आज म एउटा आश्चर्यजनक कथा सुनाउँछु, इत्सेको कथा ! यो कुनै काल्पनिक कथा होइन, एक शुद्ध अर्ग्यानिक कथा हो । इत्सेको यस कथालाई म निबन्ध शैलीमा भन्दैछु । त्यसैले म कथात्मक निबन्ध सुनाउँदै छु ।

मैले काम गर्ने ठाउँमा दैनिक आउने एउटी ग्राहक केटीको नाम हो इत्से ! यिनलाई म करीब ८ वर्षअगाडि देखि एक ग्राहकको रूपमा चिन्दछु । अमेरिकी समाजमा ऊ कसकी छोरी ? मावली के थरी ? बूढा मावली को हुन् ? कुन गोत्रकी ? जात के हो ? पहाडघर कहाँ हो ? बिहे भएको छ कि छैन ? जस्ता प्रश्न सामान्यतया: नसोधिने भएकोले सोधेको छैन ।

“उनको नाम इत्से हो ।” मेरो लागि यो नै ठूलो परिचय हो । २०, २१ वर्षको उमेरकी गोरी केटी । निकै राम्री छे इत्से । दुब्ली छैन, मोटी होइन । यो निबन्ध कथामा मोटी शब्द प्रयोग गरे पनि अमेरिकामा कुनै केटी मान्छेउपर मोटी शब्द प्रयोग नगर्नुहोला । महिलामाथि मौखिक दुर्व्यवहार ‘भर्बल अफेन्स’मा पक्राउ पर्न सक्नुहुन्छ । इत्सेको ब्वाइफ्रेन्ड पनि छ – भिन ! उनीहरू सँगसँगै नै हुन्छन् । भिन यस्तै उस्तै काम गर्दछ । खासै उसको स्थायी काम भने छैन तर पनि जे होस् परिआउने काम गर्ने भएकोले दुई चार पैसा कमाउँछ । आफूलाई खान पुर्‍याएको छ । इत्सेलाई चुरोट र बियर वाइन पनि पुर्‍याएकै । इत्से भने काम गर्दिन । पूर्ण रूपेण ऊ भिनमै आश्रित छे । थप कुरा मेरो चासो बाहिरको कुरा हो ।

एक दिन मैले चासो लिएर इत्सेलाई सोधें पनि, “तिमी काम गर्दिनौ ?” उसले सहज भावमा भनी, “मैले काम गरेको छैन ।”

“किन त ?” मेरो प्रश्नको उत्तर दिँदै उसले भनेकी थिई, “मलाई कसले काम दिन्छ र ? फेरि मलाई काम गर्न पनि अल्छी लाग्छ ।”

यति सुनेपछि मसँग उता प्रश्न बाँकी नै रहेनन् । जे भए पनि मस्तले चुरोट उडाउन पाएकै छे, बियर वाइन पिउन भिन छँदैछ । खानेकुरा किन्न सरकारले दिएको ‘फुड–स्ट्याम्प कार्ड’ छँदैछ । काम पो किन गर्नुपर्‍यो ? मनमनै कुरा खेल्यो । अँ, इत्से कहिलेकाहीँ एउटा पुरानो एसयुभी गाडी लिएर आउँछे । उसले भनेकी थिई, यो उसकी आमाको गाडी हो । पछि मलाई दिने भनेको छ आमाले ।

= = =

एक दिनको कुरा हो, मैले काम गर्ने स्टोरको पार्किङ लटमा ४ वटा प्रहरीका गाडीहरू आएर एउटा ट्रकलाई घेरा हाले । मैले हेरें अनि देखें– भिन पक्राउ परेका रहेछन् । कुनै ट्राफिक नियम उल्लंघनमा प्रहरीले रोकेको हुनुपर्छ । प्रथम अनुमान यही गर्न सकिन्छ । आफैं पनि विगत १२ वर्षमा ट्राफिक नियम उल्लंघनका नाममा ४ पटक प्रहरीले रोकेको कुरा लेखिएन भने भिन पक्राउ परेको कुराको अनुमान कसरी गर्नू ? करीब १ घण्टाको केरकारपछि प्रहरी त्यहाँबाट बाहिरियो । भिन स्टोरभित्र छिरे एक्लै फत्फताउँदै । उनी भन्दै थिए, “अल फकिन् शिट, सन अफ् बिच ।”

