सप्तर्षि भन्नाले सात ऋषिहरूलाई बुझिन्छ । यी सात ऋषिहरूको नाम के के हुन् त ? भन्ने जिज्ञासा सामान्य रूपमा आउने नै भयो । सात ऋषिहरू को को हुन् भन्ने मतैक्य छैन । कसैले विश्वामित्रलाई सात ऋषिहरूको समूहमा राखेका छैनन् भने कसैले विश्वामित्रलाई सात ऋषिमध्येमै राखेका छन् । गौतम, भारद्वाज, जमदग्नी आदिलाई कसैले सप्तर्षि मानेका छन् भने कसैले छैनन् । तसर्थ, यहाँ दुवै मतलाई समेटेर पहिलो समूह र दोस्रो समूह भनी छुट्याई तिनीहरूको अलग अलग वर्णन गरिएको र आजको यस लेखमा भने दोस्रो समूहका सप्तऋषिहरूको वर्णन गरिएको छ ।

(क) पहिलो समूह :

यस समूहमा (१) गौतम (२) भारद्वाज (३) विश्वामित्र (४) जमदग्नी (५) वशिष्ठ (६) कश्यप र (७) अत्रिलाई सप्तऋषिको समूहमा राखेको भेटिएको छ ।

(ख) दोस्रो समूह :

यस समूहमा (१) मरीचि (२) अत्रि (३) अंगिरा (४) पुलह (५) क्रतु (६) पुलस्य र (७) वशिष्ठलाई सप्तऋषिको समूहमा राखिएको भेटिएको छ ।

सप्त ऋषिहरूको वर्णन थाल्नुभन्दा पहिले सप्त ऋर्षिहरूको उत्पत्ति जान्नु जरुरी हुन्छ । यी सातै ऋषिहरू ब्रह्माको मानस पुत्र हुन् । मानसपुत्र भन्नाले के बुझिन्छ ? यौन क्रियाबाट मानिस जन्म हुने प्रक्रिया नभई मनको इच्छाशक्तिबाट उत्पन्न भएका पुत्रलाई मानसपुत्र भनिन्छ । तसर्थ, यहाँ वर्णित पुराणअनुसार ब्रह्माजीका मनबाट मरीचि उत्पन्न भए । त्यस्तै, ब्रह्माजीका आँखाबाट अत्रि उत्पन्न भए । मुखबाट अंगिरा, पुलस्त्य उत्पन्न भए । नाइटोबाट पुलह उत्पन्न भए । हातबाट क्रतु उत्पन्न भए । छालाबाट भृगु उत्पन्न भए । प्राणबाट वशिष्ठ उत्पन्न भए । औँलाबाट दक्ष उत्पन्न भए । छायाबाट कर्दम उत्पन्न भए । काखबाट नारद उत्पन्न भए । इच्छाबाट सनक, सनन्दन, सनातन, सनतकुमार उत्पन्न भए । शरीरबाट मनु उत्पन्न भए र ध्यानबाट चित्रगुप्त उत्पन्न भए ।

प्रस्तुत वर्णनमा दोस्रो समूहमा उल्लिखित ऋषिहरूबारे तल संक्षिप्त वर्णन गरिएको छ । यिनीहरूको विस्तृत वर्णन यसपछि आउने पुस्तकमा गरिनेछ । यो वर्णनपछि पहिलो समूहका ऋषिहरूबारे वर्णन गरिनेछ ।

(१) मरीचि

पुराणका अनुसार मरीचि ब्रह्माको मनबाट उत्पन्न भएका मानसपुत्र थिए । यिनलाई सप्त ऋषिमध्ये एक ऋषि मानिएको छ ।

गीतामा उल्लेख भएअनुसार मरीचि कश्यप ऋषिका पिता हुन् र यिनी वायु हुन् । यिनको विवाह दक्ष प्रजापतिकी छोरी सम्भूतिसँग भएको थियो । यिनको अर्को विवाह पछि कर्दम ऋषिकी नौ छोरीमध्ये एक छोरी कलासँग भएको थियो जसबाट कश्यप ऋषिको जन्म भएको हो ।

