साहित्यकार उषा शेरचन ‘राष्ट्रिय मुक्तक पुरस्कार २०८०’ बाट पुरस्कृत भएकी छिन् । मुक्तक मञ्चले पोखरामा आयोजित एक कार्यक्रमका बिच शेरचनलाई पुरस्कृत गरेकाे हाे ।

शेरचनलाई पुरस्कारमा ३३ हजार ३ सय ३३ रुपियाँ नगदसहित ताम्रपत्र प्रदान गरिएको छ । वरिष्ठ कलाकार तथा कार्टुनिस्ट दुर्गा बराल ‘वात्स्यायन’ ले उक्त पुरस्कार प्रदान गरेका हुन् ।

बरालले आफू पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्ष हुँदा उषाले उपाध्यक्ष भएर देखाएको सक्रियताप्रति सधैँ गौरव लाग्ने गरेको स्मरण गरे ।  उनले मुक्तक मञ्चले योग्य मात्रै होइन, सुयोग्य पात्रलाई पुरस्कार प्रदान गरेकोमा धन्यवाद व्यक्त गरे ।

प्रतिभा छनोट समितिका संयोजक साहित्यकार सरुभक्तले शेरचनको नितरन्त साधनाको सम्मान गर्दै पुरस्कार प्रदान गरिएको बताए । उनले लेखनका अलावा अभिनयमा समेत दखल राख्ने उषाले आफ्नो पहिलो नाटकमा गरेको अभिनयको स्मरण गरे ।

प्रतिभा छनोट समितिका सदस्य तथा मञ्चका सल्लाहकार रुपिन्द्र प्रभावीले प्रतिभा छनोट प्रक्रियाबारे जानकारी दिँदै शेरचनको परिचयसमेत दिएका थिए । उनले आख्यानकार, मुक्तककार र गीतकारका रूपमा शेरचनलाई चिनाउँदै उषाको लोभलाग्दो सक्रियता सबैका लागि प्रेरणा बन्दै आएको बताए ।

शेरचनको ‘अक्षरहरूका शिविरबाट’ मुक्तक सङ्ग्रह (२०५६) प्रकाशित छ भने ‘त्रासदीका हिमनदीहरू’ मुक्तकसङ्ग्रह प्रकाशनको तयारीमा छ । उनका नजन्मेका आस्थाहरू (२०४८) र सर्वकालीन पीडा र जागृतिका शङ्खघोष (२०६३) कवितासङ्ग्रह, तेस्रो रङ (कथासङ्ग्रह, २०७०) र आधि (उपन्यास, २०७६) प्रकाशित छन् । खोलीको दुई किनार भो… बोलको लोकप्रिय गीतकी रचनाकार शेरचनका अभीप्सा, सञ्चयन, मेरो माटो मेरो गीत, संवेदन र आकाश छुने रहर गरी ५ साङ्गीतिक एल्बम बजारमा आएका थिए ।

२०१२ मा पोखरामा जन्मेकी उनी हाल काठमाडौँ बसेर साहित्यिक गतिविधिमा संलग्न हुँदै आएकी छिन् ।

कार्यक्रममा बोल्दै शेरचनले पुरस्कारले एकातिर खुसीको रङ ल्याउने र अर्कोतिर जिम्मेवारीको भारी बोकाउने गरेको अनुभव सुनाइन् । उनले माइतीमा आएर पाएको पुरस्कारले आफ्ना लागि विशेष महत्व राख्ने सुनाइन् । सो अवसरमा पुरस्कारका संस्थापक विष्णु अल्पविराम, साहित्यकार तीर्थ श्रेष्ठलगायतले शुभकामना दिएका थिए ।

मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यको अध्यक्षता तथा कार्यवाहक महासचिव अम्बिका भण्डारीको सञ्चालनमा भएको कार्यक्रममा पूर्व अध्यक्षद्वय कृष्ण देवकोटा र प्राञ्जल, र्‍यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमुलगायतले १८९ औँ नियमित कार्यक्रममा मुक्तक वाचन गरेका थिए ।

मञ्चले सरुभक्तको संयोजकत्वमा रुपिन्द्र प्रभावी र कृष्ण देवकोटा सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसमा शेरचनलाई पुरस्कार दिने घोषणा मुक्तक दिवसका अवसरमा माघ १८ गते गरेको थियो ।

हरेक २ वर्षमा नेपाली मुक्तकमा योगदान गरेका मुक्तककारलाई प्रदान गरिने सो पुरस्कार यसअघि कृष्णप्रसाद पराजुली, रत्नशमशेर थापा, सरुभक्त, तेजनाथ घिमिरे र चेतन कार्कीले प्राप्त गरेका थिए ।