
लोग्नेको बरखी सियाएर निर्मला बहिनीको विवाहलाई माइत आएकी थिइन् । आधा जीउ र विवाहले लोलाएका आँखा लिएर उनी फुङ्ग उडेको एउटा अचेतन सपनाझैँ बहिनीको सिँगार पटारमै अल्झिइन् । क्रिम, पाउडर, लिपिस्टिक, रुज गाजलको यो सानू कोठी लाइदिने ठिक पर्ला ? गालाको टुप्पामा कि चिउँडोमा ? आ, को लाउँछ छिः यस्तो नक्कली कोठी पनि । मुकुन्डो सिँगारको जस्तो ! कोठी लाइदिने निर्मला आफैँलाई मन परेन । गालामा कोठी लाइदिने चलन त गइसक्यो ।
फेरि बहिनीको गालै राम्रो छ, धेरै रमाइलो रङ्गले आफ्नो अन्तरमा कोरिने आएका अतीतका अनेक भावुक रेखाहरूलाई लत्त्याउने कोसिस गर्दै थिइन् । तर कसो–कसो अगाडिको त्यो ठुलो ऐनामा उत्रेको आफ्नो र बहिनीका ती दुई प्रतीक्षाले उनको भावुकतालाई फेरि कोतर्यो । दुई वर्षअघि निर्मलाले छोडेर गएको यो ऐना कोठामा पहिलेकै झैँ जहाँको तहीँ, जस्ताको तस्तै रहेछ । कहीँ पारो उक्केको थिएन, कहीँ फुटेको थिएन । बरु उनलाई आफैँ सम्पूर्ण बदलिएझैँ लागे, आफू ज्यादै थोत्रिएझैँ लाग्यो । गाजलले कोरिएका ती आँखा पहिलेका झैँ अस्थिर भएर यताउता नाच्नलाई मानौँ थाकिसकेका झैँ देखिन्थे । न फेरि उनको मनमा केही चञ्चलता नै रहेको थियो ।
निर्मलाले सिँगार सकेर बहिनीको अनुहार ऐनातिर फर्काइदिइन् । उनलाई बहिनीको त्यो अनुहार समातेर एकपल्ट म्वाइँ खान मन लाग्यो तर त्यसो गर्न सकिनन् । उनलाई लाज लाग्यो, साथै केही अभिमान पनि, किनभने उनी बहिनीजस्तै राम्री थिइन्, अझ ऊभन्दा पनि राम्री । साँच्चै जो पनि उनलाई यही भन्थे – ‘उर्मिलाभन्दा निर्मला राम्री ।’ तैपनि किन–किन निर्मलालाई आज बहिनीको अगाडि फोका हुँदै गएको झैँ लाग्यो । साँच्चै उर्मिला दिदीको हातबाट रङ्गको झोल बनेकी थिई । निर्मलालाई आफ्नो हातको सीप देखी खुसीको सट्टा ईर्ष्या लाग्यो । उसै गरी उनले आफूलाई सिँगार्न पाए !
पल्लो कोठामा उर्मिलालाई हेर्न आएका केटा दाजुका विराटनगरका नयाँ साथी थिए । शायद प्रोफेसर हुन् क्यारे, निर्मलालाई उस्तो थाहा थिएन । उतापट्टि कोठामा गरेका गुनगुन दिदीबहिनी बसेको कोठामा बिस्तारै सुनियो । अनि निर्मलाका कान ठडिए र आँखा चनाखा भए । निर्मलाले आफ्नै एक सुरमा देखिन्, उर्मिला ऐनातिर निहुरेर हलुकासित मुस्कुराई । कपालको आँठोमा घुसेर कानैतिर ढल्किएको गुलाफको रातो कोपिलाले उसको सौन्दर्यमा अझ बढी निखार ल्याइदिएको थियो ।
उतापट्टि किन हो दाजु खित्का छोडेर हाँसे, त्यसपछि सँगै मधुरोसित फुस्किएको एउटा नौलो हाँसो पनि सुनियो । निर्मलाको सबै अचेतन तन्तुहरू अप्रत्याशित रूपले झनझनाए । उनी लट्ठिँदै गइन् निर्मला उनीतिर हेरेर मुस्कुराई दिई । उनको त्यो एकात्मक सौन्दर्ये निर्मलाको अन्तरलाई कमिलाले झैँ चिल्यो । उनीभित्रका सबै द्रव जमेर बरफ भए । उर्मिला ऐनासित टाँसिएकी थिई, एक्कासि निर्मलाले बहिनीको टाउकोबाट फूल झिकी झड्कारेर धुजा–धुजा पारिदिइन् । उर्मिला पक्क परी – “किन दिदी ?”
