साताकाे पुस्तककाे रूपमा साहित्यपोस्टलाई करिब ४० देशको भ्रमण गर्नुभएको बिनोद खड्काकृत नियात्रासङ्ग्रह “पातलका मान्छेहरू” प्राप्त भएकाे छ ।
यसमा ‘पातालको पहिलो भिसायात्रा’, ‘बिहेको प्रस्ताव’, ‘आकाशे लेखाइ’, ‘म्यानहटनको चिसो’, ‘सम्मेलनपछि’, ‘क्यासी र कफी’, र ‘पातालका मान्छेहरू’ गरी २८ वटा शीर्षक रहेका छन् ।
ती शीर्षहरूलाई २००९, २०१४, २०१६ र २०१८ गरी चार भागमा विभाजित छन् । यसमा नियात्राकारले आफूले भ्रमणावलोकन गरिएको क्षेत्रको राम्रोसँग वर्णन गरी हामीलाई पनि सँगसँगै घुमाउनु भएको छ । सभ्य-सुन्दर शैलीमा अमेरिकाको भ्रमणबाट प्राप्त कुराहरूलाई यस पुस्तकमा समेट्न सफल हुनुभएको छ ।
भूमिकामा ठाकुर शर्मा भण्डारी लेख्छन्, “नियात्राकार बिनोद खड्काको लेखनशैली परिष्कृत, परिमार्जित, अत्यन्त आकर्षक र विनोदीशैली रहेको छ । यात्राको वर्णन भावुक र संवेदनायुक्त लाग्यो । भिसाको क्रममा विदेश पलायनको दृष्टिकोण आफूमा नरहे पनि अमेरिकनहरूले अरू मुलुकका मानिसहरूलाई गरिने व्यवहार नकारात्मक हुँदाहुँदै पनि मनमा आएका भावनाहरूलाई उन्मुक्त तरिकाबाट व्यक्त गर्दै दोस्रो चोटि भिसा पाएपछि चतुर अमेरिकनहरूले गर्ने व्यवहारप्रति पनि प्रशंसा गरेर आफूलाई संयमित बनाएको सन्दर्भ शक्तिशाली र मननयोग्य छ । लामो भिसायात्रा परिमार्जित प्रशंसायोग्य निबन्ध बन्न पुगेको छ ।”
अत्यन्त शक्तिशाली नियात्रा ‘आधा आकाश सिङ्गो यात्रा’मा ‘आमा’को विषयलाई यसरी उठाइएको छ, “आमालाई धर्तीसँग दाँजेको सुनेको छु । पक्कै पनि आमा धर्ती नै हुन् । धर्ती माताका लागि संसारका पूरा मानव जाति नै आफ्ना सन्तान हुन् । एउटा बच्चो यस धर्तीमा पदार्पण गर्छ, त्यसैमा खेल्छ, दौडिन्छ, हुर्कन्छ र त्यसैमा उब्जेको खाएर बाँच्छ तर कालान्तरमा ऊ अनेक स्वार्थहरूले घेरिएर त्यही धर्ती पनि बाँड्छ वा विभाजन गर्छ, बाँध्छ र अरूलाई आफ्नो तिर आउनबाट वञ्चित गर्छ, मानौँ पूरा धर्तीको मालिक हो ऊ ।”
शब्दार्थ प्रकाशनबाट बजारमा ल्याएको ३ सय १६ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ५ सय रुपियाँ रहेको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।