(२) अत्रि  

पुराणका अनुसार महर्षि अत्रि ब्रह्माजीको आँखाको भागबाट उत्पन्न भएका मानस पुत्र थिए । ब्रह्माका इच्छित सात मानस पुत्र थिए जसको नाम हो- पुलस्य, पुलह, वशिष्ठ, कौशिक, मरिचि, क्रतु र नारद । यी सबैले ऋषि दर्जा प्राप्त गरेका छन् । अत्रि ऋषिको आश्रम चित्रकूटमा थियो । वैदिक देवताहरूका लागि अत्रि ऋषिले धेरैभन्दा धेरै भजनहरू लेखेका थिए ।

अत्रि ऋषिको विवाह कर्दम ऋषिकी पुत्री अनुसूयासँग भएको थियो । अनुसूयाकी माताको नाम देवहूति भएको कुरा माथि वशिष्ठ खण्डमा लेखिसकिएको छ । अत्रि ऋषि र अनुसूयाका तीन पुत्र भए दत्तात्रेय, चन्द्रमा र दुर्वासा । अत्रि दम्पत्तिले तपस्याद्वारा ब्रह्मा, विष्णु र शंकार “त्रिदेव”लाई खुसी पारी विष्णुको अंशबाट महायोगी दत्तात्रेय, ब्रह्माको अंशबाट चन्द्रमा र शंकरको अंशबाट महामुनि दुर्वासाको जन्म दिएका थिए । यिनकी एउटी ब्रह्मावादिनी नामकी छोरी थिइन् ।

ऋग्वेदमा लेखिएअनुसार महर्षि अत्रि ब्रह्माका पुत्र, सोमका पिता र कर्दम ऋषि एवम् देवहूतीकी छोरी अनुसूयाका पति भएको कुरा उल्लेख छ । उनकी पत्नी अनुसूयाको बारेमा लेखिएको छ- “एकदिन अत्रि ऋषि बाहिर गएको बेलामा ब्रह्मा विष्णु र शंकर ब्राह्मण भेष धारण गरी अनुसूयाको घरमा भिक्षा माग्न आए र भने- ‘आफ्नो सम्पूर्ण लुगा फुकालेर नाङ्गै भएपछि मात्र भिक्षा स्वीकार गर्नेछौं ।’ यस्तो कुरा सुनेपछि उनले आफ्नो सतित्वको शक्तिले तीनै जना देवतालाई बालक बनाएर भिक्षा दिइन् । त्यसपछि त्रिदेवहरू आफैं लज्जित भई फर्कनुपरेको थियो ।”

पुराणअनुसार अत्रिपुत्र चन्द्रमाले बृहस्पतिकी पत्नी तारासँग विवाह गरे । उनीहरूबाट बुधको जन्म भयो । बुधले क्षेत्रीहरूमा चन्द्रवंशको सुरुआत गरे । यस वंशका सबै राजाहरूले आफूलाई चन्द्रवंशी मान्दछन् । अत्रि ऋषिका सन्तान चन्द्र भएकाले आत्रेय पनि चन्द्रवंशी नै भए । अत्रिबाट चन्द्रमा, चन्द्रमाबाट बुध, बुधबाट पुरुरवा, पुरुरवाबाट आयु, आयुबाट नहुष, नहुषबाट यति, ययाति, संयाति, आयति, वियाति र कृति नामका ६ जना महाबली विक्रमशाली पुत्रहरू भए ।

(३) अंगिरा

पुराणका अनुसार अंगिरा पनि ब्रह्माको मुखबाट उत्पन्न भएका मानस पुत्र हुन् । अंगिराका एक पुत्र बृहस्पति देवताहरूका गुरु हुन् ।

पुराणमा महर्षि अंगिराको ईश्वरीय आध्यात्मिक ज्ञान, योग शक्ति, तपस्या र मन्त्र शक्तिका लागि विशेष मान रहेको छ । किंवदन्तीअनुसार उनका चार पत्नीहरू थिए । उनकी एक पत्नीको नाम सुरूपा थियो । सुरूपाकै गर्भबाट उतथ्य, संवर्तन र बृहस्पतिको जन्म भएको हो । बृहस्पति देवताहरूका गुरु हुन् भन्ने सर्वव्यापी तथ्य नै हो ।

