चेतनाको विराट् यात्रा – हरिप्रसाद बराल

लेखक हरिप्रसाद बरालको निबन्धसंग्रह हो ‘चेतनाको विराट् यात्रा’ । बरालले संग्रहमा बाल्यकालदेखि वर्तमानसम्मका स्मृतिहरूलाई समेटनुभएको छ ।

”२०३८ सालमा कक्षा ५ को विद्यार्थी भएको बेला चार हरफ निबन्ध लेख्न नआएर तुरुक्क रोएको क्षण आज पनि सम्झन्छु ।”, पुस्तकमा लेखक हरिप्रसाद लेख्नुहुन्छ, ”हरेक कार्तिक २२ गते रानीको जन्मोत्सवमा विद्यालयले कविता, निबन्ध, हाजिरीजवाफ, खेलकुद, चित्रकला, वादविवाद, वक्तृत्व कला आदि कार्यक्रमको आयोजना गर्थ्यो । कविता प्रतियोगितामा प्रथम भएको थिएँ । नेपाली विषय हेमचन्द्र भण्डारी पढाउनुहुन्थ्यो । उहाँले बेलाबखत मलाई यस्ता कुरामा सचेत पारेको क्षण पनि मेरा सम्झनामा आलै छन् । पछि २०४० साल वैशाख १८ गते आइतबार अन्तरनिम्नमाध्यमिक विद्यालय स्तरीय निबन्ध प्रतियोगिता हुँदा प्रथम भएको थिएँ । हामीलाई १ घण्टा ३० मिनेट समय दिइएको थियो । मेरो निबन्ध यात्रामा यो प्राथमिक चरणको कुरा हो । म सानैदेखि कुनै पनि कुरामा लागेपछि त्यसलाई भरिसक्य नछोड्ने । मैले पछि गएर निबन्धका पुस्तक पढ्नथालें । आनन्द दिनथाले ती निबन्धात्मक कृतिले । मलाई सम्झना भएसम्म भाषाशास्त्री बालकृष्ण पोखरेल, डा. तारानाथ शर्मा, भैरव अर्याल, शंकर लामिछाने, लक्ष्मीप्रसाद देवकोटा, मोदनाथ प्रश्रित, कृष्णचन्द्र सिंह प्रधान आदिका निबन्ध मेरा लागि पाठ्य निबन्ध बने । मलाई ‘तैंले निबन्ध लेख्नुपर्छ’ भनेर आदरणीय गुरु भानुभक्त पोखरेलले उत्प्रेरणा दिनुभयो, नरेन्द्र चापागाईंले उत्प्रेरणा दिनुभयो, बालकृष्ण पोखरेलले उत्प्रेरणा दिनुभयो, कक्षामा पढाउने गुरुहरूले उत्प्रेरणा दिनुभयो, मेरो साहित्यिक सञ्जाल फराकिलो भएकाले उत्प्रेरणा दिने धेरै भए । उत्प्रेरणालाई खेर जानबाट जोगाउने क्रममा प्रस्तुत निबन्ध सङ्ग्रह तयार भएको हो ।”

पुस्तक लेखक स्वयमले प्रकाशन गर्नुभएको हो । छ ओटा निबन्ध समेटिएको पुस्तकको मूल्य तीन सय रुपियाँ रहेको छ ।