जैन नीतिमीमांसा

धर्मको नीतिमीमांसाभित्र जीवनको उद्देश्य के हो र यस उद्देश्यका प्राप्तिका लागि के के साधनहरू उपलब्ध छन् ? भन्ने व्याख्या आउँछ । उद्देश्यको कुरा गर्दाखेरि जीवनमा केही कमी छ, केही समस्या छ भन्ने देखिन्छ र त्यसको परिपूर्तिका लागि उद्देश्य आउँछ । यदि उद्देश्य वा इच्छा छैन भने त्यो पूर्ण छ । जहाँ पूर्णता छ, त्यहाँ कुनै उद्देश्य नै हुँदैन ।

यसैले ईश्वरको कुनै उद्देश्य हुँदैन किनभने ईश्वर पूर्ण छ । पूर्ण ईश्वरको के उद्देश्य हुनु ? कुनै पनि धर्मका मानिसहरू ईश्वरको उद्देश्य छ भन्दैनन्, कारण ईश्वर पूर्ण छ । त्यसैले, ईश्वर पूर्ण छ भन्ने अनि ईश्वरले दुनियाँ बनाएको हो पनि भन्ने हो भने यसको उत्तर पाउन कठिन छ । उद्देश्य निशेष ईश्वरले किन र कुन उद्देश्य प्राप्त गर्न सृष्टि गर्नुपरेको ? यो एउटा जटिलप्रश्न हो ।

जैन धर्मको उद्देश्य के हो त ? यसको उत्तर हो कैवल्य प्राप्त गर्नु । कैवल्य प्राप्तिको बाटोमा सबैभन्दा ठूलो बाधा हो “बन्धन” । बन्धनका बारे जैन साहित्यमा भनिएको छ–

सकषायत्वात् जीवः कर्मणो योग्यान् पुद्गलान् आदते । स बन्धः ।

अर्थः कषाययुक्त जीवले आफूलाई कर्मका लागि उपयुक्त पदार्थहरूमा अभ्यस्त बनायो । त्यो नै बन्धन हो ।

कारणः मिथ्यात्व, अविरति, प्रमाद, कषाय, योग ।

कर्मः ज्ञानावरणीय, दर्शनावरणीय, मोहनीय, वेदनीय, नाम, आयुष्य, गोत्र, अंतराय ।

जैन धर्मले कर्म सिद्धान्त मान्दछ । जहाँ कर्मको कुरा आउँछ, त्यहाँ मानिसहरू बन्धनमा पर्दछन् । बन्धनको मूल कारण अविद्या हो । बन्धनको अर्थ मुक्तभावबाट टाढा हुनु र यो संसारमा अल्झिनु हो ।

कर्मकै कारणले मानिस बन्धनमा पर्दछन् । बन्धनका कारणले मानिसमा भोगको इच्छा रहिरहन्छ र त्यसका लागि पुनर्जन्म हुन्छ । जबसम्म मानिस पुनर्जन्मको चक्रमा पर्दछन्, तबसम्म मुक्तभावबाट टाढा रही कर्ममा आउँछन् र बन्धनमा परिरहन्छन् । जब मानिस बन्धनबाट मुक्त हुन्छ, तब मात्र मोक्ष प्राप्त हुन्छ । यो सिद्धान्त अन्य धर्मसँग पनि मिल्दोजुल्दो नै छ ।

बन्धनका कारण :

बन्धनका कारण के हुन् ? यो एउटा सुन्दर प्रश्न हो । जीव स्वयम्मा पवित्र हुन्छ तर जब यो अज्ञानमा पर्दछ, यसमाथि कर्मबन्धन हावी भई शरीरभित्र प्रवेश गर्दछ । जबसम्म जीव शरीरभित्र रहन्छ, तबसम्म यो बन्धनमा बाँधिन्छ । बन्धनका ५ कारणहरू छन्ः

(१) मिथ्यात्वः मिथ्यात्व भनेको आफ्नै बारेमा मिथ्या ज्ञान प्राप्त गर्नु र अनन्त चतुष्ठाययुक्त जीवलाई शरीर सम्झनु । मिथ्यात्व बन्धनको पहिलो कारण हो ।

(२) अविरतिः अविरति भनेको वैराग्यको अभाव हुनु, भोग विलासमा डुब्नु बन्धनको दोस्रो कडी हो ।

(३) प्रमादः प्रमाद भनेको आलस्य हुनु । प्रयास गर्ने कुराबाट वञ्चित रही आराम खोज्नु, शारीरिक सुख खोज्नु बन्धनको तेस्रो कारण हो ।

