जीवनभर माटोमुनि रहेर एउटा सिंगो रुखलाई घामपानी, हावाहुरी र बतासबाट बचाएर उभ्भिन मद्दत गर्ने जराहरु रुख ढलेसँगै चुपचाप माटोमै बिलाई जान्छ तर त्यही जराहरुमा सर्जकको नजर पर्यो भने कहिल्यै नमर्ने गरी अमर बन्छ । जराहरुमा जीवनको साँचो अर्थ देख्ने र ती जराहरुलाई उत्खनन गरी जीवन उपयोगी बनाउन रातदिन खट्ने मूर्तिकारको नाम हो, नरेन्द्रबहादुर श्रेष्ठ ।
आधा दशकदेखि जराहरुमा निरन्तर कला सृजना गरिरहेका श्रेष्ठ सात दशक उमेर पार गरिसक्दा पनि जीवन भोगाइको दर्शन यही जरामै खोजिरहेका छन् । सम्भवत: नेपाली मूर्तिकलाको क्षेत्रमा उनी नै पहिलो जरा मूर्तिकार हुन् । उनी बेलाबेलामा देशका विभिन्न ठाउँहरुमा जराकै सिलसिलामा पुग्छन् र जराहरु देख्नेबित्तिकै बटुलेर ल्याउँछन् । स्टुडियोमा राखेर अनेक दृष्टिकोणबाट नियाल्छन् र जीवनसँग तादाम्य राख्ने विषय भेट्नेबित्तिकै जराहरुसँगै खेल्छन् । फालिएका ती जराहरुमा सृजनाको रस मिसाएपछि एकाएक सजीव बन्छन् । कहिले ती जराहरु आध्यात्मिक जीवनका अभिन्न अंग बन्छन्, त कहिले समसामयिक विषयका द्योतक ।
मूर्तिकार, चित्रकार, साहित्यकार र समाजसेवीको परिचय बनाएका श्रेष्ठ मूलत: मूर्तिकार हुन् । उनका सृजनाहरुले त्यसकै परिचय दिन्छ, यद्यपि पछिल्लो समय मूर्तिकारहरुको बीचमा उनको परिचय अलिक धमिलो बनेको छ । मिडियाबाट सकेसम्म टाढा रहन चाहने भएकाले नै यो अवस्था सिर्जना भएको भन्ने कुरा उनलाई थाहा छ तर उनलाई यसको कुनै परवाह छैन । बस्, एक सुरले जराहरुमै जीवन व्यतित गरिरहेका छन् । कुनै बेला कलाका विभिन्न कार्यक्रमको समन्वय र संयोजन गरेका श्रेष्ठले २०६२/६३ को जनआन्दोलनका बेला ललितकला प्रज्ञा प्रतिष्ठान स्थापनाका लागि गरेको योगदान अतुलनीय रहेको स्मरण हुन आउँछ । ललितकला प्रज्ञा प्रतिष्ठान विधान मस्यौदा समितिका संयोजक मध्येका एक थिए उनी ।
कलामा स्वअध्यनबाट छिरेका श्रेष्ठले दर्जनौँ पटक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सामूहिक कला प्रदर्शनी तथा कला कार्यशालामा भाग लिइसकेका छन् । २०७३ सालमा उनले जराहरुबाट बनेका मूर्तिहरुको बृहत् एकल कला प्रदर्शनी गरेका थिए । उक्त प्रदर्शनी धेरै दृष्टिकोणबाट महत्त्वपूर्ण हुन गयो । घतलाग्दो पक्ष चाहिँ सो प्रदर्शनीमा राखिएका कुनै पनि मूर्ति बिक्रीका लागि राखिएका थिएनन् । केही मूर्तिहरुलाई राम्रो रकम दिने प्रस्ताव राख्दा समेत उनले बेचेनन् । उनी भन्छन्, “ती मूर्तिहरु बेच्नका लागि बनाइएका थिएनन् ।”
त्यसो त उनले सयौँको संख्यामा मूर्तिको रचना गरे तर ती कुनै पनि मूर्तिहरु उनले अहिलेसम्म बेचेका छैनन् । घरैभरि राखिएका मूर्तिहरुको संरक्षण भविष्यमा कसरी गर्ने भन्ने चिन्ता उनलाई लागेको छ । भन्छन्, “राज्यले संरक्षण गरेर म्युजियममा राख्ने ग्यारेन्टी गर्छ भने सम्पूर्ण कृति सित्तैमा दिन तयार छु ।”
आज सृजना गर्न नभ्याउदै भोलि नै बजारमा बेच्न मरिहत्ते गर्ने कलाकारका लागि उनी उदाहरणीय व्यक्ति हुन सक्छन् ।
मूर्तिका बारेमा उनीसँग एउटा रोचक प्रसंग जोडिएको छ । एकताका कान्तिपुर दैनिकमा एउटा समाचार छापियो । शीर्षक थियो, “सिहदरबारमा रावण भेटियो ।”
चारैतिर खैलबैला मच्चियो । वास्तविकता के हो भन्ने बुझ्न चारैतिरबाट चासो व्यक्त भयो । कुरा बुझाउन धेरै समय उनलाई हम्मेहम्मे पर्यो । वास्तवमा कुरा के थियो भने, एक दिन कामको सिलसिलामा उनी सिंहदरबार पुगेका थिए । छेउमै फालिएको काठ भेटियो । सो काठमा रावणले सीतालाई हरण गरेकोजस्तै आकृति उनले देखे । त्यसपछि त उनलाई जाँगर कहाँबाट पलायो, पलायो ! उनले त्यसलाई काँटछाँट गरेर सजीव बनाइदिए । “उक्त कृतिलाई आधार बनाएर पत्रकारले सिंहदरबारमा रावण भेटियो भनेर लेखेका रहेछन्,” उनी सम्झना गर्छन् ।
पछिल्लो पटक कोरोना महामारीको विषयमा बनेको उनको “रक्तबीज” शीर्षकको मूर्ति निकै चर्चामा रह्यो । कोरोनाले मानवजीवनमा थोपरेको पीडा र अकाल मृत्युका भयावह कथाहरु सो मूर्तिमा समेटिएको थियो । सो मूर्तिलाई कान्तिपुर टिभीले लगभग चार मिनेटको डकुमेन्ट्री नै बनायो ।
आज हामी उनै वरिष्ठ कलाकारका केही कृतिहरू हेर्नेछौँः
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।