“कान्छीले फेरि छोरी पाइन् ।” फोन राख्दै सङ्गिताले मनोजलाई सुनाइन् । मनोजको कान्छी बहिनी अर्थात् सङ्गिताकी नन्दले भर्खरै अस्पतालमा दोस्रो सन्तानको रूपमा छोरी पाएको खबर सुनाउन अस्पतालबाटै ज्वाइँले फोन गरेका छन् । बहिनीले पाएको खबर सुनेर मनोज खुसी भयो तर व्यक्त गर्ने अवस्थामा थिएन । सानोमा ‘छुइ डुम’ खेल्दा, कान्छी डुम भएको मनोजलाई पटक्कै मन पर्दैन थियो । कान्छीलाई कुद्न नपरोस् भनेर आफैँ डुम बन्ने गरेको मनोजले बिर्सेको छैन । अघिल्लो पटक छोरी पाएको खबर पाउँदा मनोज र सङ्गिता दुवै कान्छीलाई भेट्न अस्पताल पुगेका थिए । तर आज बहिनीको स्वास्थ्य कस्तो छ ? भनेर सोध्ने हिम्मत पनि गरेन मनोजले । सुनेर पनि नसुनेजस्तो, केही थाहा नभएजस्तो, झरनाको चोट खाएर पनि शान्त बसेको ढुङ्गाजस्तो गरी आफ्नै सुरमा बसेको छ मनोज ।
सङ्गिताको त झन् कुरै छोर्डौ । आफूभन्दा कान्छी नन्दले दुइटा सन्तान पाएको खबरले सङ्गितालेको छाती पोलेको थियो । उमेरले पनि कान्छी, अनि विवाह पनि उनकोभन्दा दुई वर्षपछि भएकको थियो । छरछिमेकमा कसैले सन्तान पाउँदा, बिहेको मिति, जन्मान्तर आफ्नो विवाहसँग दाज्ने गरेकी सङ्गिताले, आफ्नी कान्छी नन्दले दोस्रो बच्चा पाएको खबरले आफूलाई गिज्याएजस्तै लाग्यो । आफ्नो प्रजनन् क्षमतामाथि नै चुनौती दिएजस्तो, आमा बन्ने सामर्थ्य नै नभएको जस्तो गरी होच्याएको महसुस भयो । यो खबरले मनोजलाई पनि सन्तान प्राप्तिको इच्छा जाग्छ कि ? कुनै प्रतिक्रिया दिन्छन् कि ? भनेर सङ्गिताले मनोजतिर हेर्छिन् । तर ऊ पसलकै काममा व्यस्त हुन्छ । सङ्गितालेको मन जलेको उसले देख्दैन । केही नदेखेजस्तो, केही नसुनेजस्तो, केही नभएजस्तो मौन छ मनोज ।
आफूले आफैँलाई रोक्न सक्दिनन् सङ्गिताले । “मभन्दा कान्छीले दुइटा बच्चा जन्माइसकिन् ।” मौनतालाई चिर्दै अनि आफूले पनि बच्चा पाउनै पर्ने दवाव दिँदै उनी मनोजलाई भन्छिन् ।
“के गर्नु ? दुवै छोरी नै त हुन् ।” मनोजले कुरा नबुझेको होइन । तर खासै चासो देखाएन ।
सङ्गितालेलाई अहिले छोरा वा छोरीभन्दा पनि आफू आमा बन्नेमा मात्र मतलब थियो । आफूले बच्चा पाउन सक्छु भन्ने देखाउनु थियो । म कमजोर छैन सबैलाई बताउनु थियो । त्यसैले उनले तर्क गरिन् “छोरी नै भए पनि के भयो र ? दिदी बहिनी हुन् । आमाबुबाको शेषपछि पनि माइती त रहन्छन् नि । ससुरालीमा मनमुटाब भएको अवस्थामा भावना साट्ने, बुझिदिने बहिनी हुन्छे ।” उनले थपिन् । “हामीपछि हाम्रो छोरीको को हुन्छ ?” भन्दै सङ्गिताले आफ्नो पाँच वर्षीय छोरीलाई च्यापिन् ।
