साहित्यकार एवं पत्रकार नगेन्द्रराज शर्मालाई अभिनन्दन गरिएको छ । वि.सं. १९९४ चैत २२ गते रामेछापमा जन्मिएका शर्मालाई ८४औं जन्मोत्सवका अवसरमा विभिन्न साहित्यिक संस्थाले आइतबार राजधानीमा अभिनन्दन गरेका हुन् ।
५० वर्षदेखि प्रकाशित ‘अभिव्यक्ति’ साहित्यिक द्वैमासिकका संस्थापक प्रधानसम्पादक हुन् नगेन्द्रराज शर्मा । वि.सं २०२७ सालमा पहिलो अंक प्रकाशन भएको भएको ‘अभिव्यक्ति’ पत्रिका आजपर्यन्त प्रकाशन गरिरहेका छन् । यो पत्रिका एक प्रकारले उनको जीवनको प्रतीक बनेको छ ।
साहित्यकार पवन आलोकका अध्यक्षतामा गठित ‘वरिष्ठ साहित्यकार एवं साहित्यिक पत्रकार नगेन्द्रराज शर्मा अभिनन्दन मूल समारोह समिति’को तर्फबाट अभिनन्दन गरिएको हो । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीले साहित्यकार शर्मा र उनकी पत्नी कमला शर्मालाई अभिनन्दन प्रदान गरेका हुन् ।
कार्यक्रममा शर्माको योगदानबारे श्रीओम श्रेष्ठ ‘रोदन’, किशोर पहाडीलगायतले चर्चा गरेका थिए । अभिनन्दन समाराेहमा ४५ वटा विभिन्न साहित्यिक संस्थाहरू सहभागी थिए । त्यसमा एक साहित्यपाेस्ट पनि रहेकाे थियो ।
“कुनै पनि विचारबाट प्रभावित नभई शुद्ध नेपाली भएर भाषा र साहित्यकाे सेवा कसरी गर्न सकिन्छ भन्ने कुरा हामीले तपाईँबाट सिकेका छाैँ । अनेक अफ्ठ्याराहरूका बीचमा पनि जीवनलाई हाँसीखुसी कसरी अगाडि बढाउन सकिन्छ भन्ने कुरा प्रयाेगात्मक रूपमै तपाईँमा देखेका छाैँ”, साहित्यपाेस्टकाे सम्मान पत्रमा भनिएकाे छ, “यी दुई ज्ञान दुनियाँलाइ बाँड्न सकियो भने हाम्रो साहित्यिक पत्रकारिता धन्य हुनेछ । याे गहन शिक्षाका लागि जीवनभर प्रयाेग गरिरहनुहुने तपाई समग्र साहित्यिक पत्रकारिताका बिम्ब हुनुहुन्छ । साहित्यपाेस्ट तपाईँकाे याे बिम्ब आफ्ना अक्षरहरूमा सदैव उतार्न प्रयास गर्ने छ । आजकाे याे पावन दिनमा हामी तपाईँ समक्ष यही प्रतिबद्धता गुरू दक्षिणाका रूपमा चढाउन चाहान्छाैँ ।”
अभिनन्दित शर्माका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास कृति, ‘पीपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कथासङ्ग्रह प्रकाशित छन् । शर्माद्वारा सम्पादित ‘अभिव्यक्ति’ पत्रिका हालसम्म २ सय ८ अंक प्रकाशित छ । शर्मा साहित्यिक पत्रकार संघका वर्तमान अध्यक्षसमेत हुन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।