अर्को तथ्यअनुसार यिनकी पत्नी दक्ष प्रजापतिकी छोरी स्मृति (श्रद्धा)सँग भएको हो । यिनैबाट उनको वंश विस्तार भएको थियो । पछि उनले स्वधा (बलिदान)सँग पनि विवाह गरेका थिए ।

अंगिराका सन्तानहरूको बारेमा ऋग्वेदमा पनि उल्लेख गरिएको छ । ऋग्वेदका अनुसार यिनका सन्तानहरूमा हविष्यत, उतथ्य, बृहत्कीर्ति, बृहज्ज्योति, बृहद्ब्रह्मन्, बृहत्मंत्र, बृहद्भास र मार्कण्डेय थिए ।

अंगिरा एक ठूला तपस्वी थिए । यिनको तपस्या अग्निभन्दा पनि बढी तीब्र थियो । यिनको तेजका अगाडि अग्निले पनि पानीमा बसेर तपस्या गर्नुपरेको थियो । अंगिराको तपस्याका अगाडि आफ्नो तपस्याको तेजोबध भएकोले दुःखी भएर अग्निले अंगिरासँग गुनासो गरे, “तपाईंको तेजको कारण तपाईं पहिलो अग्नि र म दोस्रो अग्नि भएँ । यसकारण मलाई अब कसैले अग्नि मान्ने छैनन् ।”

अग्निको दुःख सुनेर अंगिराले देवता र मनुष्यहरूको हवनका लागि अग्निको काम उनैलाई सुम्पिए र अगाडि भने, “तिमी अग्निकै रूपमा चिनिने छौ । तिमी मेरो पुत्र भएर रहने छौ ।”

(४) पुलह

पुराणका अनुसार पुलह ब्रह्माको नाइटोबाट उत्पन्न भएका मानस पुत्र थिए । मान्यताअनुसार १६ प्रजापतिमा एक प्रजापति ऋषि पुलह पनि हुन् । पुलह ऋषिले ऋषि कर्दमकी एक छोरी र दक्ष प्रजापतिका पाँच छोरीहरूसँग विवाह गरेका थिए ।
यिनका गुरुको नाम सनन्दन थियो भने शिष्यको नाम महर्षि गौतम थियो । गुरु सनन्दन ब्रह्माका पुत्र थिए । ऋषि पुलह शिवभत्त थिए । यसकारण, काशीमा स्थापित पुलहेश्वर शिवलिंगकाे स्थापना ऋषि पुलहले नै गरेका थिए भन्ने विश्वास गरिन्छ ।

(५) क्रतु

पुराणका अनुसार क्रतु ब्रह्माको हातबाट उत्पन्न भएका मानस पुत्र थिए । क्रतु पनि १६ प्रजापतिमध्ये एक प्रजापति थिए ।
ऋषि क्रतुले ब्रह्माको आज्ञाअनुसार दक्ष प्रजापति र क्रियाकी छोरी सन्नतिसँग विवाह गरेका थिए । किंवदन्तीअनुसार ऋषि क्रतु र सन्नतिबाट बालिखिल्य नामका ६० हजार छोराहरू भएका थिए । यी सबै बालखिल्य सूर्यका उपासक र अकारमा औंला बराबरका थिए । सूर्यका उपासक यी ६० हजार बालखिल्यहरू सूर्यको रथका अगाडि सूर्यतिर मुख फर्काएर बस्दछन् । यी तपस्वीहरूको तपस्याको शक्ति सूर्यलाई पनि प्राप्त भइरहन्छ भन्ने मान्यता चलिआएको छ ।

