लेखक निर्दोष जीवनको उपन्यास ‘नोस्टाल्जिया’ शनिबार सार्वजनिक भएको छ । गैंडाकोटमा आयोजना गरिएको एक भव्य कार्यक्रममा साहित्यकारहरू गोविन्दराज विनोदी, नीलम कार्की निहारिका र एलबी क्षेत्री लगायतले उपन्यासको संयुक्त विमोचन गर्नुभयो ।

निर्दोष जीवनको यो नवौं कृति हो । उहाँले यसअघि नेपाली गीत संगीतका चारवटा र साहित्यका चारवटा कृति पाठक/स्रोता समक्ष ल्याइसक्नु भएको छ ।

‘नोस्टाल्जिया’मा एक जना संघर्षरत युवाको भोगाइ, पारिवारिक साथ सहयोग र मतान्तर तथा प्रेमका विषयलाई समेटेको निर्दोष जीवनले बताउनुभयो । तिरस्कारलाई संघर्षले जित्न खोज्नेको कथा यस उपन्यासको मूल विषय रहेको लेखक निर्दोष जीवनले बताउनुभयो ।

उपन्यासबारे साहित्यकार नीलम कार्की निहारिकाले उपन्यासमा व्यक्तिगत जस्तो लाग्ने भोगाइहरूमा समाजको तस्बिर झल्केको बताउनुभयो । उपन्यासको भाषा सरल रहेको उहाँको टिप्पणी थियो ।

त्यस्तै अर्का वक्ता चितवनका साहित्यकार सिर्जन अविरलले पितृसत्ताको अत्याचार उपन्यासले उधिनेको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्रीले चितवनबाट उपन्यास लेखिने क्रम बढ्न थालेको र निर्दोष जीवनले परिपक्व तरिकाले साहित्यिक कोसेली पस्कनु भएको जनाउनुभयो ।

उपन्यासकारको आफ्नै संघर्ष हो कि जस्तो लागे पनि नोस्टाल्जियाले नेपाली समाजको यथार्थ बोलेको उहाँले बताउनुभयो ।