डा.बालकृष्ण साह पेसाले प्रसुती तथा स्त्रीरोग विशेषज्ञ हुन् । उनले काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस गरी राष्ट्रिय चिकित्स अध्ययन प्रतिष्ठानबाट गाइनाकोलोजीमा डिजिओ (DGO- Post Graduate Diploma in Gynecology) गरेका छन् । २०६५ सालमा मेडिकल सेवामा अभ्यास गर्न थालेका साहले २०७१ सालदेखि विशेषज्ञका रूपमा सेवारत छन् ।
उनी उनको चिकित्सकीय पेसामा समर्पित रहुन् । उनको मुख्य पेसा स्त्रीरोग तथा प्रजनन विशेषज्ञमा दक्ष रहुन्, सेवा र पेसालाई समभावमा राखी समर्पित भई कर्म गरुन् । यही शुभकामना छ उनलाई ।
यो थियो डा.साहको पेसागत परिचय ।
पेसाको अतिरिक्त उनी साहित्यमा रुचि राख्छन् । साहित्यको उनको जीवनको अर्को पाटो हो । डा.बालकृष्ण उनको मुख्य पेसामा जति दक्ष छन्, त्यति नै दखल साहित्यमा राख्छन् भन्ने दाबी गर्दिन म । तर पेसागत धर्मिताको बाबजुद चिकित्सकीय पेसासँग सम्बन्धित विविध विषयमा जनचेतनामूलक आलेख, कथा, निबन्ध आदिका माध्यमबाट साहित्य सिर्जना गर्दै मेडिकल औजार चलाउने आफ्ना हातहरूलाई कापी र कलम पनि थमाई थप जिम्मेवारी दिएका छन् ।
पेसामा रहँदा गर्भवती महिलाहरूको पेटबाट सन्तान जन्माउन सहयोगी भूमिका खेल्ने डा.साहले पनि एउटा कथासङ्ग्रह ‘गर्भको गर्व’लाई जन्माएका छन् ।
अब आऊँ उनको हालै प्रकाशित कथासङ्ग्रह “गर्भको गर्व”का बारेमा चर्चा गरौं । साहित्यपोस्ट प्रकाशन रहेको गर्भको गर्वमा जम्मा ९ वटा कथाहरू समेटिएका छन् । एउटा चिकित्सकको कलमले के लेख्यो होला ? सोझो प्रश्नको सोझै उत्तर पनि छ, स्वास्थ्य शिक्षाका सामान्य तथा जटिल समस्याका बारेमा नै हुनुपर्छ । हो, यस्तै विषयहरूले भरिएको डालो हो गर्भको गर्व । अझ विषयगत भएर भन्ने हो भने लेखक प्रसूति तथा स्त्रीरोग विशेषज्ञ भएको र हाल पनि अस्पतालमा अभ्यासरत भएकोले स्त्रीहरूका विभिन्न सामाजिक, पारिवारिक, स्वास्थ्य, गर्भ र प्रसूतिसँग सम्बन्धित सामान्य र जटिल समस्याहरूको जानकारी दिने र कथाको माध्यमले तिनको निराकरण दिन खोज्ने कृति हो ‘गर्भको गर्व’ ।
गर्भको गर्वमा समेटिएका सबै कथाहरू स्त्रीसँग सम्बन्धित रहेका छन् । स्त्रीका प्राकृतिक समस्या र विवाहपश्चात् आइपर्ने गर्भसँग गाँसिएका एक एक विषयहरूलाई कथा बनाउन खोजेका छन् लेखकले । डा.बालकृष्ण साह स्त्रीहरूका समस्या खुट्याउन र तिनको तार्किक निष्कर्ष दिन सक्षम छन् तर तिनलाई कथात्मकता दिन सम्पूर्ण रूपले सक्षम छन् भन्न सकिँदैन ।
डा.साह चिकित्सकको रूपमा चिरफार गर्दा बिरामीको भुँडी चिर्न जति कलात्मक तरिकाले कैँची चलाउँछन् र काम सकेपछि ठिकठिक ठाउँमा टाँका लगाई चिरिएको भाग सिलाउँछन्, त्यति नै कलात्मक तरिकाले उनको हातको कलम चल्नुपर्छ भन्ने छ ? अवश्य छैन । भन्नुको अर्थ के हो भने कैंचीमा उनी जति निपुण छन्, कलममा त्यति निपुण देखिँदैनन् ।
अर्को शब्दमा भन्ने हो भने मेडिकल पढ्दा उनी जुनबेला “रेसिडेन्ट” थिए जो अरुको निगरानीमा अभ्यासरत थिए, आज साहित्यमा र लेखनकलामा उनी सिकारु नै देखिन्छन् । कोही मानिस सुरुमै पूर्ण हुँदैन भन्ने उक्ति नै छ र अभ्यासले उसलाई पूर्ण बनाउँछ । उनी पनि कलम चलाउँदै गएमा राम्रो लेखक बन्न सक्छन् भन्ने ‘गर्भको गर्व’ले उदाहरण पेस गर्न भने सफल भएको मान्नुपर्छ ।
अब ‘गर्भको गर्व’भित्र प्रवेश गरौं ।
