साताका पुस्तकका रुपमा साहित्यपोस्टलाई म्यान्मामा जन्मेहुर्केर थाइलेण्डमा वर्तमान र भविष्य खोजिरहेका नेपाली मूलका बर्मेली चर्चित युवा कवि तिलक पोख्रेलकृत कविता सङ्ग्रह “शब्दरङ्गी” प्राप्त भएकाे छ ।
यसमा ‘श्रद्धाञ्जली’, ‘चोखो बाहना’, ‘शब्दको तग्दिर’, ‘एब्स्ट्रेक जिन्दगी’, ‘कविता र कवि’, ‘कुन सिस्टमको बात गर्छौ’, ‘भावनाको लहर’लगायत ४४ थान कविता सङ्ग्रहित छन् ।
भूमिकामा पदम गुरगाईं लेख्छन्, “आफ्नै परिवेशमा देखेका भोगेका अनुभूतिहरूलाई सरल शैलीमा शब्दको रङहरूले सिँगारेका छन् शब्दरङ्गी । आमाको ममती चित्र कोरेका छन् । बुबाको पसिना अत्तर छरेका छन्, मायालुको मायाको सरगम सुनाएका छन्, साथीको साथ न्यानो ओढेका छन् र जातीय समाज र परिवेश देखेर अलि अप्ठ्यारो देखेका पनि छन् पोख्रेलले शब्दरङ्गीको केन्भासमा ।”
“मान्छेको जीवन भोगाइको आयतन नै पछ्याएर आएको हुन्छ सिर्जनाले । त्यसैले, तिलकका कवितामा पनि उनको विगत त वर्तमान दृश्यविम्बहरू प्रतिबिम्बित भएका छन् ।” भूमिकामा महेश पौड्याल लेख्छन्, “म्यान्माको कछिन प्रान्तको मोगाउँ सहर, जहाँ उनी कविको रूपमा दोस्रो जन्म लिए, उनको कविताभित्रको एउटा आराध्य देवल हो । वीर गोर्खालीको गौरव गाथा, मान्छे र प्रकृतिको प्रेमलाल, ‘सानु’को विम्बमा परिकल्पित प्रमिकाप्रतिको उनको स्नेहभाव, भ्रष्ट राजनैतिक व्यवस्था, खस्कँदो मानवीय मूल्य, कवि र कविताको अनुन्याश्रित सम्बन्ध, कविताप्रतिको उनको बुझाइ आिद विषयको बाहुल्य उनको कवितासङ्ग्रहमा छ ।…उनले कल्पनातीत भूगोल, उच्च दर्शन, स्वेरकल्पना र अतियथार्थवादी विषयहरूमा आफूलाई अल्झाउने चेष्टा गरेका छैनन् । यस अर्थमा, सरलताको बाटोमा सहज, रुमानी, निर्दोष र अविधात्मक उद्गार उनको कविताका परिचायक हुन् ।”
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।