काठमाडौं । साहित्यकार जितेन्द्र रसिकको १८औँ कृति, बाल उपन्यास “साइबोर्ग” सार्वजनिक भएको छ। उपन्यासको लोकार्पण इर्टनल पब्लिकेसनकी प्रकाशक यमुना पराजुली र एजुकेशन पब्लिसिङ बुक हाउस काठमाडौं, जमलका प्रतिनिधि तथा व्यवस्थापकहरू शितल सुकुभटु, रमण राउट, भजन राउटले संयुक्त रूपमा गर्नुभएकाे थियाे ।
उपन्यास “साइबोर्ग” विज्ञानमा आधारित बाल उपन्यास हो। प्रकाशक यमुना पराजुलीका अनुसार यसमा विज्ञानको उन्नतिले भविष्यमा मानव समुदाय र समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने रोचक परिकल्पना समावेश गरिएको छ। विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को चरम विकासले मानव जीवनमा ल्याउने सम्भावित चुनौतीहरू र मानव नै सृजित प्रविधिबाट पर्न सक्ने खतरा उपन्यासले प्रस्तुत गरेको छ।
लेखक रसिकले भन्नुभयाे, “बालबालिका र किशोरकिशोरीमा कल्पना, जिज्ञासा र तर्कशीलता बढाउन साइबोर्ग प्रभावकारी हुनेछ। यसले विज्ञान र भविष्यबारे सोच्न उत्प्रेरणा दिनेछ।”
उपन्यासको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ। लोकार्पणसँगै साइबोर्ग एजुकेशनल पब्लिसिङ बुक हाउस र रत्नपुस्तक भण्डारमार्फत बिक्रीमा आएको छ।
जितेन्द्र रसिकका यसअघि बाल साहित्यमा एलियनको पृथ्वी भ्रमण, हावा फल्ने रूख, एङ्ग्री बर्ड, बेलबहादुरसँग बिहे, गुलेली, हनुमानको करामत, जाडुगर एआई लगायतका कृति प्रकाशित भइसकेका छन्। लेखक रसिकका गजल, उपन्यास, संस्कृति र जीवनी सम्बन्धी ११ कृति तथा करिव एक दर्जन गीत–गजल रेकर्ड भइसकेका छन्। उहाँ नेपालभाषा, संस्कृति र साहित्यका क्षेत्रमा सक्रिय रहँदै आउनुभएकाे छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२ चैत्र २०८२, सोमबार 










