
नेपाली साहित्यिक पत्रकारिताको क्षेत्रमा विगत पचास वर्षदेखि अभिव्यक्ति साहित्यिक पत्रिका प्रकाशन गर्दै आउनुभएका उपन्यासकार र कथाकारको नाम हो नगेन्द्रराज शर्मा । विक्रम संवत् २०२७ साल फागुन ७ गतेदेखि निरन्तर प्रकाशित हुँदै आएको साहित्यिक पत्रिका अभिव्यक्तिको सम्पादक नगेन्द्रराज शर्माको ८४औँ जन्मोत्सवको अवसरमा उहाँलाई अभिनन्दन गर्नका निम्ति गठित नगेन्द्रराज शर्मा राष्ट्रिय अभिनन्दन मूल समारोह समितिले गत वर्ष २०७७ साल चैत २२ गतेका दिन आयोजना गरिएको भव्य कार्यक्रममा ४५ ओटा विभिन्न सङ्घसंस्थाले संयुक्त रूपमा भव्य अभिनन्दन गरेको थियो । उक्त अभिनन्दन समारोह समितिले २०७८ साल साउनमा नगेन्द्रराज शर्मा : अभिनन्दन ग्रन्थ नामक एउटा बृहत् पुस्तक पनि प्रकाशित गरेको थियो । उक्त अभिनन्दन ग्रन्थ केही दिन पहिले साहित्यकार पवन आयोकज्यूले मलाई उपलब्ध गराउनु भएपछि मैले पढ्ने अवसर पाएँ । साहित्यकार पवन आयोक प्रधान सम्पादक रहनुभएको यस ग्रन्थको कार्यकारी सम्पादक साहित्यकार तथा नेपाल स्रष्टा समाजका वर्तमान अध्यक्ष विधान आचार्य र सम्पादक मण्डलमा गोविन्द गिरी प्रेरणा, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ रोदन र रोशन थापा नीरव रहेका छन् ।
साहित्यकार गोविन्द्र गिरी प्रेरणाले नगेन्द्रराज शर्माका बारेमा लेखेको सङ्क्षिप्त परिचयानुसार रामेछापका सुब्बा इन्द्रप्रसाद घिमिरे र माता पद्मादेवी घिमिरेका काहिँला छोरा नगेन्द्रराज शर्माको जन्म विक्रम संवत् १९९४ साल चैत्र २२ गतेका दिन भएको थियो । वि.सं. २००० सालमा पहिलो पटक काठमाडौँ आएर अध्ययन र जागिरे जीवन बिताइरहनुभएको उहाँले २०२७ सालदेखि हालसम्म पनि साहित्यिक पत्रिका अभिव्यक्ति प्रकाशन गर्दै आउनुभएको छ । उहाँले जनकपुर बसाइकै क्रममा महापुरुष र दिवा स्वप्न उपन्यास लेखिसक्नुभएको थियो । दुई उपन्यास प्रकाशित भएपछि उहाँले अन्य दुई कथासङ्ग्रह पिपलको बोटमुनि र एकान्तका आफन्त प्रकाशित गर्नुभएको छ । साहित्य लेखनभन्दा पनि उहाँ साहित्यिक पत्रिका प्रकाशनमा नै समर्पित हुनुभएकाले नै उहाँ नामबाट भन्दा पनि अभिव्यक्ति पत्रिकाबाट बढी परिचित हुनुभएकै कारणले होला नगेन्द्रराज अर्थात् अभिव्यक्ति र अभिव्यक्ति अर्थात् नगेन्द्रराज हुनुभएको छ । त्यसो त उहाँकै अभिन्न मित्र रोचक घिमिरेले उहाँभन्दा धेरै पहिले अर्थात् वि.सं. २०१८ सालदेखि नै रचना साहित्यिक पत्रिका प्रकाशित गर्दै आउनुभएको छ । रोचक घिमिरे पनि रोचक अर्थात् रचना हुनुभएको छ । यी दुई व्यक्तिले आफूलाई नेपाली साहित्यिक फाँटमा नामबाट भन्दा पनि कामबाट परिचित गराउनुभएको छ । वर्तमान नेपाली साहित्यिक पत्रिकारिताको क्षेत्रमा अभिव्यक्ति र रचना पत्रिका ऐतिहासिक बनिसकेको छ ।
साहित्य लेखनमा भन्दा पनि साहित्यिक पत्रिका अभिव्यक्तिको सम्पादन र प्रकाशनमा निरन्तर लागिरहनुभएकै कारण नगेन्द्रराज शर्माले मैनाली कथा पुरस्कार, धुस्वाँ सायमी सिर्जना पुरस्कार, नेपाल सांस्कृतिक सङ्घ पुरस्कार, भानु भवानी घिमिरे पत्रकारिता पुरस्कार, उत्तम शान्ति विशेष सम्मान, गोपाल पाँडे असीम पुरस्कार, महाकवि लक्ष्मीप्रसाद देवकोटा पुरस्कार र पद्मश्री साधना सम्मान प्राप्त गर्नुभएको छ । अक्षरसँगै खेल्न मनलाग्छ भन्नुहुने नगेन्द्रराज शर्माको यो अभिनन्दन ग्रन्थमा समावेश गरिएका उहाँसँग सम्बन्धित ११५ जना साहित्यकार, पत्रकार र उहाँका अभिन्न मित्रहरूको लेखरचना समावेश छन् ।

दिव्य गिरी