सङ्ग्रहको पहिलो कथा हो– ‘छोरी किन भएछु ?’ । यो कथा छोरी मान्छेमा महिनावारीको पहिलो अनुभवका र यसका असरहरूको विषयमा केन्द्रित छ । विद्यालयमा हुँदा नै विनितालाई अचानक असाध्यै पेट दुखेको र खेल्नै नसक्ने अवस्थाभएपछि भुइँमा बस्छिन् र केही बगेको अनुभव गर्छिन् । के होला ? भनेर साथी अर्चनासँग शौचालय गएकी विनिता आफूलाई पहिलोपटक महिनावारी भएको थाहा पाउँछिन् र विनिताले आफ्नी साथी अर्चनाको सहयोगमा स्यानटरी प्याड जानी नजानी लगाउँछिन् । पहिलोपटक महिनावारी हुँदा कस्तो हुन्छ ? भन्ने विषयमा प्रजनन स्वास्थ्यबारे विद्यालयमै पढेकी र दिदी भाउजू तथा अन्य साथीहरूबाट पनि सुनेकी हुनाले महिनावारी एकदमै नौलो कुरा नलागे पनि त्यसको अनुभव भने उनलाई नौलो लाग्दछ ।
उनी घर पुगेर आमालाई आफू महिनावारी भएको विषयमा खुसुक्क सुनाउँछिन् । आमा “हँ !” भनी आश्चर्य मान्दै सामाजिक परम्पराका आधारमा अब उनले चार दिनसम्म भान्साघरमा प्रवेश गर्नु, खानेकुरा छुनु, पूजा गर्नु आदि हुँदैन भनेर प्रतिबन्ध लगाइन् । विनिताले आमालाई “किन ?” भनेर प्रश्न गर्दा आमाले पनि सबैले यसै गर्दछन् र यो परम्परा हो भनेर परम्पराकै विधान अगाडि सारिदिन्छिन् तर यसको खास कारण के हो ? भनेर जवाफ विनिताले पाउँदिनन् । विनिताको लागि अलग्गै कोठा बनाइन्छ, खाना पनि त्यहीँ नै अलग्गै खुवाइन्छ । सबै अलग अलग भए उनका लागि महिनावारीको समयमा ।
परदेश गएका उनका पिता त्यहीँ रात घरमा फर्किए । बाको काखमा लुटुपुटु गर्ने छोरी त्यस दिन बा घरमा आउँदा त्यसै गर्न चाहन्थिन् तर उनमा महिनावारीको विषयले बाको काख पनि छुटाइदिएको थियो । उनलाई अहिले नै गएर बुबाको काखमा बस्न र खेल्न रहर नलागेको होइन, तर महिनावारीले यो सबै कुरामाथि प्रतिबन्ध लगाइसकेको थियो । उनलाई रातभरि निद्रा परेन, छटपटाइरहिन् र यही छट्पटाहटमा उनले महिनावारीका बेला आफूमाथि लागेको प्रतिबन्ध एउटा विभेद हो भन्ने लागेर “किन छोरी मान्छे भएछु ?” भन्ने प्रश्न आफैंलाई गर्दछिन् । यतिमै कथा सकिन्छ ।
पहिलोपटक महिनावारी हुँदा मात्र होइन, महिलाहरू हरेक महिना महिनावारी हुँदा अलग्गै किन बस्नुपर्दछ भन्ने कुरामा सामाजिक वा परम्परामा यस्तै थियो भनेर होइन, यसको लागि स्वास्थ्यसँग जोडिएका कुरा पनि हरेक व्यक्तिलाई जानकारी हुन जरुरी छ । महिनावारी हुँदा प्रत्यक्ष रूपमा रगत रक्तश्राव हुने भएकोले महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन् । अर्को कुरा भान्सामा काम गर्दा, खानेकुरा बाँड्दा रगत झर्ने हुँदा त्यो सफाइसम्बन्धी कुरा पनि भएकोले अलग्ग बस्नुपर्दछ भन्ने ज्ञान दिएर महिलालाई त्यो समयमा आराम दिनुपर्छ भन्ने कारण बनाएर उनीहरूको स्वास्थ्यको ख्याल गरी केही दिन भनौं वा चार दिन नै आराम गर्न दिनु आवश्यक छ तर त्यस्तो अवस्थामा दैवी कारण देखाएर, देवता रिसाउने, अशुभ हुने जस्ता विभेदपूर्ण कार्य गर्नुहुँदैन भन्ने सन्देश यहाँ कथाकारले देखाउन खोजेका छन् ।
उसो त कथामा पहिलोपटक देखाइएको विभेदको अवस्था नेपालको पश्चिम भेगमा पाइने छाउपडी प्रथाको एउटा सानो अंश हो । छाउपडी प्रथामा घरबाट अलग्गै असुरक्षित, चिसो र अँध्यारो कोठामा राखिन्छ । ताजा, तातो र राम्रो स्वास्थ्यबर्धक खानेकुरा समेत खान नदिई कुनै ठूलो अपराध वा पाप गरे जस्तै दण्ड दिएसरह नै छाउगोठमा राख्ने विभेदपूर्ण घटनाका अगाडि सामान्य नै लाग्दछ । महिनावारी भएको बेलामा स्वास्थ्य कै हिसाबले पनि रक्तअल्पता नहोस् र कमजोर रहेको महिलाको शरीर पूर्ण स्वास्थ्य होस् भनी चार दिनसम्म छुट्टी दिनु चाहिँ जायज नै देखिन्छ ।
