प्रस्तुत छ, बहुप्रतिभाशाली नारायण अधिकारीसँग भाषा, साहित्य, वाङ्गमयलगायत विविध विषयमा साहित्यपोस्टका लागि अनेसासका वरिष्ठ उपाध्यक्ष  तथा साहित्यपोस्टका अन्तर्राष्ट्रिय संयोजक सर्वज्ञ वाग्लेले गरेको संवादको सम्पादित अंशः

 

अमेरिका जस्तो व्यस्त ठाउँमा बसेर तपाईंले अध्ययन, लेखन र पुस्तक प्रकाशनलाई कसरी समय मिलाइरहनुभएको छ ?

– समय कहाँ मिलेको छ र ? मिलेको भए योभन्दा कति हो कति धेरै गर्न सकिने थियो । यहाँ कामको व्यस्तताबाट त समय चोरेर, परिवारको समय चोरेर, आफ्नै मनोरञ्जन, आरामबाट समय चोरेर गर्ने हो । म अध्ययनतिर बढी छु अहिले । अध्ययन नभई लेखन कार्य गर्न गाह्रो छ । अध्ययन धेरै र लेखन अलि थोरै गर्दै छु ।

साहित्य, जीवन, दर्शन, आत्मा र प्रकृतिलाई तपाईं कसरी हेर्नुभएको छ ?

– साहित्य भनेको जीवन जगत्को अभिव्यक्त रूप हो, प्रस्तुतिकला हो । जीवन बाँचेको छु जस्तो लागेपछि कसरी बाँचेको छु ? भन्नलाई त्यसको अनुभव अभिव्यक्त गर्नुपर्छ । यही अभिव्यक्ति नै साहित्य हो ।

जीवन भौतिक उपस्थितिको आध्यात्मिक पक्ष हो । आध्यात्मिक भन्नाले ईश्वरीय सत्ता, देवी देवताप्रतिको विश्वास, भगवान् भन्ने पुरातन बुझाइको अर्थमा मात्र लिनुहुँदैन । म चाहिँ कम्तीमा लिन्न । जीवन भनेकै हाम्रो भौतिक शरीरको अस्तित्वको अनुभूतिको तहमा प्राप्त हुने चैतन्य हो । जीवन आफैंमा भौतिक वस्तु होइन, भौतिक अस्तित्वबाट प्राप्त हुने चेतन अनुभव हो । जीवन भनेको शरीर मात्र होइन, शरीरमा स्थापित भएको चेतनामय अनुभव हो । तसर्थ, भौतिक शरीर र यसमा निहित चेतनाले यी दुवैको उपस्थिति र अस्तित्वको बोध गराउँछ । यही नै जीवन हो भन्ने लाग्छ मलाई ।

दर्शन भनेको चाहिँ जब मानिस आफूबाहिर निस्केर अस्तित्वको बारेमा सोच्न थाल्दछ र विभिन्न अनुमान र सम्भावनाहरूको अध्ययन गर्दछ, त्यो दर्शन हो । दर्शन भनेको देख्नु पनि हो । अर्को अर्थमा दर्शन भनेको ज्ञानप्रतिको प्रेम हो । देख्नेले बाह्य र आन्तरिक दुवै चक्षुले देखिने, नदेखिने र शारीरिक अनुभूत हुने अवस्थाभन्दा पर पुगेर जीवन जगतको अध्ययन गर्दछ, त्यो दर्शन हो । पूर्वीय र पाश्चात्य दार्शनिकहरूले प्रस्तुत गरेका दर्शन अध्ययन गर्ने हो भने हामी यही कुरा पाउँछौ ।

आङ्गिक रूपमा आत्मा हुन्छ भन्ने लाग्दैन । हिन्दु दर्शनभन्दा विपरीत बुद्ध दर्शनले आत्माको अस्तित्वलाई अस्वीकार गर्दछ । यसले चेतनालाई स्वीकार गर्दछ । आत्मा भने पनि नभने पनि चेतना नै हो जो एक प्रवाहको रूपमा रहन्छ । बुद्धमार्गीहरूको यो विचार मलाई ठीक लाग्छ तथापि म बौद्धमार्गी भने होइन ।

तपाईंलाई जाँगरिलो लेखक भन्दा हुन्छ ?

– म आफैं त्यस्तो भन्दिन । अध्ययन गर्दछु र बुझेँ भन्ने लाग्यो भने लेख्छु । त्यति हो । म जबरजस्ती लेख्दिन पनि । पढ्न अल्छी लाग्यो भने सुत्छु । लेख्दै गर्दा आलस्य आयो भने फिल्म हेर्न थाल्छु वा त्यसै सोफामा बस्छु । त्यतिबेला पढ्छु पनि । अहिले अलि बढी वैदिक साहित्य र दर्शनहरूको अध्ययन गर्दै छु र यससम्बन्धी केही काम पनि गर्दै छु ।

संस्कृत साहित्य, नेपाली साहित्य र अङ्ग्रेजी साहित्यमा के फरक पाउनुहुन्छ ?