अर्को सन्तानको चाहना मनोजलाई नभएको होइन । तर उनले सङ्गिताको स्वास्थ्य अवस्था र गर्भको जटिलता बुझेका थिए । शल्यक्रिया गरेर निकालेको छोरालाई अस्पतालमै गाड्नु परेको बिर्सेका छैनन् उनले । अझ झन्डैले सङ्गितालाई पनि …. ।
“के गर्ने त ? सन्तानकै लागि फेरि यत्रो जोखिम लिनु ? कुनै हालतमा म तिमीलाई गुमाउन चाहन्न ।” मनोजले स्पष्ट गरे ।
मनोजको माया देखावटीजस्तै लाग्यो, आफ्नो चाहना नबुझ्ने केवल शरीरलाई माया गर्नेजस्तो लाग्यो । उनले आफ्नो आमा बन्न सक्ने क्षमतामा शंका गरेको बुझिन् । तर आफ्नो भौतिक शरिरभन्दा पनि सन्तान प्राप्तिको चाहना ठुलो थियो । एक दिन त सबै मर्ने नै हो । आफूपछि आफ्नो अस्तित्व चाहिन्छ, आफ्नो छोरीलाई माइती चाहिन्छ भन्ने उनको बुझाइ थियो । मनोजको नकारात्मक विचार उनलाई मन परेको थिएन । उसको विचारसँग सङ्गिता सहमत थिइनन् । उनलाई प्रतिकार गर्ने मन छ । आफ्नो चाहनाका लागि विद्रोह गर्ने मन छ । तर उनी विवश छिन् । त्यसैले विरोध जनाउँदै भन्छिन्, “सन्तान प्राप्तिको लागि ज्यान जान्छ भने जाओस् ।” त्यसो भनेर, झर्किँदै पसलबाट छोरीलाई तान्दै लैजान्छिन् ।
विगत केही दिनदेखि गर्भकै विषयमा जोई–पोइबीचमा द्वन्द्व चलिरहेको थियो । एकातिर सन्तान प्राप्तिको असीम चाहना अनि अर्कोतिर उनको स्वास्थ्यको जटिलता । दुई वर्ष अघि अस्पतालबाट घर आउँदा सङ्गिताले पनि अब सन्तान नपाउने सोच बनाएकी थिइन् । अरूको दुई दुइटा सन्तान देखेर उनलाई छट्पटी चाहिँ हुने गर्थ्यो । तर आफूले आफैँलाई सम्झाउँथिइन् । तर अहिले महिनावारी रोकियो । योजना थिएन तर गर्भ रहयो । गर्भलाई निरन्तरता दिने सङ्गिताको चाहना छ ।
०
ढुकुरको जोडीजस्तै थियो, मनोज र सङ्गिताको दाम्पत्य जीवन । मागी विवाह भए पनि कति साह्रो मिलेका ? एकछिन पनि नछुट्टिने । आफ्नै पसल छ । दिनभरि सँगै पसल चलायो, अनि राति अबेर घर फर्कियो । विवाह गरेको सात वर्ष कसरी बित्यो पत्तै भएन । जोइपोइको झगडा भएको वरिपरिकालाई थाहा छैन । विवाहपछि गर्भ नरहेको पनि होइन । पाँच वर्षकी त छोरी नै भई सकी । गर्भवती हुँदा खाना रुच्दैन, उल्टी हुन्छ, गार्हो हुन्छ जस्ता कुरा उनले सुनेकी थिइन् । तर छोरीको पालामा सङ्गितालाई कुनै अप्ठयारो भएन । यस्तो बेला आराम गर्नुपर्छ भनेर सुझाउँदा पनि “केही गार्हो भए पो आराम गर्नु” भनेर पसलको काममा सघाउने गरेको मनोजले बिर्सेको थिएन । सुत्केरी खान माइत नगएपछि छिमेकी भाउजुले “सुत्केरीको बेला पनि कस्तो छुट्टिन नसकेको” भनेर सङ्गितालाई जिस्काएको सम्झेर अहिले पनि बेला बेलामा मनोजलाई हाँस्न मन लाग्छ ।