अब सबै अवस्थामा त्यस्तो सम्भव छैन भने स्यानटरी प्याड लगाएर सरसफाइमा ध्यान दिएर भान्सामा काम गर्न, पूजा पाठ गर्न प्रतिबन्ध लगाउनुपर्ने कारण चाहिँ देखिँदैन किनभने महिलाहरूको महिनावारी एक नियमित र प्राकृतिक प्रक्रिया हो । महिनावारी हुनु भनेको महिलाहरूले सन्तान उत्पादनका लागि पहिलो चरणको प्राकृतिक गुण हो जसमा महिलाको शरीरमा गर्भाधानका लागि अण्डाको उत्पादन हुन्छ । तसर्थ, यो कुनै अपराध वा पाप होइन, बरु यो महिलाहरूलाई सन्तानोत्पादनका लागि प्राप्त हुने प्राकृतिक वरदान हो ।
कथाभित्र कथाकारले महिनावारी हुदाँ भान्सामा काम गर्न हुन्छ, पूजापाठ गर्न हुन्छ भनेर बताएको नभए ता पनि कथाकारले कथाको अन्त भएपछि अर्को पृष्ठमा यस अवधिमा के गर्नुहुन्छ, के गर्नुहुँदैन भनेर चिकित्सकीय सुझाव दिएका छन् । कथामा भन्दा त्यो अंशमा महिनावारीको विषयमा बढी जानकारी पाइन्छ ।
सङ्ग्रहको दोस्रो कथा हो– ‘चेलीको पीडा’ । यस कथामा कथाकारले सुरक्षित गर्भपतनको विषयलाई कथात्मक रूप दिन प्रयास गरेका छन् ।
कथामा अमृताको प्रमुख भूमिका छ । उनलाई आफ्ना बाआमाले एस.इ.इ.पास गरेपछि कलेज पढ्न भनेर विराटनगरस्थित बहिनीज्वाइँ अर्थात् अमृताका फुपू फुपाजुको घरमा राख्छन् । कुरा उही त हो, विद्यार्थी जीवन । आर्थिक अभाव, डेराको बसाइ । आफ्नै नातेदारको घर भने पनि आफ्नै बाआमाको घर त होइन र हुँदैन पनि । डेरामा फुपूले अमृतालाईं विभिन्न तवरले मानसिक तनाव दिन थाल्छिन् । यता क्याम्पसको पढाइ, डेरामा फुपूको गनगन र उता घरमा बाआमाको चाहना । एउटा विद्यार्थीले आफू वरपरका सबै मानिसहरूको खुसी, चाहना र इच्छालाई कसरी सम्बोधन गर्न सक्छ ? आफैं कठिन परिस्थितिको भोटे साङ्लोमा बाँधिएको बेला ती सबैलाई सहजै फुकाउने कुनै जादुको छडी त हुँदैन । फुपूका घरमा अमृतालाई त्यस्तै हुन्छ ।
यस्तैमा, अमृताको तनावका बीचमा पनि उनीहरूको ५ जना साथीहरूको समूह थियो ३ जना केटी र २ जना केटाहरू । उनीहरू सबै सामूहिक पढाइका लागि भनी कमलको डेरामा भेला हुन थाल्छन् । यहाँ अमृताको जीवनको कथा मोडिन पुग्छ । अमृता र कमलका बीचमा मित्रता मात्र होइन, उनीहरू भावनाले पनि नजिकिन थाल्छन् । यो भावनाको नजिक्याइ यौनसम्बन्धमा समेत परिणत हुन जान्छ । परिणामस्वरूप अमृता गर्भवती हुन पुग्छिन् । साँप्रामाथि पिँडुलो भने जस्तो यस्सै त घरबाट टाढा बसेकी, त्यसमाथि फुपूको नकारात्मक हेराइ र हेपाइमा परेकी अमृतालाई आफ्नो पेटमा कमलको गर्भ रहेको कुराले अर्को बज्र प्रहार गर्दछ । यो कुरा अमृताले आफ्नो मासिक धर्म बन्द भएको कारणले थाहा पाउँछिन् । उनको सातो जान्छ, नैराश्यता छाउँछ । उनले कमललाई यो कुरा बताउँछिन् तर अमृताको कुरा सुनेपछि कमलले साथ दिनु त कता कता, बिस्तारै टाढिन थाल्छ । कमलकै साथ नपाएपछि अमृता फेरि एक्लो पर्दछिन् ।