(४) कषायः कषायलाई वासना भनिन्छ । अर्को शब्दमा, कर्मका पुद्गल आकर्षित गर्ने कुप्रवृत्तिलाई कषाय भनिन्छ । कषाय चार प्रकारका छन्– (क) क्रोध (Anger), (ख) मान (Pride), (ग) लोभ (Greed), (घ) मायामोह (Infatuation) । तेल लगाएको शरीरमा टाँसिएको धुलो जस्तै वासना मानिसको शरीरमा टाँसिएर बसेको हुन्छ । त्यसैले वासनालाई टाँसिने पदार्थ (Qmicky Substance) पनि भनिन्छ । वासना बन्धनका तत्त्वहरूलाई आकर्षित गर्ने सबैभन्दा सहज माध्यम हो र बन्धनका लागि सबैभन्दा प्रभावकारी कारण पनि हो । वासनाकै कारण मानिसभित्र कर्मका पुद्गल सबैभन्दा छिटो प्रवेश गर्दछन् र मानिस कर्मका लागि थप उद्दत हुन्छ ।

(५) योगः यहाँ योगको अर्थ हो कर्म गर्नु । बन्धनको स्थितिमा जेजति कर्महरू हुन्छन्, ती सबै योग हुन् । कषायको अवस्थाबाट मानिस जब कर्मका लागि थप उद्दत हुन्छ, तब मानिस योग अर्थात् अरु थप कर्म गर्न थाल्छ र काँडाघारीमा अल्झेको प्राणी जस्तो कर्मबन्धनमा अल्झिरहन्छ । यो बन्धनको पाँचौं कारण हो ।

बन्धनमा पार्ने कर्मका किसिम

कर्म गर्नु कर्मबन्धनमा फस्नु हो भनेपछि कर्म कति कसिमका हुन्छन् भन्ने प्रश्न आउँछ । मानिसलाई बन्धनमा पार्ने कर्मलाई जैनधर्मीहरूले ८ प्रकार भनी बताएका छन् । कर्मबन्धनले–

(१) ज्ञानावरणीय – मानिसको ज्ञानलाई ढाक्दछ । (२) दर्शनावरणीय – आस्था भक्तिलाई ढाक्दछ । (३) मोहनीय – शरीरमा मोह पैदा गर्दछ । (४) वेदनीय – शरीरमा वेदना उत्पन्न गर्दछ । (५) नाम – नाम प्रसिद्धिको भोक उत्पादन गर्दछ । (६) आयुष्य – आयुको बन्धनमा पार्दछ । (७) गोत्र – गोत्रको बन्धनमा पार्दछ । (८) अन्तराय – मानिसको आफ्नै स्वरूपलाई भङ्ग गर्दछ । जस्तो– अंगभंग हुने, पक्षघात हुने आदि ।

जीवनको उद्देश्य के हो ? उत्तरः कैवल्य-मोक्ष

मोक्ष वा कैवल्य जीवनको चरम लक्ष्य हो । कर्मबन्धनबाट मुक्त हुनु नै मोक्ष प्राप्त गर्नु हो । अर्को अर्थमा जीव र पुद्गलको संयोग हुनु बन्धन हो, वियोग हुनु मोक्ष हो । मोक्षको बाटोमा कर्म आउँछ र कर्मबन्धन नै मोक्ष प्राप्तिको मूल बाधक हो । कर्मको बन्धनबाट जो मुक्त हुन्छ, त्यसले कैवल्य प्राप्त गर्दछ ।

जैन धर्ममा मोक्षको विशेष अर्थ छ, जस्तो– कृत स्वकर्मक्षयो मोक्षः अथवा, “कृत” “स्वकर्म” “क्षयो” “मोक्ष” । अर्थः कृत (जो गरिएको) स्वकर्म (आफ्नो कर्म) क्षयो (नाश हुनु) मोक्ष (मोक्ष हुनु) । बिस्तारमा, जो कर्म आजसम्म गरियो, त्यसको नाश हुनु नै मोक्ष हो । यो कसरी प्राप्त हुन्छ त ? यसका लागि त्रिरत्नलाई मोक्षमार्ग मानिएको छ ।

त्रिरत्न

त्रिरत्नलाई सूत्रमा सम्यक् दर्शनज्ञानचरित्राणि मोक्षमार्ग भनिएको छ । अथवा, “सम्यक् दर्शन”, “सम्यक् ज्ञान”, र “सम्यक् चरित्र” । यी तीन रत्न नै मोक्षमार्गका त्रिरत्न हुन् ।

(१) सम्यक् दर्शन – सत्यको बाटो लिनु, सत्यप्रति श्रद्धाभाव राख्नु सम्यक् दर्शन हो । सम्यक् दर्शनले अन्धविश्वास हटाउनुपर्छ । कुनै समाजका अलग अलग धर्मसम्प्रदाय, समूह आदिमा स्थापित अन्धविश्वासबाट मुक्त हुनु सम्यक् दर्शन हो । सम्यक् दर्शन भन्नु नै बौद्धिक विश्वास पनि हो ।

