विराटनगर । विराट मैथिल नाट्यकला परिषद्को आयोजनामा बहुभाषिक कविगोष्ठी, परिचर्चा तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । विराटनगर–१ स्थित स्वर संगम सङ्गीतालयमा करीब तीन घण्टासम्म चलेको कार्यक्रम साहित्य, संगीत र सिर्जनशीलताको संगम बनेको थियो ।
परिषद्का अध्यक्ष डोमी कामतको अध्यक्षता र प्राध्यापक कृष्ण पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा करीब ६० जना साहित्यप्रेमी, स्रष्टा तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा पोखराबाट आउनुभएका साहित्यकारहरूले समेत आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रा. पोखरेलले नेपाली भाषासाहित्यमा मैथिली, नेपाली, भोजपुरी र अन्य भाषाबीचको सहकार्यले सांस्कृतिक एकता र सिर्जनाको शक्ति बढाउने विश्वास व्यक्त गर्नुभयो । परिषद्का अध्यक्ष कामतले कार्यक्रमको उद्देश्य र परिषद्को आगामी योजनाबारे मन्तव्य राख्दै साहित्यिक मेलमिलापलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।
कार्यक्रमको मुख्य आकर्षण सम्मान समारोह रह्यो, जसमा समाजका पाँच विशिष्ट स्रष्टालाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो । सम्मानित स्रष्टाहरूमा साहित्यकार मधु पोखरेल, रंगकर्मी शिवनारायण पण्डित, चिकित्सक तथा साहित्यकार डा. बालकृष्ण साह, साहित्यकार मञ्जु घिमिरे दाहाल र समाजसेवी विजयकुमार राय हुनुहुन्थ्यो ।
मुक्तक र गजलका अग्रज हस्ती मधु पोखरेल तथा नेपाली र मैथिली रंगमञ्चका दुवै संसारमा समान रूपले क्रियाशील शिवनारायण पण्डित ‘सिङ्गल’ “अग्रज स्रष्टा सम्मान” बाट सम्मानित हुनुभयो । उहाँहरूको परिचय साहित्यकार बाबुराम पोखरेल तथा समालोचक हरिप्रसाद बरालले प्रस्तुत गर्नुभयो ।
शब्द र सेवाका क्षेत्रमा समर्पित व्यक्तित्व चिकित्सक तथा साहित्यकार डा. बालकृष्ण साहलाई “चिकित्सक स्रष्टा सेवा सम्मान” प्रदान गरियो । उहाँको जीवनयात्रा समालोचक तथा नेपाल लेखक संघका अध्यक्ष दिनेशराज सुवेदी ‘दिङ्लाली कान्छा’ले प्रस्तुत गर्नुभयो ।
लेखनमा संवेदना र समाजप्रति प्रतिबद्धता बोकेकी महिला स्रष्टा मञ्जु घिमिरे दाहाललाई “महिला स्रष्टा सम्मान” प्रदान गरियो । उहाँको परिचय साहित्यकार लक्ष्मी खड्का रायमाझीले प्रस्तुत गर्नुभयो ।
समाजसेवा र सिर्जनामा समर्पित व्यक्तित्व विजयकुमार रायलाई “सामाजिक स्रष्टा सम्मान” प्रदान गरियो । उहाँको जीवनी साहित्यकार रञ्जना भट्टराईले भावनात्मक स्वरमा वाचन गर्नुभयो ।
कार्यक्रममा साहित्यकार सरला चापागाईं, स्वर संगम सङ्गीतालयका संस्थापक कुशेस्वर राई, प्रज्ञा प्रतिष्ठानका प्रतिनिधिहरू लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
९ कार्तिक २०८२, आईतवार 










