स्वपर्याय र परपर्याय
स्वपर्यायः स्वपर्याय भनेको कुनै यस्तो गुण जो एक वस्तुमा मात्र सीमित छ । परपर्याः परपर्यायको अर्थ हो कुनै गुण जो एक वस्तुमा छैन तर अर्को वस्तुमा छ । यस ब्रह्माण्डमा भएका सबै वस्तुहरू एक आपसमा स्वपर्याय र परपर्यायका आधारमा एकआपसमा जोडिएका छन् । त्यसैले के भनिएको छ भने एउटा वस्तुलाई बुझ्न अर्को वस्तुमा भएको परपर्यायलाई पनि बु्झ्न जरुरी हुन्छ ।
तीन वस्तु लिऔं । पहिलो, दोस्रो र तेस्रो । पहिलो वस्तुको विशेषता “क” छ जो त्यसको स्वपर्याय हो । दोस्रो वस्तुको विशेषता “ख” छ जो त्यसको स्वपर्याय हो । तेस्रो वस्तुको विशेषता “ग” छ जो त्यसको स्वपर्याय हो । अब पहिलो वस्तुका लागि “ख” र “ग” परपर्याय हो भने दोस्रो वस्तुका लागि “क” र “ग” परपर्याय हो । त्यस्तै, तेस्रो वस्तुका लागि “क” र “ख” परपर्याय हो । यही स्वपर्याय र परपपर्यायका आधारमा जैनहरू भन्दछन्– यस संसारको सबै वस्तुहरू एक अर्काकामा कुनै न कुनै रूपमा जोडिएका छन् । स्वपर्याय र परपर्यायका आधारमा जोडिएको यो विशाल संरचनाको स्वरूपलाई बुझ्न जैनहरूले यसलाई एक सूत्रमा यसरी व्यक्त गरेका छन्ः
एको भावाः सर्वथा येन दृष्टः सर्वे भावाः सर्वथा तेन दृष्टः ।
अर्थः एक भाव पूरा जसले देख्यो, सवै भाव पूरा त्यसले देख्यो । अथवा, जसले एक वस्तुलाई सम्पूर्ण रूपले बुझ्दछ, त्यसले सबै वस्तुलाई सम्पूर्णतामा देख्छ । विस्तृत वाक्यमा भन्दा जसले एउटा वस्तुलाई सम्पूर्ण रूपले बुझेको छ, त्यसले संसारका सबै वस्तुलाई सम्पूर्णतामा बुझेको हुन्छ । चौथो वाक्यमा भन्दा, जसले सम्पूर्ण वस्तुको जानकारी राख्दैन, त्यसले कुनै एक वस्तुलाई पनि जान्न सक्दैन । पाँचौं वाक्यमा भन्दा, हर चिज नजानी कुनै एक चीज जानिंदैन वा एक चिजको सम्पूर्णता नजानी हर चिजको सम्पूर्णता पनि जानिंदैन ।
त्यसैले, अनेकान्तवादमा तीन लक्षण हुन अनिवार्य छ । पहिलो– वस्तु सत्य हुन केवल नित्य वा अनित्य लक्षण भएर मात्र पुग्दैन, यसका लागि दुवै लक्षण हुन जरुरी छ । दोस्रो– कुनै वस्तुको सम्पूर्णता जान्नलाई त्यसको नित्य र अनित्य दुवै लक्षण थाहा हुनुपर्छ । तेस्रो कुनै वस्तुलाई जान्नु छ भने त्यसको स्वपर्याय र परपर्याय पनि जान्न जरुरी छ । कुनै वस्तुलाई कुनै वस्तुसँग अलग गरेर, एकान्तमा वा छुट्टै, बुझ्न सकिँदैन । यी तीन सूत्रसमूहलाई अनेकान्तवाद भनिन्छ । यसैलाई सूत्रमा “एको भावाः सर्वथा येन दृष्टः सर्वे भावाः सर्वथा तेन दृष्टः” भनिएको हो ।
द्रव्य सिद्धान्त
द्रव्य सिद्धान्तका दुई भेद छन्ः (१) अस्तिकाय र (२) नास्तिकाय (अनस्तिकाय) ।
(१) अस्तिकायः ती द्रव्यहरू जसले क्षेत्रफल ओगट्छन्, तिनीहरू अस्तिकाय भ्हतभलमभम हुन् । यसका पनि दुई भेद छनः
(१) जीव : जीव भन्नाले जीवित । जस्तोः आत्मा ।
(२) अजीव : अजीव भन्नाले निर्जीव । यसका चार भेद छन्; जस्तो– धर्म, अधर्म, पुद्गल र आकाश । यहाँ धर्म र अधर्मको अर्थ पाप र पुण्यको अर्थभन्दा फरक छ ।