पुराणका अनुसार एकपटक महर्षि कश्यप एउटा यज्ञ गरिरहेका थिए । कश्यप ऋषिले आफ्ना काका  ऋषि क्रतुलाई आफ्नो यज्ञमा ब्रह्माको स्थान ग्रहण गरिदिनु हुनका लागि बिन्ती गरे । भतिज कश्यपको यो कुरा स्वीकार गरी ऋषि क्रतु आफ्नो सबै बालखिल्यहरूलाई लिएर यज्ञमा गए । त्यहाँ देवराज इन्द्र र बालखिल्यहरूका बीचमा विवाद भयो । यो विवादलाई ऋषि कश्यपले मिलाए । फलस्वरूप बालखिल्यले कश्यप ऋषिको पुत्रको रूपमा पंक्षीका राजा गरुड प्रदान गरे ।

पुराणमा उल्लेख भएअनुसार महर्षि क्रतुका दुई बहिनी पुण्य र सत्यवती थिए । महर्षि क्रतुकी आफ्नै छोरीको नाम पनि पुण्य थियो । साथै क्रतुकी पर्वासा नाम गरेकी बुहारी पनि थिइन् ।

प्रारम्भवमा वेद एउटै रूपमा थियो । पछि महर्षि क्रतुले नै वेदलाई चार भागमा बाँडे । क्रतु ऋषि नै द्वापर युगमा ऋषि वेद व्यासका रूपमा आएका थिए जसले महाभारतको सम्पूर्ण कथा, श्रीमद्भागवत गीता र अन्य थुप्रै पुराणहरू लेखेका थिए ।
महर्षि क्रतु मनुका छोरा उत्तानापाद र उत्तानापादका छोरा ध्रुवसँग अत्यन्त प्रेम गर्दथे । पिताबाट अपमानिस भएका ध्रुव जब परमलोक प्राप्त गर्ने उद्देश्यले महर्षि क्रतुकहाँ गए, तब महर्षिले उनलाई विष्णुको प्रार्थना गर्न सुझाव दिए । ऋषि नारदसहितको सल्लाहले विष्णुको कठिन तपस्या गरी परमलोक प्राप्त गरे । महर्षि क्रतु धु्रवसँग यति प्रेम गर्थे कि आज पनि क्रतु ऋषि ध्रुव ताराको वरिपरि घुमिरहेका छन् । यस्तै पुराणहरूमा वर्णन गरिएअनुसार क्रतु ऋषिले महर्षि अगस्त्यका छोरा इधवाहलाई पनि अङ्गीकार गरेका थिए भन्ने पाइन्छ ।

पुराणकै अर्को वयानअनुसार ऋषि क्रतुले अयोध्याका राजा भरतले देवताहरूको चरित्रको बारेमा उठाएका प्रश्नहरूको उत्तर दिएर उनको शङ्का निवारण पनि गरेका थिए । यसै गरी, महर्षि क्रतुले ऋषिहरूको मासु खाने राक्षसकै मासु खाएर समुद्र पिउने अगस्त्य ऋषिको गुणगान गरेको पाइन्छ ।

क्रतु ऋषिको बयान गरिरहँदा अग्निको एउटा नाम पनि क्रतु रहेको र श्रीकृष्ण एवम् जाम्बवतीको एक पुत्रको नाम पनि क्रतु नै थियो । यसै गरी पलक्षद्विपमा रहेको एउटा पुलको नाम पनि क्रतु छ । यी तथ्यहरूले पाठक नझुक्किउन् ।
मैत्रेय संहितामा उल्लेख भएअनुसार यज्ञबाट उत्पन्न पशुहरूलाई देवताहरूले आफ्ना आफ्ना नाममा विभाजन गरे तर रुद्रलाई भाग लगाइएन । यसपछि रुद्र क्रोधित भएर देवताहरूमाथि आक्रमण गरे । यस आक्रमणमा पुषण देवको दाँत र महर्षि क्रतुको अण्डकोष फुट्यो । रुद्रको यो क्रोधलाई ब्रह्माले शान्त पार्न उनलाई पशुपतिको उपाधि दिएपछि मात्र रुद्र प्रसन्न भएर देवताहरूमा भएको क्षति पहिले जस्तै बनाइदिए ।

(६) पुलस्य 

संस्कृतको पुलस्त्य नेपालीमा तद्भव भई पुलस्य लेखिएको पाइन्छ । पुराणका अनुसार पुलस्य ब्रह्माको कानबाट उत्पन्न भएका मानस पुत्र थिए । महर्षि पुलस्य दश प्रजापतिमा एक प्रजापति पनि हुन् । बताइअनुसार महर्षि पुलस्यका एक पुत्र महर्षि अगत्स्य हुन् ।