निर्मलाको पातलो गोरो अनुहारमा जताततै पसिना चिटचिटायो । विस्फारित आँखाले उनले उर्मिलालाई एक टकसँग हेरिरहिन् अनि निश्चेष्ट हुँदाहुँदै पनि निर्मला फेरि बहिनीको निधारको टीका उक्काउन लम्किइन् । उर्मिला तर्सिई । दिदी नभेट्टाउँदै ऊ दगुरेर कोठाबाट बाहिर निस्ती । बहिनी तर्सेर भागेको देख्दा निर्मलालाई हाँसो उठ्यो, रित्तो कोठामा उनी एक्लै मरी–मरी हाँस्न थालिन् । हाँस्दा हाँस्दै आँखाबाट आँसु बरर झरे । मुटु खुम्चिएझैँ भयो । उनले घुँडामा मुन्टो अड्याएर बिस्तारै सास तानिन् । अनि बिस्तारैसित खोकिन् तर घाँटी ट्याप्प सुकेको थियो, तिर्खाले हो कि ? तर तिर्खा त उनलाई लागेको थिएन । आँखाबाट आँसुको बादल हटिसकेको थिएन । निर्मलालाई बाहिरबाट ढोकाको पर्दा उठाएर कसैले चियाएझैँ लाग्यो, उनी पछाडि फर्किन् । साँच्चै नै उर्मिला रहिछ, दिदीले देख्नासाथ ऊ पर्दा छोडेर भागी ।
“के कनसुत्नी लाउन आएको होली ?” निर्मलालाई बहिनीमाथि त्यसै रिस उठ्यो । “भित्र आए त म के गर्थेँ र भुत्लयाउने थिइनँ लोग्ने पाउन आँटे भनेर फुर्केकी । मलाई सौता हुन आएकी भन्ठानेकी होली, त्यसैले…। नत्र किन चियो गरेर हिँड्थी… ।”
उता कोठाबाट हाँसेको आवाज टड्कारो भएर राम्रैसित सुनियो । सतर्क भएर निर्मलाले त्यतातिर कान थापिन् । उही त हो नि, त्यही प्रोफेसर हाँसेको रहेछ, स्वर कति मिठो, मान्छे पनि त राम्रै छ नि, खुल्ने अनुहार, कस्तो गोरो लायकको, अग्लो,…।
“निर्मला नानी, एकपल्ट उता दराजको साँचो दिनुपर्यो रे…”
गोदावरी सँघारभित्र टेक्न नपाउँदै कराई । “आमै ! निर्मला नानी त लौन के गरेको यस्तो !”