– संस्कृत साहित्य हाम्रो नेपाली साहित्यको मूल हो । संस्कृत भाषा पृथ्वीकै पहिलो भाषा पनि हो र संस्कृत साहित्य धेरैभन्दा धेरै सूत्रमा आधारित छ । ती सबै सूत्रहरू छन्दमा छन् । सूत्रात्मक किन भयो भने उति बेला लिपिको उत्पत्ति नभएकोले जति पनि ज्ञान, दर्शन, कला, संस्कृति आदि थिए, ती सबैलाई सूत्रमा बाँधियो । त्यसो गर्दा एक व्यक्तिबाट अर्को व्यक्तिमा, एक पिँढीबाट अर्को पिँढीमा ज्ञान सार्न सजिलो हुन्थ्यो । अर्को कुरा लिपिको विकासपूर्व ज्ञान, शिक्षा आदि श्रुति परम्परामा आधारित थिए । श्रुति परम्पराबाट अगाडि जाने हुँदा भाष्यभन्दा बढी सूत्र सम्झन सजिलो हुने भएकोले सूत्रहरू निर्माण भए जसले गर्दा सम्झन, भन्न र नयाँ पुस्तामा सार्न सजिलो होस् । हो, जब पछि लिपिको विकास भयो, त्यसपछि ती सूत्रहरूको टीका लेखिन थालियो । संस्कृतमा टीका भनेको भाष्य हो । सबैभन्दा पहिला यी सूत्रहरू र यसका भाष्यहरू ब्राह्मी भाषामा लेखिए । पछि अरू लिपिको विकास हुँदै गएपछि ती भाषाहरूमा पनि संस्कृत साहित्य लेखियो । लिपिको विकास भएपछि नै वेद, उपनिषद्, पुराणहरू लेखिए । अहिले हामीले पढ्ने संस्कृत साहित्य देवनागरी लिपिमा पढ्दछौं ।

संस्कृत साहित्य खासगरी ज्ञान क्षेत्रको विशाल भण्डार हो । अहिले चाहे उर्दू, हिन्दी र नेपाली जुनसुकै साहित्य लेखियुन्, यसै साहित्यबाट सुरु भएका हुन् । संस्कृत साहित्य आफैं चाहिँ सनातन परम्पराबाट मुक्त हुन सकेको छैन । यो साहित्य वेद परम्पराबाट आएको हुँदा यसकै सेरोफेरोमा छ । यद्यपि पुराणहरूको अन्तिम पुराण १८ औं पुराण “ब्रह्माण्ड पुराण”को अध्ययन गर्दा भने यसले ब्रह्माण्डको उत्पत्तिको कथा र अहिले विज्ञानको भन्ने गरेको “बिगब्याङ्ग” सिद्धान्तलाई पनि समेटेको पाइन्छ । हुनलाई प्रथम पुराण “ब्रह्म पुराण”को अध्ययन गर्दा उत्पत्तिको सिद्धान्त र अहिलेको बिगब्याङ्ग सिद्धान्त तुलना गर्दा ती फरक हुन् जस्तो भने लाग्दैन । संस्कृत साहित्य भक्ति परम्परामा बढी गएको भने पक्कै हो ।

नेपाली साहित्य अहिले त निकै अगाडि आएको छ । संस्कृत साहित्यबाट विकसित भए पनि यो अहिले त्यसैमा सीमित छैन । यस साहित्यले अहिले मानिसको क्रिया, कर्म र गतिविधिहरूलाई उत्पादनसँग पनि जोडेको छ । विज्ञान, कला र नव संस्कृतिका अतिरिक्त यसले आफ्नै साहित्य सिद्धान्त बोकेर पनि हिँडेको देखिन्छ । पश्चिमी साहित्यसँग पनि यसले प्रतिस्पर्धा र समन्वय गरिरहेको छ । नेपाली भाषाका कृतिहरू अनुवाद भएर भारतलगायत अमेरिकाका विश्वविद्यालयहरूमा पढाइ हुन्छन् । मिति ठ्याक्कै भन्न सक्तिन, पारिजातको शिरीषको फूल अमेरिकाको मेरिल्याण्डमा युनिभर्सिटी अफ मेल्यिाण्ड विश्वविद्यालयमा ऐच्छिक विषयमा पनि पढाइएको थियो । जापानमा अहिले नेपाली भाषालाई ऐच्छिक विदेशी भाषाको रूपमा पढाइन्छ । नेपालबाट नेपाली भाषा पढाउन थुप्रै नेपाली शिक्षकहरू जापान गएका छन् । भारतमा त नेपाली भाषा र साहित्यले भारतको संविधानमा राष्ट्रिय भाषाको मान्यता पाएको र भारतीय संविधानको भाषा अनुसूचीमा पनि यो सूचीकृत भइसकेको छ । यो नेपाली भाषाको अन्तर्राष्ट्रियकरण पनि हो ।

