काठमाडौं। वि.सं. २०७० मा स्थापना भएको नेपाल मुक्तक प्रतिष्ठानले आफ्नो तेह्रौँ वार्षिकोत्सवको अवसरमा आइतबार नेपाल पर्यटन बोर्डमा मुक्तक दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ।

सो अवसरमा प्रतिष्ठानले मुक्तककार उषा शेरचनलाई रु. ५१ हजार नगदसहित ‘भीमदर्शन मुक्तक पुरस्कार’ तथा बेलायत निवासी मुक्तककार डा. रूपक श्रेष्ठलाई रु. ३१ हजार नगदसहित ‘कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कार’ प्रदान गरेको छ।

नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र अध्यक्ष कोनेले संयुक्त रूपमा पुरस्कार समर्पण गर्नुभएको थियो।

कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित प्रा. डा. लक्ष्मणप्रसाद गौतमको ‘नेपाली मुक्तकको रचनाविधान’, नेपाल मुक्तक प्रतिष्ठान बेलायत शाखाद्वारा प्रकाशित ‘ईलिंग’ स्मारिका, साथै डा. रूपक श्रेष्ठका कृतिहरू ‘चौशुल’ र ‘पोख्तक’ (अंग्रेजी संस्करण)को लोकार्पण समेत गरिएको थियो।

प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले मुक्तक विधालाई समाजको संवेदनशील र सूक्ष्म साहित्यिक अभिव्यक्तिको प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्दै “मुक्तक थोरै शब्दमा धेरै कुरा भन्न सक्ने शक्तिशाली विधा हो। आजको तीव्र गतिको समाजमा यसले विचार, पीडा, आशा र दर्शनलाई सटिक रूपमा व्यक्त गर्न सक्छ,” भन्नुभयो।

अध्यक्ष रामकाजी कोनेले मुक्तक दिवसको शुभकामना व्यक्त गर्दै मुक्तक विधाको सौन्दर्य र गहिराइबारे चर्चा गर्नुभयो। “थोरैमा धेरै र बिन्दुमा सिन्धु अटाउने साहित्यिक विधा नै मुक्तक हो, जसले सीमित शब्दभित्र असीमित भाव अटाउन सक्छ,” उहाँले बताउनुभयो।

भीमदर्शन मुक्तक पुरस्कारबाट सम्मानित  मुक्तककार उषा शेरचनले यस सम्मानले मुक्तकप्रतिको आफ्नो जिम्मेवारी अझ बढाएको उल्लेख गर्दै मुक्तकलाई जीवनको अनुभूति र अनुभवको सूक्ष्म अभिव्यक्ति भएको बताउनुभयो। “मुक्तकले जीवनको गहिरो अनुभूति, पीडा र प्रेमलाई सानो आकारमै गम्भीर रूपमा बोकेको हुन्छ,” उहाँको भनाइ थियो।

त्यसैगरी कृष्ण–रत्न–चेतन मुक्तक पुरस्कारबाट सम्मानित डा. रूपक श्रेष्ठले मुक्तकलाई आत्मअनुशासन र चेतनाको अभ्यासका रूपमा व्याख्या गर्दै “मुक्तक लेखन शब्दको खेल मात्र होइन, चेतनाको अनुशासन हो। यसले लेखकलाई जिम्मेवार र पाठकलाई संवेदनशील बनाउँछ,” भन्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार प्रा. डा. लक्ष्मणप्रसाद गौतम, समालोचक केशव सिग्देल, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, तथा प्रतिष्ठानका पूर्व महासचिव रमेश पौडेलले मन्तव्य राख्दै नेपाली मुक्तकको विकास, विस्तार र अन्तर्राष्ट्रिय पहिचानबारे विचार व्यक्त गर्नुभयो।

प्रतिष्ठानका उपाध्यक्ष राधेश्याम लेकालीले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र महत्वमाथि प्रकाश पार्नुभएको उक्त कार्यक्रमको सहजीकरण महासचिव यादव भट्टराईले गर्नुभएको थियो।

कृतिहरूको लोकार्पण, पुरस्कार समर्पण र मुक्तक पाठसहित सम्पन्न उक्त कार्यक्रमले नेपाली मुक्तक साहित्यको वर्तमान अवस्था र सम्भावनालाई सशक्त रूपमा उजागर गरेको सहभागीहरूको धारणा थियो। प्रतिष्ठानले आगामी दिनमा पनि मुक्तक विधाको प्रवर्द्धन, अनुसन्धान तथा अन्तर्राष्ट्रिय सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रममा साहित्य, समालोचना र मुक्तक विधाका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।