नेपालको अग्रणी द्वैमासिक साहित्यिक पत्रिका ‘अभिव्यक्ति’को नयाँ अङ्क प्रकाशनमा आएको छ । साहित्यकार पवन आलोकको प्रधान–सम्पादकत्वमा ‘अभिव्यक्ति’को पूर्णाङ्क २४४ (फागुन–चैत, २०८०) प्रकाशनमा आएको हो ।

यस अङ्कमा श्रीरामसिंह बस्नेत, शंकरकुमार राई, अन्जु शर्मा, प्रतीक्षा रिजाल, जेखी खत्री र रत्न प्रजापतिका कथा तथा लघुकथा सङ्ग्रहित छन् । त्यस्तै, श्रीओम श्रेष्ठ ‘रोदन’, शुकदेव उपाध्याय र आरआर चौलागाईँका निबन्ध सङ्ग्रहित छन् ।

त्यसैगरी, डा. शान्तिमाया गिरी, प्रदीप सापकोटा र डा. राजकुमार क्षत्रीका पर्यावलोकन प्रकाशित छन् भने प्रल्हाद पोखरेल, सानुराजा श्रेष्ठ अन्जान, हरिकृष्ण बखुन्छे, सनोजध्वज जोशी, जनार्दन खनाल, चित्रा पौडेल, बुद्धिमान महर्जन, अम्बु बिहानी, राजेशमान के.सी. तथा रमेशजङ्ग सिजापतिका कविता, गीत र गजल सङ्ग्रहित छन् ।

नरेन्द्रराज पौडेलको ‘डिप्लोम्याट चिप्लो म्याट’ शीर्षकको हास्यव्यङ्ग्यसमेत सङ्ग्रहित यस अङ्कमा यायावरको नियमित स्तम्भ ‘जमघटहरुबाट’ रहेको छ ।
प्रकाशकीय र सम्पादकीय समेत रहेको यस अङ्कको अन्तिम कभर पृष्ठमा स्व. कथाकार परशु प्रधानप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

नगेन्द्रराज शर्मा संस्थापक तथा संरक्षक रहेको यस पत्रिकाको प्रधानसम्पादक पवन आलोक रहेका छन् भने कार्यकारी सम्पादकको जिम्मेवारीमा देविका तिमिल्सिना रहेका छन् । त्यस्तै, सम्पादकहरुमा प्रणयराज घिमिरे र ओपलराज घिमिरे रहेका छन् भने सल्लाहकारका रुपमा श्रीओम श्रेष्ठ ‘रोदन’ रहेका छन् ।

८० पृष्ठमा फैलिएको यस अङ्कको मूल्य रु. ५० मात्र रहेको छ ।