छोरी पाएपछि फेरि सन्तान नभएको होइन । छोरी दुई वर्ष नपुग्दै सङ्गिता फेरि गर्भवती भएकी थिइन् । दोस्रो गर्भले दम्पतीलाई पहिलो पटकभन्दा पनि बढी खुसी दिएको थियो । सङ्गितालाई छोरा जन्मिनेमा ढुक्क थियो । उनले पसलमा आउने सबै बाबुहरूलाई, आफ्नो छोराको साथीको रूपमा हेर्ने गर्थिन् । मनोज पनि निकै खुसी थिए । गर्भ परीक्षण गर्न जादा दुवै सँगै जाने गर्थे । सँगै गएको देखेर छिमेकी भाउजूले एक दुई पटक ठट्टा गर्दै भनिन्, “साथीको लागि हामी गइहाल्थ्यौँ नि, पसलै बन्द गरेर हिँड्नु पर्छ र ?” यसरी मनोजलाई जिस्काउँदा भन्थ्यो “सन्तान दुवैको हो क्यारे, एक्लै के पठाउनू” ।
छोरा पाउने खुसीमा नौ महिना गएको पत्तै भएन । अघिल्लो प्रसव समान्य भएकाले प्रसवको व्यथा सुरु हुँदा समेत कुनै तनाव लिएका थिएनन् । केही समयमा नै छोराको रुवाइ पर्खेका दम्पतीलाई यस पटक पहिलेजस्तो भएन । एकातिर सङ्गिताको रगतमा ग्लुकोजको समस्या र उच्च रक्तचाप अनि अर्कातिर बच्चाको हृदयको गतिमा अनियमितता । अन्योलको अवस्था भयो । के गर्नु ? कसलाई भन्नु ? चिकित्सकहरूको सल्लाहमा पनि एउटा अनौठो त्रास थियो । गर्भको बच्चा जोगाउन शल्यक्रियाको विकल्प थिएन । त्यसैले चिकित्सकको सल्लाहमा हतार हतार शल्यक्रिया गरेर छोरा पाए । छोराको आगमनले केही खुसी भए । तर यो खुसी धेरैबेर टिक्न सकेन । नौ महिनाको खुसी दुई दिनमा सकियो । दोस्रो दिन छोरा गुमाउनु पर्यो ।
सङ्गिताको रक्तचाप कम भयो, सुगर नियन्त्रणमा आयो तर घाउ पाक्न थाल्यो । शल्यक्रिया गरेको घाउ भरिन करिब एक महिना अस्पताल बस्नु पर्यो । शरीरिक घाउ भरिए पनि मनको घाउ भरिएन । सारा खुसी अनि सन्तानका चाहनालाई अस्पतालमा नै छाडेर मधुमेहका रोगी भएर घर फर्किनु पर्यो ।
समयले बिस्तारै सबै घाउ पुर्दै लग्यो । पीडा बिर्सिँदै गए । अनि फेरि सङ्गितालाई सन्तानको रहर पलाउँदै गयो । वरिपरि सबैको दुई सन्तान हेर्दा कताकता डाह हुने गरेको थियो । कताकता गर्भ रहे हुन्थ्यो नि जस्तो लाग्न थाल्यो ।
दैवको लीला नि अपरम्पार छ । दुई वर्ष पनि नबित्दै सङ्गिताको अर्को गर्भ रहयो । बच्चा पाउने चाहना त थियो तर ….. । फेरि रगतमा ग्लुकोजको मात्रा धेरै अर्थात् मधुमेहको रोग देखा पर्यो । यिनै कारणले हरेक दिनको कचकच भइरहन्थ्यो ।
००