यो खालको भाषा हाम्रो लागि अप्रिय हुन्छ । चार जना मानिस भेला भएको ठाउँमा बोल्न सकिँदैन तर यहाँ यत्रतत्र सर्वत्र, के महिला के पुरुष सबैले यो भाषा सामान्य अवस्थामा पनि बराबरी बोल्दछन् । अब त बानी परिसकियो । कडा रिस उठेको बाहेक यस्तो शब्द म बोल्दिन । उसो त नेपालमा ताप्लेजुङ जिल्ला लिम्बूवान क्षेत्रमा जन्मी हुर्किएको मान्छे हुँ, बोल्नै पर्‍यो भने त मातेको मान्छेले अंग्रेजी फररर बोलेजस्तै यो भाषा पनि फरररै बोल्न त आउँछ ।

लेख्न बसेको बेला भड्किहाल्छु के म ! मैले भिनलाई सोधें, “के भएको हो ?”

भिनले जवाफमा भन्यो, “मदफक ! मेरो ट्रकमा भएको काठको मूढा बाँधेको छैन भनेर मलाई रोकेको भन्छ सन अफ् बिच ।”

“अनि के भयो त अन्तमा ?” मैले पुनः प्रश्न गरें ।

भिनले भन्यो, “अल फक्डअप म्यान । उसले मलाई कोर्ट डेट दियो ।”

“कोर्ट–डेट किन नि ?” मैले सोधें, “तिमीलाई उसले त्यो काठको लग नबाँधेकोमा टिकट दिनुपर्ने । त्यो तिरे भैगएको थियो त ?”

भिनले भन्यो, “स्टुपिडलाई मैले यो लग खस्दैन, खसेको पनि छैन, मलाई किन रोकेको ? भनेर सोधें ।”

उसले मेरो कुरा सुन्नै चाहेन । उसले मलाई दिएको टिकटमा ‘हस्ताक्षर गर’ भन्यो । मैले गरिनँ । विवाद बढ्दै गयो । अन्तमा उसले प्रहरीसँग अनावश्यक विवाद गरेको र कानून कार्यान्वयनमा बाधा पुर्‍याएको भनेर दोस्रो चार्ज लगायो । यो चाहिँ क्रिमिनस अफेन्समा जान्छ । यसको लागि कोर्टले नै फैसला गर्नुपर्छ भनेर ‘कोर्ट–डेट’ दियो ।

= = =

केही दिनपछिको कुरा हो इत्सेलाई मैले स्टोरमा पुनः देखें र सोधें, “हेल्लो इत्से, तिमी त हरायौं त ?”

उसले भनी, “याऽऽऽऽ, इट्स अल गन रङ्ग, रायन ।”

यहाँ रायन भनेको म हो नि, नझुक्किनुहोला ।

“के भयो र ?”

मेरो प्रश्नको उत्तर दिँदै उसले भनी, “भिनलाई क्रिमिनल अफेन्समा कोर्टले जेल पठायो । भिन ९ महिनाको लागि जेल गयो ।”

म आश्चर्य हुँदै फेरि सोधें, “अहिले भिन कहाँ छ त ?”

उसले भनी, “जेलमा !”

