काठमाडौं । साहित्यिक पत्रकार सङ्घको आयोजनामा आज काठमाडौंको आनन्द पशुपति होटलमा कवि तथा कलाकार नरेन्द्रबहादुर श्रेष्ठ र उहाँकी धर्मपत्नी नीरू श्रेष्ठलाई एक समारोहबीच अभिनन्दन गरिएको छ । नेवारी परम्पराअनुसारको जङ्कुको पूर्वसन्ध्यामा आयोजित यस कार्यक्रममा ३८ वटा संस्थाले संयुक्त रूपमा उहाँहरूलाई सम्मान गरेको हो ।

अभिनन्दन कार्यक्रममा हस्तान्तरण गरिएको अभिनन्दनपत्रको उचाइ नै अभिनन्दित व्यक्तित्व नरेन्द्रबहादुर श्रेष्ठको उचाइ बराबर रहेको आयोजकले जानकारी दिनुभएको छ । कार्यक्रममा प्रमुख अतिथि पूर्व राजदूत केदारभक्त माथेमा र साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले संयुक्त रूपमा श्रेष्ठ दम्पतीलाई अभिनन्दनपत्र हस्तान्तरण गर्नुभएको थियो ।

यस अवसरमा ‘नरेन्द्रबहादुर श्रेष्ठ ‘आलेख र अभिलेख’ नामक पुस्तकको पनि लोकार्पण गरिको थियो । प्रमोद प्रधानको प्रधान सम्पादन र श्रीओम श्रेष्ठ ‘रोदन’, विमल भौकाजी र मुरारी सिग्देलको सम्पादनमा तयार भएको यस ग्रन्थमा ८० जना लेखकका रचनाहरू समावेश छन्। यसैगरी, नरेन्द्रबहादुर श्रेष्ठका जराकलाले सजिएको नयाँ वर्ष २०८२ को क्यालेन्डर पनि लोकार्पण गरिएको थियो।

कार्यक्रममा सर्वनामद्वारा निर्माण गरिएको नरेन्द्रबहादुर श्रेष्ठबारेको वृत्तचित्रको पनि प्रदर्शन गरिएको थियो । नाट्यकर्मी एवं आख्यानकार अशेष मल्लले निर्देशन गरेको उक्त वृत्तचित्रले श्रेष्ठको बहुआयामिक व्यक्तित्वलाई उजागर गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पूर्व राजदूत माथेमाले समाजलाई मार्गदर्शन गर्ने सिर्जनशील व्यक्तित्वको अभिनन्दन महत्त्वपूर्ण रहेको बताउँदै श्रेष्ठलाई बधाई ज्ञापन गर्नुभएको थियो । श्रेष्ठले आफ्नो साहित्यिक तथा कला यात्राको अनुभव सुनाउँदै यो दिनलाई आफ्नो जीवनको अविस्मरणीय दिनको रूपमा स्मरण गर्ने बताउनुभयो । उहाँले आमा र श्रीमतीले जीवनमा दिएको योगदानलाई विशेष स्मरण गर्नुभयो ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष लेकालीले श्रेष्ठको समाज र देशप्रतिको योगदानको प्रशंसा गर्दै यो अभिनन्दन उहाँको योगदानको कदरस्वरूप भएको बताउनुभयो । समालोचक प्रमोद प्रधानले नेपाली कविता, कला, समाजसेवा र अध्यात्ममा श्रेष्ठको अतुलनीय योगदान रहेको उल्लेख गर्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्ष कुशकुमार जोशी, हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, ॐ आदि फाउन्डेसनका प्रमुख सल्लाहकार लक्ष्मी प्रसाईं लगायतले पनि श्रेष्ठलाई शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा सखी प्रतिष्ठानकी अध्यक्ष मन्जिला अनिलले अभिनन्दनपत्र वाचन गर्नुभएको थियो भने श्रेष्ठका जेठो सुपुत्र निश्चलबहादुर श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कवि तथा पत्रकार ठाकुर बेलवासेले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथि, प्रमुख वक्ता तथा सहभागी संस्था र लेखकहरूलाई मायाको चिनो प्रदान गरिएको थियो।