निर्मला झसङ्ग भइन्, ओठमा दगुराइरहेको लिपिस्टिक हातबाट खस्यो । ऐनामा झ्वासझ्वासती उनले सँघारको बिचमा उभिरहेकी गोदावरीलाई देखिन् । अनि पुतलीजस्तै सिँगारिएकी आफूलाई । निर्मला लोलाइन् । कुन पर्बाहमा उनले आफूलाई सिँगारिन् उनलाई पत्ते थिएन । पहाडको टुप्पासम्म ढाक्न पुग्ने अनेकौँ विकट छालहरू उनको हृदयमा तरङ्गित भइरहेका थिए । निर्मला ऐनामा हेरेको हेर्यै भइन् ।
गोदावरी कोठामा पसेर उनको अगाडि उभिई– “हा निर्मला नानी ! तपाईंले पनि यस्तो सिँगार गर्नुहुन्छ ! लौ हेर, झन् टीका पनि लगाएको… लोग्ने नभएको मान्छे…” हो त नि उसको लोग्ने त विवाह भएको वर्षदिनमै विमान–दुर्घटना परिहाले नि ! उतापट्टिको त्यो …त्यो त उर्मिलाको लोग्ने, उसलाई हेर्न आएको…।
गिलासको जुठो पानी खन्याएर निर्मलाले ख्वालख्वाल मुख धोइन् । गोदावरी साँचो लिएर निस्कन नपाउँदै निर्मला उसको बाटो छेक्न पुगिन् – “गोदावरी ! कसैलाई पनि नभन है, बिन्ती ! हेर, कसैलाई नभन ।”
“किन भन्थेँ तपाईँको कुरा पनि ” गोदावरी हाँस्दै निस्की ।
निर्मलालाई आफ्नो कमजोरीमाथि ज्यादै नै लाज लाग्यो । गोदावरीको अगाडि पनि उनले आफ्नो भूल ढाक्न सकिनन्, के भनिहाली गोदावरीले पनि, छिल्लिएकी उत्ताउली । निर्मलाको गाला कानसम्म रातो भयो । मुखको लाली पाउडर रुमालले रगडी–रगडी पुछ्न थालिन् । “आमा र दाज्यूले देख्नुभएको भए ! छिः त्यही उर्मिलाले उसलाई त्यसरी सिँगारिएको देखेकी भए नि ?” एकैछिनमा गोदावरी फेरि आइपुगी – “आएँ जा ।” “चाँडै आउनुस् है ।” … गोदावरी फर्की । निर्मला गइनन् । “लुगा फेराइदिन पनि मै जानुपर्ने । लोग्ने पाइसकी, अझ केटाकेटी छे ?”
उर्मिलालाई पछि लगाएर आमा कोठाभित्र पसिन् । “तिमी के गरिरा… की यहाँ ? उर्मिलालाई त्यति लुगा लगाइदिन बोलाएको पनि, बिचरी ! कहिल्यै फरिया नलगाएकी मान्छे, त्यसै बेरेर आई, लौन हेरिदेऊ…।” निर्मलाले बहिनीलाई तलदेखि माथिसम्म हेरिन्, सारी लाएको ठिकसित मिलेको थियो । “अब पनि उर्मिला केटाकेटी छे र ! दुलाहा हेर्न आइसके, आमाको समझ पनि कस्तो ।” हरियो लुगामा उर्मिला त निर्मला । तिमी पनि उठ उर्मिलालाई उता लैजानुपर्यो नि !”
“म जान्नँ आमा, तपाईं भइहाल्नुहुन्छ नि !”
आमा बडा–बडा आँखा तरेर निर्मलालाई हेरिन् – “कस्ता अटेरी छोरीहरू आफ्ना त, कामको बेलामा पनि कस्तो हो ?”
“कपाल दुखेर चौपट्ट छ, नत्र आइहाल्थेँ नि टाउको उठाउनै भएको छैन ।”
“भैगो त, आइज उर्मिला ।” आमा फन्कँदै कोठाबाट निस्किइन् । उर्मिलालाई फर्केर पनि हेरिनन् । “हिँड्नुस् न दिदी तपाईं पनि ।” उर्मिलाले भित्रैदेखिको बल फुकाई ।
“तिमीलाई हेर्न आएको मान्छे, म गएर के काम ?”