(क) धर्मः भन्नाले ती द्रव्यहरू जसले कुनै वस्तुलाई गतिशील बनाउन सहायक भूमिका निर्वाह गर्दछन् । जस्तोः माछालाई पौडन पानी सहायक हुन्छ । तसर्थ, माछाका लागि पानी धर्म हो ।
(ख) अधर्मः भन्नाले ती द्रव्यहरू जसले कुनै वस्तुको गतिलाई रोक्न सहायक भूमिका निर्वाह गर्दछन् । जस्तोः चर्को घाममा हिंडिरहेको बटुवाले कुनै वृक्षको छायाँ देख्यो वा पानीको कुवा देख्यो भने ऊ छहारीका लागि वा तिर्खा मेट्न एकछिन रोकिन्छ । यहाँ मानिसको गतिलाई रोक्ने छायाँ वा कुवा अधर्म भयो । धर्म र अधर्म विपरीत क्रियात्मक भए पनि यिनीहरू स्वयम् भने नित्य र निश्क्रिय छन् ।
(ग) पुद्गलः पुद्गल भनेको सामान्य अर्थमा पदार्थ हो । पदार्थलाई भूत अर्थात् अंग्रेजीमा :बततभच पनि भनिन्छ । पुद्गलका दुई भेद छन्ः (१) अणु । अविभाज्य पुद्गलको स्वरूपलाई अणु भनिन्छ । (२) स्कन्ध । स्कन्ध भन्नाले अणुहरूको संघातबाट बनेको पुद्गललाई स्कन्ध भनिन्छ । अहिलेको विज्ञानको भाषामा भन्दा स्कन्ध भनेको यौगिक हो । समग्रमा विभाजन गर्न वा टुक्रा पार्न सकिने वस्तु यौगिक र अविभाज्य रहने परमाणुसमेतलाई पुद्गल भनिन्छ । रूप, स्पर्श, रस, गन्ध आदि पुद्गलका विशेषता हुन् ।
(घ) आकाशः आकाशलाई अंग्रेजीमा Space भनिन्छ । आकाश दृश्यात्मक हुँदैन तर यसले अस्तिकाय द्रव्यलाई स्थान प्रदान गर्दछ । आकाश दुई प्रकारका छन् (क) लोकाकाश । यस आकाश पुद्गल, जीव, धर्म, अधर्म आदिको उपस्थिति रहन्छन् । (ख) अलोकाकाश । अलोकाकाश भन्नाले लोकाकाश भन्दा परको आकाशलाई बुझिन्छ ।
(२) अनस्तिकायः
ती द्रव्यहरू जसले क्षेत्रफल ओगट्दैनन्, तिनीहरू अनस्तिकाय ल्यल भ्हतभलभमभम हुन् । जस्तोः काल अथवा समय । अनस्तिकाय शब्दलाई नास्तिकाय पनि भनिन्छ । अस्तिकाय द्रव्यहरूको परिमाण र गतिको मापन यही कालद्वारा हुन्छ । आकाशीय पिण्डहरू सबै गतिवान छन्, ती अस्तिकाय द्रव्यहरूको गति र चाललाई नाप्ने काम कालले गर्दछ । कालका दुई भेद छन्–
(क) व्यावहारिक काल (Empirical time) : व्यावहारिक काल जसलाई मानिसले संख्याको आधारमा गणना गर्दछन् । जस्तो, घडी, पला, सकेण्ड, मिनेट, घण्टा, दिन, रात, महिना, वर्ष आदि । अर्को शब्दमा यस काललाई समय पनि भनिन्छ । द्रव्यको परिमाण र गति यही व्यवहारिक कालभित्र गरिन्छ । मानिस कति वर्षको भयो ? जहाजले कति दुरी पार ग¥यो ? जहाजको गति कति माइल प्रतिघण्टा छ ? भन्ने तथ्याङ्क यही व्यवहारिक कालद्वारा नापिन्छ । यस कालको आरम्भ र अन्त दुवै हुन्छ ।
(ख) पारमार्थिक काल (Real time) : पारमार्थिक काल भनेको व्यावहारिक कालभन्दा परको काल हो । यो कालको आरम्भ र अन्त हुँदैन । यो नित्य र सत्य हुन्छ । ब्रह्माण्डमा चल्ने हर प्रकारका द्रव्यहरूको काल मानिसले बनाएको होइन । यो ब्रह्माण्डको उत्पत्ति र पिण्डहरूको चालसँगै उत्पत्ति भएको समय हो । यसको आरम्भ र अन्त दुवै हुँदैन ।
द्रव्य संख्या
जैन दर्शनमा ९ तत्व÷द्रव्य छन् भन्ने मानेको छ–