(२) सम्यक् ज्ञान – सम्यक् ज्ञान भनेको कुनै जीव र अजीव वस्तुको मुल तत्त्वको पहिचान गर्न सक्नु सम्यक् ज्ञान हो । सम्यक् दर्शनलाई ठीकसँग पढ्नु सम्यक् ज्ञान हो । सम्यक् ज्ञानको अभावमा मानिस कर्मबन्धनको चक्रमा पर्दछ । बन्धनबाट मुक्तभावमा जाने पद्धति भनेकै सम्यक् ज्ञान हो । ज्ञानले नै सम्यक् दर्शनको बोध पनि गराउँछ ।

(३ं) सम्यक् चरित्र – सम्यक् दर्शन र सम्यक् ज्ञानबाट प्राप्त श्रद्धा र ज्ञानलाई जीवन चरित्रमा ल्याउनु नै सम्यक् चरित्र हो । सम्यक् चरित्रले हित र अहित छुट्याउन सघाउँछ । सम्यक् चरित्रले व्यक्तिको मन वचन र कर्मलाई नियन्त्रण गर्दछ । साथै, चरित्रले कर्मबन्धनबाट पनि मुक्ति दिलाउँछ ।

सम्यक् चरित्र

सम्यक् चरित्र मोक्षमार्गका लागि सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यसका लागि ५ आचरणहरूको पूर्ण परिपालन आवश्यक छ । ती हुन्– (१) पाँच समिति (२) तीन गुप्ती (३) दश धर्म (४) पंचव्रत (५) मोक्षमार्ग ।

(१) पाँच समितिः यहाँ समितिको अर्थ सावधानी हो । सम्यक् चरित्रका लागि ५ सावधानी अपनाउनुपर्छ । ती हुन्–

(क) ईर्या – ईर्याको अर्थ हिंसा । कुनै पनि खालको हिंसा नहोस् भन्ने कुरामा सावधानी लिनुपर्छ ।

(ख) भाषा – सबैसँग सही र विनम्र भाषाको प्रयोग गर्नुपर्छ । बोलीमा सावधानी अपनाउनुपर्छ ।

(ग) एष्णा – एष्णाको अर्थ इच्छा हो । इच्छामा सावधानी अपनाउनुपर्छ । सकेसम्म कम इच्छा गर्नुपर्छ । इच्छा त्यति मात्र गर्नुपर्छ जति आवश्यकता छ । उचित भिक्षा लिनुपर्छ । आवश्यकताभन्दा बढी भिक्षा लिनु संग्रह गर्नु हो । मितव्ययिता अपनाउनु पनि एष्णा हो ।

(घ) आदान–निक्षेपण – सामान स्थानान्तर गर्दा सावधानी अपनाउनुपर्छ । यस कार्यले कुनै हिंसा नहोस्, साना कीरा फट्याङ्ग्राहरू पनि नमरुन् भन्नेमा ध्यान पु¥याउनुपर्छ । हिँड्दा कुनै प्राणीमाथि असुविधान नहोस् भन्नेमा ध्यान पु¥याउनुपर्छ ।

(ङ) उत्सर्ग – उत्सर्गको अर्थ हो त्याग गर्नु । वस्तु–संग्रह त्याग गर्नुपर्दछ । यसलगायत दैनिक शौच आदिको उत्सर्ग गर्दा पनि एकान्त वा शून्य ठाउँमा गर्नुपर्छ । उत्सर्गले कुनै वा कसैको हानी–नोक्सानी नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ ।

(२) तीन गुप्तिः

गुप्ति भनेको अनुशासन हो । मन, वचन र कर्मले अनुशासित हुनुपर्छ । मानिसले ३ किसिमका अनुशासन पालन गर्नुपर्छ–