“मलाई एक्लै लाज लाग्छ, कसरी बस्नु त्यहाँ ?” उर्मिलाको स्वर रुन्चे भयो ।
“के को लाज ? आफ्नै मान्छे त हो नि, बिहे भएपछि पनि यस्तै स्वाङ गरेर निर्वाह हुन्छ कि ?” निर्मलाले हाँस्ने कोसिस गरिन्, उर्मिला हाँस्न सकिन ।
दाजु कोठाभित्र पसेर उर्मिलालाई लिएर गए र निर्मलाले मन बाँध्न सकिनन् । उठेर उनी पनि दाजुको पछि पछि लागिन् । सबै जना भित्र पसे । तर निर्मला ढोकाको पर्दा समातेर बाहिर उभिइन् ।
भित्र दाजुले नयाँ मान्छेलाई उर्मिलाको परिचय दिए – “उर्मिला, मेरी कान्छी बहिनी, यसै वर्ष म्याट्रिक पास भई…।”
फेरि दाजुले ढोकातिर देखाए – “ऊ माहिली चाहिँ, आऊ न निर्मला भित्र ।”
त्यो मान्छेलाई दाजुको पछिल्लो कुरा सुन्यो कि सुनेन कुन्नि, उसले एक चोटि पुलुक्क पनि निर्मलातिर हेरेन, मान्छे भलादमी जस्तो छ । तर के हुन्थ्यो, उसका आँखा उर्मिलाको हरियो सिफनको सारीमा मात्रै अल्झिराखेको झैँ लाग्यो । निर्मलालाई अनि त्यहाँ बसिरहन मन लागेन । त्यहाँबाट उठेर उनी बाहिर बार्दलीमा गएर उभिइन् ।
बाहिर टन्टलापुर घाम लागिरहेको थियो । शून्य पीचरोडको दायाँ–बायाँ सडकमा बुङ्बुङ्ती उडेको धूलो अनि छिन–छिनमा हिँड्ने दैत्यकार ट्रान्सपोर्ट सर्भिसको कानै थर्काउने घर्र–घर्र आवाजले निर्मलाको मन झन् खल्लो तुल्याइदियो । पर ढोकाबाहिर एउटा नयाँ जीप उभिएको रहेछ । शायद उर्मिलालाई हेर्न आउने केटाको होला । भित्रपट्टि मैलो सेतो कमिज र कालो चस्मा लगाएको मान्छे स्टेयरिङलाई अँगालो हालेर घोप्टिरहेको थियो । ड्राइभर हो क्यारे ! त्यस्तै लाग्यो निर्मलालाई । त्यो मान्छे निर्मलालाई देखेर जीपभित्रैबाट लगातार सुसेल्न थाल्यो । निर्मलालाई मन परेन ।
उनी त्यताबाट आफ्नो कोठामा फर्किइन् । त्यहाँ उर्मिलालाई हेर्न आउने केटो मात्रै एक्लै अखबार पल्टाएर बसिरहेको रहेछ । निर्मला झस्किइन्, त्यो कोठा उनको होइन, दाजुको थियो । कसरी त्यहाँ आइपुगिन्, निर्मला आफैँले पत्तो पाइनन् । फेरि उनी ठाडै खुट्टाले फर्किन पनि सकिनन् । त्यसै आउँदा–जाँदा के भन्ला त्यो मान्छेले पनि…फेरि बिकामले झन् यहाँ ठिङ्ग उभिइरहँदा के भन्ला नि…ज्यादै अप्ठ्यारो लाग्यो निर्मलालाई । त्यो मान्छेले अखबारबाट टाउको उठाएर एक पल्ट निर्मलातिर पुलुक्क हेर्यो, अनि फेरि अखबारमै निहुरियो ।
निर्मला चल्न खोजिन्, तर उनका गोडा जड भएका थिए । उनी उभिएको उभियै भइरहिन् । धेरै बेरसम्म उभिइरहँदा पनि त्यो मान्छेले केही बोलेन । निर्मलालाई उसले एक पल्ट ‘बस’ सम्म पनि भनेन । ऊ अखबारमै हराएजस्तो देखिन्थ्यो । उसको निहुरिरहेको बाटुलो अनुहार घुम्रेको कपाल र त्यसबाट बिस्तार–बिस्तार उडेको कोलगेटको मधुरो गन्ध…। निर्मला चेतनाहीन भएर विस्मृतिमा पुगिन् । आँखाअगाडिको दृश्य निस्पट्ट हुँदै गयो ।
