कति विरोधाभास । एकसाथ किताब पढ्नु र तीज गीत सुन्नु कसरी हुन्छ ? तर भइरहेको छ ।

“तीजको रहर आयो बरी लै…”

म जुन घरमा डेरा बस्छु, ती घरबेटीले मलाई पनि तीजको रमाइलोमा रम्न निम्तो दिनुभएको छ । खानपिन चलिरहेको छ । मैले उपस्थित हुने वचन दिएकी छु । तर मलाई  मेरो हातमा भएको पुस्तक, डा. बालकृष्ण साहको ‘गर्भको गर्व’ले छमछम नचाइरहेको छ ।  शब्दमा । भावनामा । एकोहोरो नाचिरहेको थिएँ म पनि साहको कथाहरूमा, कहिले गर्भको कुरामा रुँदै कहिले गर्वको मामिलामा हाँस्दै ।

“नानी… खाना पाक्यो है ! अब चाहिँ आउनुपर्‍यो ।” भनी ढोकाबाहिरबाट घरबेटी आमाको आवाजको सुनिन्छ ।

उहाँको आवाजले मेरो ध्यान एकछिन अलमलिन्छ । त्यही अलमलमै आउँछु भनेँ । तर पढाइको नृत्यलाई निरन्तरता दिइरहेँ । प्रेमपूर्वक बोलाइरहेको बेला उपस्थित नहुँदा मान खोजेजस्तो, अलि घमण्डी जस्तो मान्ने हो कि भन्ने डर त थियो नै । अर्को मनले पनि बहस गरिरहन्छ, आनन्दले तीजको बिदामा नाच्न नपाउनु ? सोच्छु, बिदाको दिन मात्र आफ्नो हुन्छ, नभए जति दौडधुप गरिन्छ हप्ताभरि, महिनाभरि, वर्षौंभरि सबै समाजको, परिवारको, कामको नाममा । यसरी आधा जति रहेको पुस्तकभित्र फेरि टहलिन पुग्छु ।

साहित्यपाेस्ट समूहबाट प्रकाशित पुस्तकमा जम्मा १ सय १९ पृष्ठ छन् । पुस्तक पढेर म माथिको नृत्य र खानपानमा झैँ रमाइरहेकी छु । पुस्तकमा सबैले देखिरहेको तर राम्रोसँग चाख्न नपाएका फलका स्वाद छन् ।  पुरुषहरूले भोग्न नसक्ने, महसुस गर्न नसक्ने तर महिलाले जानेर, बुझेर अनुभव गरिरहेका कुराहरू, पीडा र गर्वहरू यसमा छन् । र छन् डा. बालकृष्ण साह ।

साह एक प्रसूति तथा स्त्रीराेग विशेषज्ञ हुन् । उनले एक दशकभन्दा बढी समयदेखि नियमित रूपमा स्वास्थ्यसम्बन्धित लेखहरू लेखन तथा प्रकाशन गर्दै आएका छन् । उनकाे मातृत्वसम्बन्धी ‘आमा’ प्रकाशित भइसकेकाे छ । र, याे गैरआख्यान विधाकाे कृति हाे – ‘गर्भकाे गर्व’ ।

यसमा महिलाको गर्भको विषय या भनौँ स्वास्थ्यको वास्तविक कुरा बुझाउँदै त्यस सम्बन्धित कथा प्रस्तुत गर्दै पुस्तकलाई आकर्षक र सन्देशमूलक बनाइएको छ ।  कथामा रमाउँदै तथ्य बुझ्दै नजानिँदो तरिकाले पाठक पुस्तकको अन्त्यसम्म दौडिन्छन्, पक्का ।

पहिलो कथा ‘छोरी किन भएछु’मा ‘कति उमेरमा महिनावारी सुरु हुन्छ?’ देखि लिएर महिनावारी हुनुको प्रोसेसबारे स्पष्ट जानकारी पाइन्छ । तल्लो पेट दुख्ने समस्या देखाउँदै त्यसको समाधान पनि खुलाइएको छ । महिनावारी रोकिँदा प्रायः हामी आत्तिन्छौँ । आत्तिनुभन्दा पनि त्यसको कारण खोज्न चिकित्सकसँग परामर्श राख्नुपर्छ । हेलचक्र्याइँ नगरी परीक्षण गर्नुपर्छ भनी सुझाव पस्केका छन् साहले ।

