गजलकार सरोज सङ्गम रावल बिगत लामो समयदेखि युएईमा कार्यरत छन् । म्याग्दीका उकाली ओरालीहरूमा बाल्यकाल बिताएका रावललाई कर्मले समुद्रपारिसम्म डोराउँदै डोराउँदै लग्यो । अचेल उनी समुद्रपारि बसेर समुद्रवारिका सम्झानाका पोयाहरू खोलिरहन्छन् आफ्ना सिर्जनहरूमा । सरोज सङ्गम रावल गजलसँगै मुक्तक विधामा पनि उत्तिकै रुचि राख्दछन् । ‘गाथा’ मुक्तकसंग्रह उनको प्रकाशित कृति हो । उनी गजल र मुक्तकसँगै गीत लेखनमा पनि सक्रिय छन् । उनका केही सांगीतिक कोसेलीहरू पनि बजारमा आएका छन् ।
गजलकार गहिरो यथार्थबोध भएका, जीवनको पीडा र सामाजिक विसङ्गतिलाई केन्द्रमा राखेर लेख्ने स्रष्टा हुन् । उनका गजलहरूमा व्यक्तिगत दुःख सुख, वर्गीय असमानता, बेरोजगारी, विश्वासघात, परदेशी जीवन र नैतिक मूल्यको क्षय स्पष्ट रूपमा देखिन्छ । उनका गजलहरू मान्छेका भित्री पीडा र बाहिरी समाजबीचको द्वन्द्वको काव्यिक अभिव्यक्ति हुन् । उनी आफ्ना गजलहरूमा सामाजिक र राजनीतिक यथार्थप्रति गहिरो असन्तोष र निराशा प्रकट गर्दछन् । गहिरो जीवनदर्शन र सामाजिक चेतसहित गजल लेख्ने उनै गजलकार सरोज सङ्गम रावलका चार वटा गजल आजको मुगलानी चराको शृङ्खला ११ मा प्रस्तुत गर्दैछौँ –
गजल १.
झट्ट देखेको भन्दा फरक जिन्दगानी छ
पीडाहरूको खात बोकेर हाँस्ने बानी छ ।
तपाईं सुन्न तयार बन्नु, छ भने पत्थर मुटु,
हाँस्दै सुनाए नि, आँखा भिज्ने कहानी छ ।
तिमीले दुस्साहस नगर, दिलमा पस्नलाई,
यो दिलमा अझैसम्म, उसकै मनोमानी छ ।
अपमान तिरस्कार सहनु, मेरो दैनिकी हो,
त्यसैले त भनेको, मसँग चोटको खानी छ ।
भैगो नसोध, के के छ तेरो सम्पत्ति भनी,
बस सम्पत्तिको नाममा, एउटा राहदानी छ ।
= = =
गजल २.
जिन्दगीदेखि पीडाको अवकाश भएन,
यो सङ्गम कोही कसैको खास भएन ।
मनकै मान्छेले धोका उपहार दिएपछि,
नयाँ सम्बन्धहरूमा फेरि विश्वास भएन ।
उसले आफैं टाढिने निधो सुनाएपछि,
मलाई उसको नजिक बन्ने आस भएन ।
औकातमै आउने रहेछन् ज्यान दिनेहरू,
त्यसैले ती मतलबीहरूको तलाश भएन ।
दुःख पर्दा साथ छोडेका हुन् आफ्नाहरूले,
गुनासो के गर्नु, कोही मेरो आसपास भएन ।
= = =
गजल ३.
गर्न त गरे कति, औसधि उपचार उस्तै छ ।
सुधार हुनै सकेन, दिलको बिमार उस्तै छ ।
यो भाग्य भिन्न भिन्न, किन हुन्छ मान्छेको,
बाहिर देख्दा भने, सबैको निधार उस्तै छ ।
सबै भन्छन् कहाँ कहाँ, पुगिसक्यो दुनियाँ,
जो जहाँ पुगेनी, मलाई यो संसार उस्तै छ ।
विचार चर्का थिए, यि क्रान्तिकारीहरूको,
बदलाव केही छैन, अझै व्यवहार उस्तै छ ।
महोदय भन्नुहुन्छ, यो देश समृद्ध भैसक्यो,
बेरोजगारी कालाबजारी, हाहाकार उस्तै छ ।
= = =
गजल ४.
आमा शीतल चाँदनी, र बाबा न्यानो घाम हुन् ।
मलाई मेरा जन्मदाता, सिङ्गो चार धाम हुन् ।
यत्ती बुझ्न सकेमा, असल बन्नेछन हर मान्छे,
बेइज्जत र बदनामी, कुकर्मका परिणाम हुन् ।
अलमल परी, परदेशीको परिचय माग्नु भयो,
यो नबिर्सनु यी परदेशी, कलियुगका राम हुन् ।
पीडा सापटी चाहिएमा, गरीबलाई सम्पर्क गर्नु,
खास ती जिन्दगीहरू, पीडाहरूका गोदाम हुन् ।
महोदय, कतिञ्जेल दौडनुहुन्छ पैसाको पछाडि,
मर्दा रित्तै हात, धन दौलत आखिर के काम हुन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ फाल्गुन २०८२, बिहीबार 