अंग्रेजी साहित्य त विश्वकै नेतृत्वकारी साहित्य भयो । पूर्वीय दर्शन परम्परा आदिका सबै साहित्यहरू अहिले लगभग अङ्ग्रेजीमा अनुवाद भइसकेका छन् । यो भाषा विश्वमा सञ्चारको माध्यम भाषा भएकोले यसको स्तर यसै पनि माथि हुने नै भयो । यसको तुलनामा त हामी अहिले पुग्न सक्दैनौं । पछिल्लो समयमा भने प्रविधिले अब संसारको जुनसुकै भाषामा लेखिएको साहित्यलाई चाहने बित्तिकै पाठकको मातृभाषामा पढ्न र सुन्न सकिने प्रविधिको विकास हुँदै गरेकोले नेपाली साहित्यले पनि अन्तर्राष्ट्रिय साहित्य बजारमा ठाउँ पक्कै पाउनेछ । यसको परीक्षण भने हुन बाँकी छ ।

साहित्य लेखन, अध्ययन, चिन्तन र मनन सबैको सन्तुलनले नै मानिसलाई उचाइमा लान्छ भन्ने कुरामा कत्तिको विश्वास गर्नु हुन्छ ?

– शतप्रतिशत सर । यसमा सबैभन्दा पहिलो क्रममा आउँछ अध्ययन । अध्ययनले विषयवस्तुको बोध गराउँछ । त्यसले सूचना तथा ज्ञान दिन्छ । त्यसपछि चिन्तन र मनन गर्ने प्रवृत्ति आउँछ । आफ्नो अध्ययन र चिन्तन मननबाट प्राप्त ज्ञान र अनुभव आदि लेखनमा अभिव्यक्त हुन थालेपछि मानिसका गतिविधिहरूले एउटा निश्चित आकारमा लिन थाल्दछन् । तसर्थ, तपाईंको प्रश्नमा पूर्ण विश्वास गर्दछु ।

तपाईं लघुकथा, कविता, समीक्षा र नियात्रामा निकै कलम चलाउनुभएको छ । तपाईंलाई बहुप्रतिभाशाली लेखक भन्न मिल्छ ?

– मैले जे लेखे पनि र लेख्दै गरे पनि म कविता धेरै लेख्छु । अहिले म कवि हुँ जस्तो लाग्छ । अब उता रूप बदल्ने सुरमा छु । प्रश्नका बाँकी विशेषणहरू खारेज गरौं । म बहुप्रतिभाशाली छैन तर यी विशेषणहरू सुन्दा चाहिँ त्यस्तै हुन पाए हुन्थ्यो भन्ने लाग्ने रहेछ ।

तपाईं पाश्चात्य र पूर्वीय कुन साहित्य र साहित्यकारबाट प्रेरणा पाउनु भयो ?

– पूर्वीय दर्शन, परम्परा, धर्म, सामाजिकता, भाषा, साहित्य मेरो मौलिक र आधारभूत संस्कृति हो, पहिचान हो । हामी जतिसुकै आधुनिक हुन खोजे पनि आफ्नो प्राथमिक संस्कृतिबाट मुक्त हुन सक्तैनौं । हाम्रा सबै खाले गतिविधिहरू यही प्राथमिक संस्कृतिबाट निर्देशित हुन्छन् । म अमेरिका बसेको दुई दशक भए पनि एकको दश अंशको एक अंश पनि अमेरिकी छैन । हुन सकिन । पाश्चात्य परम्पराले हामीलाई एक किसिमले अतिक्रमण गरेको छ । यसको कारण पश्चिमाहरू भौतिक उन्नतिमा अगाडि छन् र यही भौतिक सुविधाको उपभोग गर्दा कहीं कहीं त्यसको प्रभाव परेको होला । त्यो स्थानीयताको बाध्यता पनि हो, तर त्यो सबै अस्थायी हो ।

