जैन इ.पू. छैठौं शताब्दीमा विकास भएको दर्शन हो । यसै शताब्दीमा बौद्ध धर्म पनि विकास भएको पाइएकाले जैन र बुद्ध धर्मलाई समकालीन धर्म पनि मानिन्छ । जैन धर्मका प्रवर्तक ऋषभदेव हुन् जसलाई जैनहरू प्रथम तीर्थङ्करका रूपमा मान्दछन् । यस परम्परामा तीर्थङ्करलाई भगवान्सरह मानिन्छ । यस धर्मका २४ तीर्थङ्करहरूको लामो श्रृङ्खला बन्दछ । प्रथम तीर्थङ्कर ऋषभदेवदेखि २४ औं र अन्तिम तीर्थङ्कर महावीर लगायत सबै २४ तीर्थङ्करहरू जैन धर्मका संस्थापकहरू हुन् । प्रथम तीर्थङ्कर ऋषभदेव, २३ औं तीर्थङ्कर पाश्र्वनाथ र अन्तिम तीर्थङ्कर महावीरबाहेक अन्य तीर्थङ्कहरूको बारे इतिहास मौन देखिन्छ ।
जैन धर्म वैदिक एवम् श्रमण संस्कृतिबाट अंकुरण भएको दर्शन हो । प्राचीनकालमा यस धर्मलाई अर्हत् भनिन्थ्यो । जसले आफ्नो शरीर, मन र वाणीमाथि विजय प्राप्त गरी मोक्ष प्राप्त गरेको छ, त्यस व्यक्तिलाई अर्हत् भनिन्छ । पछि महावीरको इहलीला समाप्त भएपछि यो परम्परा जैन नामले चिनिन थाल्यो । जैन धर्ममा २४ व्यक्तिहरूलाई तीर्थङ्कर मानिएको छ ।
तीर्थङ्कर भन्नाले अरिहंत अथवा जिनेन्द्र बुझिन्छ । अरिहंत शब्द भगवान्को अर्थमा लिइन्छ । अरिको अर्थ शत्रु र हंतको अर्थ जित्नु हो । तसर्थ, जसले शत्रुलाई जितेको छ, त्यो अरिहंत हो । यहाँ शत्रु भन्नाले बाहिरी शत्रु नभई आफैंभित्रका “आन्तरिक शत्रु” जस्तो काम, क्रोध, लोभ, मोह, अहंकार ईर्ष्या आदि आत्मशत्रुलाई जित्नु भन्ने बुझिन्छ । तसर्थ, जसले आत्मशत्रुलाई जितेको छ, उसले बाह्य शत्रुलाई पनि सजिलै जित्न सक्छ । त्यस्तो सिद्ध वा मुक्त व्यक्तिलाई नै अरिहंत भनिन्छ ।
त्यस्तै, जिनेन्द्रको अर्थ हो इन्द्रियलाई जित्ने । जिनेन्द्र शब्दको “जिन” संस्कृतको जि धातुबाट बनेको र “जि”को अर्थ जित्नु हो । तसर्थ, जसले आत्मज्ञान पाई सर्वज्ञता अथवा पूर्णज्ञान प्राप्त गरी आफ्नो शरीर, मन र बोलीलाई जितेको छ, ती अर्हत् भगवान्लाई नै जिनेन्द्र भनिन्छ ।
====
धर्मग्रन्थ
जैन धर्मको प्रमुख ग्रन्थको नाम आगम हो । यो अत्यन्तै प्राचीन ग्रन्थ हो । हिन्दू धर्ममा जो स्थान वेद र बुद्ध धर्ममा त्रिपिटकको छ, त्यही स्थान जैन धर्ममा आगमको छ । यसमा महावीरले दिएका शिक्षा तथा यसैसँग सम्बन्धित धेरै कथाकहानीहरू उल्लेख छन् । यसको अतिरिक्त भद्रबाहुकृत कल्पसूत्र, जिनसेनकृत आदिपुराण, उद्योतन सूर्यकृत कुवलयमाला, संर्वनंदीकृत लोकविभंग र महावीरका शिक्षा संग्रह गरिएको ग्रन्थ भगवती सूत्र जैन धर्मका अन्य धर्मग्रन्थहरू हुन् ।
श्रमण परम्परा
माथि नै भनियो, जैन धर्मको प्रारम्भिक स्रोत श्रमण परम्परा पनि हो । श्रमण भन्नाले भिक्षु वा ऋषि बुझिन्छ । श्रमण परम्परा एक नास्तिक परम्परा थियो र यसै परम्पराबाट जैन, आजीविक, चार्वाक र बौद्ध परम्परामा नास्तिक दर्शन प्रवेश भएको भेटिन्छ ।
यहाँ नास्तिकको अर्थ जसले वेदलाई प्रमाण मान्दैनन्, त्यो नास्तिक हो । यसर्थ, श्रवण परपम्परा पनि वेद निन्दक थियो भन्न सकिन्छ । अर्को दृष्टिकोणबाट हेर्दा आजीविक, बौद्ध र चार्वाक जस्तै जैन धर्मले वैदिक परम्परासँग असहमति राखी समानान्तर दर्शनको विकास गर्न खोजेको अनुभव हुन्छ । यसैले जैन, बुद्ध, चार्वाक, आजीवकहरू सबै नास्तिक धर्म हुन् । श्रमण शब्दको व्युत्पत्ति “श्रम” धातुबाट बनेको हो जसको अर्थ परिश्रम गर्नु हो । यस परम्परामा श्रमका पाँच महाव्रत रहेका छन्–
(१) सर्वप्राणपात – यसको मूल अर्थ अहिंसा वा हिंसा नगर्नु हो । कुनै पनि प्राणीहरूको कुनै पनि किसिमले पनि हत्या गर्नु वा प्राण लिनुहुँदैन । जीवन चलाउने प्रयोजनका लागि जीवजन्तुको प्राण लिनु नैतिक दृष्टिले गलत छ । प्रकृतिमा जुन अधिकार मानिसलाई प्राप्त छ, त्यो अधिकार सबै प्राणीलाई पनि हुने भएकोले तिनीहरूको पनि हितरक्षा गर्नुपर्दछ ।
