आकाशमा बिजुली
चम्किएछ भने
डरलाग्दो
चट्याङलाई सोधिहेर्नु
हराएका
छायाहरू
कैद ग-यो
कसले ?

त्यति बेलै
हुत्तिएर आउने
हुरीका झोक्काहरूले
निभाउन खोज्छन्
किन
सन्ध्या कालमा बलिरहेका
दलूचाका बत्तीहरू ?

हो,
त्यही बेला
निभ्यो भने
दलूचाको बत्ती
बुझ्नु
विलीन हुँदै छ
यो युग
घोर अन्धकारमा  ।

त्यति बेला
तिम्रा र मेरा रहरहरू
भौँतारिने छन्
फेरि पनि
असहाय बनेर
यता र उता ।

भेट्ने छौ तिमीले
निरङ्कुशताको आँगनमा
हात फैलाउँदै
अधिकार र स्वाधीनताको
भिख माग्दै गरेको
एउटा मान्छे
यो युगको
यो मुलुकको ।

अनुवाद: आर. मानन्धर

कवि परिचय

जितेन्द्र रसिक नेपाली साहित्यमा परिचित नाम हो । सिन्धुपाल्चोकको स्याउले बजारमा जन्मेका उनी भक्तपुर बस्छन् । विशेष गरी उपन्यास, गीत–गजल, बालकथा लेख्ने उनका चौध कृति प्रकाशित भइसकेका छन् । शताव्दीपुरुष सत्यमोहन जोशीको जीवनी लगायत अझै धेरै पुस्तक प्रकाशनको दैलोमा छन् । ज्यापु विशेष पदक (२०७६), सृजनशील सम्मान (२०७९), नेवा: पत्रकार सम्मान पत्र (२०७९) लगायत अनेकौँ सम्मानबाट उनी विभूषित भइसकेका छन् ।

मूल नेपाल भाषामा

 

स्रोतः नेपालभाषा टाइम्स, ने. सं. ११४३ चिल्लागा १०