समय अगाडि बढ्दैछ । अमृताको पेट बढेको कुरा अब फुपूसम्म आइपुग्छ । उनीहरूको घरमा अमृताको विषयलाई लिएर झगडा पस्न थालेको छ । फुपूको कटाक्षले अमृतालाई मर्न मन लाग्छ । कसलाई भन्ने ? के भन्ने ? बाआमालाई यो कुरा सुनाइसक्नु छैन । साथमा हुनुपर्ने फुपू आफ्नो पक्षमा छैनन् । यसको समान भागिदार कमल स्वयम् टाढा भइसकेको छ । यस्तो बेलामा मानिसले आत्महत्याको बाटो रोज्न पनि सक्छ तर जीवन आशाको किरण पनि हो । उनले सुनेकी थिइन्, डेराको छिमेक घरका दाइ एकदमै सहयोगी छन् । उनले तिनै छिमेकी दाइलाई आफ्नो समस्या बताइन् । नभन्दै उनले सहयोग गर्ने वचन दिए र भने, “मैले गर्भपात गर्ने ठाउँ चिनेको छु ।” अमृतालाई आशा पलायो तर पैसा पाँच हजार लाग्ने भयो । विद्यार्थी मान्छे, त्यतिका पैसा कहाँबाट ल्याउने ? चुनौतीमाथि चुनौती थपिँदै थिए ।
उनलाई छिमेकी दाइले उनले चिनेको भनेको ठाउँमा लगे तर त्यो ठाउँमा विशेषज्ञ कोही हुँदैनन् । बिना अनुमति उनीहरू अवैध रूपमा त्यस्तो गर्भपतन जस्तो संवेदनशील काम गरिरहेका हुन्छन् । अमृताको अवस्था गम्भीर हुन्छ । गर्भपतन गराउँदा रगतको खोला बगेर मरणासन्न भएपछि उनीहरूले अमृतालाई तुरुन्तै अस्पताल लगे । अन्तमा, अस्पतालमा पुगेपछि विशेषज्ञले अमृताको सुरक्षित गर्भपात गराउँछन् र अमृताको जीवन बाँच्दछ ।
असुरक्षित गर्भपतनको प्रयासले अमृताको जीवनले झण्डै मृत्युवरण गर्नुपरेको थियो ।
संयोग पनि कस्तो भने त्यसबेला अमृताकी फुपू पनि आइपुग्छिन् र आफूले अमृतामाथि गरेको गलत व्यवहारको पश्चाताप् गछिन् । कमल पनि अस्पतालमा आइपुग्छन् । कमलले सहज र सहर्ष रूपमा आफूले अमृतामाथि गरेको अन्यायप्रति माफी माग्दै अमृतालाई स्वीकार गर्दछन् । सबै जनाको अनुहारमा मुस्कान देखा पर्दछ । यसरी खुसियालीमा सकिएको यो एक संयोगान्त कथा हो ।
कथासङ्ग्रहको तेस्रो कथा हो– ‘प्रीतिको जीत’ । यो कथाकी मुख्य पात्र हुन् प्रीति । १८ वर्षकै उमेरमा नेपालबाट भारत बिहे गर्न पुगेकी प्रीतिको परिवारमा राम्रै थियो तर समय बित्दै जाँदा एउटा समस्या उत्पन्न भयो, उनी तौलमा बढी भएकीले बच्चा हुन कठिनाइ भएको थियो । गर्भ नरहन सक्ने सम्भावनाका विपरीत उनी गर्भवती भइन् तर त्यो गर्भ २ महिना पनि टिकेन । गर्भपतन भयो । जसै उनको गर्भपतन भयो, परिवारमा उनीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो । उनले धेरैपटक नमिठा वचनहरू परिवारका सदस्यबाट सुन्न बाध्य भइन् त्यसपछि । उनी सन्तान उत्पादनका लागि अक्षम जस्तो आरोप पनि लाग्न थालेको थियो ।
पहिलो गर्भ बिग्रिएपछि दोस्रो गर्भ हुन सक्दैन भन्ने एउटा भ्रमले अब उनीहरूको परिवारमा चिन्ता पस्यो । घरभित्र जे पसे पनि प्रीतिको गर्भमा दोस्रो भ्रुण विकसित भएको थाहा पाएपछि प्रीतिको मानसम्मान फेरि फर्कन थाल्यो तर स्वास्थ्यमा जटिलता आउन सक्छ भन्ने शंका भन्ने उनीहरूमा जीवितै थियो ।
चिकित्सकको जाँचबाट यो थाहा भयो कि उनको पेटमा जुम्ल्याहा बच्चा हुन्छन् । यो खुुसीको कुरा थियो भने दुःखको कुरा पनि थियो । त्यो के हो भने, त्यसमा एउटा बच्चामा “सिस्टिक ह्याग्रोमा” देखियो । सिस्टिक ह्याग्रोमा भनेको भ्रुणको बच्चाको घाटीको एक धमनी च्यापिएर भ्रुणको मृत्यु भएको अवस्था हो । अझ खतराको कुरा त के थियो भने चिकित्सकको भनाइअनुसार यस्तोमा एउटा भ्रुणलाई नझिके त्यो इन्फेक्सन भएर झन् खतरा हुने तर त्यसलाई झिक्दा अर्को बच्चा पनि झिक्नुपर्ने अथवा बचाउन कठिन हुन्छ ।