(२) सर्वमृष्षावाद – झुटो नबोल्नु । कसैले पनि झुटो वचन बोल्नुहुँदैन । वाद भनेको वचन वा वाणि हो । झुठो बोल्ने र झुठो बोल्न उक्साउनु पनि हुँदैन भन्ने यस कथनमो मूल उद्देश्य हो ।
(३) सर्वअदत्तादान । अधिकार नभएको वस्तु चोरी गरी नलिनु । कुनै पनि लेनदेन कार्यमा जे प्राप्त छ, त्यो लिनुपर्दछ । प्रदान नगरिएको वस्तु प्राप्त गर्नु चोरी गर्नु हो । दान भिक्षामा जे पाइन्छ, त्यसलाई सहर्ष स्वीकार गर्नुपर्दछ । अवैधानिक तरिकाले वस्तुको प्राप्ति गरिनुहुँदैन भन्ने यसको मूल आशय हो ।
(४) सर्वमैथुन । कामवासनाबाट टाढा हुनु । कषाय वा वासनायुक्त जीवनको परित्याग गर्नुपर्छ । यसले जीवनको वृत्तिविकास र चरित्र निर्माणमा बाधा गर्दछ । व्यक्ति, परिवार र समाजमा यसले दिने नतिजा नकारात्मक हुन्छ । जीवनको बाटो भ्रष्टतिर लैजान्छ ।
(५) सर्वपरिग्रह विरमण । परिग्रह भनेको भौतिक सम्पत्तिको सञ्चिति गर्नु हो भने विरमणको अर्थ रोक्नु, रोकावट, परित्याग गर्नु । तसर्थ, यसको पूरा अर्थ अधिक सञ्चित गर्नु व्यर्थ छ भन्ने हो । अधिक सञ्चितिले मानिसमा लोभ उत्पन्न गर्दछ । तसर्थ, बढी संग्रह गरिएका वस्तुहरू जति छन्, तिनीहरू परित्याग गर्नुपर्दछ ।
माथि उल्लिखित सबै कर्म तन मन र कर्मले परिपालन गर्नुपर्दछ ।
श्रमण शब्दका तीन रूप छन्, श्रमण, समन र शमन । श्रमणको अर्थ परिश्रम भएको र यसले दिने सन्देश भनेको हरेक व्यक्तिले आफ्नै परिश्रमले आफ्नो जीवन निर्वाह गर्नुपर्छ । साथै कसैको सुख, दुःख, उन्नति र अवनतिमा पनि व्यक्ति स्वयम् जिम्मेदार हुन्छ । त्यस्तै, समनको अर्थ सबैसँग समभाव राख्नु, सबैलाई आत्मवत् सम्झनु हो । अरुको आफूलाई मन नपर्ने भाव आफूले पनि अरुलाई गर्नुहुँदैन भन्ने ज्ञान राख्नुपर्छ । श्रमणको तेस्रो रूप शमनको अर्थ आफ्नो बानी, व्यहोरा र आचरण संयमित राख्नुपर्दछ । यसलाई महाश्रमण पनि भनिन्छ ।
तसर्थ, श्रमणपरम्पराको मूल मन्त्रहरू श्रम, सम र शम अर्थात् परिश्रम गर्नु, समभाव राख्नु र संयमता अपनाउनु हो । यो नै श्रमण परम्पराको सौन्दर्य र विशेषता हुन् । जैन धर्मका बारे प्राचीन ऐतिहासिक र अन्य धार्मिक तथ्यहरू खोज्दै जाँदा सिन्धु सभ्यता र हडप्पा सभ्यतासम्म पुगिन्छ जुन समयका आसपास प्रथम तीर्थङ्कर ऋषभदेवले श्रमण परम्परा सुरु गरेको पाइन्छ । सिन्धुसभ्यताको एक केन्द्र मोहनजोड्दोको अवशेष अध्ययन गर्दा ऋषभदेवको ध्यानस्थ चित्रले श्रमण परम्परामा तप र साधना पद्धतिको सुरुआत यिनले नै गरेका थिए भन्ने देखिन्छ ।
श्रमण परम्पराको ब्राह्मण परम्परासँग स्पस्ट विमति देखिन्छ । ब्राह्मण परम्पराले ब्रह्मलाई मोक्षको आधार मान्दछ भने श्रमण परम्पराले श्रमलाई मोक्षको आधार मान्दछ । ब्राह्मण परम्परामा वेदवाक्यलाई ब्रह्मवाक्य मानिन्छ र ब्रह्म नै ईश्वर हो भनिन्छ तर श्रमण परम्परामा ईश्वरको अस्तित्वलाई स्वीकार गरिँदैन र श्रमलाई नै ईश्वररूप मानिन्छ । वेदका उपदेशहरू यज्ञ, तप, आराधना, स्तुति आदिलाई पछ्याउने ब्राह्मण परम्परा हो भने वेदलाई प्रमाण नमानेर आत्मज्ञान, आत्मविश्वास र आत्मसाक्षात्कारमा विश्वास गर्ने श्रमण परम्परा हो ।
आजीविक परम्परा
