
खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले २०८१ सालको पद्मश्री साहित्य पुरस्कार रमेश भुसालको संस्मरणात्मक कृति ‘छालबाटो’लाई प्रदान गर्ने भएको छ ।
भुसालले ४५ दिन लगाएर तीन देशको दुई हजार किलोमिटर लामो यात्रा गरेका छन्, त्यही यात्राका साहित्यिक रससहितको व्याख्या र विवेचना हो पुस्तक । पुस्तकमार्फत पाठकलाई कैलाश मानसरोवर हुँदै तिब्बतस्थित कर्नाली नदीको उद्गम हुँदै भारतको गङ्गासम्मको यात्रा गराएका छन् । पुस्तकमा लेखकका आँखाले देखेका र मनमा बसेका नदीको वर्णन गरिएको छ ।
भुसालले प्रतिष्ठित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बिबिसी, द गार्डियनलगायत नेपालका प्रमुख पत्रपत्रिकामा वातावरणीय विषयमा अनुसन्धानात्मक रिपोर्टिङ तथा विश्लेषण प्रकाशन गरेका छन् । वातावरण विज्ञानमा स्नातकोत्तर भुसाल वातावरण पत्रकारहरुको विश्वव्यापी सञ्जाल अर्थ जर्नलिज्म नेटवर्कका दक्षिण एसिया संयोजक एवम् अन्तर्राष्ट्रिय वातावरण अनलाइन डायलग अर्थका नेपाल सम्पादकसमेत हुन् ।
‘छालबाटो’का लागि भुसालले यसअघि साहित्यपोस्टले प्रदान गर्ने ५० हजार राशिको ‘साहित्यपोस्ट गैर-आख्यान पुरस्कार’ २०८१ प्राप्त गरिसक्नुभएको छ ।
त्यस्तै, यस वर्षको पद्मश्री साधना सम्मान नेपाली शिक्षा परिषद्की अध्यक्ष रमा शर्मालाई अर्पण गर्ने निर्णय गरिएको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले जानकारी दिनुभएको छ । शर्माले आफ्नो सम्पूर्ण जीवन भाषा, साहित्य, संस्कृति र कलाको उन्नयनमा समर्पित गरेको प्रतिष्ठानले बताएको छ ।
शर्माका अन्वेषण, समालोचना, जीवनी, निबन्ध, भाषा, बालसाहित्य लगायतका करिब दुई दर्जन पुस्तकहरू प्रकाशित छन्।
त्यसैगरी, समाजका विविध क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएबापत प्रदान गरिने ‘पद्मश्री गौरव पुरस्कार’ प्रा.डा. अभिनारायण सुवेदीलाई प्रदान गर्ने निर्णय गरिएको छ ।
नेपाली र अंग्रेजी दुवै भाषामा कलम चलाउने निबन्धकार, समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि प्रा.डा. अभि सुवेदीका करीब तीन दर्जन कृति प्रकाशित छन् । उहाँ साहित्य सिर्जना तथा समसामयिक लेखनमा अत्यन्तै सक्रिय हुनुहुन्छ ।
यी पुरस्कारको राशि जनही अक्षरेपी तीन लाख नगद तथा सम्मानपत्र रहेको छ । यी पुरस्कार तथा सम्मान कोजाग्रत पूर्णिमाको दिन अर्पण गरिनेछ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...

‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार’ विजेता कृति ‘छालबाटो’ मदन पुरस्कारको सूचीमा

पद्मश्री साहित्य पुरस्कार ‘छालबाटो’लाई, साधना सम्मान र गाैरव पुरस्कार शर्मा र सुवेदीलाई
