो । सरल भाषामा कथालाई अघि डोर्याउने निर्दोषले कुनै भूमिकाबिना नै कथानकलाई अघि सारेका छन् । यिनको आख्यानमा हाम्रै समभित्रको कथा र पात्रहरू भेटिन्छन्। त्यो समाज अनि ती पात्रहरू असल र खराब दुवै छन्। तिनै पात्रहरूमध्ये कोही समाजलाई कुरुप बनाउँछन्। र, कोही समाजलाई आदर्शको बाटोतिर डोर्याउन क्रियाशील देखिन्छन् ।

आगन्तुक शब्दको प्रयोग गरेर नामकरण गरिएको प्रस्तुत नोस्टाल्जिया बितेका पलहरूको सम्झनाको एउटा सुन्दर र यथार्थ तस्बिर हो। उपन्यासमा दुखजिलो गरेर मुस्किलले जीवन बाँच्दै आएको एउटा परिवारको सङ्घर्षको कथा छ । त्यो परिवार म पात्रको आफ्नै परिवार हो भन्ने बुझ्न कुनै समस्या हुँदैन। अभावको नङ्ग्राले चिथोरेको र कलुषित समयको पैतालाले कुल्चिएको एउटा परिवारको दारुण र सजीव चित्र छ, यसमा ।

बाल्यकालदेखिका पारिवारिक र सामाजिक अनेक घटनालाई कत्ति नलुकाई प्रस्तुत गर्नु उपन्यासकारको इमानदारिता र उपन्यासको सबल पक्ष हो । लेखकको यही इमानदारिताले उपन्यासलाई सफलतातिर डोर्याएको देखिन्छ।

म पात्रको परिवार आम नेपाली समाजको प्रतिनिधि परिवार हो। र, यो परिवारले भोगेको दु:ख र हैरानी नेपाली समाजकै यथार्थ र सजीव चित्र हो। सजिलो गरी दुई छाक खान र भविष्य खोज्न भौतारिएको म पात्रको परिवार स्याङ्जादेखि चितवन झरेको छ। आर्थिक अभाव र अनेक समस्याबाट लखेटिएपछि चितवनको बाह्रघरे रामघाट, कालाबञ्जार, गाँजिपुर हुँदै नवलपरासीको कावासोती र गैडाकोट जस्ता विभिन्न स्थानमा बसाइँ सर्दै गएको यो परिवारको दुःखको कथा डरलाग्दो छ।

उपन्यासमा संयोगको रुपमा आएको म पात्रले पिताको अदुरदर्शिता र पारिवारिक कलहका कारण बाल्यकालमै अनेक हैरानी झेलेको छ। उसले दु:ख पाउनुमा चञ्चले स्वभाव, अपरिपक्वता र सामाजिक वातावरण पनि उत्तिकै जिम्मेवार देखिन्छ । बेरोजगारी, अशिक्षा, पारिवारिक कलह र अभावको चपेटामा परेको ठुलो परिवार छ , म पात्रको । यो परिवारको नियमित आम्दानीको कुनै बाटो छैन। जमिनको क्षेत्रफल थोरै छ। भएकै जमिनमा पनि उत्पादन राम्रो छैन। यी विविध कारणले परिवारको दुर्दशा निम्त्याएको छ ।

sagarmani mobile size

कर्म गर्न खोज्दा समयले साथ दिएको छैन। बसाइँ सरेर पुगेको कालाबन्जारमा प्राकृतिक प्रकोपले उठिवास लगाएपछि यो परिवार चरम सङ्कटमा पुगेको छ। म पात्रको अपरिपक्व उमेरको केटौले प्रेमले अझ दु:खको दलदलमा धकेलेको छ। पारिवारिक कलह ,अभाव र उल्झनले सताइएको यो परिवारको कथाले हरेक पाठकलाई गम्भीर मोडमा पुर्याउँछ।

दु:ख र सङ्घर्षको कथाले भरिएको सिङगो उपन्यास पढेर सक्दा पाठक ठाउँ ठाउँमा भावुक हुन्छन् । त्यही भावुक अवस्थाको सिर्जना यो पङ्क्तिकारलाई पनि भएको छ। दुःखकै पहाड जस्तो लाग्ने यस उपन्यासमा एउटै परिवारले कतिसम्म दुःखका खातहरू झेल्न सक्छ भन्ने अनुभूत गर्न सहज छैन । लेखकले म पात्रको रुपमा सानै उमेरमा अनेक कुरा झेलेका छन्। आफूले भोगेका र देखेका सबै विषयलाई कुनै तरिकाले छोपछाप नगरी खुलस्त राखेका छन्। यबबाट लेखकको आँट र इमानदारिता पनि झल्किन्छ।