तर जे भए पनि चिकित्सकले अर्को बच्चालाई बचाउने हेतुले मृत भ्रुणलाई पेटमै राखेर प्रीतिलाई अत्यन्तै निगरानीमा राखी उपचार गर्दछन् । अन्तमा, समय आएपछि एक बच्चा कम तौलको भए पनि चिरफारको मद्दतले बाहिर निकालिन्छ । यो पनि एउटा सुखान्त कथा हो ।
यस कथामा सिस्टिक ह्याग्रोमा भएको अवस्थामा बच्चालाई कठिन हुने कुरा त बुझियो तर कथाकारले जम्ल्याहा बच्चा भएकोमा एकलाई सिस्टिक ह्याग्रोमा भएमा अर्को बच्चालाई निश्चित रूपमा बचाउन सकिन्छ भन्न सकेको देखिँदैन र त्यति लामो समयसम्म मृत बच्चा कसरी पेटमा राखिएको भन्ने कुराको स्पष्ट जवाफ कथाका चिकित्सक पात्रलाई भन्न लगाएको देखिँदैन । तसर्थ, सिस्टिक ह्याग्रोमा कतिको गम्भीर कुरा हो भनेर पाठकहरूलाई कथाभित्रैबाट बुझाउन नसकेको देखिन्छ ।
कथाको अन्तमा प्रीतिको जुम्ल्याहा बच्चामध्ये एउटा नबचे पनि अर्कोलाई चिकित्सकले शल्यक्रिया गरी निकालिदिएको र प्राप्त खुसीको वर्णन छ । खुसीको वर्णन गर्दा कथाकारले खुसीको वर्णन गर्न “ग्रहणपछिको पूर्णिमा जस्तो, पानी परेपछि आकाश खुलेजस्तो, बिहानीको किरण परेपछि हिमाल हाँसेजस्तो” भनेर खुसीको बिम्ब प्रयोग गरेका छन् । यो राम्रो छ ।
सङ्ग्रहको चौथो कथा हो– ‘रगतको जात’ । यसमा कथाकारले स्त्रीहरूको गर्भावस्थामा हुन सक्ने “इक्टोपिक रप्चर”को गम्भीर अवस्थालाई कथा बनाएका छन् ।
इक्टोपिक रप्चर महिलाहरूको पाठेघरमा भ्रुणको विकास हुनुपर्ने तर त्यसो नभएर अण्डबाहिनी नली वा अण्डाशयमा भ्रुण विकास हुने प्रक्रिया हो । सुनसरीकी सावित्री मगरको इक्टोपिक रप्चर भएकी बिरामी हुन् । यो स्त्रीरोग विशेषज्ञहरूका लागि पनि निकै चुनौतीपूर्ण अवस्था हो । यस्तो अवस्थामा जतिसक्दो चाँडो अपरेशन गरी त्यो भ्रुणलाई निकाल्नुपर्ने हुन्छ, नत्र अण्डाशय फुटेर बिरामीको मृत्यु हुन सक्छ । सावित्री मगरको यही विषयलाई कथा बनाएका छन् कथाकारले । यस्तो अवस्थामा जोखिम न्यूनीकरणका लागि सर्वप्रथम रगतको जोहो तत्काल गर्नुपर्छ ।
यो समय छ कोरानाकालमा लकडाउनको अवस्थामा । जुन अस्पतालमा सावित्री छिन्, त्यहाँ ब्लड बैंक नभएकोले जतिसक्दो चाँडो बिरामीसँग मिल्ने रगतको चाँजोपाँजो गर्नुपर्ने वा बिरामीलाई नै स्थानान्तरण गर्नुपर्ने दुवै कठिन बिकल्पमा बिरामीलाई स्थानान्तरण गर्दा समयको अनावश्यक खर्च हुने भएकोले बरु रगत खोजेर भए पनि उपचार गर्ने विकल्पमा काम गर्न थाल्छन् । यसमा बरु चिकित्सकले नै अग्रणी भूमिका खेल्दछन् । लकडाउनको समय छ । अचानक चिकित्सकको दिमागमा अस्पतालका एक कर्मचारी आनन्द मण्डलको सम्झना हुन्छ जसको रगत समूह “ए” पोजेटिभ सावित्री मगरको रगतसँग मिल्थ्यो ।
चिकित्सकको अनुरोधमा आनन्द मण्डल रगत दिन तयार हुन्छन् । भिन्नै भूगोलमा जन्मिएका, अलग समूदायका, अलग जात र वर्ण पनि नमिल्ने आनन्द मण्डलको रगतको सहायतामा सावित्री मगरको अपरेशन सफलतापूर्वक सम्पन्न हुन्छ । कथाकारले यहाँ सन्देश दिन खोजेको कुरा के हो भने मानिस अनेक अनेक विशेषतामा विभाजित छन् तर जुनजुन विशेषताहरूमा मानिस विभाजित भएका भए पनि यसको विपरीत सबै मानिसहरूमा एउटा कुरा साझा हुन्छ त्यो हो रगत । यसरी मानिसहरू रगतको नातामा पनि रहेका हुन्छन्, यो मानवताको नाता हो भन्दै कथा सकिन्छ ।