(१) जीव । जीव भन्नाले चेतन द्रव्य हो । यो प्राणीहरूको शरीरमा शरीरकै आकारमा प्रतिस्थापित भएको हुन्छ । जीव शरीरमा स्थापित चेतन द्रव्य भएकोले जीव–धारकले सुख, दुख, तातो चिसो आदि वातावरणीय असरको अनुभूति गर्न सक्छ । जीव अनेकौं र अनन्त हुन्छन् । जीव कर्ता पनि हो । जीव नित्य छ ।
(२) अजीव । अजीव भन्नाले अचेतन द्रव्य हो । जस्तो– ढुङ्गा, माटो, पुद्गल, खोला, आकाश आदि अजीव द्रव्य हुन् । यी नित्य छन् ।
(३) आस्रव । जुन वस्तुहरू आत्मातिर बगेर आउँछन्, ती आस्रव हुन् । राग, दोष, क्लेश आदि आस्रव द्रव्य हुन् । खासगरी कर्मबन्धनका द्रव्यहरू आत्माभित्र प्रवेश गर्दछन् र मानिसको जीवन कर्मबन्धनमा बाँधिन्छ । आस्रव द्रव्यहरू मोक्षको बाटोका छेकवारहरू हुन् ।
(४) बन्ध । आत्मा र कर्मबन्धित पुद्गलको संयोग नै बन्धन हो । यसले जीवलाई मोक्षको बाटोबाट दिग्भ्रमित गरिदिन्छ ।
(५) सम्बर । सम्बरको अर्थ रोक्नु हो । कर्मका द्रव्यहरू आत्मातिर आउने क्रमलाई रोक्न सकिन्छ । रोक्नुपर्छ ।
(६) निर्जरा । पुराना कर्मका द्रव्यले आत्मालाई पहिलेदेखि नै बन्धनमा राखेको हुन्छ । यसकारण, दुषित भएको आत्मालाई तप साधनाद्वारा सफा गर्न सकिन्छ । दुषित आत्मालाई सफा गर्ने काम निर्जरा हो ।
(७) मोक्ष । कर्म बन्धनमा बाँधिएको आत्मा दुषित आत्मा हो । तसर्थ, आत्मा र कर्मका पुद्गलको विच्छेद गर्नु नै मोक्षको बाटो लिनु हो ।
(८) पुण्य । पुण्य भनेको शुभकर्मको ज्ञान हो जसले पुण्यको संचित गर्दछ । जैन दर्शनमा शुभज्ञानका साथै शुभकर्मप्रतिको लगाव वा प्रेमको पनि उत्तिकै महत्व छ । पुण्य प्राप्तिका लागि शुभकर्मको अभ्यास पनि गर्नुपर्छ । शुभकर्मको अभ्यासले पुण्यको फल दिन्छ । भोकालाई भोजन, प्यासीलाई जल र वस्त्रहीनलाई वस्त्र दिनु आदि पुण्य कर्म हुन् ।
(९) पाप । पाप भनेको पुण्यको विपरीतार्थ कर्म हो । पापको उत्पत्ति वासनाको कारणले हुन्छ । इन्द्रियको चञ्चलता वासना पैदा गर्ने कारण हो । पापले पुण्यको नाश गर्दछ । क्रोध, माया, लोभ, मान, घृणा, आसत्ति, हिंसा आदि अधर्म हुन्, पाप कर्म हुन् ।
जीव÷आत्मा
जैन धर्ममा आत्मालाई जीव भनिन्छ । यसका दुई स्थायी विशेषता हुन्छन्ः
(१) चैतन्य लक्षणो जीवः (२) पिपिलिका पुद्गलमं प्राप्य पिपिलिका भवतिः हस्ति पुद्गलम प्राप्य हस्ति भवतिः ।
(१) चैतन्य लक्षणो जीवः
जीव हमेसा चैतन्य गुणयुक्त हुन्छ । यसैले यो सदा चैतन्य अवस्थामै रहन्छ । चैतन्य गुण नै जीवको नित्य गुण हो, पर्याय होइन । जीवको विशेषता उत्पादव्ययध्रौव्यसँग मिल्दछ । यसको अर्थ निरन्तर उत्पादन र नष्ट हुने दुई अनित्य गुण र अर्को सदैव नित्य (ध्रौव्य) रहने चेतन गुण । यस्तो त्रिगुणयुक्त द्रव्य नै जीव हो । चेतना नभए जीवको अस्तित्व हुँदैन । त्यसैले चैतन्य लक्षणो जीव भनिएको हो ।