(क) काय (तन), शारीरिक अनुशासन ।

(ख) मनो (मन), मानसिक अनुशासन ।

(ग) वाक् (वचन), भाषिक अनुशासन ।

तसर्थ, गुप्तिको मतलव तन, मन र वचनको तहसम्म अनुशासन हुनुपर्छ ।

(३) दश धर्मः

मोक्षका लागि जैन दर्शनले दश धर्मको पालना गर्नुपर्छ भनेका छन् । ती हुन्–

(क) सत्य, सत्यमा रहनु, झुठो नबोल्नु सत्य धर्म हो ।

(ख) क्षमा, क्षमा दिनु, सहनशील हुनु ।

(ग) शौच, शौचको अर्थ खानपान, आचरणमा शुद्धता राख्नु ।

(घ) तप, तपको अर्थ कठोर नैतिकवान, सादा, त्यागी हुनु ।

(ङ) संयम, कार्य गर्दा वा बोल्दा उत्तेजना फैलाउनुहुँदैन । संयमता अपनाउनुपर्छ ।

(च) त्याग, कुनै पनि किसिमको संसारिक इच्छा, प्राप्ति वा भोगको परित्याग गर्नु ।

(छ) विरक्ति, विरक्तिको अर्थ विषयवस्तुप्रतिको आशक्ति वा मोह भंग हुनु ।

(ज) मार्दव, मार्दवको अर्थ मानवता, कोमलता, अहंकारविहीन हुनु ।

(झ) सरलता, तडकभडक कार्यव्यापार त्याग गरी सरल जीवनशैली अपनाउनु

(ञ) ब्रह्मचर्या, यहाँ ब्रह्मचर्यको अर्थ वासनारहित हुनु हो ।

धर्मका प्रकारका विषयमा हिन्दु धर्मको मनुस्मृतिमा १० धर्मलाई यसरी उल्लेख गरिएको छ–

धृतिः क्षमा दमोऽस्तेयं शौचमिन्द्रियनिग्रहः

धीर्विद्या सत्यमक्रोधो दशकं धर्मलक्षणम् ।।

अर्थ– धैर्य, क्षमा, संयम, अस्तेय (चोरी नगर्नु), शुद्धता, इन्द्रिय संयम, बुद्धि, ज्ञान, सत्यता र अक्रोध धर्मका दश लक्षण हुन् ।

त्यस्तै, याज्ञवल्क्य स्मृति ग्रन्थमा ९ धर्मलाई यसरी सूत्रबद्ध गरिएको छ–

अहिंसा सत्यमस्तेयम् शौचमिन्द्रियनिग्रहः ।

दानं दमो दया शान्तिः सर्वेषां धर्मसाधनम ।। अर्थः अहिंसा, सत्य, अस्तेय (चोरी नगर्नु), शौच, इन्द्रियनिग्रह, दान, संयम, दया, शान्ति ।

(४) पंचव्रत

सम्यक् चरित्रको सवालमा ५ गुणहरूलाई विशेष ध्यान गरिन्छ । तिनीहरूलाई पंचव्रत भनिन्छ ।

(१) अहिंसाः मन वचन र कर्मले हिंसा नगर्नु । (२) सत्यः मन वचन र कर्मले झुठ नबोल्नु । सत्य बोल्नु । (३) अस्तेयः मन वचन र कर्मले चोरी नगर्नु । (४) अपरिग्रहः जैन धर्ममा अपरिग्रहको अर्थ मन वचन र कर्मले संग्रह नगर्नु । सामान्य अर्थमा, विषय आसक्ति जस्तोः रूप, स्पर्श, गन्ध, स्वाद तथा शब्द आदि इन्द्रियको परित्याग गर्नु । (५) ब्रह्मचर्यः मन वचन र कर्मले इच्छा र वासनाबाट निरपेक्ष रहनु ।

माथि उल्लिखित ५ कर्मलाई मन वचन र कर्मले पछ्याउन निकै कठिन देखिएपछि जैन ऋषिहरूले महाव्रत र अणुव्रत भनेर दुई सिद्धान्तहरू दिए । (६) महाव्रतः जो ऋषिमुनि साधुहरू छन्, तिनीहरूका लागि पंचव्रत भन्नु महाव्रत हो । घर गृहस्थ त्यागेका मानिसका लागि महाव्रत उपयोगी हुन्छ । (७) अणुव्रतः गृहस्थमा रहेका मानिसहरूका लागि पंचव्रत भन्नु अणुव्रत हो । यसको अर्थ, अणुव्रत तुलनात्मक हिसाबले महाव्रत भन्दा खुकुलो अवस्था हो । परिवारमा रहेर पनि पंचव्रतमा रहन सकिन्छ । गृहस्थमा महाव्रत सम्भव नहुने भएकोले अणुव्रत भनिएको हो ।

(५) मोक्ष मार्ग

सम्यक् चरित्रको प्रयोगद्वारा मानिसले मोक्ष प्राप्त गर्न सक्दछ । बन्धनबाट मोक्षको मार्गमा जान ५ चरणहरू पार गर्नुपर्छ । ती हुन्–

(१). आसवः आसवको अर्थ हो बगेर आउनु । मानिसभित्र कर्मका पुद्गल हावासरि, नदीसरि बगेर आउँछन् । वासना स्वरूपमा घेरिएको मनुष्यलाई तिनले घेरा हाल्दछन् । यदि रोक्ने उपाय गरेको छ भने

(२) बंधः बंधको अर्थ हो बाँधिनु, बन्धनमा पर्नु । आसवबाट आएका कर्मका पुद्गलले त्यसपछि मानिसलाई बन्धनमा लिन्छ ।

(३) संवरः संवर भनेको रोक्नु हो । बाहिरबाट आउने कर्मका पुद्गलहरूलाई रोक्ने प्रयास गर्नु । यसो गरियो भने जीव कर्मबन्धनबाट जोगिन सकिन्छ ।

