पोखरा। नेपाली लेखक सङ्घ कास्कीले बर्सेनि प्रदान गर्दै आएको गण्डकी प्रदेशस्तरीय ‘लेखक कृति पुरस्कार–२०८१’ साहित्यकार गोविन्दराज विनोदीको काव्य कृति ‘अलङ्कार इन्द्रेणी’लाई प्रदान गर्ने निर्णय गरेको छ। यसै अवसरमा नेपाली भाषा, साहित्य तथा अभिव्यक्ति स्वतन्त्रताका क्षेत्रमा लामो समयदेखि योगदान पुर्याउँदै आउनुभएका साहित्यकार तारा पाखेलाई स्रष्टा सम्मान प्रदान गरिने भएको छ।
कास्कीमा जन्मिएर हाल नवलपुरको गैँडाकोटमा बसोवास गर्दै आउनुभएकाे विनोदीको कृति जन्म वा कर्मले गण्डकी प्रदेशसँग सम्बन्धित लेखकहरूका २०८१ सालमा प्रकाशित कृतिहरूमध्येबाट छनोट गरिएको हो। उक्त पुरस्कारको नगद राशि २५ हजार रुपैयाँ र सम्मानपत्र रहेको छ।
साहित्यकार तथा समालोचक डा. लक्ष्मीशरण अधिकारीको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिमा समालोचक डा. विष्णुप्रसाद शर्मा र डा. गणेश शर्मा सदस्य रहनुभएको थियो भने संस्थाका अध्यक्ष कवि रिता अधिकारी ‘ऋतु’ र सचिव प्राञ्जल पदेन सदस्य रहनुभएको थियो। समितिको सर्वसम्मत निर्णयलाई नेपाली लेखक सङ्घ कास्कीको कार्यसमिति बैठकले अनुमोदन गरेको संस्थाका सचिव प्राञ्जलले जानकारी दिनुभयो।
पुरस्कार छनोट समितिका संयोजक डा. लक्ष्मीशरण अधिकारीका अनुसार विधागत अनुशासनमा रही छन्दोबद्ध कविता सिर्जना गर्ने विनोदीका रचनामा विचारात्मक गहिराइ, बहुलवादी दृष्टिकोण, सशक्त भाषाशैली र संरचनागत सन्तुलन पाइन्छ। ‘अलङ्कार इन्द्रेणी’ सिर्जना, शैली–शिल्प, भाव र विचारका दृष्टिले उत्कृष्ट काव्य भएकाले पुरस्कृत गरिएको उहाँले बताउनुभयो।
आधुनिक युगका शास्त्रीय तथा सन्तकविका रूपमा चिनिनुहुने विनोदीका हालसम्म ‘मेरो वर्तमानता’, ‘निर्ममनिर्मम घडीहरू’, ‘अविश्रान्त’, ‘हिमस्पर्श’, ‘कैकेयी’ (महाकाव्य), ‘अशोकबाटिका’, ‘तप्तचाँदनी’ लगायत दर्जनौँ कृति प्रकाशित छन्। उहाँ यसअघि पनि विभिन्न प्रतिष्ठित पुरस्कार तथा सम्मानबाट सम्मानित भइसक्नुभएको छ।
यसैगरी वार्षिक रूपमा प्रदान गरिने स्रष्टा सम्मान नेपाली प्रजातान्त्रिक आन्दोलनमा विशिष्ट योगदान पुर्याउनुभएका साहित्यकार तथा समाजसेवी तारा पाखेलाई प्रदान गरिने भएको छ। पाँच दशकभन्दा लामो समयदेखि भाषा, साहित्य, राजनीति र समाजसेवामा सक्रिय पाखे पञ्चायतविरोधी आन्दोलनका एक सशक्त अभियन्ताका रूपमा परिचित हुनुहुन्छ।
संस्थाका अध्यक्ष रिता अधिकारी ऋतुका अनुसार पुरस्कृत तथा सम्मानित व्यक्तित्वलाई यही माघ २४ गते शनिबार दिउँसो १ बजे पोखराको चिप्लेढुङ्गास्थित ‘दि भिलेज रेस्टुरेन्ट’को सभाहलमा आयोजना हुने विशेष कार्यक्रममा सम्मान तथा पुरस्कार प्रदान गरिनेछ।
नेपाली लेखक सङ्घ कास्कीले आफ्नै व्यवस्थापनमा २०७६ सालदेखि निरन्तर रूपमा २५ हजार रुपैयाँ नगदसहित लेखक कृति पुरस्कार प्रदान गर्दै आएको छ। यसअघि उक्त पुरस्कार सरोज अर्याल, डा. मतिप्रसाद ढकाल, दीपक समीप र प्रदीप रोदनलाई प्रदान गरिएको थियो भने २०८० सालमा भने पुरस्कार वितरण हुन सकेको थिएन। यस वर्षदेखि पुनः पुरस्कारलाई निरन्तरता दिइएको छ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
११ माघ २०८२, आईतवार 