आत्माको बारेमा विविध दर्शनमा विविध धारणा पाइन्छ । आत्मासम्बन्धी जैनहरूको उपरोक्त धारणा न्याय वैशेषिकसँग मिल्दैन । न्याय वैशेषिकहरू भन्छन्, “आत्मा एक चीज हो जसभित्र एक निश्चितसमय पछि चेतना पैदा हुन्छ ।” जस्तो सानो बच्चा जसले आँखा, कान, नाक, मुख आदि लिएर आउँछ तर निश्चित सयमपछि दारी जुँगा पलाउँछन् । त्यसरी पछि आउने चीज आगन्तुक धर्म हुन् । त्यस्तै, बच्चाहरूमा आत्मा सुरुदेखि नै हुन्छ अनि केही कालपछि चेतना आगन्तुक धर्मको रूपमा आउँछ । यसको मतलव आत्मा सधैं हुन्छ तर चेतना अर्को समयमा भित्रिन्छ ।
त्यस्तै, चार्वक दर्शनले आत्माको अस्तित्व स्वीकार गदैन । उनीहरूको मत छ, “मानिसभित्र आत्मा हुँदैन केवल चेतना हुन्छ । जसरी अंगुरलाई निश्चित अवस्था र तापक्रममा कुहाउने हो भने अल्कोहल पैदा हुन्छ, त्यसरी नै शरीरभित्र पनि निश्चित तत्वहरूको समिश्रणमा चेतना पैदा हुन्छ । (यस भनाइलाई अहिलेको कम्प्युटर प्रविधिसँग जोडेर हेर्ने हो भने जसरी ए.आइ.ले निश्चित डाटाहरूको आधारमा सोच्ने, विश्लेषण गर्ने, स्मरण राख्ने आदि कार्य गर्दछ, मानिसले पनि त्यसैअनुसार शरीरभित्रका निश्चित क्रियाहरूको आधारमा स्वाभाविक रूपमा महसुस गर्न, सम्झन, पहिचान गर्न, सोच्न र विश्लेषण गर्न सक्छ ।)
बुद्धले पनि आत्मा हुँदैन भन्ने मत दिएका छन् । मानिसभित्र आत्मा होइन, चेतना हुन्छ तथा यो उत्पादन र व्ययको निरन्तर प्रवाहमा अगाडि बढिरहन्छ । चेतनाको यही निरन्तरताले जीवन चल्दछ । त्यस्तै, शंकराचार्यले जैनको आत्मासम्बन्धी विचार “चैतन्य लक्षणो जीवः”का विपरीत चेतना र आत्मा अलग विषय होइनन्, ती दुवै एउटै कुरा हुन् भनेका छन् ।
शंकराचार्य र जैनको मोक्षका बारेमा उस्तै धारणा पाइन्छ । शंकराचार्यले भनेका छन्, “मोक्ष नयाँ चिज होइन, आत्मामा पहिल्यैदेखि हुन्छ । मोक्षका लागि अज्ञानरूपी पर्दालाई हटाइदिने मात्र हो, मोक्ष प्राप्त भइहाल्छ । मोक्षका बारेमा जैनहरू भन्दछन्ः जीवभित्र चार चिज पहिल्यैदेखि अनन्त मात्रामा अवस्थित हुन्छन्, तिनीहरूलाई अज्ञानताको पर्दाले छोपेको हुन्छ,। त्यही अज्ञानरूपी पर्दालाई हटाइदिएपछि कैवल्य प्राप्त हुन्छ । जीवभित्र निहित ती चार चिजको समूहलाई अनन्त चतुष्ठाय भनिन्छ ।
अनन्त चतुष्ठाय
(क) अनन्त ज्ञान (Omnicient) –
अनन्त ज्ञानलाई सर्वज्ञता पनि भनिन्छ । जीवभित्र अनन्त ज्ञान पहिल्यैदेखि हुन्छ तर अज्ञानताको पर्दाले छोपेको हुन्छ । जुन दिन पूर्ण रूपमा अज्ञानताको पर्दा खुल्दछ, त्यस दिन मानिस केवली हुन्छ । केवली भनेको ब्रह्माण्डलाई सम्पूर्णतामा जान्ने व्यक्तिलाई बुझिन्छ ।
(ख) अनन्त आनन्द (Absolute bliss) – जीवभित्र अनन्त आनन्द पहिल्यैदेखि हुन्छ ।
(ग) अनन्त शक्ति (Omnipotent) – अनन्त शक्तिलाई असीमित शक्ति वा सर्वशक्तिमान पनि भनिन्छ । जीवभित्र अनन्त शक्ति पहिल्यैदेखि हुन्छ ।
(घ) अनन्त दर्शन । यहाँ दर्शनको अर्थ हो श्रद्धा, भक्ति, विश्वास वा समर्पण भन्ने बुझिन्छ ।