कारणबारे सोधेको प्रश्नमा इत्सेले फेरि भनी, “अस्ति नै यही बाहिर पार्किङ लटमा पुलिससँग विवाद गरेकोमा ।

“आइ एम सरी इत्से ! आइ विस् हिम गुडलक, हि विल बि फाइन् ।” मसँग भन्ने यति नै विकल्प थियो ।

उसले भनी, “होप सो, थ्याङ्क यु ।” उसलाई कमाएर खुवाउने उसको ब्वाइफ्रेन्ड नै जेल गएपछि उसको डुंगा त दहमै डुब्यो नि ।

भिन जेल गएपछि इत्से अलि कम आउँथी स्टोरमा । ऊ आउँदा जेकबसँग आउँथी । जेकब भिनको आफ्नै भाइ हो । जेकबको बारेमा के भनौं भने ऊ एउटा आवारा केटा हो । भिन कम्तीमा काम त गर्थ्यो तर जेकब मौका परे चोरी पनि गर्थ्यो । भिन जेल गएपछि इत्से घरबाट किनमेलमा आउँदा–जाँदा जेकबसँग देखिन्थी । सबै ठीकठाक थियो ।

केही महिनापछि एक दिन इत्सेले आएर भनी, “रायन ! म प्रेगनेन्ट छु ।” यसमा आश्चर्य नमान्नुहोला, हाम्रा दिदीबहिनीहरूले त भुँडी देखाउँदै बेबी–सावर गर्छन् भने इत्सेले प्रेगनेन्ट छु भनेर मलाई कार्यस्थलमा भन्नु के अनौठो भयो र ?

मैले खुशी व्यक्त गर्दै भनें, “ल बधाई छ तिमीलाई ।”

उसले भनी, “नो रायन, यो राम्रो खबर होइन ।”

छक्क पर्दै सोधें, “किन नि ?”

उसले भनी, “यो पेट जेकबको हो ।”

जेकब अर्थात् भिनको भाइ ! अथवा आफ्नो ब्याइफ्रेन्डको भाइसँग इत्सेले सम्पर्क गरी पेटमा बच्चा हुर्काउँदै छे । अर्को शब्दमा भन्दा जेकबले आफ्नो दाजु भिन जेल गएको समयमा दाजुकै केटीसँग सम्बन्ध बनाई गर्भिणी तुल्यायो । मेरो शरीर चिसो भयो । म एक भन्नु न दुई भन्नु भएँ । तर कुनै खास देखिने इमोसन नदेखाई भनें, “ओऽऽऽ …. ओ… !”

“गलत भएछ त ।” मैले प्रतिक्रिया दिएँ ।

“हो, गलत भयो ।” उसले पनि भनी ।

“अब के हुन्छ ?”

मेरा सबै प्रश्नको उत्तर दिँदै उसले भनी, “केही हुँदैन, बच्चा जन्माउने हो । अब म भिनको प्रतीक्षामा छु । भिनले के भन्छ थाहा छैन । तर म जेकबसँग भने बस्दिनँ । बच्चा उसको हो, उसले दाबी गर्न त सक्छ तर पनि बच्चा मैसँग हुन्छ । म भिनसँगै बस्छु । जेकबकै बच्चा भए पनि बच्चा हामीसँग बस्छ । केही फकर पर्दैन ।”

मलाई बडेमानको पर्वत जत्रो लागेको कुरा उसलाई कण जत्रो मात्रै लाग्दैछ । सोच्दै छु, हाम्रो समाज भए जात्रा हुन्थ्यो । जिम्मा लगाउने कुरा, मुद्दामामिला, झगडा आदि कति हुन्थ्यो कति ! अबगाल, धर्म, संस्कृति, खानदान, सन्तान, जात कति कति जोडिएर आउँथे– भन्नै पर्दैन । अझ इस्लामिक समाज भए त्यस्तो कृत्य गर्ने दुवैलाई मृत्युदण्ड पनि हुन्थ्यो । गजब छ यहाँको समाज । तर के थाहा भयो भने इत्सेलाई जेकबसँग कुनै हालतमा बस्नुछैन । ऊ आफैं भन्छे, “जेकब क्रेजी छ ।”