(४) निर्जराः निर्जरा भनेको मानिसभित्र पहिल्यै रहेका कर्मलाई हटाउनु अथवा आफूलाई सफा गर्नु ।

(५) मोक्षः मोक्ष माने कैवल्य । यसरी मानिसभित्र बगेर आई कर्मबन्धनमा पार्ने कर्मका पुद्गललाई रोक्दै पूर्ववत् रहेका बन्धनलाई सफा गरेपछि मोक्ष प्राप्त हुन्छ ।

आत्माः प्रमाण ।

जैन धर्मले निम्नलिखितअनुसार आत्मा हुन्छ भन्ने कुराको प्रमाण प्रस्तुत गरेको छ ।

(१) वस्तुका प्रत्यक्ष दृश्य हुनु र तिनीहरूको गुणको आधारमा पहिचान हुनु । आत्माको गुण जस्तो चेतना, सुख, सन्देह, स्मृति आदि गुणको प्रत्यक्ष अनुभूति हुनु आत्मा हुनुको प्रमाण हो ।

(२) शरीरलाई इच्छाअनुसार चलाउन सक्नु । मानिस वा पशुपंक्षी इच्छाअनुसार शरीरका अंगहरू चलाउन सक्छन् । कुनै गाडी चलाउन चालक भए जस्तै शरीर चलाउन पनि चालक चाहिन्छ, त्यो चालक नै आत्मा हो ।

(३) आँखा, कान, नाक आदि इन्द्रिय आफैं ज्ञान दिँदैनन् तर यिनीहरू ज्ञान प्राप्त गर्ने साधन हुन् । यसको अर्थ के हो भने आत्मा नामको सत्ता छ जसले विभिन्न साधनको प्रयोगद्वारा ज्ञान प्राप्त गर्दछ ।

(४) निमित्त कारण : कुनै जड द्रव्यको उत्पन्न हुनका लागि उपादानकारणका साथै निमित्तकारणको पनि आवश्यकता हुन्छ । उपादन–कारणको अर्थ हो– कुनै वस्तुको उत्पादनमा आउने मुख्य भौतिक वस्तु । जस्तो कपडा उपादान हो भने धागो कारण हो । निमित्तकारण भनेको उपादानकारणसँग नगाँसिने तर सो कार्यका लागि आवश्यक कारण ।

जस्तो– त्यो कपडा बनाउने मानिस, धागो बनाउने मेसिन आदि निमित्त कारण हुन् । अर्को उदाहरण, घडा बनाउने चक्का, कुमाले आदि निमित्त कारण । यहाँ शरीर निर्माणका लागि पुद्गल अथवा अणु चाहिन्छ । यो अणुलाई शरीरको रूप दिनका लागि निमित्त कारण चाहिन्छ, त्यो नै जीव हो ।

श्वेताम्बर र दिगम्बर

जैन धर्मीहरू दुई सम्प्रदायमा विभाजित छन्– दिगम्बर र श्वेताम्बर । यी दुई सम्प्रदायका बीचमा धार्मिक रूपमा खास भिन्नता देखिँदैन । जति भिन्नता छ, त्यो साधुहरूको स्तरमा छ, श्रावकहरूको स्तरमा छैन । केही सामान्य भिन्नताहरू कर्मकाण्डमा स्तरमा पनि देखिन्छ । पूजा पद्धति र जैन मन्दिर एवम् तीर्थङ्करहरू प्रतिमाको संरचना र साजसज्जामा मात्र सामान्य पृथकता देखिन्छ । अन्य सैद्धान्तिक र दार्शनिक पक्षमा दुवैमा खास अन्तर देखिँदैन ।

जैनहरू दिगम्बर र श्वेताम्बरमा कसरी विभाजन भए ?

महावीरले जैनहरूको एक संघ स्थापना गरेका थिए । यसको नाम “गणधर” थियो । यसमा ११ साधुहरू नियुक्त थिए । महावीरको देहावसानपछि सुधर्मनले संघको प्रमुख नेतृत्व लिए । त्यसपछि ई.पू. ३४० मा चन्द्रगुप्त मौर्यको समयसम्म आइपुग्दा यस संघमा केही मतभेद देखापर्यो । यही मतभेदले जैन परम्परा दिगम्बर र श्वेताम्बर दुई सम्प्रदायमा विभाजित भयो । दिगम्बर परम्पराको स्थापना भद्रबाहुले गरे भने श्वेताम्बर परम्पराको सुरुआत स्थुलभद्रले गरे ।