“बस्नोस् न, कति उभिरहनुभएको ?” मान्छे निर्मलातिर फर्केर खिस्स हाँस्यो । निर्मलाको घुँडादेखि तलसम्म काँप्यो, उनी बसिनन् । निर्मलाको धोतीकाे सप्कोको छेउ बिस्तार–बिस्तार उसले तानिरहेको रहेछ, निर्मला केही विरोध नगरी खालि उभिइरहिन् । एक छिनपछि त्यो मान्छेले निर्मलाका दुवै हात समातेर आफूतिर टाँसेर राख्यो । निर्मला ज्ञान शून्य झैँ चुपचाप बसिन् । उसको तातो सम्पर्कले निर्मलालाई केही सान्त्वना मिल्यो । आँखामा टुक्रिएका सपना फेरि जोरिन थाले फूलैफूलको बारी, फूलैफूलको आकाश, फूलैफूलले ढाकेको बाटो…तर एकैछिनमा निर्मलाको लामो सपना फेरि टुक्रियो, उनलाई आफ्नो देब्रे गाला बेसरी दुखेझैँ लाग्यो । उनले आफ्नो गाला छामिन् । रगताम्य भएको रहेछ । हत्केलाभरि रगत । आँखै तिरमिराउने रातो । निर्मला कहालिएर उठिन् । त्यो मान्छे निर्दयतासँग हाँसिरहेथ्यो । निर्मला घुइरा आँखाले कहालिएर उठिन् । ऊ लापरबाहीसित उठेर सडकपट्टिको झ्यालमा गएर उभियो । निर्मलातिर ऊ बोल्दै बोलेन । “बेइमान !”निर्मलालाई एक थप्पड कसेर उसको गालामा हिर्काउँझैँ लाग्यो, तर हात उठेन । त्यो उनको को हो र त्यसलाई के माया ? त्यो त उर्मिलाको केटो… निर्मलाको हृदयका वेग सबै सामसुम भएर गए । चिथोरिएका गाला उनी हुर्रिँदै गइन् । मटानमा उर्मिला भेट्टिई ।
“के भयो दिदी, गालामा ?” निर्मलाले राता–राता आँखा पल्टाएर बहिनीलाई हेरिन्, उर्मिला डराई – “के भयो भनेको पो त !”
निर्मलाले बहिनीलाई धकेलेर भित्तामा जोताइदिइन् – “तेरो लोग्ने एक्लै छ, जा रे कोठामा ।”
मटान नाघ्न नपाउँदै निर्मला फेरि पानी बोक्ने रामेसित ठोक्किन पुगिन् । रामे मौका भेट्टाएर हाँस्यो । कमिजको भित्री खल्तीबाट एउटा मोडिएको कागज उसले दौडँदै निर्मलालाई दियो – “यो तपाईंलाई पल्लो घरको मास्टरले लुकाएर दिनू भनेको ।”
कोठामा पुगेर उनले ढ्याम्मढुम्म ढोका लगाइन्, उनको आत्मा मध्याह्नको बाँसघारीझैँ सुइँ लाग्यो । सरसर धोती तानेर उनले खाटमाथि भकुन्ड्याइदिइन्, तैपनि चित्त बुझेन । घाइते गालामा आफैँले जोरसँग दुई–चार थप्पड हिर्काइन । अझ शान्त मिलेन, छाती हुरीले खडखडाएका खुला झ्यालझैँ ढ्याङ्गढ्याङ्ग बजिरहेको थियो । दुई हातले निर्मलाले छाती च्यापिन् तर व्यथा झन् निचोरियो । अनि सडकमा जिपको ड्राइभर बेकाइदासित सुसेलेको…रामेको ल्याएको त्यो गुन्डा–मास्टरको चिठी…अनि…निर्मलाले सम्झन सकिनन् । टेबलमाथिको सिसीबाट दुई वटा स्पिलिङ ट्याब्लेट झिकेर निलिन् अनि भित्र गुम्सिएको लामो घुँक्का छोड्दै तकियामाथि घोप्टिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