यहाँ आजीविक परम्पराको कुरा आयो । यो परम्परा पनि श्रमण परम्पराक्रै जराबाट उम्रिएको हो । यो पनि पूर्वीय दर्शन परम्परामा एक नास्तिक तथा भौतिकवादी दर्शन मानिन्छ । यसका अतिरिक्त यिनीहरू नियतिवादमा विश्वास गर्दथे । ईश्वर, पुनर्जन्म तथा कर्मकाण्डमा यिनीहरूको विश्वास थिएन । यसका प्रणेता मक्खली गोसाल थिए र यिनैले नियतिवादको प्रवर्तन गरेका थिए । इसापूर्व पाँचौ शताब्दीमा महावीर तथा बुद्धको उदय हुनुअगाडि वा त्यही समयको हाराहारीमै यो परम्परा स्थापित भएको थियो । यिनीहरूको आधिकारिक इतिहास नपाइए पनि बुद्ध र जैन साहित्यमा उल्लेख भएअनुसार यिनीहरूका तीर्थङ्कर मख्खली गोसाल हुन् । गोसाल जैन र बुद्धका घोर विरोधी थिए । जैन र बुद्धका विरोधी हुनुको अर्थ हो, गोसाल जैन र बुद्धका समकालिन थिए । जैन र बुद्धमार्गीहरूकै साहित्यमा यिनको चर्चा हुनु भनेको जैन र बुद्धको दर्शन प्रचार हुनुपूर्व नै आजीवक दर्शन परम्परा समाजमा स्थापित भइसकेको थियो । यस कारण जैन र बुद्धहरू यिनकै जस्तो दर्शन सम्प्रेषण गरी अगाडि स्थापित भइरहेका कारण यिनी जैन र बुद्ध विरोधी भए ।
चित्रकला यिनको जीविकोपार्जनको साधन थियो । चित्रकलाकै माध्यमबाट यिनी धार्मिक र नैतिक शिक्षा दिन्थे । मख्खली गोसाल गौशालामा जन्मिएको हुनाले यिनको नामका पछाडि गोसाल जोडिन गयो । माता भद्राको कोखले गोसाललाई मातृत्व प्रदान ग¥यो । यिनको बलियो उपस्थितिका कारण बुद्ध र जैन धर्महरू पनि यिनको धार्मिक र दार्शनिक प्रभावबाट मुक्त रहन सकेनन् । अतः जैन, बुद्ध र चार्वाक दर्शनको भौतिकवादी दृष्टिकोणमा यस सम्प्रदायको प्रभाव पाइन्छ ।
तीर्थङ्कर
जैन सम्प्रदायका प्रमुख भगवान् वा धर्माचार्यलाई तीर्थङ्कर भनिन्छ । अर्को शब्दमा जिनेन्द्रीय क्षमता भएका व्यक्तिलाई तीर्थङ्कर भनिन्छ । जिनेन्द्र भन्नाले जसले आत्मज्ञान पाई सर्वज्ञता अथवा पूर्णज्ञान प्राप्त गरी आफ्नो शरीर, मन र बोलीलाई जितेको छ, उसलाई जिनेन्द्र भनिन्छ । यस धर्ममा २४ व्यक्तिलाई तीर्थङ्कर मानिएको छ जसले तपका माध्यमले आत्मज्ञान अथवा केवलज्ञान प्राप्त गरेका छन् । “केवल ज्ञान” प्राप्त गरेको व्यक्तिलाई केवली पनि भनिन्छ जसले पूर्ण रूपमा क्रोध, अभिमान, छल, इच्छा जस्ता संसारिक बन्धनमाथि विजय प्राप्त गरेका हुन्छन् । अर्को शब्दमा, जन्म मरणको चक्रबाट मोक्षको मार्ग निर्माण गर्ने कर्तालाई तीर्थङ्कर भनिन्छ ।
माथि उल्लिखित श्रमण परम्परा बुद्ध, चार्वाक आदि दर्शनका उत्पत्तिका आधारहरू हुन् । श्रमण परम्पराका आदि पुरुष ऋषभदेव हुन् । त्यही परम्पराको निरन्तरतामा नै अगाडि जैन धर्म आयो र जैन धर्मले आफ्ना प्रथम तीर्थङ्कर भनेर ऋषभदेवलाई नै मान्दछ । ऋषभदेवपछि अहिले जैन धर्मका जति पनि साहित्य पाइन्छन्, ती सबै २४ औं तीर्थङ्कर महावीरका उपदेशहरूमा आधारित छन् ।
जैन धर्मले मानेका २४ तीर्थङ्करको नाम यस प्रकार रहेका छन् ।
(१) ऋषभदेव जसलाई आदिनाथ पनि भनिन्छ, (२) आजितनाथ (३) सम्भवनाथ (४) अभिनन्दन (५) सुमतिनाथ (६) पद्मप्रभु (७) सुपाश्र्वनाथ (८) चन्द्राप्रभु (९) सुविधिनाथ (१०) शीतलनाथ (११) श्रेयांसनाथ (१२) वासुपूज्य (१३) विमलनाथ (१४) अनन्तनाथ (१५) धर्मनाथ (१६) शान्तिनाथ (१७) कुन्थुनाथ (१८) अरनाथ (१९) मल्लिनाथ (२०) मुनिसुव्रतनाथ (२१) नमीनाथ (२२) अरष्टनेमीनाथ (२३) पाश्र्वनाथ (२४) वर्धमान महावीर । यिनलाई सन्मति, वीर, अतिवीर आदि नामले पनि चिनिन्छ ।
ऋषभदेव, प्रथम तीथंङ्कर
ऋषभदेवका जैन धर्मका आदि पुरुष हुन् । यिनका अन्य नामहरू आदिनाथ, ऋषभनाथ, वृषभनाथ, आदिब्रह्मा हुन् । वैदिक तथा पौराणिक साहित्यमा यिनी इक्ष्वाकु वंशी भएको उल्लेख पाइन्छ । इक्ष्वाकु वंश राजा इक्ष्वाकुको वंश परम्परा हो । वैदिक परम्परा हेर्दा के देखिन्छ भने– ब्रह्माजी मानसपुत्र मरीचि थिए । त्यसपछि क्रमशः मरीचिका पुत्र कश्यप, विवस्वान (सूर्य), वैवस्वत मनु, नाभाग, अम्बरिष, विरूप, पृषदश्व, रथीतर …… हुँदै ११ औं स्थानमा इक्ष्वाकु राजाको स्थान आउँछ ।
एउटा अर्को स्रोतमा इक्ष्वाकुका पिताको नाम वैवस्वत मनु भएको पनि पाइन्छ । यसअनुसार वैवस्वत मनुकी १ पुत्री– इला र ९ पुत्र– इक्ष्वाकु, नभग, धृष्ट, शर्याति, नरिष्यन्त, प्रांशु, अरिष्ट, करुष र पृषध्रमध्ये इक्ष्वाकु जेठा पुत्र थिए । राजा इक्ष्वाकुको वंश सूर्यवंशी र बहिनी इलाको वंश चन्द्रवंशी भए । प्राचीन जैन धर्मीहरू इक्ष्वाकुलाई नै ऋषभदेवका नामले चिन्दछन् । ऋषभदेव कोशल देशका राजा थिए । कोशल देशको राजधानी अयोध्या थियो । यसैगरी, अयोध्याका राजा राम तथा नेपालस्थित लुम्बिनीका शाक्यवंशी राजकुमार गौतम बुद्ध पनि इक्ष्वाकु राजवंशभित्रकै पर्दछन् । यसरी हेर्दा हिन्दू वैदिक परम्परा र जैन धर्म परम्परा सँगसँगै विकास भएको हो भन्ने अनुमान गर्न सकिन्छ ।
ऋषभदेव केवल ज्ञान प्राप्त केवली थिए । यो ज्ञान १००० वर्षसम्म तपस्या गरेर प्राप्त गरिने ज्ञान हो जसले सम्पूर्ण उत्पत्तिको ज्ञानलाई प्राप्त गरेको हुन्छ । त्योभन्दा उता जान्नुपर्ने कुनै पनि ज्ञान रहँदैन । त्यो भनेकै पूर्ण मोक्षको अवस्था हो । तसर्थ, ऋषभदेवलाई केवलज्ञानी, तीर्थङ्कर भनिएको हो ।
वर्धमान महावीर, २४ औं तीर्थङ्कर
महावीरको बालककालको नाम वर्धमान थियो । यिनको जन्म गौतम बुद्धकै सेरोफेरो इ.पू. ६०० वर्षअगाडि सिद्धार्थ राजाको दरवारमा भएको हो । आज त्यो स्थान वैशाली नजिक रहेको कुण्डग्राम, बिहारमा पर्दछ । यिनकी माताको नाम त्रिशला र पिताको नाम सिद्धार्थ थियो । महावीरकी पत्नीको नाम यशोदा थियो । उनीहरूकी एक पुत्रीरत्न अनोज्जा प्रियदर्शन थिइन् । यिनी सानैदेखि एक निर्भय, बलवाल र बुद्धिमान व्यक्ति थिए । महावीरको समयमा २३ औं तीर्थङ्कर पाश्र्वनाथको धर्म चलेको थियो जसमा धेरै त्रुटी थिए भन्ने यिनलाई जानकारी भयो । तिनै त्रुटीहरूलाई उनी सच्याउन चाहन्थे । घरव्यवहारमा बसेर यो कार्य गर्न सम्भव नदेखेपछि उनले गृहत्याग गर्ने विचार गरे तर मातापिताको आग्रहमा उनले त्यो विचार स्थगित गरे । उनी ३० वर्षको उमेर पुग्दासम्म उनका दुवै मातापिताको निधन भइसकेको थियो । त्यसपछि भने उनले राजवैभव परित्याग गरे । दरवार–त्यागपश्चात् महावीरले १२ वर्षसम्म ऋजुपालिका नदीको किनारमा एउटा सालको रुखमुनी कडा तपस्याद्वारा सत्य–ज्ञान प्राप्त गरी राग, द्वेषमाथि विजय प्राप्त गरे । जैन दर्शनमा सत्य–ज्ञानलाई केवल ज्ञान पनि भनिन्छ । केवल ज्ञान विशुद्ध ज्ञान हो जसका लागि मूलतः मोहनीय, ज्ञानावरणीय, दर्शनावरणीय र अंतराय चार बर्जित कर्मक्षय हुन अनिवार्य छ । (केवल ज्ञानको बारेमा तल महावीर खण्डपछि थप व्याख्या गरिनेछ ।)
केवल ज्ञानले दीक्षित भएपछि महावीरले आफूले प्राप्त गरेको ज्ञानलाई प्रचारप्रसार गर्न थाले । ज्ञानको प्रचारले उनलाई समवशरण भवनसम्म पु¥यायो । समवशरण भवन तीर्थङ्करहरूले दिव्योपदेश दिने भवनलाई भनिन्छ । अब उनले समवशरण भवनबाटै ज्ञानको दिव्योपदेशको रूपमा प्रवचन दिन थाले । उनले २३ औं तीर्थङ्करका पालामा चलेको धर्मको त्रुटीलाई सच्याउने काम पनि गरे । त्यसपछि उनलाई २४ औं तीर्थङ्करका रूपमा स्वीकार गरियो र उनले भगवान् महावीरको दर्जा पनि पाए । तत्पश्चात् तीर्थङ्कर महावीरले दिने प्रवचनलाई केवल ज्ञानको रूपमा लिन थालियो । अब उनी केवली बने । तत्कालीन मगध देशका राजा बिम्बिसार, वैशाली राज्यका मुखिया चेटक र कुणिक समेत महावीरका चेला बने । राजा बिम्बिसार उसबेला बुद्ध धर्मी थिए भन्ने इतिहास पाइन्छ ।
जैन साहित्यअनुसार भगवान् महावीरको जन्मबारे बुझ्न समयचक्रलाई पनि बुझ्नुपर्ने हुन्छ । जैन साहित्यमा समयचक्रलाई (१) उत्सर्पिणी र (२)ं अवसर्पिणी गरी २ भागमा विभाजन गरिएको छ । दुवै समयचक्रमा ६–६ अवस्थाहरू हुन्छन् । जस्तोः
(१) उत्सर्पिणीः यो चक्रमा समय दुःखबाट सुखतिर बढेर जान्छ । यो सुखको उध्र्व गतिको अवस्था हो । तसर्थ, समय दुःखबाट सुखतिर बढ्दो क्रममा जान्छ । यसका ६ अवस्था हुन्छन्, ती हुन्ः
(क) दुःखमा दुःखमा । समयचक्रको यो खण्डमा दुःखै दुःखै मात्र हुन्छ । जीवन अज्ञान र कषाययुक्त हुन्छ ।
(ख) दुःखमा । समयचक्रको यो खण्डमा दुःख बढी र सुखको आभास मात्र हुन्छ ।
(ग) दुःखमा सुखमा । समयचक्रको यो खण्डमा दुःख बढी र सुख कम हुन्छ ।
(घ) सुखमा दुःखमा । समयचक्रको यो खण्डमा सुख बढी र दुःख कम हुन्छ ।
(ङ) सुखमा । समयचक्रको यो खण्डमा सुख बढी र दुःखको आभास मात्र हुन्छ ।
(च) सुखमा सुखमा । समयचक्रको यो खण्डमा सुखै सुखै हुन्छ ।
(२) अवसर्पिणी । यो चक्रमा समय सुखबाट दुःखतिर बढेर जान्छ । यो सुखको अधो गतिको अवस्था हो । तसर्थ, समय सुखबाट दुःखतिर बढ्दो क्रममा जान्छ । अवसर्पिणीका ६ अवस्थाहरू उत्सर्पिणीको ठीक विपरीत हुन्छन् । ती हुन्ः
(क) सुखमा सुखमा । समयचक्रको यो खण्डमा सुखै सुखै हुन्छ ।
(ख) सुखमा । समयचक्रको यो खण्डमा सुख बढी र दुःखको आभास मात्र हुन्छ ।
(ग) सुखमा दुःखमा । समयचक्रको यो खण्डमा सुख बढी र दुःख कम हुन्छ ।
(घ) दुःखमा सुखमा । समयचक्रको यो खण्डमा दुःख बढी र सुख कम हुन्छ । २४ औं तीर्थङ्कर महावीरको जन्म ।
(ङ) दुःखमा । समयचक्रको यो खण्डमा दुःख बढी र सुखको आभास मात्र हुन्छ ।
(च) दुःखमा दुःखमा । समयचक्रको यो खण्डमा दुःखै दुःख मात्र हुन्छ । जीवन अज्ञान र कषाययुक्त हुन्छ ।
भगवान् महावीरको जन्म समयचक्रको अवसर्पिणी कालको चौथो खण्डमा भएको हो । जन्मचक्रमा २४ तीर्थङ्करको यो जन्म अन्तिम जन्म हो । त्यसपछि समयचक्र दोहोरिन थाल्छ र सोही अनुसार पुनः तीर्थङ्कहरूको जन्मचक्र पनि दोहोरिन थाल्छ । यसरी २४ औं र अन्तिम तीर्थङ्करको रूपमा जन्मिएर महावीरले केवल ज्ञानको बिस्तार गरे । यो समय अवसर्पिणीको चौथो काल “दुःख सुखमा”को समय थियो । यसबेला मानव समाज हिंसा, पशुबलि, जातपातको भेदभाव, मतिहीन, भ्रष्टता आदिमा रूपान्तरित भएको हुन्छ । यही कारण यो अवसर्पिणी कालमा महावीरको जन्म भएको र उनैले धर्म, नैतिकता, अहिंसा, सद्भाव र सहिष्णुताको पाठ पढाए । मानवले जुन व्यवहार अरुबाट अपेक्षा गरिन्छ, आफूले पनि त्यही व्यवहार प्रदर्शन गर्ने उच्च आदर्श एवम् नैतिक गुण बोकेको हुनुपर्छ भन्ने ज्ञान महावीरले दिएका छन् । महावीरले नै पंचशीलका महाव्रती सिद्धान्त (१) अहिंसा, (२) सत्य, (३) अपरिग्रह, (४) अस्तेय र (५) ब्रह्मचर्यको शिक्षा दिए भने अनेकान्तवाद, स्यादवाद र अपरिग्रहको महाव्रती सिद्धान्त पनि दिए ।
महावीर केवली बनेपछि उता ३० वर्ष जीवन बाँचे । उनको धार्मिक संघमा १४ हजार साधु, ३६ हजार साध्वी, १ लाख श्रावक र ३ लाख श्रविकाहरू भए । जैन धर्ममा धार्मिक अनुयायी पुरुषलाई श्रावक र महिलालाई श्रविका भनिन्छ ।
अहिंंसा
जैन धर्मको मूल सिद्धान्त अहिंसा हो । अहिंसा केवल जीव–जनावरमा मात्र नभई वनस्पतिहरूमा पनि लागु हुन्छ । बौद्ध दर्शनमा उल्लिखित अहिंसा र जैन धर्मको अहिंसामा ठूलो अन्तर छ । बुद्ध धर्ममा यदि कुनै जनावर स्वाभाविक गतिले मृत छ भने त्यस्तो अवस्थाको शिकार खानु वर्जित छैन, तर पशुबली वा काटमार गरी भोजनको रूपमा सेवन गर्न वर्जित छ । जैन धर्ममा भने जीवन वा जीवन हुन सम्भावना हुने प्राणी हुन् वा वनस्पति, जीवित हुन् वा मृत, सबैमा बन्देज लागु हुन्छ । आलु खानु वा गोलभेडा खानु पनि हिंसा हो किनभने यी दुवैभित्र आलु र गोलभेडा बन्न सक्ने बिउ हुन्छ । यो सीमासम्मको अहिंसा संसारका कुनै पनि धर्ममा पाइँदैन । दुध खान भने रोक छैन किनभने दुधमा जीवनको सम्भावना हुँदैन । यसैले, यस धर्ममा खानपान र आचारविचारमा अत्यन्तै कडा नियमको पालन गरिन्छ ।
महावीरले अहिंसासम्बन्धी अत्यन्तै खरो शिक्षा दिएका छन् । कुनै प्राणीको वध गर्नु मात्र हिंसा होइन, कसैप्रति दुराभाव राख्नु पनि हिंसा नै हो । यसको अतिरिक्त उनले अपरिग्रहको एउटा सिद्धान्त पनि दिए जो राजनीतिमा प्रयोग हुने समाजवादी चिन्तन जस्तै छ । समाजवादले सामाजिक समानताका लागि धनी र गरीवबिचको असमानता हटाउन जुन सिद्धान्तहरू दिएको छ, महावीरले अपरिग्रहमा त्यही सिद्धान्त दिएका छन् । अपरिग्रहको अर्थ हो अधिक धन सङ्ग्रह गर्नु । यसमा भनिएको छ– अधिक धनसम्पत्ति वा स्रोध साधनको सञ्चय गर्नु सामाजिक समानताका लागि हितकर छैन । स्रोत साधन त्यति मात्र जोहो गर्नुपर्छ, जति आवश्यकता पर्दछ ।
जैनधर्मीहरू पदार्थको कणकण स्वतन्त्र हुन्छ भनी मान्दछन् । यसैले कोही कसैको अस्तित्वको जिम्मेवार हुँदैन । सबैले आ–आफ्नो कर्मको फल भोग्दछन् । कुनै भगवान् वा ईश्वर कसैको कर्ता र भोक्ता हुँदैन । यस सम्प्रदायमा सृष्टिकर्ता ईश्वर वा ईश्वरको शासन, देवी देवताको पूजा आदिको कुनै स्थान हुँदैन । यसमा तीर्थङ्करलाई नै भगवान् मानिन्छ जो तप साधनाद्वारा वीतराग भएको हुन्छ । मोहमायाको बन्धनबाट मुक्त भएको, विषयसुखमा आसक्त नभएको, वासनारहित तथा आत्मबोध भएको व्यक्तिलाई वीतराग भनिन्छ । वीतराग प्राप्त भगवान् महावीरले अहिंसा धर्ममार्फत जीवनमा शाश्वत सुख तथा मुक्तिको सही बाटो देखाएका छन् ।
कर्म
जैन धर्ममा अहिंसा जस्तै कर्मको सिद्धान्त पनि उत्तिकै महङ्खवपूर्ण मानिन्छ । कर्मको बारेमा महावीरले भनेका छन्– जसले असल वा खराब कर्म गर्दछ, त्यसले त्यस्तै परिणाम भोग्दछ । तसर्थ, जो फल मनुष्यले प्राप्त गर्दछ, त्यसमा मनुष्य स्वयम् उत्तरदायी हुन्छ । कर्म फलका लागि कुनै ईश्वर वा विधाताको कोही भूमिका हुँदैन, मनुष्य स्वयम् नै आफ्नो जीवनको ईश्वर वा विधाता हो र आफ्नो कर्मले नै परिणाममा भूमिका खेलेको हुन्छ । त्यसकारण महावीरले कुनै ईश्वरको अवतार वा अवतारवाद स्वीकार गरेनन् ।
आफ्नो जीवनको ७२ वर्ष पूरा गरी महावीरले आजको भारतको बिहार राज्यस्थित पावापुरी भन्ने स्थानमा मोक्ष प्राप्त गरे । पावापुरी हाल बिहारको नालंदा जिल्लाको राजगिर र बोधगयाको नजिक पर्दछ ।
केवल ज्ञान
केवल ज्ञान विशुद्ध, संशयरहित र स्थायी ज्ञान हो । यो ज्ञानका लागि चार प्रतिबन्धित कर्म छन्, ती हुन्ः
(१) मोहनीय । आत्मालाई मोहित गर्ने कर्म मोहनीय कर्म हो । यही कर्मका कारण मानिस पदार्थमा आकर्षित हुन्छ, जस्तो– धनसम्पत्ति, सुखसयल आदि । तसर्थ, कुनै पनि विषयवस्तुप्रति मोहित हुन बन्देज छ । मोहनीय कर्मबाट मुक्त भए अन्य कर्महरू स्वयम् नाश हुन थाल्दछन् ।
(२) ज्ञानावरणीय । ज्ञानावरणीय कर्म भनेको ज्ञानलाई ढाक्ने कर्म भनिन्छ, जस्तो– ज्ञान प्राप्त गर्ने साधनको अपमान गर्नु, ज्ञानी पुरुषको निन्दा गर्नु, प्राप्त ज्ञानलाई लुकाउनु, गुरुको नाम बताउन संकोच गर्नु, प्राप्त भएको ज्ञानको दुरूपयोग गर्नु आदि ज्ञानावरणीय कर्म हुन् । यस कर्मले आँखामा पट्टी बाँधेजस्तो वा बादलले सूर्यलाई ढाकेजस्तो आत्मालाई ढाक्दछ र ज्ञान प्राप्तिको बाटोमा तगारो हाल्दछ । यस्तो भएमा कुनै पनि द्रव्यलाई सम्यक् रूपले चिन्न सक्दैन ।
(३) दर्शनावरणीय । जसरी द्वारपालले राजाको दर्शन गर्नबाट छेक्दछ, त्यसैगरी दर्शनावरणीय कर्मले आत्माको दर्शन गर्ने बाटोलाई छेक्दछ । यस कर्मले आत्माको दर्शन गर्ने गुणलाई नस्ट गरिदिन्छ । दर्शनावरणीय कर्महरू हुन्– सम्यक् दृष्टिको निन्दा, मिथ्यातङ्खवको प्रतिपादन, शुद्ध दृष्टिकोण प्राप्तिको बाटोमा अवरोध, सम्यक् दृष्टिमाथि घृणा द्वेष, सम्यक् दृष्टिको असम्मान र सम्यक् दृष्टिमाथि विवाद गर्ने प्रवृत्ति आदि ।
(४) अंतराय । अन्तरायको अर्थ हो विघ्नवाधा हुनु । अंतरायको कारणले मनुष्य आफ्नो निवासमा नजरबन्द हुने, दान आदि कर्ममा बाधा पुग्दछ । यस्ता अंतराय कर्म जैन दर्शनमा दानांतराय, लाभांतराय, भोगांतराय, उपभोगांतराय र वीर्यांतराय गरी ५ प्रकार छन् ।
उपरोक्त चार कर्महरूको पूर्ण क्षय भएपछि केवल ज्ञानको उदय हुन्छ । केवलको ज्ञानको बारेमा भनिएको छ, “सर्वद्रव्य पर्यायेषु केवलस्य तव्वार्थसूत्र” वा, सर्वद्रव्य एवम् सर्वपर्याय । यसको तात्पर्य सरल भाषामा भन्दा– केवल ज्ञान प्राप्त व्यक्तिले नजानेको कुनै पनि वस्तु र पर्याय छैन । यसलाई पूर्ण ज्ञान वा कैवल्य ज्ञान पनि भनिन्छ । केवल ज्ञान प्राप्त गर्नेबित्तिकै अपूर्णतायुक्त मति, श्रुतीपरम्परा आधारित ज्ञान आदि सबै नाश हुन्छन् । यसलाई सनातनी भाषामा भन्दा ब्रह्मज्ञानी, बुद्धत्व प्राप्त व्यक्ति वा अंग्रेजीमा भ्लष्निजतभलभम भन्न सकिन्छ । महावीरले एक ठाउँमा भनेका छन्– आफ्नै आत्माभित्र रहेका शत्रुहरूभन्दा पर कोही शत्रु छैनन् । ती शत्रुहरू क्रोध, घमंड, लोभ, आसक्ति, घृणा आदि हुन् । यिनीहरूमाथि विजय प्राप्त गर्नु सबैभन्दा श्रेयस्कर हुन्छ ।
“सत्य”को धारणा ।
उत्पादव्यध्रौव्य संयुक्त सत् (जैन) । जैन दर्शनमा वस्तुको उत्पादन, व्यय र ध्रौव्य (नित्य) तीन संयुक्त गुण हुन्छन् जसमा दुई गुण उत्पादन र नाश हुन्छन् र तेस्रो चिज नित्य हुन्छ भन्ने मान्यता छ । तसर्थ, जुन चिजमा एउटा नित्य (ध्रौव्य) गुणभित्र उत्पादन र नाश (उत्पाद–व्यय) हुने अन्य दुई गुण हुन्छन्, त्यो सत्य हो । उत्पाद र व्यय गुण पहिलो उत्पन्न भई त्यसैले दोस्रो पैदा गरी आफू नष्ट हुन्छ र यो प्रक्रिया अविच्छिन्न चलिरहन्छ । तसर्थ, जुन वस्तुमा कहिल्यै नस्ट नहुने नित्य गुणभित्र उत्पादन र नस्ट हुने क्रिया निरन्तर चलिरहन्छ, त्यो सत्य हो । तसर्थ, जहाँ उत्पादन र व्यय (अनित्य) गुण तथा ध्रौव्य (नित्य) गुणको संयुक्त अवस्था रहन्छ, त्यो सत्य हो ।
अर्थक्रियाकारित्वं लक्षणंम् सत् (हीनयान बौद्ध) । यसको अर्थ हो वस्तु एक क्षणको लागि लागि पैदा हुन्छ र त्यसले आफ्नो जस्तै अर्को तङ्खव उत्पादन गरेर आफू नष्ट हुन्छ, त्यो नै अर्थक्रियाकारिङ्खवं लक्षण हो । त्यसैले, अर्थक्रियाकारिङ्खवं लक्षण भएको चिज नै सत्य हो । जस्तो– मानिसको शरीर हरेक १० वर्षमा कोषको तहसम्ममै पूर्ण रूपमा नष्ट भई नयाँ कोषहरूमा परिवर्तन भइसकेको हुन्छ । यो विचार हीनयान बौद्ध परम्परामा पाइन्छ ।
त्रिकाल अबाधित्वं लक्षणंम सत् (अद्वैत वेदान्त) । शंकराचार्यले अद्वैत वेदान्त दर्शनमा सत्यको विषयमा भनेका छन्ः त्रिकाल अबाधित्वं लक्षणम् सत् । यसको अर्थ हो– सत्को लक्षण तीनै कालमा अबाधित (बाधारहित) हुन्छ । सत्य त्यो हो जो कहिल्यै नाश हुँदैन । त्यसलाई ब्रह्म भनिन्छ । यसैले वेदान्त दर्शनले ब्रह्म सत्य, जगत् मिथ्या भनेको छ । मिथ्याको अर्थ न झुठो हो न साँचो हो । अर्को शब्दमा मिथ्या भनेको एक कालमा सत्य हुन्छ, अर्को कालमा असत्य हुन्छ । जस्तो– सपना, कल्पना । त्यस्तै, उमेरको एउटा चरणमा सत्य लागेको कुरा अर्को चरणमा मिथ्या साबित हुन्छ ।
अनेकान्तवाद– जैन धर्मको तङ्खवमीमांसा ९ःभतबउजथकष्अक० हो ।