दिगम्बर शब्द “दिक्” र “अम्बर”को सन्धि भएर बनेको छ । यहाँ “दिक्”को अर्थ “दिशा” र “अम्बर”को अर्थ “वस्त्र” हुन्छ । यसकारण, जसको सबै दिशा (दिक्) नै अम्बर अर्थात् वस्त्र हुन्, तिनीहरू दिगम्बर हुन् । अर्थात् दिगम्बर जैनहरू सबै दिशाको अम्बर पहिरिएर पूर्णरूपेण दिगम्बर अर्थात् नाङ्गा हुन्छन् । अर्को अर्थमा छ– दिक् भनेको दिशा र अम्बर भनेको आकाश पनि हो । तसर्थ, दिशा र आकाश नग्न हुनाले दिगम्बरहरू नग्न भए । श्वेताम्बरहरूले दिशा र आकाशको खास रङ् नहुने भएकोले तिनीहरूलाई प्रतीकात्मक अर्थमा सेतो मानी श्वेत वस्त्र लगाएर श्वेताम्बर भए भन्ने मान्यता छ । यसैगरी, विद्याकी देवी सरस्वतीको वाहन सेतो हाँस भएको र देवीले सेतै परिधान पहिरिएको हुनाले उनीहरूले पनि श्वेत वस्त्र धारण गरी श्वेताम्बर भएका हुन् भन्ने अर्को मान्यता छ ।

सम्राट चन्द्रगुप्त मौर्यको धार्मिक आस्था सबैसँग उस्तै भए पनि जैन धर्मतिर अलि बढी झुकाव थियो । त्यसकारण चन्द्रगुप्तले राजपाठको अन्तिमतिर आफ्ना पुत्र बिंदुसारलाई रागगद्दी सुम्पिए र जैन आचार्य भद्रबाहुसँग शिक्षा लिई उनीसँगै हिँडेका थिए ।

दिगम्बर र श्वेताम्बर सम्प्रदायबिच भिन्नता

माथि नै भनिसकिएको छ जैन धर्म श्रावकको स्तरमा खासै भिन्नता छैन । भिन्नता केवल साधुहरूको स्तरमा मात्र छ । साधुहरूकै स्तरमा केही भिन्नताहरू निम्न छन्–

दिगम्बरको अर्थ हो नग्न, निर्वस्त्र वा नाङ्गो । शब्दको अर्थबाट नै बुझ्न सकिन्छ कि दिगम्बर जैनहरू वास्तवमै शरीरमा कुनै पनि किसिमको वस्त्रको आवरण लगाउँदैन । उनीहरू सम्पूर्ण रूपमा वस्त्रहीन र नाङ्गो अवस्थामा रहेका हुन्छन् । यो नै उनीहरूको प्रथम दृष्टिमा देख्न सकिने र मुख्य विशेषता हो । वस्त्रहीन अवस्थामा मात्र मोक्षको बाटो लिन सकिन्छ भन्ने यिनीहरूको विश्वास रहिआएको छ । श्वेताम्बर जैनहरू श्वेत वस्त्रमा देखिन्छन् । शब्दको अर्थबाट नै बुझ्न सकिन्छ कि श्वेताम्बर जनैहरू केवल श्वेत वस्त्रको आवरण लगाउँछन् । उनीहरू सम्पूर्ण रूपमा श्वेत वस्त्रावस्थामा रहेका हुन्छन् । यो नै उनीहरूको प्रथम दृष्टिमा देख्न सकिने र मुख्य विशेषता हो । श्वेताम्बर जैनहरू वस्त्रहीन अवस्थामा मात्र मोक्षको बाटो भेट्न सकिन्छ भन्ने दिगम्बर मतको विपरीत विचार राख्छन् । तसर्थ, उनीहरूले श्वेत वस्त्र धारण गरेका हुन् ।

दिगम्बर सम्प्रदायमा महिलाहरूले मोक्षको बाटो लिन सक्दैनन् भन्ने मान्यता छ किनभने महिलाहरूलाई निर्वस्त्र भएर साधु स्वरूपमा साधना गर्न सम्भव छैन । तर श्वेताम्बर परम्परामा महिलाहरू पनि साधु बनेर मोक्षको बाटो तय गर्न सक्छन् किनभने यस सम्प्रदायमा निर्वस्त्र बस्नु अनिवार्य छैन । मोक्षको साधनाका लागि वस्त्रत्याग गर्नुपर्ने शिक्षा कुनै पनि तीर्थङ्करहरूले दिएका छैनन् ।

दिगम्बर साधु श्रावकको निवासमा गएर एकै स्थानमा उभिएर १ दिनमा एकपटक मात्र भोजन गर्दछन् । श्वेताम्बर साधुहरू श्रावकको घरमा बसेर भोजन गर्दछन् । यहाँ आवश्यकताअनुसार एकभन्दा बढी समयमा पनि भोजन गर्न सकिन्छ ।