यस कथाको माध्यमले म स्वयम् पनि इक्टोपिक रप्चर जस्तो जटिल समस्याको बारेमा अवगत भएको छु । यसको अर्थ सबै पाठकले प्राप्त गरे । तसर्थ, आम मानिसहरूले महिलाको प्रजनन स्वास्थ्यको ध्यान दिँदा नियमित रूपमा चिकित्सकको सल्लाह र निगरानीमा रहनुपर्छ । नत्र सावित्रीको जस्तो जटिलता आउन सक्ने र समयमा यसको निराकरण भएन भने गर्भवती महिलाको प्राण जान पनि सक्ने रहेछ । सबैको ध्यान जाओस् । यो कथा पनि संयोगान्त कथा नै हो ।
सङ्ग्रहको पाँचौ कथा हो– ‘छोरीको माइत’ । यो कथामा हाम्रो समाजमा अहिले पनि छोरीको भन्दा छोराको पारिवारिक र सामाजिक मूल्य बढी छ भन्ने पुरातन सोचको अस्तित्व कायम रहेको तथ्य देखाउन खोजिएका छ । कुनै दम्पत्तिको सुरुमा छोरीको जन्म भयो भने उनीहरू दोस्रो सन्तान छोरा प्राप्त गर्नका लागि गर्भाधानको योजना बनाउँछन् ।
दोस्रो सन्तान पनि छोरी नै भयो फेरि तेस्रो सन्तान छोराको इच्छाका लागि योजना बनाउँछन् । स्वयम् महिलाहरू नै छोराको चाहनामा आफ्नै जीवनको जोखिम उठाउन तयार हुन्छन् । कथाको सार यही हो । यस कथामा गर्भावस्थामा महिलामा हुन सक्ने “जेस्टेसनल डायाबेटिज” र “उच्च रक्तचाप” सम्बन्धी विषयलाई पनि प्रवेश गराइएको छ । जेस्टेसनल डायाबेटिज महिलाहरूको गर्भ रहेको अवस्थामा रगतमा चिनीको मात्रा उच्च हुन सक्ने एउटा जटिल समस्या हो ।
कथामा संगीताले पहिलो सन्तानका रूपमा छोरी भए पनि पुनः छोरो पाउने चाहनामा आफनै नन्दको बच्चा भएको … भनेर आफ्नो लोग्ने मनोजसँग व्यङ्ग्यात्मक रूपमा प्रस्तुत हुन्छिन् । उनको चाहना छ मनोज पनि यसका लागि तयार होउन् तर संगीताको जेस्टेसनल डायाबेटिजको समस्या भएकोले मनोज भने तयार देखिँदैनन् ।
तै पनि यहाँ संगीताको जिद्दीको जीत हुन्छ । दोस्रो बच्चाका लागि गर्भ रहँदा संगीताको रगतमा ग्लुकोजको मात्रा बढेको, रक्तचाप बढको र पेटमा भएको बच्चाको हृदयगति पनि बढी थियो । यो समस्याले गर्दा अन्तमा, उनीहरूले अपरेसन गराई बच्चा बाहिर निकाल्छन् । रहरअनुसार छोरा नै जन्मन्छ । दुःखको कुरा दुई दिनपछि नवजात शिशुको मृत्यु हुन्छ ।
उनीहरूलाई थाहा छ यो समस्या भनेको गर्भावस्थामा संगीतमा देखा पर्ने स्वास्थ्य समस्या नै हो । तर पनि संगीतालाई छोरा नै पाउनुपर्ने ध्यानले छोड्दैन । संगीताको तेस्रो गर्भ रहन्छ । दोस्रो बच्चाको पालामा अपरेसन गरेको दुई वर्ष पनि भएको छैन, डायाबिटिजको समस्या र उच्च रक्तचापको समस्या छ । संगीताको भ्रुण जोगाउने र सुरक्षित बच्चा जन्माउने कुरामा झन् झन् जटिलताहरू थपिँदै छन् । गर्भधारणको अवधिभरि चिकित्सकको निगरानीमा रही इन्सुलिन लिने र रगतमा चिनीको मात्रा घटाउने कामले प्राथमिकता पाएको छ । त्यसमाथि दुई वर्षको अन्तरमा फेरि पेट चिनुपर्ने बाध्यताका बीचमा पनि डाक्टरले अन्तमा गर्भको समय पुगेपछि सफल रूपमा अपरेशनबाट बच्चा बाहिर निकाल्दछन् ।
जेस्टेसनल डायाबेटिज, उच्च रक्तचाप भएका महिलाहरूमा एक त गर्भको रहेको बच्चालाई सुरक्षित अवतरण गराउनु जटिल कुरा हो । स्वास्थ्यको जटिलतालाई नजरअन्दाज गर्दा महिलाको ज्यान जान सक्छ । यस कथामा चिकित्सकले सफल रूपमा स्वास्थ्य बच्चा बाहिर निकाले पनि देशका सबै ठाउँमा डाक्टर र लेबर रुम उपलब्ध हुँदैनन् र वर्षेनी यस्तो समस्याबाट गर्भवती महिलाहरूको मृत्यु भएका घटनालाई देखाएर उच्च सतर्कता अपनाउनुपर्ने कथाकारले कथाका माध्यमले बुझाउन खोजेका छन् । यो पनि एक सुखान्त कथा हो ।
सङ्ग्रहको छैटौं कथा रहेको छ– ‘त्यो लडाइँ’ । यस कथामा कथाकारले बच्चाको जन्मान्तरको विषयमा छनोट गरेका छन् । विवाहित अञ्जलीले विवाह गरेको दुई महिनाभित्रै गर्भाधान गरेको कुरा मासिक श्राव रोकिएको आधारमा थाहा पाइन् । यो स्वाभाविकै हो । पछि गर्भको समय पूरा भएपछि प्रजनन क्रिया सहज नहुने ठानी अनिवार्य अस्पताल लानुपर्ने अवस्था आयो । अस्पताल लगे पनि । अस्पतालमा उनको स्वास्थ्य अवस्थालाई हेरेर चिकित्सकले अपरेसनको प्रक्रियाद्वारा प्रजनन प्रक्रिया पूरा गरे । अञ्जली छोरी पाएर घर फर्किन् ।
अपरेसन गरेको हुनाले उनले अनिवार्य अपरेसन गरेको कारणले त्यसको निश्चित् मापदण्ड पूरा गर्नुपर्थ्यो । एक निश्चित समयसम्म शारीरिक सम्पर्क गर्न नहुनेथियो । अपरेसनको घाउ सही तरिकाले निको हुन कति समय लाग्थ्यो भन्ने कुरामा अनिवार्य ध्यान दिनुपर्थ्यो । अर्कोतिर, एउटा बच्चा जन्माएपछि अर्को बच्चा जन्माउन मिल्ने सुरक्षित समय कति हो भन्ने कुरामा ध्यान दिनुपर्थ्यो । एउटा बच्चापछि अर्को बच्चाको जन्मान्तर कति हुनुपर्छ भन्ने कुरा चिकित्सकहरूले नै पनि जानकारी दिएका हुन्छन्, त्यो कुरामा ध्यान दिनुपर्थ्यो । साथै स्वास्थ्य कार्यकर्ता आदिबाट पनि यी र यस्ता जानकारी पाउन सकिने कुरा हुन् ।
तथापि अञ्जली र उनका श्रीमानले यस्ता कुरामा ध्यान पुर्याएको देखिएन । फलतः पहिलो बच्चा जन्म भएको सात महिनामा अञ्जली पुनः गर्भवती हुन्छिन् । जन्मान्तरको समय एकदमै थोरै भएको र पहिलो सन्तान पनि अपरेसन गरेर जन्मिएकोले उनको गर्भमा जटिलता सुरु हुन्छ । डाक्टरको सल्लाहअनुसार भिडियो एक्स रे गरेर हेर्दा अञ्जलीको गर्भाशय फुटेको थाहा हुन्छ । पाठेघर नै फुटेपछि त्यो गर्भको शिशु पनि पाठेघरभन्दा बाहिर अवस्थित रहेको देखियो ।
स्थानीय अस्पतालमा त्यसको उपचार हुन नसकेपछि बिराटनगर लगिन्छ अञ्जलीलाई । अञ्जलीको पुनः जोखिमपूर्ण अपरेसन हुन्छ । अन्तमा, चिकित्सकको अथक प्रयासपछि खुसी र दुःखी दुवै नतिजा आउँछ । खुसीको कुरा अञ्जलीको अपरेसन एकदमै सफल हुन्छ । दुःखको कुरा उनको गर्भको बच्चालाई चिकित्सकले जोगाउन सक्दैनन् ।
यो भनेको जन्मान्तरको समयलाई ख्याल नपुर्याउँदा भोग्नुपरेको दुःखद परिणाम हो । यसकारण हरेक विवाहित दम्पत्तिहरूले सन्तान प्राप्तिको योजना बनाउँदा जन्मान्तरको समयलाई चिकित्सकको सल्लाहअनुसार अनुशरण गर्नुपर्दछ वा कम्तीमा पनि पाँच वर्षको अन्तरमा मात्र अर्को बच्चा जन्माउने योजना बनाउनुपर्छ । नत्र मातृशिशु दुवैको जीवन जोखिममा पर्न सक्छ भन्ने मूल सन्देश कथाकारले यस कथामा दिन खोजेका छन् । कथान्त सुख र दुःखको मिश्रणमा बुनिएको छ ।
यस सङ्ग्रहमा अरु थप तीनवटा कथाहरू छन् । तिनीहरूलाई यहाँ समाविष्ट गर्न सम्भव भएन । पाठकहरूलाई पुस्तक किनेर नै पढ्न सिफारिस गरें ।
० ० ० ०
अन्तमा,
हाम्रो साहित्यमा साहित्यिक विविधता आउने क्रम जारी छ । साहित्यहरू मानवसापेक्ष हुनुपर्छ । मानिस पहिलो प्राथमिकतामा हुनुपर्छ भन्ने मान्यतामा पनि धेरै लेखकहरूले कलम चलाएका छन् । यो एउटा अवधारणा हो । मानिससापेक्ष साहित्य लेखौं, लेखिनुपर्छ भनेर भनिरहँदा मानिस इतर पनि मानव समाजलाई प्रत्यक्ष परोक्ष प्रभाव पार्ने धेरै विषयहरू छन् । पञ्चमहाभूत तत्व पृथ्वी, जल, वायु, अग्नि र आकाशले पनि मानिसलाई प्रभाव पारेको हुन्छ भने तिनीहरूको पनि साहित्य लेखिनुपर्छ ।