ईश्वरको परिभाषाअनुसार जोसँग अनन्त शक्ति, अनन्त ज्ञान र अनन्त आनन्द छ, त्यो नै ईश्वर हो । ईश्वर भन्नु यी त्रिगुणहरूको संयुक्त योग हो । जैनहरू जीवभित्र ईश्वरको त्रिगुणमा अनन्त दर्शनको थप चौथो गुण जोडिदिन्छन् । तसर्थ, हरेक जीवहरू अनन्तचतुष्ठाययुक्त हुन्छन् । जीवभित्र अज्ञानताको बन्धनलाई हटाउन मात्र सकियो भने मोक्ष प्राप्त हुन्छ । मोक्षलाई जैन धर्ममा कैवल्य भनिन्छ ।
२. पिपिलिका पुद्गलम प्राप्य पिपिलिका भवतिः हस्ति पुद्गलम प्राप्य हस्ति भवतिः जैनहरूले जीवलाई चेतन लक्षणयुक्त भन्दाभन्दै यसको आकार वा नाप हुन्छ भन्ने एउटा विवादास्पद विचार राखे । धेरै दर्शनमा आत्मा भौतिक तत्व नभई चेतन तत्व मानिन्छ । आत्माको आकार वा नापबारे शंकराचार्यलाई सोधिएको प्रश्नमा उनले ब्रह्म नै आत्मा हो ब्रह्म एक, असीमित, सदासर्वदा र नित्य हुन्छ । ब्रह्मको आकार वा नाप खोज्नु गलत कार्य हो । हामी सम्पूर्ण एउटै आत्मा हौं । आत्मा कुनै आकार वा नापभन्दा पर छ । यसलाई शंकराचार्यको विभूपरिमाणवाद भनिन्छ ।
आत्माको आकारबारे न्याय वैशेषिकहरूले शंकराचार्यको भनाइको खण्डन गर्दै यदि आत्माको कुनै आकार वा नाप नहुने र एउटै आत्मा हुने हो भने अनेक शरीरभित्र आत्मा कसरी स्थापित हुन्छ त ? भन्ने प्रश्न गरे । उनीहरूले “आत्मा अत्यन्तै सानो अणु आकारको हुन्छ भनेका छन् ।
यस्तै विचार पश्चिमका एक दार्शनिक रेने डेकार्टसले दिएका थिए । डेकार्टसले आफ्नो पुस्तक “The passion”
या “the soul” मा भनेका छन्– आत्मा एक भौतिक वस्तु हो जो पिनियल ग्ल्याण्डभित्र हुन्छ । शरीर र आत्माको सम्बन्ध स्थापना गर्न यही पिनियल ग्ल्याण्डले भूमिका खेल्दछ । शरीरमा केही भयो भने पिनियम ग्ल्याण्डमा कम्पन पैदा हुन्छ अनि आत्मालाई संकेत प्राप्त हुन्छ । त्यस्तै, आत्मामा केही भयो भने पिनियल ग्ल्याण्डमा कम्पन पैदा हुन्छ अनि शरीरलाई संकेत प्राप्त हुन्छ । यसरी भौतिक शरीर र आत्माबिच सञ्चार स्थापित हुन्छ ।
अब प्रश्न आयो– पिनियल ग्ल्याण्ड भौतिक हो कि चेतन ? यदि पिनियल ग्ल्याण्ड भौतिक हो भने चेतन आत्मासँग कसरी सम्बन्ध स्थापित हुन्छ ? यदि पिनियल ग्ल्याण्ड चेतन हो भने भौतिक शरीरसँग कसरी सम्बन्ध स्थापित हुन्छ ? फेरि सवाल शून्यावस्था (Ground Zero)मै पुग्यो– चेतन आत्मा र भौतिक वस्तुको सम्बन्ध कसरी स्थापित हुन्छ ? यस सवालको उत्तर दिन नसकेपछि डेकार्टको आत्मासम्बन्धी यो विचार असफल भयो ।
भौतिक शरीर र चेतन आत्माको बीचमा सञ्चारसम्बन्ध कसरी स्थापित हुन्छ ? भन्ने विषयमा न्याय दर्शनले बडो सुन्दर विचार दिएको छ । शरीरमा आत्माको विस्तार भौतिक वस्तुको बिस्तार जस्तो नभई एउटा कोठामा सानो दियो जलाउँदा कोठाभरि प्रकाश फैलिए झैं अणुसमान आत्माको चेतना पनि शरीरमा प्रकाश झैं फैलिन्छ ।
त्यस्तै, पहिलो दियोको पछाडि अर्को दियो जलाउँदा दुवै दियोका प्रकाश एकीकृत हुन्छन् र कोठाको जस्तै आकार लिन्छन्, त्यही प्रकारले आत्माले आकार लिने हो । यसलाई वैशेषिकहरूको अणुपरिमाणवाद भनिन्छ । यो अणुपरिमाणवादी दर्शनमा पनि प्रश्न के छ भने यदि आत्मा अणु जत्रो हुन्छ भने यसको आकार कसरी निकालिएको हो ? उनीहरूका लागि पनि यसको उत्तर अनुत्तरित नै छ ।