दिगम्बर जैनहरू भगवान् महावीरको विवाह भएको थिएन भन्ने विश्वास गर्दछन् । यसको अर्थ के हो भने मोक्षको लागि ब्रह्मचर्य बस्न अनिवार्य छ । श्वेताम्बर साधुहरू भगवान् महावीरको विवाह भएको थियो भन्ने मान्यता राख्दछन् । यसको अर्थ पारिवारिक जीवनमा पनि मोक्षको बाटो चुन्न सकिन्छ । ब्रह्मचर्यमा बस्नै पर्ने अनिवार्य छैन ।

दिगम्बर परम्परामा केवली रोगमुक्त हुन्छन् । श्वेताम्बर परम्परामा केवली निरोगी हुन्छन् भन्ने अनिवार्य छैन ।

दिगम्बर जैनहरू महावीरको पुनर्जन्म भएको होइन, उनी एक एक मनुष्य हुन् भन्ने कुरामा विश्वास राख्दछन् । श्वेताम्बर जैनहरू महावीरको पुनर्जन्म भएको र उनी भगवान् हुन् भन्ने कुरामा विश्वास राख्दछन् ।

दिगम्बर जैनहरू कट्टर र पम्परावादी छन् । श्वेताम्बर जैनहरू परिवर्तनशील छन् ।

‍======

सनलेखना

मृत्यु शाश्वत सत्य हो । मृत्युको बारेमा विभिन्न व्यक्ति, धर्म, राष्ट्र आदिहरूका विभिन्न दृष्टिकोणहरू पाइन्छन् । हिन्दु धर्ममा ऋषिमुनिहरू इच्छा र आवश्यकताअनुसार श्वास रोकेर समाधिमा बस्दथे । सनलेखना यस्तै पद्धति हो जसमा जीवनको निश्चित अवस्थामा पुगेपछि आत्मशुद्धि र मोक्षका लागि जैनधर्मीहरू आफ्नो प्राण परित्याग गर्दछन् । सनलेखना धार्मिक पद्धति हो जसमा जीवनको अन्तमा कुनै खालका आशक्ति र इच्छाको परित्याग गरेपछि सहज प्राण परित्याग गर्ने प्रचलन छ । सनलेखनालाई श्वेताम्बर सम्प्रदायमा ‘सल्लेखना’ पनि भनिन्छ । सनलेखनाको मूल अर्थ र विधि के हो भने जीवनमा आफ्नो मृत्युको बोध भएपछि मोक्षका लागि भोजनको परित्याग गरी बिस्तारै शरीरत्याग गरिन्छ ।

सनलेखना एक अर्थमा मृत्युको सहजीकरण पनि हो । मानिस अन्तिम समयमा पनि मृत्युसँग डराइरहेको हुन्छ । त्यही ठाउँमा मानिसले आफ्नो जीवनको अन्तिम अवस्थाको बोध गरोस् र मृत्युलाई खुसीसाथ स्वीकार गर्न सकोस् भन्ने अभिप्रायका आधारमा जैन धर्मले एउटा परम्परा नै कायम गरेको देखिन्छ ।

आधुनिक संसारमा नै यो प्रचलन कायम भयो भने सनलेखना वा इच्छामृत्युका निश्चित मापदण्ड तयार होलान्, पर्याप्त आधारहरू राखिएलान् । सनलेखना ‘सही’ वा ‘गलत’ हो भन्ने लेखकको निजी विचार छैन । म यसमा तटस्थ छु ।

सनलेखनाका प्रमुख उद्देश्य–

(१) शारीरिक नियन्त्रण ।

यसका लागि मानिसले आफ्नै शरीरमाथि विजय प्राप्त गर्न बिस्तारै बिस्तारै जल तथा भोजन कम गर्दै लैजान्छ । यो समय मानिसले आफ्नो मृत्युको बोध गर्दछ । मृत्युलाई सहज स्वीकार गरी शान्ति र संयमित रूपमा देहत्याग गर्दछ ।

(२) आध्यात्मिक साधना

यसमा एक व्यक्ति चेतनाको स्तरमा मृत्युलाई स्वीकार गर्दछ । यसबाट साधकलाई सांसारिक बन्धनबाट आफू मुक्त हुँदै गरेको र जीवनको अन्त हुँदै गरेको बोध गराउँदछ । आध्यात्मिक साधना सबैभन्दा उच्च तहको तपस्या हो ।

(३) शान्ति र समर्पण हो ।

यसमा मोक्षका लागि आफ्नो जीवनको समर्पण भएको तथ्यमा बिरामी पूर्ण रूपमा विश्वस्त हुन्छ । कसैप्रति कुनै अनुराग, द्वेष, क्रोध र भयरहीत आफूलाई शान्ति र समर्पणको भावमा जीवनको परित्याग गर्दै मोक्षको स्थानमा गएको अनुभव गर्दछ ।