जोईपोइबीचको तनावको कारक थियो, सङ्गिताको तेस्रो गर्भ । हरेक दिन कुनै न कुनै बहानामा कलह हुन थाल्यो । आफ्नो शारीरिक अवस्था र जटिलताका अगाडि रहर पालेर मात्रै के गर्नु ? आखिर मनोजको चिन्ता उनकै स्वास्थ्यका लागि थियो । त्यो कुरा उनले पछि बझिन् । त्यसैले गर्भलाई अन्त्य गर्नु नै उनले उपयुक्त ठानिन् ।
गर्भपतनका लागि करिब सात महिना अगाडि इटहरीको एक अस्पतालमा सङ्गिता आएको मैले बिर्सेको थिइनँ । उनको भेटको उद्देश्य सुरक्षित गर्भपतन सेवा नै थियो । तर त्यो उनको चाहना थिएन । अघिल्लो गर्भ, शल्यक्रिया र अहिलेको मधुमेहले निम्त्याउन सक्ने जटिलता नै गर्भपतनका कारण थिए । चिकित्सकको काम निर्णय गर्ने पक्कै होइन । मेरो काम त उनले गरेको निर्णय अनुसार सेवा दिने मात्रै हो भन्ने मैले बुझेको थिए । तर त्यसो गर्न सकिनँ । मैले उनका सबै कुरा सुनेँ । उनका चाहना बुझेँ अनि जटिलता पनि देखेँ । मेरो मनले भन्दै थियो “आमा बन्न चाहने महिलाको गर्भको निरन्तरा दिन सक्दैन भने के को अध्ययन, के को विज्ञता ?” तर फेरि दिमागले भन्दै थियो “जटिलता देख्दा देख्दै, एउटा गर्भका लागि तीस वर्षीया महिलाको ज्यान जोखिममा राख्ने ? मधुमेह छ, उच्चरक्तचाप समस्या छ, शल्यक्रिया भएको दुई वर्ष पनि राम्ररी पुगेको थिएन अनि घाउ पाकेर एक एक महिना अस्पताल बस्नु परेको मेडिकल इतिहास छ ।”
मैले उनको चाहनालाई महत्त्व दिएँ । गर्भमा आएदेखि नै मैले मानव जीवनका लागि, उनको स्वास्थ्यका लागि मेरो विज्ञता प्रयोग गर्ने जिम्मेवारीलाई आत्मसाथ गर्दै आएको छु । करिब सात महिना निकै चुनौतीपुर्ण थियो । सङ्गिताले निकै धैर्य, मेहनतका साथ नियमित परीक्षणमा रहिन् । बच्चा राम्रो नहुने हो कि भन्ने डर पालेर, बिहान–बेलुका इन्सिुलिन सुई लिएर सात महिनासम्म मेरो विश्वासमा धैर्य देखाउनु सजिलो काम थिएन । यसलाई सजिलो बनाएको थियो मातृत्वको कल्पनाले अनि सकारात्मक सोचले । म स्वयंभित्र पनि जोखिमलाई ख्याल गर्दै गएँ । अन्ततः ३७ हप्ताको अवधिमा शल्यक्रिया गर्न सफल रहेँ । सङ्गिताले कल्पना गरेझैँ छोरा पाइन्, उनकी छोरीले माइती । दुधेबालक काखमा बोक्दै मनोजले भन्यो, “छोरीको माइती यही हो ?” शल्यक्रियाको पीडालाई समेत बिर्सिएर सङ्गिता मुस्कुराइन् । मैले उनको अनुहार उघ्रेको आकासजस्तै खुलेको, उज्यालो देखेँ । एउटा आमालाई संसार जितेको झैँ खुसी भएको देखेँ अनि आफैँ पनि सफल भएको महसूस गरेँ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।