पूर्वीय साहित्यमा म वैदिक ऋषिमुनिहरू, बुद्ध, जैन, चार्वाक आदि र तिनका दर्शनबाट बढी प्रभावित छु । पश्चिमतिर आउनुभयो भने इसापूर्व ६०० देखि यताका विद्वान् दार्शनिकहरू धेर थोर सबै उस्तै देखिन्छन् । खासमा युरोपेली पुनर्जागरणकालभन्दा अगाडि चर्चहरूको एकछत्र राज भएको र विचारको स्वतन्त्रतामाथि त्यसले पूर्ण प्रतिबन्ध लगाएको थियो । इसापुर्व साढे चार सयतिर सुकरात, उनका चेला प्लेटो र प्लेटोका चेला अरस्तुहरूको वाक स्वतन्त्रतामाथि लागेको प्रतिबन्ध पनि त्यतिबेला धार्मिक अतिवाद नै थियो । ती दार्शनिकहरू तर मलाई असाध्यै मन पर्छन् । उनीहरूलाई अध्ययन गर्दा मलाई दर्शन बुझ्न सजिलो भएको हो । पछि युरोपमा १४ औंदेखि १७ औं शताब्दीको पुनर्जागरणकाल पश्चात् विज्ञानले त्यहाँ व्यापक उन्नति ग¥यो । यसका उपलब्धिहरूले पनि मलाई प्रभाव पारे ।

आधुनिक कालमा कार्ल मार्क्स मलाई मन पर्ने र प्रभाव पार्ने व्यक्ति भए । कार्ल मार्क्सकै कारण मैले राज्य, सत्ता, समाज, वर्ग, धर्म, साहित्य आदि धेरै कुरा सिक्ने मौका पाएँ । काल मार्क्सलाई राजनीतिक रूपमा ग्रहण गर्नुभयो भने अर्कै ठाउँमा पुगिन्छ तर एक दार्शनिकका रूपमा लिनुभयो भने मानव सभ्यतामा अर्थनीति, राजनीति, समाज, राज्य आदिका विविध पाटाहरूको बारेमा बुझ्न सकिन्छ । अरू त विषयगत मात्र हुन सक्लान् ।

तपाईं कामबाट पनि अवकाश भइसक्नु भएको मान्छे । पवन, नदी, सूर्य र समय जस्तै साहित्य जीवनको यात्रामा निरन्तर दगुरिरहनुभएको छ । के थकाइ लाग्दैन तपाईंलाई ?

– हा हा हा । म कामबाट अवकाश भएको छैन । म अहिले पनि दैनिक ८ घण्टाको दरले हप्ताको ६ दिन काम गर्छु । पवन, नदी, सूर्य र समयको गति भनेको तिनीहरूको प्राकृतिक धर्म नै हो । तिनीहरूको गतिशीलता रोकियो भने प्रकृति नै रोकिन्छ । म तिनीहरू कुनै पनि होइन । तिनीहरूको प्राकृतिक ऊर्जाको प्रभाव मलाई परेको छ । त्यो त तपाईं र धरतीको सबै जीवित प्राणी, वनस्पतिहरू सबैमा परेको हुन्छ ।

अर्को कुरा जीवन रहेसम्म थकाइ मार्दै गतिशील हुनुपर्छ । गति भएन भने स्थिर भइन्छ । मानिस स्थिर हुनु भनेको के हो ? बुझिहाल्नुभयो नि ।

नेपालको साहित्यिक पत्रकारितालाई कसरी हेर्नुभएको छ ?

साहित्यिक पत्रकारिता अहिले त धेरै अगाडि आइरहेको छ । साहित्यसँग सम्बन्धित धेरै व्यक्तिहरूले अहिले आएर व्यावसायिक साहित्यिक पत्रकारिता गरेको पनि देखिन्छ । सञ्चार र प्रविधिमा आएको व्यापक परिवर्तनले यसलाई सजिलो पनि बनाएको छ । विश्वका जुनसुकै ठाउँमा भएका साना ठूला लेखकहरूलाई प्रविधिले एक ठाउँमा सजिलै जोड्न सक्ने भएकोले तिनीहरूको लेख रचना विचार आदिहरू तुरुन्तै सम्प्रेषण गर्न सकिन्छ भने पत्रकारिता लगायत अन्य सबै क्षेत्रमा अनलाइन सुविधा पनि थपिएकोले यो झन सजिलो भएको छ । अमेरिका बसेर तपाईंले गर्दै गरेको कर्म पनि साहित्यिक पत्रकारिताको एउटा नमुना हो भने साहित्यपोस्ट डट कमले पनि अनलाइन साहित्यिक पत्रकारिता गर्दै आइरहेको छ ।

मैले यी कुरा नमुनाका रूपमा उल्लेख गरेको भए पनि यस्ता धेरै अनलाइन पत्रकारिता गर्नेहरू भेटिन्छन् । यहाँ उल्लेख गर्दा लामो हुने अवस्था आउँछ । समग्रमा साहित्यिक पत्रकारितामा व्यावसायिकता पनि आउन थालेको छ । यसले गर्दा साहित्य लेखन र प्रकाशनको विकास पनि अगाडि आइरहेको छ, अगाडि गइरहेको छ ।

कस्तो साहित्यिक पुस्तक पढ्न मन पराउनु हुन्छ ? साहित्यकारले लेखेर बाँच्न के गर्नु पर्छ ?

