साताका पुस्तकका रूपमा साहित्यपोस्टलाई  साहित्यकार गोपी मैनालीको समालोचनात्मक कृति ‘रमेश विकल: समालोचनात्मक अन्वेषण’  प्राप्त भएकाे छ ।

यसमा नेपाली साहित्यका शीर्ष साधक रमेश विकलका कृतित्व र व्यक्तिका सबै आयाममा समालोचना गरिएको छ ।

२ सय १४ पृष्ठमा आबद्ध यस पुस्तकमा ‘जीवनी र व्यक्तित्व’, ‘निबन्धकार रमेश विकल ’, ‘रमेश विकलका पात्रहरू ’, ‘रमेश विकलका विचार, दर्शन र दृष्टिकोण ’आदि १७ थान शीर्षकहरू समावेश छन् ।

‘नेपाली साहित्यमा रमेश विकलको स्थान निर्धारण’मा लेखिएको छ, “रमेश विकल नेपाली साहित्यका कथा, उपन्यास, बालसाहित्य, नाटक, निबन्ध र संस्मरण विधामा सिर्जना गर्ने बहुमुखी प्रतिभा हुन् । उनका सिर्जना शाश्वत र जीवन्त छन् । टि.एस.इलियटले भने झैँ । स्रष्टाको मन अनगिन्ती संवेदनाहरू, वाक्यांशहरू, विम्बहरू ग्रहण एवम् एकत्र गर्ने एउटा पात्र हो । जो तबसम्म त्यहाँ रहन्छ जबसम्म ती सबै कण, जसको संयोजनले कुनै नयाँ यौगिक पदार्थ बन्न सक्तछ, एकत्रित हुँदैन’ (साहित्यमा इलियट र उनको सिद्धान्त, मौलो, पृ. ३९) । विकल त्यस्ता स्रष्टा हुन्, जसले सामाजिक संवेदनाहरू, अनुभूतिहरू, भावना र विम्बमा संयोजन गर्ने अदम्य सामर्थ्य छ, यथार्थ घटनालाई भावना र शिल्पमा सजाउने क्षमता छ र लेखकीय समय/सन्दर्भलाई वर्तमानमा निरूपण गरी भविष्यको आकृति चित्र बनाउने प्रतिभा छ । त्यसैले उनका सिर्जनाले समय सन्दर्भको जीवनलाई उठाएर भविष्यको मार्ग चेत दिएका छन् ्।”

मनका केही कुरामा गोपी मैनाली लेख्छन्, “ समालोचना विधाप्रति मेरा आफ्नै बुझाइ र दृष्टिकोण छ । यो अन्वेषण, अनुसन्धान, विवेचना, मूल्याङ्कनकाे सङ्गतिपूर्ण कार्य भएकोले जटिल छ । यो महिमाभन्दा माथि, मतभन्दा माथि सत्मार्गको पहिल्याइ हो ।”

पुस्तकलाई सुरभि साहित्य प्रतिष्ठानले  बजारमा ल्याएकाे हाे ।