जैनको जीवको आकारसम्बन्धी विचारलाई शंकराचार्यले खण्डन गर्दै भने, “त्यसो भए आत्मा पनि शरीर जस्तो सानो र ठूलो हुने, बढ्ने वा घट्ने जस्तो स्वरूपको हुन्छ ?” भनी प्रहार गरे । त्यसैले जीवको आकार विवादास्पद विचार भए पनि यसको स्पस्टीकरणमा जैनहरूले पिपिलिका पुद्गलम प्राप्य पिपिलिका भवतिः हस्ति पुद्गलम प्राप्य हस्ति भवतिः भन्ने सूत्र दिए । यसको अर्थ हो, कमिलाको शरीर पाएमा जीव कमिला जस्तो हुन्छ । हात्तीको शरीर पाएमा जीव हात्ती जस्तो हुन्छ । तसर्थ, जैनहरूले शंकराचार्यले भनेअनुसार आत्मा ब्रह्म जस्तो विशाल र न्यायले भने जस्तो सानो अणुरूपमा नभई एक दियोको प्रकाशको पछाडि अर्को दियो बाल्दा दुवैको प्रकाश मर्ज भए जस्तै अनेक आत्माहरूले शरीरको सञ्चालन गर्दछन् । यसलाई जैनको मध्यमपरिमाणवाद भनिन्छ । जैनहरूको यो मध्यमपरिमाणवाद वेदान्त दर्शनको विभूपरिमाणवाद र न्याय दर्शनको अणुपरिमाणवादको बीचको बाटो हो ।
यहीँनेर चार्वाक आत्मा हुँदैन भन्ने मत राख्दछन् । शरीरभित्र यस्ता केही क्रियाहरू हुन्छन् जसले गर्दा चेतना आफसेआफ उत्पन्न हुन्छ । त्यस्तै, बुद्धले पनि आत्मा हुँदैन, चेतना हुन्छ भनेका छन् । चेतना विद्युतका अणु जस्तै एक प्रवाह हो जसमा चेतनाको प्रवाह एकपछि अर्को उत्पन्न र नस्ट (उत्पादव्यय) हुने क्रियाद्वारा निरन्तर अगाडि बढिरहन्छ ।
जीवका प्रकार (Forms of Soul)
जीव दुई प्रकारका हुन्छन्ः बद्ध र मुक्त ।
(१) बद्ध (Bound) : बद्ध पनि दुई प्रकारका हुन्छन्ः (क) स्थावर र (ख) त्रस ।
(क) स्थावर (Qmatics)
स्थावरको अर्थ हो स्थिर । जस्तोः पृथ्वी, जल, वायु, अग्नि र वनस्पति आदि स्थिर वस्तु हुन् । यिनीहरूभित्र स्थित जीवलाई स्थावर जीवका रूपमा राखिएको छ । साथै, यिनीहरू सबै एकेन्द्रिय अथवा एक इन्द्रिय भएका आत्मा हुन् । एक इन्द्रिय आत्माले केवल स्पर्शलाई मात्र अनुभूत गर्न सक्दछ ।
(ख) त्रस (oveable)
त्रसको अर्थ हो स्थानान्तर भइरहने, गतिशील वस्तु । यस्ता गतिशील वस्तुहरू विभिन्न ठाउँमा भौँतारिइरहेका हुन्छन् । यस्ता जीवभित्र स्थित जीवलाई त्रस भनिन्छ । यिनीहरू पनि चार प्रकारका छन्–
० द्विन्द्रिय जीव । यिनीहरूमा केवल स्पर्श र स्वाद थाहा पाउने दुई इन्द्रिय हुन्छन् । जस्तोः शंखे किरा, सीप आदि ।
० त्रिन्द्रिय जीव । यिनीहरूमा स्पर्श, स्वाद र गन्ध थाहा पाउने तीन इन्द्रिय हुन्छन् । जस्तोः कमिला ।
० चतुरिन्द्रिय जीव । यिनीहरूमा स्पर्श, स्वाद, गन्ध र दृष्टि क्षमता भएका चार इन्द्रिय हुन्छन् । जस्तोः झिँगा, माहुरी आदि ।
० पञ्चेन्द्रिय जीव । यिनीहरूमा स्पर्श, स्वाद, गन्ध, दृष्टि र श्रव्य क्षमता भएका पाँच इन्द्रिय हुन्छन् । जस्तोः मानिस, घोडा, गधा, हाँस, कुखुरा आदि ।
(२) मुक्त (Liberated)