– अब्बल छ भने जुनसुकै साहित्य पढ्न मन पर्छ । मन पर्ने विधामा कसैले लेखेको साहित्य छ भने त्यसको लेखन र प्रस्तुति राम्रो छैन भने त्यो रुचिकर हुँदैन । रुचि नभएको विषयमा लेखिएको साहित्यको प्रस्तुति राम्रो छ भने त्यो पठनीय हुन्छ । साहित्य विशिष्ट कला हो । हामीले मन पराउने भनेको कला हो । जीवन बाँच्दा पनि कलापूर्ण छैन भने मानिस दुःखी हुन्छ । तसर्थ, साहित्य आफैंमा कला हो भने कलात्मक साहित्य भए जुनसुकै पनि मन पर्छ ।

साहित्यको मापदण्ड के हो ?

– साहित्यलाई मापदण्ड छ जस्तो लाग्दैन । सामान्य भन्दा सामान्य अर्थमा लेखन नै साहित्य भएकोले कसरी लेख्ने, के लेख्ने भन्ने विषयमा लेखकहरूका आ–आफ्नै धारणाहरू होलान् । लेखकलाई भर्खरै केही लाग्यो भने लेख्न सुरु गर्छ । त्यसमा उसले कुन मापदण्ड निर्धारण गर्दछ ? अब त्यसलाई सैद्धान्तिकीकरण गरेर प्रजातान्त्रिक धार, प्रगतिशील धार, प्रकृतिवादी धार आदि भन्दै जानु लेखनमा कला भरेको, रङ्ग भरेको हुन सक्छ, त्यो एउटा कुरा होला ।

एउटा साहित्यकारको नाताले तपाईं नेपालको राजनीतिक जगतलाई कसरी नियालिरहनुभएको छ ?

– राजनीतिको विषयमा बोल्न कठिन छ । नेपालको राजनीतिमा जुन तरलता देखिन्छ, त्यसले राजनीति कतातिर जाँदै छ भन्ने अनुमान लगाउन कठिन छ । लोकतन्त्रको लामो अभ्यास भएको पनि छैन । पत्रपत्रिकाहरू पढ्दा राज्यमा कतिपय कानुनहरू बनेका छैनन्, स्थानीय निकाय सञ्चालनका लागि नियमावली बनेका छैनन् । यो फेरि एकैदिनमा हुने कुरा पनि होइन । समय लाग्छ । तर लोकतन्त्र फस्टाएकै छ । त्यसो भनेर युवाहरूको विदेशतिर हुने बहिर्गमन राम्रो हो भन्न खोजिएको होइन । युवाहरूको विदेशपलायन कहालीलाग्दो बनेको छ । देशको जनशक्ति बाहिर जानु भनेको श्रमशक्ति बाहिर जानु हो । त्यस्तै, देशभित्र भएका ठूला ठूलो भ्रष्टाचारका काण्डहरू सही हुन् भनेको पनि होइन । यी चिन्ताका विषय हुन् । यस्तो परिस्थिति निर्माण हुनमा देशको मूल राजनीति र यसको नेतृत्व जिम्मेवार छ । बिस्तारै हरेक क्षेत्रको उन्नति हुँदो जावस् । हामी त यहाँबाट सदाशयता मात्र व्यक्त गर्न सक्छौं ।

अहिलेको साहित्यमा विचार, युग चेतना, विश्वपरिवेश कसरी अभिव्यक्त भएको पाउनुहुन्छ ?

– इन्टरनेट र सामाजिक सञ्जालको विकासले सूचनाहरू विश्वको जुनसुकै स्थानमा क्षणभरमा पुग्दछन् । त्यसका आधारमा अब नेपालमा बसेर अथवा विश्वको जुनसुकै स्थानमा बसेर विश्वमा भइरहेका राष्ट्रिय अन्तर्राष्ट्रिय र त्यहाँका स्थानीय ठाउँहरूमा भएका गतिविधिहरू प्रसारित भइरहेका हुन्छन् । हामीलाई नै हेरौं न, अमेरिका युरोपदेखि नेपालका मेची महाकालीसम्मका व्यक्तिहरू जुममा बसेर साहित्यिक कार्यक्रमहरू गरिरहेका हुन्छौं । यो सामान्य कुरा होइन । राम्रो सोच राख्ने हो भने विश्वको जुनसुकै क्षेत्रको गतिविधिलाई साहित्यमा अभिव्यक्त गर्ने योभन्दा सुनौलो मौका अर्को के हुनसक्छ ? अब यहाँ हेरौं, विश्वमा भएका जातीय आन्दोलन, धार्मिक द्वन्द्व, राज्यराज्यका बीचको युद्धले पारेका प्रभावहरूको बारेमा साहित्यमा अभिव्यक्त भएका छन् ।