एक समय पुलस्य मेरु पर्वतमा तृणबिन्दुका आश्रममा तपस्यामा थिए । उनी घोर एकान्तमा तपस्यारत रहे पनि कैयौँ युवती, अन्य सन्तका छोरीहरू, नागकन्याहरू र अप्सराहरूसमेतले उनलाई तपस्यामा बाधा गरिरहेका थिए । तब महर्षि पुलस्यले क्रोधित भएर जो उनको नजिकमा आउँछ, ऊ गर्भवती हुन्छे भनेर घोषणा गरिदिए । यस्तो घोषणाले सबै कन्याहरू डराएर भागे ।

त्यसैबेला, तिनै आश्रमका ऋषि तृणबिन्दुकी छोरी मानिनी आफ्नो साथीहरूलाई खोज्दै पुलस्यका छेउ आइपुगिन् । जब पुलस्यले मानिनीलाई देखे, उनी तत्कालै गर्भवती भइन् । गर्भवती मानिनीले डराउँदै आफ्ना पितालाई यो कुरा बताइन्; तब तृणबिन्दुले पुलस्यलाई आफ्नी छोरीसँग विवाह गर्न अनुरोध गरे । महर्षि पुलस्यले पनि यो कुरा स्वीकार गरे । मानिनी अत्यन्तै शीलस्वभावकी भएकोले महर्षि पुलस्यले भने, “तिम्रो कोखबाट जन्म लिने सन्तानमा मेरो गुण सरेर जानेछ र त्यस सन्तानको नाम विश्रवा हुनेछ ।” गर्भको समयकालपछि मानिनीले विश्रवाको जन्म दिइन् ।

विश्रवाका दुई पत्नी थिए । एक पत्नीको नाम कैकेसी थियो । कैकेसी राक्षस सुमाली र राक्षसी ताडकाकी छोरी थिई । कैकेसीबाट रावण, अहिरावण, कुम्भकर्ण र विभीषण चार छोरा र एक छोरी शुपणर्खाको जन्म भयो । यिनीहरूको विस्तृत चर्चा रामायणमा गरिएको छ । त्यसैगरी दोस्री पत्नीको नाम इलबिडा थियो । कसैकसैले इलबिडालाई इडबिडा, इलाविदा वा इलविदा पनि भनेका छन् । इलबिडाबाट कुबेरको जन्म भयो । कुबेरका बारे महाभारतमा चर्चा गरिएको छ ।

इडबिडा अत्यन्तै दानी र यज्ञकार्यमा केवल स्वणर्पात्र मात्र प्रयोग गर्थिन् । उनले एकपटक यज्ञमा ब्राह्मणहरूलाई यति धेरै स्वणर् पात्र र स्वणर् मुद्रा दान गरिन् कि ब्राह्मणहरूले प्राप्त सबै स्वणर्मुद्रा र स्वर्णपात्रहरू लानै सकेनन् । सकेजति लगे र धेरैजसो त्यहीँ छोडेर गए । पछि राजा युधिष्ठिरले यज्ञ गर्दा यही बचेको स्वर्णधन नै दान गरिएको थियो ।

पुलस्य ऋषिको वंशावलीसम्बन्धी अर्को फरक तथ्य पनि भेटिन्छ । पुलस्य ऋषिको विवाह कर्दम ऋषिकी नौ कन्यामध्ये एक कन्या हविर्भूसँग भएको थियो । उनीबाट महर्षि पुलस्यका दुई पुत्र भए: महर्षि अगत्स्य र विश्रवा । यहाँ विश्रवाका बारे कसैले ऋषि पुलस्य र मानिनीबाट जन्मेका पुत्र हुन् भनेका छन् भने कसैले पुलस्य र हविर्भूबाट जन्मेका हुन् भनेका छन्, तर जसले जे भने पनि विश्रवापछिका सन्तानको बारेमा भने मतान्तर देखिँदैन ।