समय त आफ्नै गतिमा बग्छ । केही दिनपछि इत्से र भिन सँगै किनमेल गर्न आए । अर्थात् भिन ९ महिना जेल बसी निस्किएर आइसकेछ । समय एक निमेषमा बितेछ । इत्सेको पेटको आकार अब बेबी सावर गर्ने जत्रो, बाहिरबाट मुहा .. गर्ने बराबरको भइसकेको छ । यहाँ मैले पेटको साइज मात्र वर्णन गर्न खोजेको हो । कसैप्रति लक्षित नठान्नुहोला । म अर्को चकित परें । भिन र इत्से त सँगै छन् । खास समस्या छ जस्तो पनि देखिन्न । भिनले उसरी नै समान किने । उनीहरू सामान्य अवस्थामा आए, सामान्य अवस्थामै गए । असामान्य त म भइरहेको थिएँ भित्रभित्र । सोचेँ, जीवन जगत्लाई हेर्ने मानसिक, सांस्कृतिक भिन्नता भनेकै यही हो । शेक्सपियरले भने जस्तो यहाँ नकारात्मक सकारात्मक केही हुँदैन, सोचाइले त्यसको निर्माण गर्दछ । घटनाहरू सापेक्षित हुन्छन् भनेको यही हो ।

हो, जेकब चाहिँ भिन जेलबाट फर्किएपछि बौलाहा जस्तो हिँड्थ्यो र अपशब्दहरू ओकल्दै भन्थ्यो, इत्से ‘होर’ हो, ‘प्रोस्टी’ हो, ‘बिच’ हो । उसले बोलेका र प्रयोग गरेका शब्दहरू नेपालीमा अनुवाद के हुन्छ मलाई थाहा भएन । होर भनेको नगरबधु भनेको होला शायद ! प्रोस्टीको अर्थ चाहिँ वेश्या हो कि !

जेकब भन्थ्यो, “भिन एउटी वेश्यासँग बसेको छ ।“ उसले दाजुलाई पनि तथानाम गाली गर्दै भन्थ्यो, “भिन एक पागल मान्छे हो । त्यस्ती केटीसँग बस्न त्यसलाई नैतिकताले दिन्छ ? उसलाई लाज लाग्नुपर्ने हो त्यो अर्काको पेट बोकेकी आइमाईसँग बस्न ।”

विचित्र छ लीला, जेकब जसमा कोही चरित्र छैन, नैतिकता छैन तर ऊ आफ्नै दाजुमाथि लाज र नैतिकताको प्रश्न उठाइरहेको छ । उदेक लाग्दा छन् कुरा पनि ।

एउटा कुरा तपाईंलाई मात्र कानमा भन्छु, अरूलाई नभन्नू है ! यताका धेरै मानिस व्यक्तिगत स्वतन्त्रता, स्वतन्त्र समाजको पुस्टी गर्न एशियाका धेरै देशहरूमा व्यक्तिगत सम्बन्ध, सामाजिक व्यवस्था एकदमै साँघुरो र श्वास थुन्ने खालको हुन्छ भन्दछन् । यो उदेकको पनि उदेक के रहेछ भने हामीलाई उनीहरू देख्दा उदेक लाग्दोरहेछ, उनीहरूलाई हामी देख्दा उदेक लाग्दोरहेछ ।

महिना पुगेपछि इत्सेले बच्चा जन्माई । बच्चा ठीकठाक थियो । इत्से, भिन र जेकबका बीच समस्याहरू घटेका थिएनन्, बढेकै थिए । यहाँसम्म आइपुग्दा माथि शान्त देखिएको भनिएको भिन पनि अशान्त भएको हुनुपर्छ, बच्चा जन्मिएपछि इत्सेसँग उसको सम्बन्ध बिग्रँदै गयो । कारण थाहा छैन, अनुमानसम्म गर्न सकिन्छ । सम्बन्ध अत्यन्तै खराब स्तरमा पुगेपछि इत्से र भिन अलग भएछन् । इत्से बच्चासहित उसकी आमासँग बस्न थाली तर त्यहाँ पनि सहजता पक्कै थिएन । त्यो अन्तर्यको कुरा थाहा छैन, सोध्ने कुरा पनि भएन ।