पछिल्लो चरणमा रसिया युक्रेनले निम्त्याएको क्षेत्रीय असन्तुलन र त्यसले मानिसको जीवनमा पारेको प्रभाव पनि साहित्यमा देखिन थालेको छ । एक युक्रेनी शरणार्थीसँग अनलाइनमा गरिएको कुराकानीका आधारमा एक जना कविले कविता लेखेको र युद्धले मानव जीवनमा कसरी प्रभाव पारेको छ भन्ने कुरा अभिव्यक्त गरेका थिए । भन्नुको मतलब सञ्चारको उच्च विकासले विश्व शान्ति र मानव विकासका लागि धर्मका नाममा, क्षेत्रीयताका नाममा, राष्ट्रवादका नाममा, धर्म र संस्कृतिमा नाममा, युद्धका नाममा विचार र चेतना आदिको विश्वव्यापीकरण भइरहेको पाएको छु ।

पुरस्कार सम्मान र समालोचनाको अवस्था कस्तो छ नेपालमा ?

– पुरस्कार, सम्मान अलि सस्तो भएको छ । कोहीसँग खल्तीमा दुईचार पैसा छ भने कोष खडा गर्‍यो, पुरस्कार राशीको घोषणा गर्‍यो, साहित्य पुरस्कार वितरण गर्‍यो । मान पायो, सम्मान पायो । यो अलि सस्तो भयो कि ? तर कुन पुरस्कार पाउँदा त्यसको खास मान के हुन्छ भन्ने कुरा पनि हामीले थाहा पाएकै विषय हो । राष्ट्रिय स्तरमा स्थापना भएका पुरस्कारहरू मदन पुरस्कार, पद्मश्री पुरस्कार, सरकारले दिने विभिन्न पुरस्कार, एकेडेमीले वितरण गर्ने पुरस्कारको स्तरीयतालाई नकार्न सकिँदैन । तर यहाँ त व्यक्तिहरू जागिरबाट, सेवाबाट, व्यापार बिजनेसबाट अवकाश लिएर आफूले कमाएको सम्पत्तिको ट्रस्ट बनायो, अनि पुरस्कारको खेती गरेको पाइन्छ । खासमा यस्तो गतिविधिले पुरस्कार पाउनेले भन्दा दिनेले आफ्नो मान बढाउने उद्देश्य राखेको हो कि ! जस्तो पनि देखिन्छ । यो नकारात्मक कुरा होइन । यो गलत नै हो भन्यो भने पनि बढी होला तर पुरस्कार वितरणमा स्तरीयता भने कायम गर्नुपर्छ ।

समालोचनाको सन्दर्भमा गन्न सकिने गरी केही समालोचकहरू देखिन्छन् । विश्वविद्यालयमा पनि समालोचना सिद्धान्त पढाइ हुन्छ । यो ठूलो कुरा हो । समालोचनाको पूर्ण व्यावसायिकीकरण भइनसकेको हुँदा कहिलेकाहीं समालोचना क्षेत्र विवादमा पनि परेको देख्छु । समालोचनाको आधार, समालोचकको आयस्रोत आदिका विषय मुख्य हुन् । जबसम्म कुनै कार्य गरेबापत त्यो काम आयसँग जोडिँदैन, त्यसले फस्टाउने मौका पाउँदैन । त्यतिबेला पैसा तिरेर आफूले भने जस्तै समालोचना गराएको भन्ने जस्ता आरोपहरू पनि बजारमा पाइन्छन् ।

कुनै समालोचकले कुनै कृतिको समालोचना गरेको छ र त्यो पढ्दा कृति नै उत्कृष्ट लागेर पढ्न थाल्यो, झुर प्रतीत हुन्छ । त्यतिबेला त्यस्तो कृति शंकाको घेरामा पर्दछ । पैसा तिरेर उत्कृष्ट कृति भन्न लगाएको हो ! भन्नेसम्मको ठाउँ पनि रहन्छ । साहित्यका लागि यो राम्रो कुरा होइन ।

अहिले संयुक्त विमोचन गर्दै कुन पुस्तक निकाल्ने तयारीमा हुनुहुन्छ ? किन ?

– संयुक्त पुस्तक निकाल्नेबारे त्यस्तो तयारी केही छैन । आफ्नै प्रयासमा निकट भविष्यमा दुई वटा पुस्तक निकाल्ने तयारी हुँदै छ ।

डायस्पोरिक साहित्यका बारेमा तपाईंको धारणा के छ ?