नगेन्द्रराज शर्माको साहित्यिक व्यक्तित्व र साहित्यिक पत्रकारितामा उहाँले गर्नुभएको योगदानको सम्पूर्ण चर्चापरिचर्चा यस अभिनन्दन ग्रन्थमा गरिएको छ । यस ग्रन्थमा समावेश भएका लेखहरूलाई शुभकामना सन्देश समेत गरी दस खण्डमा विभाजन गरिएको छ । पहिलो खण्डमा शुभकामना सन्देश छ भने दोस्रो खण्डमा नगेन्द्रराज शर्माको सङ्क्षिप्त जीवनी समेटिएको छ । तेस्रो खण्डमा उहाँका अन्तरङ्ग मित्रहरू ध्रुवचन्द्र गौतम, ध्रुव सापकोटा, रोचक घिमिरे र विनोद दीक्षितका मित्रवत् अभिव्यक्तिहरू छन् । एक समय नेपाली साहित्यिक फाँटमा आफूसमेत (नगेन्द्रराज शर्मा) लाई जोडेर पाँच पाण्डवको नामले चर्चित नगेन्द्रराज शर्माका बारेमा तिनै साहित्यकारहरूले रोचक प्रसङ्गहरू उल्लेख गर्नुभएको छ । चौथो खण्डमा समावेश गरिएका साहित्यिक पत्रकारिताका अभिव्यक्ति अन्तर्गत बिस जना साहित्यिकारहरूको लेख समावेश छ ।
पाँचौँ खण्डमा समालोचनात्मक अभिव्यक्तिहरू छन् । यसमा नगेन्द्रराज शर्माले प्रकाशित गर्नुभएको अभिव्यक्ति साहित्यिक पत्रिकाका साथै उहाँको उपन्यास महापुरुषमा युवराज मैनाली र पिपलको बोटमुनि कथासङ्ग्रहबारे शेखरकुमार श्रेष्ठले समालोचना गर्नुभएको छ । त्यसै गरी अन्तर्वार्ता र पत्रात्मक अभिव्यक्ति अन्तर्गत छैटौँ खण्डमा अश्विनी कोइराला, आ.र.सी. रिजाल, दधिराज सुवेदी, विष्णुबहादुर सिंह र श्रीओम श्रेष्ठ रोदनका लेखहरू छन् । ग्रन्थको सातौँ खण्डमा नगेन्द्रराजको परिवारहरूकै सदस्यहरू छोरा, भतिज र नातिनीका लेखहरू छन् । आठौँ खण्डमा सान्निध्यका अभिव्यक्तिहरूसम्बन्धी उनान्चास जनाको लेखहरू समावेश छन् । यसका लेखकहरूमा भूपू मन्त्री भद्रकुमारी घले, वरिष्ठ समालोचक प्रा.डा. गोविन्द्रराज भट्टराईदेखि लिएर स्थापित कवि, सम्पादक, उपन्यासकार र कथाकारहरू समेत गरी उनान्चास जनाका लेखहरू समेटिएका छन् ।
विभिन्न स्थान र समयमा साहित्यिक यात्राको क्रममा नगेन्द्रराज शर्मालाई साथ दिनुभएका साहित्यकारहरूले यात्रा अभिव्यक्ति दिनुभएको छ ग्रन्थको नवौँ खण्डमा । यसमा किशोर पहाडी, चन्द्रप्रसाद भट्टराई, चेतनाथ कँडेल हरित, जानु धिताल, देवा अधिकारी, देविका तिमिल्सिना, पवन आलोक र रामप्रसाद पन्तका रोचक यात्रानुभूतिहरू छन् । नगेन्द्रराज शर्माका बारेमा लेखिएका कवितात्मक अभिव्यक्तिलाई अन्तिम खण्ड अर्थात् दसौँ खण्डमा राखिएको छ । यसका साथसाथै ग्रन्थमा चारओटा परिशिष्ट छन् । यस परिशिष्टमा मूल समारोह समितिको कार्य समिति सदस्यहरू र मूल समारोह समितिका सदस्यहरूको नामावली, अभिनन्दन गर्ने सङ्घसंस्था र आयव्यय विवरण राखिएको छ ।
यो ग्रन्थको सबैभन्दा महत्वपूर्ण कुरा हो यसको अनुक्रमणिका । ज्यादै मिहिनेतका साथ अनुक्रमणिका पनि ग्रन्थमा राखिएकाले पाठकले आफूलाई पढ्न चाहेको लेखक र विषयलाई सजिलै खोज्न सक्दछन् । नेपाली साहित्यिक कृतिमा अनुक्रमणिका राखेका कृतिहरू सायदै होलान् । यसबाट यो थाहा हुन्छ कि यस ग्रन्थलाई कति मिहिनेतका साथ प्रकाशन गरिएको छ । यो अति महत्वपूर्ण ग्रन्थ प्रकाशनसँग सम्बन्धित प्रकाशक, सम्पादक र लेखकहरू बधाईका पात्र छन् । कुल पृष्ठ ४२२ र रङ्गीन तस्बिर सोह्र पृष्ठको यो बृहत् ग्रन्थको मूल्य भने तोकिएको छैन । सुन्दर आवरण, महत्वपूर्ण लेखहरू र सुन्दर छपाइले सुसज्जित यो ग्रन्थ नेपाली साहित्यका पाठक, खोजकर्ता र विद्यार्थीहरूका निम्ति पठनीय र सङ्ग्रहणीय छ । नगेन्द्रराज शर्मा राष्ट्रिय अभिनन्दन मूल समारोह समिति २०७७ लाई हार्दिक धन्यवादका साथै नगेन्द्रराज शर्माज्यूलाई सादर बधाई ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