गर्भपतन अपराध हो ? किन गर्भपतन रोज्ने गरेका हुन्छन् ? यसबारे हामीसँग उत्तर हुँदैन । कतिपय बाध्यताले गर्भपतन गर्नुपर्ने परिस्थिति बन्नसक्छ । गर्भपतनलाई कानुनी मान्यता दिइएको पनि छ । र गर्भपतनले अनेक खतरा पनि निम्त्याउन सक्छ । यो जान्न/बुझ्नका लागि यस पुस्तकभित्रको दोस्रो लेख ‘सुरक्षित गर्भपतन सेवा’ र ‘चेलीको कथा’ले यथार्थसहित सजग गराउँछ ।

‘प्रीतिको जित’ कथामा छ एक वाक्य – ‘मृत भ्रूण ननिकाले सङ्क्रमण हुने खतरा, निकाले अर्को सकुशल रहेको गर्भ खेर जाने खतरा ।’

सबै नारीको कोमल मनभित्र मातृत्व जाग्छ नै । तर गर्भ नरहँदाको दोषी भने महिला नै किन ? यसलाई लेखकले सधैँ महिलामा नै खराबी हुने हुँदैन भनी प्रीतिको जितलाई आफ्नै जित मानेका छन् ।

‘इक्टोपिक प्रिग्नेन्सी’ (जुन जाइगोट पाठेघरमा नटाँसिएर अन्य कुनै भागमा टाँसिएको गर्भको अवस्था) एक गम्भीर अवस्था हो । यो फुट्नुभन्दा अगाडि नै उपचार गर्नुपर्छ । जसरी डा. साहले आनन्द मण्डलको रगतबाट चार बच्चालाई अनाथ हुन नदिई  सावित्रीको ज्यान बचाए । यसको बारे बुझ्नु र जान्नु अति आवश्यक छ ।

नारीहरू आमा बन्नका लागि कति जोखिम लिन्छन् भन्ने उदाहरण हो ‘छोरीको माइती’ । जेस्टेसनल डायबेटिस्ले गाँजेकी गर्भवतीको कथा हो यो । मधुमेहले निम्त्याउन सक्ने जटिलता डाक्टरलाई थाहा हुँदाहुँदै पनि सम्झनाको चाहना (छोरीका लागि माइती जन्माउने) मा जिम्मेवारी आत्मसात् गर्दै चुनौतीपूर्ण कदम उठाए र सफल पनि भए । यसरी डाक्टर र सम्झनाको दम्पतीले संसार जितेको खुसी पाए । यसमा पनि मधुमेहले गर्भवतीलाई र गर्भको बच्चालाई के कस्तो असर गर्छ ? कसरी उपचार गर्नुपर्छ ? धेरै ग्लुकोज भएका खानेकुार खानु पर्छ । रगतमा ग्लुकोजको मात्रामा सन्तुलन ल्याउनका लागि हल्का व्यायाम नियमित गर्नुपर्छ जस्ता सुझावसहित कथालाई मीठो र सरल शैलीले पस्केका छन् साहले ।

‘जन्मान्तर’मा भने बच्चाको योजना कहिले बनाउने वा जन्मान्तर कति गर्ने भन्ने दम्पतीको सल्लाह हुनुपर्छ भन्ने सन्देश दिँदै ‘त्यो लडाइँ’मा मध्य तराईको ऐलानी जग्गाकी अञ्जली लडेकी छन् लेखकको सहयोगमा ।

‘मातृ-मृत्यु के हो ?’ याे पुस्तकभित्र यसकाे पनि उल्लेख गरिएकाे छ । उदाहरणका लागि, १ लाख बच्चा जन्मँदा इटली, नर्वे र पाेल्याण्डमा २ जना आमाकाे मृत्यु हुन्छ । हाम्राे देशमा भने १ लाख बच्चा जन्मँदा १ सय ५९ जना आमाकाे मृत्यु हुन्छ । तथ्याङ्कसहित यसलाई कम गर्न यसरी सुझाएका छन् लेखकले, “मातृमृन्यु कम गर्न राज्यले अस्पताल सञ्चालन गर्दैमा र सेवा विस्तार हुँदैमा कम हुन्छ भन्न सकिँदैन । यसका लागि गर्भकाे याेजना बनाउने, नियमित गर्भकाे परीक्षण गर्ने र समयमै जटितला पत्ता लगाउनु पर्छ । सबैभन्दा महत्तवपूर्ण पक्ष चाहिँ प्रशवकाे तयारी र प्रशवकाे समयमा अस्पताल पुग्न हुने ढिलाइलाई हटाउन सक्नुपर्छ ।” यससम्बन्धी ‘काेराेनाकाे फरक कथा’ले पाठकलाई भावुक बनाउँछ ।

आङ किन खस्छ ? आङ खसेपछि के के हुन्छ ? – दैनिक जीवन नै कष्टकर हुने गरी घाउ हुन्छ पाठेघरमा । कुन अवस्थामा शल्यक्रिया गर्नुपर्छ ? – शल्यक्रिया पेट चिरेर मात्र हैन योनिमार्गबाट पनि गरिन्छ भनी ‘युद्ध जितेको रात’ कथामा प्रस्तुत गरेका छन् । यस कथामा चिकित्सक लेखकका साथ ७ घण्टा लगाएर विराटनगरबाट भोजपुर लागेका स्वास्थ्यकर्मीहरूले गरेकाे सेवालाई तारिफ नगरी रहन सकिनँ । जुन आमाहरू १० औँ वर्षदेखि झुन्डिएर अप्ठ्यारो झेलिरहेका थिए उनीहरूको दुःखपीडालाई आफ्नै सम्झी चार दिन लगाएर झन्डै ३० जना आमाहरूको शल्यक्रिया गरेका र आङ खस्नुको जानकारी यसरी दिएका छन् ।

सातौँ कथा हो ‘बाध्यता’ र यसको तथ्याङ्क भने ‘गर्भ र प्रसवलाई कसरी व्यवस्थित गर्ने ?’मा केलाएका छन् । आमा र बच्चा दुवैको स्वास्थ्य, विकास राम्रो हुने र तनाव कम हुनका लागि यो अति नै आवश्यक विषय हो । गर्भ रहेदेखि बच्चा ६ महिनासम्मको यात्रामा कसरी सचेत हुनुपर्छ भन्ने लेखकले बताएका छन् ।

त्यतिले मात्र पुग्दैन, एउटा परिवार सुखी र स्वास्थ्य बन्नका लागि गर्भको योजना कहिले र कसरी बनाउने ? योजना बनाएपछि के गर्ने ? योजनाबिना नै गर्भ रहे के गर्ने ? गर्भलाई निरन्तरता दिने भएमा गर्भ परीक्षण कहिले गर्ने ? यस्ता महत्त्वपूर्ण र गम्भीर प्रश्नहरूको उत्तर हो यो पुस्तक ।

यस विषयमा अशिक्षा र अज्ञानको कारणले अनजानमा ज्यान घुमाउनेको सङ्ख्या कम छैन । यी कथाहरूका पात्र हाम्रै समाजबाट टपक्क टिपिएका छन् ।

पुस्तक पढिसक्दा फेरि घरबेटीकी सानी छोरी फेरि मलाई लिन आइन् । उनी हात समातेरै मलाई यो रमाइलोमा सामेल गराउन चाहन्थिन् । पाहुना जाँदा उपहार बोक्ने चलन छ । मैले उपहारका रूपमा यही पुस्तक बोकेँ ।

यसरी पाहुना जाँदा उपहारका रूपमा फलफूल, मिठाइ वा कुनै भौतिक उपहार लिएर जाने हाम्रो चलन छ । म भने गर्वका साथ आफूले पढेको पुस्तक उपहार लिएर जाँदै छु ।

माथि रहेका महिलाको भीडमध्ये कुनै पनि पनि महिलाले यो पुस्तक पढ्नु भए कुनै एक महिलाको ज्यान बाँच्ने थियो, योभन्दा ठूलो उपहार के हुनसक्छ ?

साँच्ची, उपहारमा पुस्तक दिने र त्यसलाई पढ्ने चलन किन व्यापक बनाउन नसकेको होला ? दोष अरूलाई दिने कि आफैँबाट सुरु गर्ने ?