मुक्त ती आत्मालाई भनिन्छ जसले मोक्ष प्राप्त गरेको छ । अर्को शब्दमा भन्ने हो भने जसले केवल ज्ञान प्राप्त गरेको छ, तिनीहरूलाई मुक्त आत्मा भनिन्छ । उनीहरूलाई तीर्थङ्कर पनि भनिन्छ ।
जगत् ।
यो संसार केले निर्माण भएको छ ? यसको चर्चा यहाँ गरिन्छ । विशेष गरी जैन धर्ममा जगत् दुई पदार्थ मिलेर बनेको हुन्छ भन्ने मान्यता छ । त्यस्तो पदार्थलाई पुद्गल भनिन्छ । पुद्गलका दुई वटा विशेषता हुन्छन् ।
(१) पुद्गल पुरयन्ति गलन्ति च : यो त्यस्तो पदार्थ हो जसमा निर्माण र नस्ट हुने दुवै गुण हुन्छ ।
(२) अणु र स्कन्धः अणु भनेको पुद्गलको सबैभन्दा सानो रूपलाई भनिन्छ । अणु नित्य हुन्छ, सरल हुन्छ । दर्शनको त्यति प्राचीन समयमा पनि जैनहरूले अणुसम्म सोचेका थिए । त्योभन्दा उता आजको विज्ञान जस्तो क्वान्टम फिजिक्ससम्म पुगेर सोच्न भ्याएका थिएनन् । यसैगरी, अणुहरू मिलेर बनेको यौगिक गुणयुक्त पुद्गललाई स्कन्ध भनिन्छ ।
अब यहाँ प्रश्न उठ्छ, स्कन्धमा यी दुई अणुहरूलाई केले जोड्दछ ? न्याय दर्शनले भन्छ, दुई अणुलाई भगवान्ले जोड्दछन् । त्यसकारण न्याय दर्शनमा भगवान्को अस्तित्व स्वीकार गर्नुपर्छ । तर यसै प्रश्नको उत्तरमा जैन धर्मीहरू भन्छन्, “यिनीहरू जोड्न कुनै ईश्वरको जरुरत पर्दैन । यिनीहरूमा स्वाभाविक आकर्षण शक्ति हुने भएकोले आफैं जोडिन्छन् ।” यहीँ बिन्दुबाट जैनहरू ईश्वरको अस्तित्वलाई अस्वीकार गर्दछन् ।
ईश्वर÷भगवान् वा तीर्थङ्कर
जैन धर्ममा ईश्वरको अस्तित्व स्वीकार्य छैन तर उनीहरू २४ औं तीर्थङ्कर नागार्जुनलाई भगवान् भन्दछन् । भगवान् नमान्नेहरूले कुन अर्थमा महावीरलाई भगवान् भने त ? यसको उत्तर उनीहरूसँग छ । भगवान् अथवा “गड”का तीन विशेषता छन्ः सृष्टि, पालना, संहार । सृष्टिका यी तीन कार्यका लागि अलग अलग धर्ममा अलग अलग ईश्वर मानिएको छ ।
जस्तैः हिन्दू धर्ममा तीन ईश्वर ब्रह्मा, विष्णु, महेश्वर मानिन्छ । इश्लाम धर्ममा खुदालाई मानिन्छ । इसाइमा गड मानिन्छ भने यहुदी धर्ममा याहोवा मानिन्छ । जैन धर्ममा जसले केवल ज्ञान प्राप्त गरेको ‘केवली’ छ, उसैलाई भगवान् मान्ने प्रचलन छ ।
केवली र केवलीको अर्को शब्द जिन पनि चल्छ । अरिहंत भनेको शत्रुको विनास । दुस्मन भनेको वासना । तसर्थ, अरिहंतलाई नै जिन पनि भनिनन्छ ।
केवली दुई किसिमका छन्–
(१) सामान्य केवली : यिनीहरू केवल ज्ञान प्राप्त गरेपछि आफ्नै स्वान्त सुखायमा रमाउँछन् । केवली भएपछि समाजमा ज्ञान विस्तारका लागि आउँदैनन् ।
(२) तीर्थकंकर केवली : ती केवली जो ज्ञान प्राप्त गरेर पनि समाज सुधारका लागि, ज्ञान बाँड्नका लागि समाजमा आउँछन् । मानिसहरूलाई ज्ञान प्राप्तिको बाटोमा हिँडाउन समाजमा आउँछन् ।
केवली मरेपछि सिद्धशिला पुग्छन् । जो शिद्धशिलाका योग्य छन्, तिनीहरू भगवान् भन्न लायक हुन्छन् ।
