गजलकार सरोज सङ्गम रावल बिगत लामो समयदेखि युएईमा कार्यरत छन् । म्याग्दीका उकाली ओरालीहरूमा बाल्यकाल बिताएका रावललाई कर्मले समुद्रपारिसम्म डोराउँदै डोराउँदै लग्यो । अचेल उनी समुद्रपारि बसेर समुद्रवारिका सम्झानाका पोयाहरू खोलिरहन्छन् आफ्ना सिर्जनहरूमा । सरोज सङ्गम रावल गजलसँगै मुक्तक विधामा पनि उत्तिकै रुचि राख्दछन् । ‘गाथा’ मुक्तकसंग्रह उनको प्रकाशित कृति हो । उनी गजल र मुक्तकसँगै गीत लेखनमा पनि सक्रिय छन् । उनका केही सांगीतिक कोसेलीहरू पनि बजारमा आएका छन् ।

गजलकार गहिरो यथार्थबोध भएका, जीवनको पीडा र सामाजिक विसङ्गतिलाई केन्द्रमा राखेर लेख्ने स्रष्टा हुन् । उनका गजलहरूमा व्यक्तिगत दुःख सुख, वर्गीय असमानता, बेरोजगारी, विश्वासघात, परदेशी जीवन र नैतिक मूल्यको क्षय स्पष्ट रूपमा देखिन्छ । उनका गजलहरू मान्छेका भित्री पीडा र बाहिरी समाजबीचको द्वन्द्वको काव्यिक अभिव्यक्ति हुन् । उनी आफ्ना गजलहरूमा सामाजिक र राजनीतिक यथार्थप्रति गहिरो असन्तोष र निराशा प्रकट गर्दछन् । गहिरो जीवनदर्शन र सामाजिक चेतसहित गजल लेख्ने उनै गजलकार सरोज सङ्गम रावलका चार वटा गजल आजको मुगलानी चराको शृङ्खला ११ मा प्रस्तुत गर्दैछौँ –

 

गजल १.

झट्ट देखेको भन्दा फरक जिन्दगानी छ

पीडाहरूको खात बोकेर हाँस्ने बानी छ ।

 

तपाईं सुन्न तयार बन्नु, छ भने पत्थर मुटु,

हाँस्दै सुनाए नि, आँखा भिज्ने कहानी छ ।

 

तिमीले दुस्साहस नगर, दिलमा पस्नलाई,

यो दिलमा अझैसम्म, उसकै मनोमानी छ ।

 

अपमान तिरस्कार सहनु, मेरो दैनिकी हो,

त्यसैले त भनेको, मसँग चोटको खानी छ ।

 

भैगो नसोध, के के छ तेरो सम्पत्ति भनी,

बस सम्पत्तिको नाममा, एउटा राहदानी छ ।

= = =

 

गजल २.

 

जिन्दगीदेखि पीडाको अवकाश भएन,

यो सङ्गम कोही कसैको खास भएन ।

 

मनकै मान्छेले धोका उपहार दिएपछि,

नयाँ सम्बन्धहरूमा फेरि विश्वास भएन ।

 

उसले आफैं टाढिने निधो सुनाएपछि,

मलाई उसको नजिक बन्ने आस भएन ।

 

औकातमै आउने रहेछन् ज्यान दिनेहरू,

त्यसैले ती मतलबीहरूको तलाश भएन ।

 

दुःख पर्दा साथ छोडेका हुन् आफ्नाहरूले,

गुनासो के गर्नु, कोही मेरो आसपास भएन ।

‍= = =

 

गजल ३.

 

गर्न त गरे कति, औसधि उपचार उस्तै छ ।

सुधार हुनै सकेन, दिलको बिमार उस्तै छ ।

 

यो भाग्य भिन्न भिन्न, किन हुन्छ मान्छेको,

बाहिर देख्दा भने, सबैको निधार उस्तै छ ।

 

सबै भन्छन् कहाँ कहाँ, पुगिसक्यो दुनियाँ,

जो जहाँ पुगेनी, मलाई यो संसार उस्तै छ ।

 

विचार चर्का थिए, यि क्रान्तिकारीहरूको,

बदलाव केही छैन, अझै व्यवहार उस्तै छ ।

 

महोदय भन्नुहुन्छ, यो देश समृद्ध भैसक्यो,

बेरोजगारी कालाबजारी, हाहाकार उस्तै छ ।

= = =

 

गजल ४.

आमा शीतल चाँदनी, र बाबा न्यानो घाम हुन् ।

मलाई  मेरा जन्मदाता, सिङ्गो  चार धाम हुन्  ।

 

यत्ती बुझ्न सकेमा, असल बन्नेछन हर मान्छे,

बेइज्जत र बदनामी, कुकर्मका परिणाम हुन् ।

 

अलमल परी, परदेशीको परिचय माग्नु भयो,

यो नबिर्सनु  यी परदेशी, कलियुगका  राम हुन् ।

 

पीडा सापटी चाहिएमा, गरीबलाई सम्पर्क गर्नु,

खास ती जिन्दगीहरू, पीडाहरूका गोदाम हुन् ।

 

महोदय, कतिञ्जेल दौडनुहुन्छ पैसाको पछाडि,

मर्दा रित्तै हात, धन दौलत आखिर के काम हुन् ।