महाभारतमा भीष्म र ऋषि पुलस्यको भेट भएको वर्णन पाइन्छ । भीष्म गंगा नदीको छेउ गंगाद्वारमा बस्दथे । त्यहीँ स्थानमा ऋषि पुलस्य पनि तपस्या गरी बस्दथे । भीष्मलाई देखेर ऋषि पुलस्य उनको नजिक आए । भीष्मले जलको तर्पण दिई ऋषिको स्वागत गरे । यस भेटमा ऋषिले ब्रह्माद्वारा प्राप्त धर्मको बाटोबारेको ज्ञान भीष्मलाई बताएका थिए ।

(७) वशिष्ठ 

पुराणका अनुसार वशिष्ठ ऋषि ब्रह्माका मानस पुत्र हुन् । ब्रह्माका अर्का मानस पुत्रको नाम मरिची थियो । मानस पुत्र भन्नाले मैथुन क्रियाबाट जन्म नभई इच्छाद्वारा उत्पत्ति भएको पुत्र वा पुत्री भन्ने बुझिन्छ । यस्तै ब्रह्माकी सन्ध्या नामकी एक मानस पुत्री पनि थिइन् । ऋषि वशिष्ठ त्रिकालदर्शी थिए । उनी अति नै सहनशील पनि थिए । यिनका एक सय छोरालाई ऋषि विश्वामित्रले मारिदिए तथापि ऋषि विश्वामित्रलाई वशिष्ठले माफ गरिदिए ।

ऋषि वशिष्ठको विवाह अरुन्धती र उर्जासँग भएको थियो । अरुंन्धती ऋषि कर्दम र देवहूतीका नौ कन्यामध्ये आठौं कन्या थिइन् । देवहूती मनु र शतरूपाकी छोरी थिइन् । दोस्री पत्नी ऊर्जा भने दक्ष प्रजापति र उनकी पत्नी प्रसूतिकी छोरी थिइन् ।

कर्दम ऋषिकी नौ वटी छोरीहरूको नाम कला, अनुसुइया (पति ऋषि अत्रि), श्रद्धा, हविर्भू (पति ऋषि पुलस्य), गति, क्रिया, ख्याती, अरुन्धती (पति ऋषि वशिष्ठ) र शान्ति हो भने छोराको नाम कपिल थियो ।

ऋषि वशिष्ठ त्रेता युगमा अयोध्याका राजा दशरथका राजगुरु थिए । शास्त्रअनुसार फरक फरक आठ वशिष्ठहरू थिए भन्ने विश्वास गरिएको छ । एक वशिष्ठ द्वापरयुगमा महाभारतकालीन समयमा पनि थिए । रामायणकालीन र महाभारतकालीन वशिष्ठ ऋषि एकै हुन् । त्रेता युगको समाप्तिपछि द्वापर युगमा पनि ऋषि वशिष्ठले आफ्नो कर्म गरिरहे । ऋषि वशिष्ठ राजा नहुष, रतिदेव, राम र भीष्म जस्ता ज्ञानी र महापुरुषहरूका पनि गुरु थिए ।

ऋषि वशिष्ठको जीवनमा विश्वामित्रसँग अति कटु सम्बन्ध रहेको थियो । उनीहरूका बीचको सम्बन्ध शत्रुतामा समेत बदलिएको र एक अर्कामा घात प्रतिघातसमेत भएको थियो । तथापि यस्तो अप्रिय सम्बन्धको कारक भने वशिष्ठ थिएनन् । तर पछि गएर यी दुवै ऋषिहरूको शत्रुतापूर्ण सम्बन्धको अन्त भई सुमधुर मित्रवत् सम्बन्ध पनि बनेको थियो ।

तसर्थ, वशिष्ठ र विश्वामित्रको सम्बन्ध कसरी शत्रुतापूर्ण भयो र पछि कसरी त्यो सम्बन्ध मित्रतामा परिणत भयो भन्ने वर्णन सप्तर्षिहरूको पहिलो समूहको विश्वामित्र खण्डमा सविस्तार वर्णन गरिएको छ ।

रिचमण्ड, भर्जिनिया, अमेरिका