केवलीहरू पनि दुई किसिमका हुन्छन्ः सयोगी र अयोगी । जीवित हुदाँसम्म उनीहरूलाई सयोग केवली भनिन्छ भने मरेपछि अयोगी भनिन्छ । शिद्धशिलाको भनेको केहो भने जैन दर्शनमा आकाशलाई दुई भागमा बाँडिएको छः (१) लोकाकाश : जो यसै लोकबाट देखिन्छ । लोकाकाशमा जीव, पुद्गल, धर्म र अधर्म बस्दछन् । (२) अलोकाकास : अलोकाकाश यो जगत्भन्दा बाहिर, परमार्थमा छ । अलोकाकाशको एक स्थानमा शिद्धशिला रहेको छ । अब केवल ज्ञान प्राप्त केवली जो सामान्य हुन् वा तीर्थङ्कर केवली, दुवैको मृत्युपछि यिनीहरू त्यहीँ लोकाकाशको सिद्धशिलामा पुग्दछन् र स्थायी रूपमा रहन्छन् । शिद्धशिला पुग्ने सबै केवलीहरूलाई सिद्ध भनिन्छ । यसरी सिद्ध हुने व्यक्तिहरूलाई जैन दर्शनमा भगवान् भनिने चलन छ । त्यसकारण, जैन दर्शनमा महावीरलाई भगवान् भनिन्छ । यसको अर्थ हो यसै दुनियाँमा बसेर पनि महावीरले इच्छाहरूलाई जितेर केवली बने । त्यसपछि शरीरको अवशानपछि उनी सिद्धशिला पुगी सिद्ध भए । त्यसकारण, चलनअनुसार महावीरलाई भगवान् भनेर चिनिन्छ ।
जैन ज्ञानमीमांसा ९भ्उष्कतझययिनथ० ।
ज्ञानसँग सम्बन्धित सबै कुरा ज्ञान मीमांसा अन्तगर्त पर्दछन् । जस्तो– ज्ञान के हो ? कसरी मिल्छ ? यसमा के के पर्दछन् ? के के प्रमाण छन् ? आदि । जैन दर्शनमा ज्ञानको सबैभन्दा ठूलो योगदान स्यातवादमा पाइन्छ । यस दर्शनमा ज्ञानका दुई गुण हुन्छन्–
(१) ज्ञानं स्वपरभाषीः स्वपरभाषीको अर्थ स्वयम् प्रकाशित हुन्छ भन्ने मान्यता राख्नु । हुन त अन्य विभिन्न दर्शनमा ज्ञान आफैं प्रकाशित हुँदैन भन्ने विश्वास पनि छ तर जैन दर्शनमा ज्ञान आफैं प्रकाशमय भएर आउँछ भन्ने मानिन्छ । आत्माभित्र भएका चार चिज अनन्त चतुष्ठायले ज्ञानको प्रकाश गर्दछन् ।
(२) प्रमाणानि प्रत्यक्षानुमानशब्दानि : यसको अर्थ हो प्रमाणका तीन स्वरूप हुन्– प्रत्यक्ष, अनुमान र शब्द ।
पूर्वीय दर्शनमा ६ प्रमाणलाई आधिकारिक मानिन्छ । ती हुन्– (१) प्रत्यक्ष (२) अनुमान (३) शब्द (४) उपमान (५) अर्थापति (६) अनुपलब्धि । तर जैन धर्मीहरू केवल तीन प्रमाण मात्र मान्दछन् किनभने ६ प्रमाणमध्ये उपमान, अर्थापति र अनुपलब्धिहरू बाँकी ३ प्रमाणमा नै समाहित भएर आउँछन् ।
त्यसैले, प्रमाणानि प्रत्यक्षानुमानशब्दानि भनिएको हो । यसको अर्थ हो, प्रमाणका तीन स्वरूप छन्– प्रत्यक्ष, अनुमान र शब्द ।
प्रत्यक्ष प्रमाणः प्रत्यक्ष प्रमाण भन्नाले हामीले व्यवहारिक जीवनमा देखिरहेको, महसुस गरिरहेको ज्ञान नै प्रत्यक्ष ज्ञान हो । जस्तो– घर, खोला, पहाड, आकाश, हावा जो प्रत्यक्ष देखिन्छ र अनुभव पनि गर्न सकिन्छ ।
अनुमान प्रमाणः अनुमान प्रमाण भन्नाले कुनै एक चिज देखेर अर्को चिज भएको थाहा पाउनु । जस्तो– आँगन भिजेको देखेर वर्षा भएको अनुमान गर्नु । धुँवा देखेर आगो बलेको अनुमान गर्नु ।
शब्द प्रमाणः शब्द प्रमाण भनेको कुनै आधिकारिक पुस्तकमा लेखिएको वा विशेषज्ञहरूको भनाइको अनुशरण गर्नु । जस्तो– हामी डाक्टरले भनेको औषधि विना संकोच लिन्छौं । यसलाई श्रुतिज्ञान पनि भनिन्छ ।
बाँकी भाग ३ मा…



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










