माथि स्वयम्भूमा
मान्छे जस्ता देखिन्छन् बाँदर
तल सिंहदरबारमा
बाँदर जस्ता देखिन्छन् मान्छे ।
तर
न बाँदर मान्छे हो
न मान्छे बाँदर हो
आँखाको दोष वा चस्माको ?
द्यौराली चढ्दा
ढुङ्गै ढुङ्गाको सिढीँ टेकियो
द्यौरालीको मन्दिर छिर्दा
ढुङ्गाका देउता पुजियो
द्यौराली चढाउने देउता जस्तो ढुङ्गा
मन्दिरभित्र ढुङ्गा जस्तो देउता देखियो ।
तर
न ढुङ्गा देउता हो
न देउता ढुङ्गा हो
आँखाको वा दोष चस्माको ?
चित्र र चरित्रलाई
देख्ने आँखा बोल्दैन
बोल्दैन सुन्ने कान
केबल अफवाह फैलाउँछ मुख
जसले देख्छ न सुन्छ ।
दोष !
आँखाको वा चस्माको ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला