राधालाई कृष्णकी प्रेमिकाको रूपमा चिनिन्छ । वैदिक साहित्यमा कृष्णसँग राधा अथवा राधासँग कृष्ण जोडिएर आउने पात्र हुन् । उनीहरूबिच बाल्यकालदेखि नै प्रेममय सम्बन्ध थियो तर उनीहरूको बिचमा विवाह भने हुन सकेन । कृष्णले विदर्भ देशकी राजकुमारी राजा भीष्मककी छोरी रुक्मिणीलाई हरण गरेर पत्नीका रूपमा ग्रहण गरेका थिए ।
अझ कृष्णका सोह्र सय गोपिनीहरू पत्नीका रूपमा थिए भनेको कुरा पौराणिक कथाहरूमा पनि सुन्न र पढ्न पाइन्छ । विवाहित पत्नीका रूपमा रुक्मिणी कृष्णकी पत्नी थिइन् । विवाहित भएर पनि यति धेरै गोपिनीहरूसँग सम्बन्ध जोडिएका कृष्णको नाम सबैभन्दा बढी राधासँग जोडिएर आउँछ; र पनि राधासँग कृष्णको विवाह किन हुन सकेन ? यसबारे प्रश्न र जिज्ञासा आम रूपमै पाइन्छ । यो प्रश्नको सटिक उत्तर कृष्णले दिएको भनेर कुनै शास्त्र वा पुराणहरू यकिनका साथ पाइँदैन । यसका पछाडि थुप्रै रोचक श्रुति कथाहरू सुन्न पाइन्छ । त्यसमध्ये एउटा कथालाई म यहाँ राख्न चाहन्छु ।
राधा र कृष्णको विवाह नहुनुका पछाडिको कारण खोज्न राधा र कृष्णको पूर्वजन्मको समयसम्म पुग्नुपर्ने हुन्छ । यो कथा राधाकृष्णको जन्मकालभन्दा धेरै पूर्वसमयको हो । त्यो समयमा शुक्राचार्य, स्वर्गका राजा इन्द्र र भगवान् विष्णुका बिचमा अनौठो द्वन्द्व चलेको थियो । शुक्राचार्य एक विशिष्ट ज्ञानी ऋषि थिए । उनको ज्ञानको तुलना भगवान् विष्णुसँग हुन्थ्यो । अझ शुक्राचार्यलाई भगवान् विष्णुभन्दा पनि बढी ज्ञानी मानिन्थ्यो । शुक्राचार्य पनि आफूलाई विष्णुभन्दा माथि नै ठान्थे । उनको यही प्रसिद्धि र आत्मरतीले शुक्राचार्य चाहन्थे- इन्द्रले आफूलाई गुरु मानुन् ।
यसका बाबजुद राजा इन्द्रले शुक्राचार्यको साटो भगवान् विष्णुलाई गुरु माने । यसकारण शुक्राचार्यले आफ्नो अपमान भएको सम्झिएर इन्द्रलाई पाठ सिकाउने प्रतिशोधपूर्ण उपायको खोजी गर्न थाले । उपायको पहिलो कडी उनले देवताहरूका जाति दुस्मन दैत्यहरूलाई प्रयोग गर्ने मनसाय राखी उनीहरूलाई शिक्षा दिन थाले । अब शुक्राचार्य असुरहरूका गुरु बने । इन्द्रसँग लड्न शुक्राचार्यलाई दैत्यहरूको ठुलो शक्ति प्राप्त भइसकेको थियो । उपयुक्त मौका पर्खिएर बसेका शुक्राचार्यले दानवहरूको बलमा इन्द्रसँग युद्धको अन्तिम तयारी गरे ।
युद्धको घोषणा गर्नु पूर्व उनले दुवै तर्फको शक्तिको आकलन गर्दा शुक्राचार्यले देवताहरूलाई परास्त गर्न कठिन हुन सक्ने महसुस गरे । यसको कारण के थियो भने देवताहरूलाई कुष्माण्डा माताले संरक्षण गरेकी थिइन् । यसकारण देवताहरूमाथि विजय हासिल गर्न कठिन थियो ।
तब शुक्राचार्यले कुष्माण्डा मातामाथि विजय हासिल गर्नका लागि महादेवको तपस्या गर्न थाले । महादेवलाई प्रसन्न पारी उनलाई गुरु बनाउने शुक्राचार्यको पहिलो योजना थियो भने महादेवलाई गुरु बनाएपछि गुरु महादेवबाट मृत सञ्जीवनीको वरदान माग्ने उनको दोस्रो योजना थियो । आफ्नो योजनाअनुसार महादेवबाट वरदान प्राप्त गरेपछि शुक्राचार्यले सम्पूर्ण राक्षस जातिलाई आफ्ना परिवार तथा बालबालिकाहरूलाई भृगु ऋषि र काव्यमाताको कुटीमा राख्नु भनी आदेश दिए ताकि देवताहरूले राक्षस जातिमाथि हानी गर्न नसकुन् । भृगु ऋषि र काव्य माता शुक्राचार्यका पिता माता हुन् ।
देवताविरुद्ध यस्तो भयङ्कर युद्ध गर्ने योजना चाल पाएर इन्द्रले भृगु ऋषिको आश्रममाथि आक्रमण गरे । देवता र दानवहरूका बिच भयानक लडाइँ भयो । देवताहरूको आक्रमणबाट बच्न काव्य माताले असुरहरूको वरिपरि अभेद्य कवचको निर्माण गरिन् । रक्षा कवचले घेरिएपछि देवता र असुरहरूका बिच भएको भयङ्कर युद्धमा देवताहरूको हार हुन थाल्यो ।
देवता र दैत्यहरूको युद्धलाई ध्यानसँग नियाल्दै गरेका विष्णुलाई शुक्राचार्यको उद्देश्य थाहा नहुने कुरै थिएन । शुक्राचार्यको आफूप्रतिको ईर्ष्या र देवताहरूप्रतिको वैरभावको ज्ञान राम्रोसँग थाहा थियो । दैत्यहरूलाई शिक्षा दिई आफ्नो भक्त देवताहरूको विरुद्ध लडेका शुक्राचार्य केवल बदलाको भावमा छन् भन्ने कुरा विष्णुका लागि अज्ञात थिएन । तसर्थ, देवताहरू परास्त हुन थालेको देखेर भगवान् विष्णुले देवताहरूको सहयोगका लागि आफ्नो सुदर्शनले काव्य माताको शिरच्छेदन गरिदिए ।
विष्णुले आफ्नी पत्नीको शिरच्छेदन भएको देखेर क्रोधित भई ऋषि भृगुले विष्णुलाई यस धरतीमा आएर पत्नी वियोग सहनुपरोस् भनी श्राप दिए । शिरच्छेदन गरिएकी आफ्नी पत्नी काव्यमतीलाई शुक्राचार्यले पछि कामधेनु गाइको मद्दतले पुनर्जीवन दिए ।
केही कालपछि पृथ्वीमा जब कृष्णका रूपमा विष्णुको अवतार भयो, राधासँग उनको भेट भयो । उनीहरूका बिचमा गहिरो प्रेम बसे पनि जब कृष्ण गोकुलबाट मथुरा गए, त्यसपछि राधासँग उनको सदाका लागि बिछोड भयो । भृगु ऋषिको त्यही श्रापको कारणले उनको राधासँग विवाह हुन सकेन । उनीहरूको जीवनभरि नै वियोग भएको हो ।
= = =
द्रष्टव्य: कुष्माण्डा माताको हुन् ? कुष्माण्डा माताको बारेमा धेरैलाई थाहा नहुन सक्छ । हिन्दु धर्मावलम्बीहरूले पूजा गर्ने शक्तिकी देवी दुर्गा भवानीका नौ वटा शक्तिस्वरूपमध्ये चौथो शक्तिस्वरूप कुष्माण्डा माता हुन् । दुर्गा भवानीमाताका अन्य शक्तिस्वरूपमा शैलपुत्री, ब्रह्मचारणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री हुन् । हिन्दुहरूको महान् चाड दसैँको बेला आशिष् दिइन्छ, “नवदुर्गा भवानीले रक्षा गरुन् ।”
दसैँमा नवदुर्गा भवानी भनेर पूजा गरिने नवदुर्गाहरू यिनै हुन् । तसर्थ, नवदुर्गा भवानीको नौ दिनसम्म पूजा गरिन्छ ।
रिचमण्ड, भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।