उसो त मानव समाजभित्र पनि सामाजिक, धार्मिक, आर्थिक, राजनीतिक, शैक्षिक प्रभावका अतिरिक्त पेसासँग अन्य थुप्रै विषय छन् । पत्रकारिता साहित्य पनि लेखिनुपर्छ । इन्जिनियरिङ् साहित्य, मोटरगाडी साहित्य, हवाई उडान साहित्य, खगोलीय साहित्य, भौगर्भिक साहित्य गर्दै मेडिकल साहित्य पनि लेखिनुपर्छ । बजारमा हालै प्रकाशित आधुनिक विज्ञानको नवीनतम अन्वेषण “क्वान्टम सिद्धान्त” प्रा.डा.शोभाकान्त लामिछानेद्वारा लिखित पुस्तक पनि आएको छ । यसरी विविध विषयमा लेखिने साहित्यिक उपक्रमहरूको सूचीमा डा.बालकृष्ण साहले लेखेको चिकित्सकीय साहित्य “गर्भको गर्व” पनि एउटा उदाहरण बनेको छ ।
यो पङ्क्ति लेखिरहँदा यसभन्दा अगाडि वा यही समयमा अरुले चिकित्सकीय विज्ञानलाई आधार बनाएर के कति पुस्तकहरू साहित्यिक क्षेत्रमा आएका छन्, मलाई जानकारी छैन । यसको अतिरिक्त यदि अर्को छैन भने मेडिकल साइन्सलाई आधार बनाएर समाजमा प्रसूति तथा स्त्रीरोगसँग सम्बन्धित साहित्य यो नै पहिलो हो । यसका लागि म कथाकार डा.बालकृष्ण साहलाई धन्यवाद दिन चाहन्छु ।
यति भनिसकेपछि भन्नैपर्ने अर्को कुरा के हो भने यस कथा सङ्ग्रहमा भएका सबै कथाहरू ठ्याक्कै कथाकै कोटीमा छैनन् । उसो त प्रकाशक साहित्यपोस्टले यस कृतिलाई “सिर्जनात्मक गैह्र आख्यान” भनेको रहेछ । पुस्तक पढिसकेपछि किन त्यसो भनिएको रहेछ भन्ने कुराको मलाई पनि बोध भएको छ । केही कथाहरूलाई छोड्दा केही निबन्धात्मक कथा लाग्छन् भने केही चाहिँ विशुद्ध संस्मरण जस्ता छन् । सङ्ग्रहित “कथा”हरू भाषा र शिल्पका दृष्टिले मध्यम स्तरका छन् ।
कथा पढ्दा कथामा पाठकले दैनिक जीवन भोग्दै आएका र पत्रपत्रिका माध्यमले थाहा पाउँदै आएका विषय जस्तै गर्भावस्थामा गर्भवती स्त्रीले ध्यान दिनुपर्ने कुरा, डाक्टरसँग नियमित चेकजाँच नगराउँदा आउन सक्ने जटिलता, खानपान, पारिवारिक स्नेह वा तनाव आदिको व्यवस्थापन, उच्च रक्तचाप, मधुमेय हुने महिलाहरूले अपनाउनपर्ने सावधानी, चिरफार गर्नुपर्ने कारण, मातृशिशु मृत्युदर, प्रजनन स्वास्थ्य आदिका विषयहरू नै पढ्नेछन् । कथामा कथाको बहाव सरल रेखामा बगेको पाइन्छ ।
गर्भको गर्वमा प्रत्येक कथाको अन्तमा, महिलाले गर्भावस्थामा जुन समस्या भोग्न सक्छन्, त्यसलाई एउटा स्त्रीरोग विशेषज्ञको हैसियतले छुट्टै वर्णन गरेका छन् । त्यो कथाको पाटो पनि होइन तर कथा लेखनमा कथानक बनाउन नसकिने विषयलाई ‘मेडिकल जर्नल’को रूपमा उल्लेख गरेका छन् । यो सङ्ग्रहमा हरेक कथापछि कथामा उठान गरिएको विषयहरूको छुट्टै चिकित्सकीय वर्णन छ । त्यहाँ वास्तवमै प्रसूतिसँग सम्बन्धित विषयहरू र तिनको समाधान पनि दिएको छ । तसर्थ, त्यो पनि कथासँगै नछुटाई पढ्नै पर्ने अनिवार्य विषय जस्तै हो भन्ने मैले ठानेको छु ।
अन्तमा, चिकित्सा क्षेत्रका एक जना दक्ष चिकित्सकको लेखनमा सिकारु हातले लेखिएको कथासङ्ग्रह बजारमा आएको छ । यसले केही प्रजनन स्वास्थ्यसँग सम्बन्धित विषयहरूलाई समेटेको छ । यसले साहित्यपोस्टको निगरानीमा प्रकाशित हुने मौका पाएको छ, यो राम्रो भएको छ ।
पुस्तकको सफलता र आगामी दिनहरूमा डा.साहको कलम पनि उनले चलाउने “मेडिकल सिजर” जस्तै कलात्मक र पोख्त बनोस् । हार्दिक शुभकामना ।
भर्जिनिया, अमेरिका
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।