निल काँडा झाड –चाचु

कवि सुनिल ढुंगाना चाचुको कविता सङ्ग्रह हो ‘निल काँडा झाड’ । कविले समाजका घट्ना र परिघट्नालाई शब्दमा छरेर कविताको रुपमा पस्कनु भएको छ ।

निल काँडा झाङ

ओहो

यस्तो काहाली

लाग्दो ठाँउमा नि

बस्दा रहेछन्

हे हे! हो हो !! हा हा !!!

यि

हाँसोका चित्कार, खित्काले

मेरो दिमाग

खलबलाएको छ

बाटोभरी गउत

वर्षाको भेलमा

पानीसंगै दिशा पिसाब बग्छ

ढल हेर्सोन !

निल काँडा झाङले

यसरी जरा गाडेको छ

मेरो वस्तीलाई

बाटो वरिपरी

सीमा सिमामा

निल काँडा झाङ

निल काँडा झाङलाई

खुर्पा, कुटो, कोदालोले

मास्दा पनि

बर्षे पिछे

झाङ्गिदै आउछ

निल काँडा झाङदेखी

वाक्क दिक्क भै

कोही बसाइँ सरे

मरेर गए

पलायन भए

कोही भने

अझै

छिमली रहेछन्

निल काँडा झाङलाई

हात र मुटुमा

बिजाए पनि

बल्ल

निल काँडा झाङसँगै

लाहुरे फूलहरू

फुल्न थालेका छन्

राता, पहेँला, हरिया

रङ्गी चङ्गी विचार सोच

रूखो निल काँडा

झाङले गर्दा

मेरी आमाको जीवन

खोला, पधेरा मै बित्यो

घना

निल काँडा झाङले

मेरो बौको विद्यालय जाने दोबाटो

छेकेको थियो

यि

निल काँडा झाङहरूसित

जेलिए मेरा पुस्ताहरू

लगभग

हाँडि बेलका काँडाहरु

विस्तापित भैसके

अहिले

फाट्ट फुट्ट भएका

निल काँडा झाङको

फेदमुनि

बत्ती

ढल

wi-fi

ढलान

पानीको पाइप

Dish Home

भर्खर त फुल्न

थालेको छ

निल काँडा झाङ

निलो न निलो

लह लह

सुखको पसिना

आउन थालेको छ

कन्चेटबाट

गमला गमलामा

रोपिन थालेको छ

निल काँडा झाङ

तर

चियाको सुर्पो र

चुरोटको सर्कोसँगै

विगतमा पुग्छु

कहिले काहीँ

अनि

बाल्यकालमा पैतालानीर बिजेका

निल काँडाको खिल

चस् चस् गर्छ

झरी बादलमा

पुस्तकलाई सुप्रिया होमले प्रकाशन गरेको छ । ४८ ओटा कविता सङ्ग्रहित पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।