सनलेखना शारीरिक तपस्या मात्र होइन, आत्मिक साधना र शुद्धिकरण पद्धति पनि हो ।

आलोचना

सनलेखना एक आत्महत्या हो भनी आलोचकहरू भन्दछन् । यसको जवाफमा दीर्घ रोग लागेको, असाध्यै शारीरिक पीडा भएको व्यक्तिले सहज मोक्षका लागि भोजन लिने क्रम घटाउँदै अन्तमा मृत्युवरण गर्ने विधि हो, आत्महत्या होइन । यसको दोस्रो आलोचना के छ भने बिरामीलाई ताजा र पौष्टिक भोजन दिनुपर्नेमा भोजन नै बन्द गरी मृत्यु दिइनु गलत हो । यसमा जैनधर्मीहरूको भनाइ के छ भने मृत्युको मुखमा पुगेका, खाना पाचन गर्न नसक्न, मष्तिष्कघात भएका, कोमामा पुगेका, भेन्टिलेटरमा राखिएका आदि व्यक्ति जसले कोहीसँग सम्वाद गर्न सक्दैनन् र जीवनको सामान्य लयमा फर्कने सक्दैनन्, त्यस्ता व्यक्तिको सहज मुक्तिका लागि खानाको मात्रा घटाउँदै लगेर मोक्षका लागि सहज मुक्तिको बाटो खोलिदिनु उपकार नै हो । यो प्रक्रिया खास अवधिमा परिवारका सदस्यले अथवा व्यक्ति स्वयम् आफ्नो इच्छाले पनि सहज मुक्तिका लागि क्रमशः भोजनको परित्याग गरी मृत्युवरण गर्न सक्दछन् ।

====

सारांश

यो सही हो वा गलत हो भन्ने कुरा समाजको रीति, परम्परा र कानुनसापेक्ष हुन्छ । हिजोआज मानिसमा विभिन्न कारणले आत्महत्या गर्ने प्रचलन बढ्दै गएको छ । आत्महत्यालाई कानुनले अपराधको कोटीमा नै राखेको पाइन्छ तथापि दीर्घरोग लागेको व्यक्तिहरू, रोग तथा घाउका कारण पीडा सहन कठिन भएका बिरामीहरू आफू मर्न तयार भए पनि कानुनी समस्याका कारण उनीहरूको यो इच्छा पूर्ति हुँदैन । हिजोआज बेल्जियम, क्यानाडा, कोलम्बिया, लक्जम्बर्ग, नेदरल्याण्ड, न्यूजिल्याण्ड, स्विटरजरल्याण्ड जस्ता केही देशहरूमा नियन्त्रित किसिमको इच्छा मरणको प्रावधान कानुनी भइसकेको छ । नियन्त्रित इच्छामरण भन्नाले कानुनले नै सूचिकृत गरी इच्छामरणका लागि तोकेका अवस्था हो । यी देशमा इच्छामृत्युका अलग अलग प्रावधान रहेका छन् । केही देशमा चिकित्सकले बाँच्न सम्भव नदेखिएका र असैह्य पीडा भएका बिरामी व्यक्तिहरूलाई उनीहरूकै इच्छाका आधारमा सिफारिस गरेमा सहज मृत्य दिन सकिने कानुनी मान्यता प्राप्त भएको छ । यस्तो सुविधा नभएका देशहरूबाट इच्छा मरण लिन चाहने कतिपय व्यक्तिहरू इच्छामरणका लागि ती देशहरू जाने गर्दछन् । ती देशमा विभिन्न देशबाट मानिसहरू इच्छा मरणका लिएर जाने भएकोले ‘डेथ टुरिजम्’ चल्छ पनि भनिएको पाइन्छ ।

यदि आवश्यकताले मानिसहरू इच्छा मरण लिन पाउनुपर्छ भन्ने आवाज आधुनिक संसारमै उठेको र कतिपय देशले लागु गरेको परिप्रेक्ष्यमा तत्तत् कारणहरू यथेष्ठ उपस्थित भए सनलेखना लिने जैनधर्मीहरूको परम्परा खासै दोषपूर्ण देखिँदैन । जैन धर्ममा प्राचीन समयदेखि चलिआएको सनलेखना परम्परालाई नै आधुनिक समयले पनि इच्छामृत्युको आधार बनाएको देखिन्छ । भन्नुको अर्थ सनलेखना र इच्छा मृत्युको अवधारणा एकै ठाउँमा खप्टिएको देखिन्छ । सनलेखना पद्धतिमा बिस्तारै खाद्यान्नको परिमाण घटाएर सहज मुक्तिको मार्ग खोले जस्तै आधुनिक वैज्ञानिक तथा डाक्टरहरू खास किसिमको औषधि शरीरभित्र प्रवेश गराएर बिरामीलाई सहज मुक्तिको बाटो खोलिदिन्छन् । बिरामीको इच्छा तथा हेरचाह गर्ने परिवारका लागि पनि यो एउटा उत्तम विकल्प हुनसक्छ ।

जैन धर्म इति ।