जैनहरू “उत्पाद–व्यय–ध्रौव्य”को संयुक्त सत्लाई मान्दछन् । यसको अर्थ जुन वस्तुमा उत्पादन, व्यय र नित्य तीनै गुण संयुक्त रूपमा हुन्छ त्यो सत्य हो । वस्तुमा निर्माण हुने (उत्पादन) र नष्ट हुने (व्यय) प्रक्रिया निरन्तर चल्दछ र यी दुईको संयुक्त क्रियामा एउटा नित्य गुण रहन्छ त्यो सत्य हो । यहीबाट अनेकान्तवादको दर्शन सुरु हुन्छ । अनेकान्तवाद भन्नु नै जगत्मा अनेक सत्ता हुन्छन् भन्नु हो । “अनेक” र “अन्त” मिलेर बनेको “अनेकान्त” शब्दमा “अन्त”को अर्थ “समाप्ति” नभई “पक्ष” हो । तसर्थ, अनेकान्तवादको अर्थ वस्तुका अनेक पक्ष हुन्छन् भन्ने हो ।
अनेकान्त अनेकतामा आधारित छ । यसलाई पुष्टी गर्न ती चार दृष्टिविहीनहरूले छोएको हात्ती उनीहरूको निम्ति ज्यादै जटिल भए जस्तै हाम्रा लागि पनि वस्तुहरू जटिल नै हुन्छन् । जैन दर्शनले अनेकान्तवादमा बौद्ध धर्मको दुई तङ्खव अर्थक्रियाकारिता र वेदान्त धर्मले भनेको एक ब्रह्मको अवस्थाभन्दा पर गएर विचार दिएको छ । तल बौद्ध र वेदान्तले भनेका कुराहरूलाई संश्लेषण गरी जैन धर्मले उत्पादव्ययध्रौव्य संयुक्त सत् मानेको छ । अनेकान्तवादी दर्शनमा वस्तुका मुख्य ३ लक्षण मानिन्छ ।
(१) अनन्तधर्मकम् वस्तु । यसको अर्थ हो– वस्तुका अनन्त धर्म हुन्छन् । यहाँ धर्मको अर्थ लक्षण, विशेषता हो । सरल भाषामा भन्दा कुनै एक वस्तुका अनेक पक्ष र अनेक लक्षण हुन्छन् । कुनै कलमको उदाहरण लिने हो भने कलम लामो छ भन्दा मात्र कलमको पहिचान हुन सक्दैन । कलमको रङ, आकार, बनोट, यसको नित्य धर्म (स्वगुण) र अनित्य धर्म (पर्याय) आदि धेरै धेरै पक्ष हुन्छन् ।
(२) गुणपर्यायवत् द्रव्य । गुणपर्याय शब्दमा “गुण” र “पर्याय” दुई शब्द छन् । गुणको अर्थ नित्य गुण जसलाई विभाजन गर्न सकिँदैन । पर्याय भनेको त्यस वस्तुमा बाहिरबाट आएका आगन्तुक गुणलाई बुझिन्छ जो अनित्य गुणमा पर्दछ । अर्को शब्दमा भन्दा वस्तुमा एउटा अपरिवर्तनीय नित्य गुण र अर्को परिवर्तन भइरहने पर्याय गुण हुन्छ । जस्तो– कलमलाई लिने हो भने कलमको आकार पर्याय गुण हो किनभने त्यसलाई भाँच्न सकिन्छ, स्वरूप बदल्न सकिन्छ । त्यस्तै, त्यसमा हुने मसीको सुइ सकिन पनि सक्छ, त्यसैले ती पर्याय गुण हुन् । त्यही ठाउँमा कलमको अणुलाई बदल्न सकिँदैन, त्यसको आकार पनि बदल्न सकिँदैन, त्यो कलमको गुण अथवा नित्य गुण हो ।
(३) उत्पादव्ययध्रौव्य संयुक्त सत् । उत्पादव्ययध्रौव्यलाई विन्यास गर्दा “(उत्पादन + व्यय) + ध्रौव्य = उत्पादव्ययध्रौव्य” हुन्छ । खासमा माथि (२)को गुणपर्यायवत् र (३)को उत्पादव्ययध्रौव्य एउटै कुरा हो किनभने (२)को “गुण” र (३)को “ध्रौव्य”को एकै अर्थ “नित्य गुण” हुन्छ भने (२)को “पर्याय” र (३)को “उत्पाद + व्यय” दुवैको एकै अर्थ “अनित्य गुण” हुन्छ । यहाँ एउटै कुरालाई दुई वाक्यमा राखिएको मात्र हो । तसर्थ, उत्पादव्ययध्रौव्यमा उत्पन्न र व्यय (नष्ट) हुने दुई अनित्य गुण हुन्छन् भने उत्पादव्यय नहुने एक नित्य (ध्रौव्य) गुण पनि हुन्छ । उत्पादव्ययको मतलव उत्पन्न हुने द्रव्यले अर्को उस्तै द्रव्यको उत्पन्न गरी आफू नष्ट हुन्छ र यो क्रम निरन्तर चलिरहन्छ । जस्तो– पानीको बहाव । पानी बगिरहँदा पानीले एउटा बुँद उत्पन्न गर्छ, त्यो नस्ट भई अर्को उत्पन्न हुन्छ र निरन्तर प्रवाहमा अगाडि बढिरहन्छ । विजुलीको तारमा पनि बिजुलीका इलेक्ट्रोनहरू एकपछि अर्को उत्पन्न र व्यय हुँदै निरन्तर प्रवाहमा अगाडि बढिरहन्छ ।
बाँकी भाग २ मा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१४ असार २०८३, आईतवार 