केही दिनपछि एउटा अत्यन्तै अप्रिय समाचार सुनेँ, इत्सेको बच्चा बित्यो भनेर । बच्चा कुनै बिरामी थिएन र बच्चाको निधन अस्पतालमा पनि भएको थिएन । त्यसपछि इत्से निरास, एक्लो र दुःखी जस्तो भएर चुरोट किन्न आउँथी । ऊ अस्वस्थ देखिन्थी ।

नित्से अहिले अनुहारमा भद्दा मेकअप र आँखाको माथिल्लो सतहमा कहिले हरियो कि, नीलो कि, के जस्तो, कस्तो लाग्ने रङ लगाएर हिँडेकी देखिन्छे । केही वर्षअगाडि श्वेत वर्णकी एक सुन्दर युवती एकाएक कुरूप भएकी छे । सम्बन्ध र परिवार बिग्रिएपछि राम्रो खान पाइन होला, राम्रो लाउन पाइन होला । घर छैन, सुत्ने ठाउँ छैन । अनिद्राले ज्यान खान्छ, भोकले आँत छिनाउँछ । मस्तिष्कमा तनाव छ । काम छैन, आम्दानी छैन । त्यसो भएपछि स्वास्थ्य बिग्रन्छ । अब उसको सौन्दर्यको फूल कहाँबाट फक्रिरहोस् ।

म एक दिन मध्यरातमा काम सकेर घर जान लाग्दा बाहिर गाडीमा इत्सेलाई देखें । उसको गाडीको प्यासेन्जर साइडको झ्यालको शीशा फुटेको थियो । त्यसमाथि प्लास्टिकले अस्थायी रूपमा छोपेको थियो ।

उसैले सोधी, “रायन यु गोइङ होम ?”

मैले ‘यस’ भन्दै सोधें, “तिमी यो मध्यरातमा यहाँ के गरिरहेकी छौ ?”

उसले भनी, “मेरो जाने ठाउँ कतै छैन । म अब यहीँ गाडीमा सुत्ने हो ।”

म निरुत्तर थिएँ ।

“अनि भिन खोइ त ?”

मेरो प्रश्नको उत्तर दिँदै उसले भनी, “वि आर नो मोर टुगेदर ! हि इज ए पिस अफ शिट !” अर्थात्, हामी सँगै छैनौं, ऊ एउटा फोहोरको टुक्रा हो ।

“अनि यो गाडी तिमीलाई प्राप्त भयो त ?”

उसले जवाफमा भनी, “हो अब यो गाडी म नै चलाउँछु । तर यसको टाइटल आमाकै नाममा छ ।”

“नाम किन नसारेको त ?”

उसले उत्तर दिई, “नाम सार्न पनि कर तिर्नुपर्छ । अब पैसा नै छैन ।”

उसको कुरा सुनेर मैले सुझाव दिएँ, “डि.एम.भी.गएर आमाले छोरीलाई ‘गिफ्ट’ दिएको भनेर टाइटल सार्नु । गिफ्टका लागि कर तिर्नुपर्दैन ।”

मेरो कुराको उत्तर दिइन उसले । मेरो कुरा इत्सेले सुनेको मात्र भयो ।

यो हो इत्सेको कथा जसलाई मैले निबन्धमा प्रस्तुत गरें । यो कथा अमेरिकी जनसंख्याको एउटा ठूलै हिस्साको प्रतिनिधि घटना हो । पात्र र घटना फरक छन्, तर यस्ता दुर्दान्त कथाहरू कति छन् कति !

दर्शनमा ‘नियतिवाद’ कि ‘स्वतन्त्र इच्छा’ भन्ने दुई विपरीत मत छन् । हिजो आज पनि इत्से सिसिफसको जीवन बाँचिरहेको देख्छु । इत्सेको जीवन नियति हो कि स्वतन्त्र इच्छा हो ?

भर्जिनिया, अमेरिका !