सानु साथी – ईश्वरमणि अधिकारी

कवि ईश्वरमणि अधिकारीको कवितासंग्रह हो ‘सानु साथी’ । अधिकारीको कवितामा बौद्धिकता अन्तर्गर्भित छ, मानवीय संवेदनाको सुक्ष्म अभिव्यक्ति र सरल भाषामा गहन भाव व्यक्त भएको पाइन्छ ।

”समकालीन नेपाली कविताको विराट् आयतनमा कहाँनेर छन् ईश्वरमणि अधिकारी ? उनका कविता पढ्दा लाग्छ उनी कविताकलामा जीवन, समाज, मान्छे र समयलाई केही पृथक् रुपमा चिनाउने कवि हुन् ।” पुस्तकमा प्रा.डा लक्ष्मणप्रसाद गौतम लेख्नुहुन्छ, ”आजका कविहरु को ठुलो भीडमा टाढैबाट चिनिने कवि हुन् । उनका अघिल्ला कविताकृतिहरुलाई दुई कदम उछिनेर आएको प्रस्तुत ‘सानु साथी’ कवितासंग्रहका कविता यिनै कुराका दसी हुन्, प्रमाण हुन् र उनी आफ्नो समयका पृथक चेतनाका कवि हुन् । उनी कवितामा कुनै न कुनै दर्शन भन्छन्, समयको, जीवनको, समाजको र आजका मान्छेको त्रासदीयुक्त वर्तमानको । तर, भविष्यप्रतिको आशावादी चेतना उनीभित्रको कविको सत्व हो र सत्य हो । सङ्गतिहीनता र नकारात्मक वर्तमानका त्रासदी र कुरुप यर्थाथलाई पनि सत्यको उन्मेष र चेतनाको अनुद्घाटित सत्यको खोजीका माध्यमबाट आफ्नै संवेदनाको गहिराईभित्र पसेर आफैलाई र जीवनजगत्लाई नियाल्नु उनका कविताको विशेषता हो ।”

त्यसैगरी पुस्तकमा ईश्वरमणि अधिकारी लेख्नुहुन्छ, ”प्रारम्भमा आफूलाई अभिव्यक्त गर्ने रहरबाट सुरू भएको लेखनयात्रा आजकल आदत बनेको छ । अब यो आदतबाट उन्मुक्ति सम्भव छैन । गणितको अध्ययन अध्यापनलाई जीवनको एउटा पाटाका रुपमा जिन्दगीको किनारै किनार हिँडाएर अर्को किनारबाट दौडिरहेछु म कवितायात्रामा । मेरा लागि यी दुई किनारा आफ्नै जिन्दगीका किनारा जस्तै लाग्छन् । म यिनीहरूसित समानान्तर चलिरहेछु । लाग्दै छ, एउटाले मेरो जीवन चलाइरहेछ, अर्काले मलाई नै चलाइरहेको छ । कविता मेरा लागि सहज प्रतीत हुने कष्टकर यात्रा पनि हो, आफूले आफ्ना खुशीका लागि तय गरिएको यात्रा । आनन्द-यात्रा । कविताको सम्मोहन-यात्रा । एउटा प्रेममय यात्रा ।”

पुस्तकलाई पोखरेली युवा सांस्कृतिक परिवारले बजारमा ल्याएको हो । एकहत्तर ओटा कविता संग्रहित पुस्तकको मूल्य तीन सय ३३ रुपियाँ रहेको छ ।