साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाईसम्पादक तथा साहित्यकार यम रेग्मीको छन्दबद्ध कविता सङ्ग्रह “खुल्ला संसार” प्राप्त भएकाे छ ।

वर्णमात्रिका छन्दका ४४ वटा कविता रहेको कवि रेग्मीको “खुल्ला संसार” कविता सङ्ग्रहमा डेढ दर्जनभन्दा बढी वर्णमात्रिका छन्दहरूको प्रयोग गरिएको छ ।

यसमा “भोक, म  अछुत रे, म र मेरो देश ,किसान, गरिब,माटोको महिमा, नयाँ काँचुली, अनौठो मौसम, आमा, हामी कहिले उठ्ने ?, समानता, स्वाभिमानी, आयो बिहानी, नवयुवक, पीडाको बोली, नदी, सहिदको सम्झनामा, नयाँ वर्ष, होसियार, जीवनचक्र, हामी युवक, खै के भयो ?, मलाई खुल्ला संसार चाहिन्छ” जस्ता फरक फरक ४४ वटा विषयवस्तुलाई कवितामा उठान गरिएको छ ।

पुस्तकको बारेमा वरिष्ठ साहित्यकार तथा समालोचक डा.  कृष्णराज डिसी लेख्छन्, “विश्व मानवतावाद र मातृभक्तिको चेतनाले ओतप्रोत यस कविता सङ्ग्रहभित्रका सबै कविताहरू रसिला र जोशिला छन् । समसामयिक, सामाजिक तथा राजनीतिक विकृतिको सङ्लो चित्र प्रस्तुत गरिएका यस खालका कविता मेरा पनि हुन् ।”

त्यसैगरी कविता सङ्ग्रहको बारेमा साहित्यकार तथा समालोचक डा.रजनी ढकाल लेख्छिन्, “रेग्मीले नेपाली समाजको सामयिक सन्दर्भमा रहेका जातीय विभेद,नारी हिंसा र अधिकार मानव अधिकार, नयाँ नेपाल निर्माण जस्ता विषयमा विशेष जोड दिँदै स्वतन्त्र र हिंसारहित समाजको परिकल्पना गरेका छन्  । सबै जसो कविताहरू राष्ट्रप्रेम र मानवीय स्वतन्त्रताप्रति संवेदनशील रहेका छन्  । छन्दोबद्धता, आलङ्कारिता ,सरलता यस सङ्ग्रहका कविताका थप वैशिष्ट्य हुन् ।”

साहित्यकार  देवकोटा लेख्छन्, “कवि रेग्मीमा मानवीय संवेदना राष्ट्रभक्ति र श्रमको सम्मान अत्यन्त सशक्त देखिन्छ । स्वार्थी ,कपटी र बेमानीहरूको विरोध गरिएको छ । यही सङ्ग्रह मा संकलित सबै कविताहरू सुन्दरताका पक्षमा उभिएका छन् ।

गिरिराज न्यौपाने उल्लेख गर्छन्, “समसामयिक नेपाली समाज राजनीतिक र संस्कृतिमा देखिएको विकृतिलाई प्रतिबिम्बन गरिएका यस सङ्ग्रहका कवितामा मूलतः मानवतावाद, राष्ट्रभक्ति र स्वतन्त्रतालाई महत्त्व प्रदान गरिएको छ । कोरा राजनीतिक वैचारिकताभन्दा पनि  स्वच्छन्द अभिव्यक्ति  तर हाम्रै समाजको सत्य र स्वाभाविक चित्रण छ- कवितामा।  म कविको लेखनको निरन्तरता र प्रगतिको कामना गर्दछु ।

पुस्तकलाई रत्न सागर पब्लिकेसनले बजारमा ल्याएको छ ।