काठमाडौँ। साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठद्वारा लिखित ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थ र ‘नशा नशामा’ गीत एकै समारोहबीच लोकार्पण गरिएको छ। उक्त गीतमा शब्द नरेन्द्रबहादुर श्रेष्ठका रहेका छन् भने स्वर तथा सङ्गीत चर्चित सङ्गीतकार नरहरि प्रेमीको रहेको छ।
साहित्यिक पत्रकार संघद्वारा हिजो भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डको सभाकक्षमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्य सचिव तथा वनस्पतिविद् डा. तीर्थबहादुर श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। उहाँसहित मञ्चासिन व्यक्तित्वहरूले दुई कृति र गीत सामूहिक रूपमा लोकार्पण गर्नुभएको हो।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा समालोचक प्रा.डा. दयाराम श्रेष्ठले ‘पूर्णबहादुर श्रेष्ठ “व्यथित” का गद्य रचनाहरू’ कृतिको समीक्षा गर्नुभयो भने समालोचक प्रमोद प्रधानले ‘जुद्धबहादुर श्रेष्ठ औद्योगिक क्षेत्रका अग्रणी’ ग्रन्थमाथि समीक्षात्मक मन्तव्य राख्नुभयो।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष तथा कलाकार दिनेश डिसी, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन र नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले लेखक नरेन्द्रबहादुर श्रेष्ठको व्यक्तित्व र कृतित्वबारे प्रकाश पार्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
प्रमुख अतिथि डा. तीर्थबहादुर श्रेष्ठले लेखकले आफ्ना बुबा र काकालाई कृतिमार्फत चिनाउन सफल भएकोमा प्रशंसा गर्दै लोकार्पित कृतिमध्ये एउटा विशुद्ध साहित्यिक र अर्को ऐतिहासिक अभिलेखका रूपमा महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले जुद्धबहादुर श्रेष्ठ उद्योग क्षेत्रका अग्रणी व्यक्तित्वका रूपमा परिचित रहेको पनि उल्लेख गर्नुभयो।
समालोचक प्रा.डा. दयाराम श्रेष्ठले पूर्णबहादुर श्रेष्ठ “व्यथित” नेपाली साहित्यमा ओझेलमा परेको नाम भएको चर्चा गर्दै नरेन्द्रबहादुर श्रेष्ठले बुबाका रचनाहरू सङ्कलन गरी कृतिका रूपमा ल्याउनु महत्वपूर्ण कार्य भएको बताउनुभयो। उहाँले केदारमान व्यथितले आफ्नो उपनाम ‘व्यथित’ राख्नुमा पूर्णबहादुर श्रेष्ठको प्रभाव हुन सक्ने सम्भावना पनि औँल्याउनुभयो।
त्यसैगरी समालोचक प्रमोद प्रधानले जुद्धबहादुर श्रेष्ठका ऐतिहासिक दस्तावेज र अभिलेखलाई सुरक्षित गरी कृतिका रूपमा समाजसमक्ष ल्याउन लेखक सफल भएको बताउँदै यसलाई उद्योग इतिहासको महत्वपूर्ण अभिलेखका रूपमा मूल्याङ्कन गर्नुभयो।
कार्यक्रममा लेखक नरेन्द्रबहादुर श्रेष्ठले आफ्ना बुबा पूर्णबहादुर श्रेष्ठ र काका जुद्धबहादुर श्रेष्ठको स्मरण गर्दै बुबालाई नचिने पनि कृतिमार्फत चिनाउन पाएको बताउनुभयाे । उहाँले आमाको संस्कार र योगदानको स्मरण गर्दै जीवनका आरोह–अवरोहबारे पनि मन्तव्य व्यक्त गर्नुभयो।
कवि मुरारी सिग्देलले सहजीकरण तथा सञ्चालन गर्नुभएको कार्यक्रममा सर्जक नरेन्द्रबहादुर श्रेष्ठद्वारा रचित ‘नशा नशामा’ गीत गायक नरहरि प्रेमीले प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा लेखक नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकाे श्रीमती निरू श्रेष्ठलाई अभिनन्दन गरिएको थियो। साथै नातिनी निश्चिता श्रेष्ठले मञ्चासिन व्यक्तित्वहरूलाई रुद्राक्षको माला लगाइ सम्मान गर्नुभएको थियो भने साहित्यिक पत्रकार संघका तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो।
कार्यक्रममा हालै दिवङ्गत साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा “उन्नयन” त्रैमासिक पत्रिकाका सम्पादक अच्युतरमण अधिकारीप्रति एक मिनेट मौन धारण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो।
कार्यक्रमको अन्त्यमा लेखक नरेन्द्रबहादुर श्रेष्ठका सुपुत्र निश्चल श्रेष्ठले परिवारको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ माघ २०८२, आईतवार 