– डायस्पोरा शब्दसँग मेरो विमति छ । यो कुन भाषाको शब्द हो ? डायस्पोरा शब्दको उत्पत्ति इजरायलमा ज्युजहरूलाई बेबेलोनियनहरूले देश निकाला गरेपछि ती निकालिएका इजरायलीहरूलाई मुलुकबाहिर डायस्पोरिक भनिएको थियो । हामी देशबाहिर खेदिएका नागरिकहरू होइनौं । यस्तो अपमानजनक शब्दको सट्टामा हामीसँग प्रवासी भन्ने सुन्दर र प्रचलित शब्द छँदैछ त ।

तसर्थ, तपाईंको प्रश्नका लागि अहिले विश्वका धेरै देशहरूमा नेपालीहरू रोजगारीका सिलसिलामा, अध्ययन गर्न, विभिन्न तालिमहरू लिन जाने गर्दछन् । त्यस अवस्थामा उनीहरूले ती देशहरूमा बस्न र रोजगार अनुमति पत्र पाए भने उतै बस्न थालेको इतिहास पनि छ । अहिले युरोपका धेरै देशहरू, बेलायत, अस्ट्रेलिया, अमेरिका, क्यानडा आदि देशहरूमा नेपालीहरूको जनसंख्या फैलँदो छ । यसको नतिजा ती प्रवासी नेपालीहरूले आफूसँग लाने भनेको पहिलो भाषा र दोस्रो संस्कृति हो । जुनजुन देशमा प्रवासी नेपालीहरू छन्, ती देशहरूमा नेपालीहरू आफ्नो मातृभाषामा नेपाल र स्थानीय ठाउँहरूका संस्कृति र जीवनसँग जोडेर साहित्य रचना गरेको देखिन्छ । प्रवासी नेपालीहरूले नेपाल जति नै त नभनौं, तर प्रतिस्पर्धामा आउने गरी पुस्तकहरू प्रकाशित गरेका छन् ।

अनेसासकै कुरा गर्ने हो भने यसले अन्तर्राष्ट्रिय सञ्जाल नै खडा गरी विश्वका धेरैवटा देशमा च्याप्टरहरूमार्फत साहित्यिक गतिविधि गरेको छ । यो सामान्य कुरा होइन । अनेसासले पुरस्कार राशिहरूकै स्थापना गरी हरेक दुई दुई वर्षमा विभिन्न विधामा उत्कृष्ट पुस्तक पुरस्कार वितरण पनि गर्दै आएको छ । खासमा नेपाल र नेपालबाहिरका नेपालीहरूलाई जोड्ने काममा प्रवासी साहित्यले ठूलो भूमिका खेलेको छ । म यसप्रति सकारात्मक छु । भविष्यमा यसले अझ ठूलो भूमिका खेल्छ भन्ने लागेको छ ।

भैरव अर्याल पछि नेपालको हास्यव्यङ्ग्य लेखनलाई कसरी हेर्नुभएको छ ?

– भैरव अर्यालपछि त्यही तहमा हास्यव्यङ्ग्य लेखन हुन सकेको छैन । लेखनभन्दा बढी बरु नाट्यप्रदर्शन हुने गरेको भने पाइएको छ । नेपालमा अधिकांश टेलिभिजनहरूमा पनि हास्यव्यङ्ग्य टेलिश्रृङ्खलाहरूको ठूलो मात्रामा प्रसारण भएको देखिन्छ । हुनलाई यो पनि लेखनपछि नै मञ्चन हुने भए पनि त्यो छुट्टै विधामा जाने भएकोले तपाईंले सोधेको हास्यव्यङ्ग्य लेखन एकदम सुस्त छ भन्ने लाग्छ । यसका लागि नेपालमा बसेर हास्यव्यङ्ग्य कवि लक्ष्मण गाम्नागे, कवि अर्जुन पराजुली, चट्याङ मास्टर, शैलेन्द्र सिम्खडा आदिहरू लागिरहेका छन् भने स्ट्याण्डअप एकल हास्यव्यङ्ग्य प्रदर्शन गर्नेहरूमा मनोज गजुरेल, सुबोध पोखरेल, राजेन्द्र पोखरेल आदिहरू छन् । मदनकृष्ण हरिवंश आचार्यको स्थान सबैभन्दा माथि छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजलाई यहाँले कसरी हेर्नुभएको छ ?

– अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज विश्वकै पहिलो र सर्वाधिक ठूलो साहित्यिक संस्था हो । यसका मानव बसोबास भएका ६ वटा सबै महादेशहरूमा यसका शाखाहरू बिस्तार भएका छन् । यही संस्थाले ठूलाठूला अन्तर्राष्ट्रिय स्तरका साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । भरखरै मार्च ८ देखि १० सम्म अनेसासको आठौं अन्तर्राष्ट्रिय साहित्य सम्मेलन पोर्चुगलमा सम्पन्न भयो । यसभन्दा अगाडि जापान, बेलायत, अमेरिका, अष्ट्रेलिया लगायतका मुलुकहरूमा यसभन्दा अगाडिका कार्यक्रमहरू सम्पन्न भइसकेका छन् । यसको अतिरिक्त अनेसासले पाँचौं अनेसास अन्तर्राष्ट्रिय नारी दिवस पनि मनाइसकेको छ ।

