काठमाडौँ । नेपाल विद्युत प्राधिकरण, विद्युतकर्मी साहित्यिक समाजको आयोजनामा समाजको त्रैमासिक साहित्यिक प्रकाशन अमरज्योतिको ६८औँ अङ्क (साहित्यिक पत्रकारिता विशेषाङ्क) तथा प्राज्ञ मातृका पोखरेलको कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’ एकैसाथ सार्वजनिक गरिएको छ।
मिति २०८२ पुस २५ गते नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय रत्नपार्कस्थित सभाहलमा आयोजित कार्यक्रममा उक्त कृति र विशेषाङ्क सार्वजनिक गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा साहित्यकार नगेन्द्रराज शर्मा उपस्थित रहनुभएको थियो भने विशेष अतिथिहरूमा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’, समीक्षक डा. हरि सिलवाल तथा नेपाल साहित्यिक पत्रकार सङ्घका अध्यक्ष मोहन दुवाल रहनुभएको थियो। प्रमुख तथा विशेष अतिथिहरूले संयुक्त रूपमा पुस्तक र पत्रिका सार्वजनिक गर्नुभएको थियो।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि शर्माले नेपाली साहित्यिक पत्रकारिता अझै पनि सङ्कटपूर्ण अवस्थाबाट गुज्रिरहेको धारणा व्यक्त गर्नुभयो। “लहड र सनकको भरमा साहित्यिक पत्रकारिता चलिरहेको छ,” उहाँले भन्नुभयो। साहित्यिक पत्रकारिता समाजसेवाको एक महत्वपूर्ण माध्यम भएको उहाँको भनाइ थियो।
कार्यक्रममा अमरज्योति साहित्यिक पत्रकारिता विशेषाङ्कको समीक्षा श्रीओम श्रेष्ठ ‘रोदन’ ले गर्नुभएको थियो भने कथासङ्ग्रह ‘मलाई पनि निद्रा लागेन’को समीक्षा डा. हरि सिलवालले गर्नुभएको थियो।
त्यस अवसरमा कथाकार मातृका पोखरेलले आफ्नो कृतिबारे धारणा राख्नुभएको थियो भने नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक तुलाराम गिरीले अमरज्योति त्रैमासिकको निरन्तरता र साहित्यिक योगदानबारे मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा ठूलो संख्यामा साहित्यिक पत्रकारहरूको उपस्थिति रहेको थियो। साथै विशेषाङ्कमा लेख समावेश भएका बहुसंख्यक लेखकहरू पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्याे । अमरज्योति साहित्यिक पत्रकारिता विशेषाङ्कमा २६ जना साहित्यिक पत्रकारका लेखहरू समावेश गरिएका छन्, जसले साहित्यिक पत्रकारिताका विविध आयामहरूलाई समेटेका छन्।
विशेषाङ्कमा समावेश प्रमुख सामग्रीहरूमध्ये साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको अन्तर्वार्ता, नेपाली साहित्यिक पत्रकारिताको इतिहास, क्षेत्रीय तथा वैचारिक धाराहरू, रेडियो र प्रेस काउन्सिलको भूमिका, महिला सशक्तीकरण, राजनीतिक आन्दोलनमा साहित्यिक पत्रकारिताको योगदानलगायत विषयमा केन्द्रित लेखहरू समावेश छन्।
कार्यक्रममा प्रमुख तथा विशेष अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने लेखकहरूलाई पारिश्रमिकसमेत वितरण गरिएको थियो। विद्युतकर्मी साहित्यिक समाजका प्रधान सम्पादक विष्णुप्रसाद आचार्य ‘अतृप्त’को अध्यक्षता तथा कार्यकारी सम्पादक युवराज शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजकी उपाध्यक्ष शारदा पराजुलीले सहभागीलाई स्वागत गर्नुभएको थियो।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ जेष्ठ २०८३, बिहीबार 