नेपाली पितृसत्तात्मक समाजको कालो छायालाई उपन्यासमा गम्भीर रूमा चित्रित गरिएको छ । कयौँ परिवारमा क्रूर पितृसत्ताको आक्रमण कति भयावह छ भन्ने कुरा उपन्यासमा छर्लङ्ग छ । आत्मपरक शैलीमा लेखिएको संस्मरणात्मक उपन्यास हो नोस्टाल्जिया । यसकारण पनि उपन्यासको शीर्षक सार्थक देखिन्छ।

सिर्जन अविरल

बाल्यकालमा स्कुलमै पुस्टकारी बेच्ने संयोग किशोर अवस्थामा पुग्दा फलफूल र तरकारी बेच्न सुरु गरेको छ। परिवारप्रति जिम्मेवार हुन खोज्ने तर व्यवहारमा देखाउन नसक्ने संयोग, उपन्यासभित्र जीवनको मूलबाटोमा अलमलिएको पात्र हो। भविष्यप्रति सचेत नभएको संयोगले बिनायोजना आशासँग प्रेम र त्यसपछि विवाह गरेको छ । अपरिपक्व निर्णय गर्ने र यावत कमजोरीहरू सहजै स्वीकर्ने म पात्र आख्यानमा गुण र दोष बराबर भएको चरित्र पनि हो। किशोर वयमा युवतीको प्रेम पाउँन मरिहत्ते गर्ने संयोगले प्रेमकै कारण पटक -पटक परिवारको मन दुखाएको छ ।

उपन्यासको प्रमुख पात्र संयोग र आशा नै हुन्। सहायक पात्रको रुपमा आमा बा’लाई उभ्याइएको छ। नरहरि, माइला बा, दिदीभिनाजु, जिजुभाइ साहू, सासूआमा, बन्दना जस्ता पात्रहरूको भूमिका पनि उपन्यसमा महत्वपूर्ण देखिन्छ। संयोग र आशाको केटौले प्रेम, बिछोड र पुन मिलन भएर उपन्यासको अन्त्य भएको छ। सबै कुरा बिर्सिएर संयोगका आमाबाले आशालाई बुहारी स्वीकार्न तयार हुनु उपन्यासको सबल पक्ष हो। प्रथम पुरुष दृष्टिविन्दुमा लेखिएको उपन्यासको भाषा माझिएको, सरल र सुबोध छ । उपन्यास जति अगाडि बढ्दै जान्छ त्यति नै पाठकलाई भावुक बनाउँछ । उपन्यासमा अझै सुधार गर्न सकिने केही ठाउँहरू नभएका होइनन् । पढ्दै जाँदा कतिपय घटनाक्रमलाई म पात्रले भनिरहेको भन्दा अझ अलग शैलीबाट भन्दिए हुन्थ्यो भन्ने लाग्नु स्वभाविक हो । त्यस्तै कतिपय सन्दर्भ र उपकथाहररूलाई आख्यानकारले भन्न बाँकी राखेको भए पनि हुन्थ्यो कि भन्ने महसुस हुन्छ । वन्दना र म पात्रको शारीरिक सम्पर्कको प्रसङगलाई थोरै कलात्मक आँचलले छोप्न सकिने ठाउँ थियो ।

सामान्य कमीकमजोरीलाई छोडेर लेखकको स्पष्ट अभिव्यक्ति र इमानदारिताको कारण पनि उपन्यसको उचाइ चुलिएको छ । वन्दना, म पात्रको पहिलो प्रेम हो। ऊ उपन्यासको बीचतिर छुटेकी छे। त्यस्तै सुरुमा अरुको लहैलहैमा लागेर संयोगले आशालाई बेवास्ता गर्न खोजेको देखिन्छ। अन्तिममा आशा र संयोग एक हुनुलाई प्रेमकै शक्तिको रुपमा देखाइएको छ। मानिसले पहिलो प्रेमलाई कहिल्यै बिर्सन सक्दैन। पाठकले वन्दनाको उपस्थित उपन्यासको पुछारसम्म खोजेका हुन्छन् तर भेट्दैनन्। प्रेम हिँड्ने बाटो अलग हुन्छ र प्रेममा अनौठो त्याग पनि हुन्छ भन्ने देखाउन प्रस्तुत उपन्यास सफल भएको छ। अन्ततः आख्यानकार भाइ निर्दोष जीवनको सुस्वास्थ्य दीर्घ जीवन र उपन्यासको सफलताको लागि हार्दिक शुभकामना ।

प्रतिक्रिया
Loading...