नेपाली भाषामा विभिन्न विधामा लेखिएका उत्कृष्ट पुस्तकहरूलाई अनेसासले दुई दुई वर्षमा उत्कृष्ट पुरस्कार पनि वितरण गर्दछ । यो विदेशमा बसेर गरिएको ठूलो योगदान हो । २५०० भन्दा बढी व्यक्तिहरू यस संस्थाका आजीवन सदस्य छन् भने १२२ भन्दा बढी यस संस्थाका ट्रष्टी सदस्यहरू छन् । नेपालबाहिर यो निकै ठूलो उपलब्धि हो भन्ने लाग्छ । अनेसासलाई यस अर्थमा अहिलेको कर्मभूमि र जन्मभूमिलाई भाषाको माध्यमले जोड्ने सबैभन्दा नजिकको माध्यमको रूपमा लिएको छु मैले ।

तपाईं अहिले के गर्दै हुनु हुन्छ ?

– अहिले म लीला लेखनबारे पुस्तक लेखिरहेको छु । अर्को पनि सँगसँगै गरिरहेको छ तर त्यो चाहिँ अहिले नखोलौं होला ।

लीलालेखन भनेपछि कसलाई सम्झिनुहुन्छ ?

– लीलालेखन भनेपछि तपाईंले बुझ्नुभयो, इन्द्रबहादुर राई, कृष्ण धरावासी एवम् रत्नमणि नेपाल आदि ।

विदेशमा बसेर लेख्नु कत्तिको सजिलो छ ? विदेशमा बसेर लेख्ने र लेख्न चाहनेलाई के भन्न चाहनु हुन्छ ?

– सजिलो छैन । विदेशमा बस्नेहरूको ८ घण्टाको कामबाहेक घरमा जाँदा पनि खासै धेरै घरायसी काम हुँदैन । त्यतिबेला उनीहरू अर्को काम खोजेर अर्थोपार्जनका लागि नै लागिरहेका हुन्छन् । त्यसो गर्दा साहित्यलेखनका लागि समय कहाँ बचत हुन्छ ? तथापि त्यस्तो अवस्थामा जति समय बचत हुन्छ, त्यही समयभित्र लेख्ने गरेको देखेको छु । समय नै धन हो भन्ने पुँजीवादी अर्थव्यवस्था भएका देशमा भनाइ नै छ । त्यसको अतिरिक्त समय परिवारलाई, आफ्नै आरामका लागि दिँदा लेखनकार्य पछाडि पर्दछ । तसर्थ, विदेशमा बसेर लेखनकार्य गर्छु भन्ने चाहना राख्नेहरूलाई के सुझाव दिन चाहन्छु भने लेखनकार्य एक बसाइँ वा एकदिने कार्य होइन । थोरैथोरै भए पनि निरन्तर लागिरहने कार्य भएकोले सोही अनुसार गरे १–२ वर्षको अन्तरालमा पुस्तकहरू लेखिसकिन्छ । निरन्तर लेख्नुहोस्, लेखिरहनुहोस् ।

तपाईं साहित्यपोस्टमा पनि निरन्तर साहित्यका महत्त्वपूर्ण विषयवस्तु उठाएर लेखहरू निरन्तर लेखिरहनु हुन्छ । यो ऊर्जा कहाँबाट कसरी प्राप्त गर्नुहुन्छ ?

– लेखनमा ऊर्जा भन्ने कुरा एउटाले अर्को लेख वा लेखनलाई उत्प्रेरणा प्रदान गर्दछ । एउटा कविता लेखेर वाचन गर्ने अवसर मिल्यो भने अर्को लेख्ने जाँगर चल्दछ । यही नै लेखनकार्यमा लेखकको ऊर्जा हो । क सिकेपछि ख सिक्न मन लाग्छ अनि ग, घ, ङ, च हुँदो रहेछ । यो मेरो व्यक्तिगत अनुभव हो ।

अन्त्यमा पाठकलाई के भन्न चाहनु हुन्छ ?

– लेखनको अन्तिम उद्देश्य हो पाठक । लेखेको कुरा पाठकले पढेनन् भने त्यो लेखनकार्य पुस्तकको आकारमा सीमित हुन्छ । तसर्थ, पाठकले पढेपछि मात्र त्यो लेखनले पूर्णता प्राप्त गर्दछ । तसर्थ, पाठकहरूलाई के भन्न चाहन्छु भने पुस्तक वा कुनै पनि आलेख पढेपछि त्यसभित्र भएको कुनै एक वाक्य, एक अंश वा एक भाग जसले आफूलाई आकर्षित गर्‍यो भन्ने कुरा लेखिदिए लेखकलाई थप उत्प्रेरणा प्राप्त हुन्छ ।