साहित्यकार, संगीतकार, गीतकार तथा गायक गणेश रसिकको निधन भएको छ । लामो समयदेखि प्रोस्टेट क्यान्सरका बिरामी ७८ वर्षीय रसिकको ललितपुरस्थित नेपाल क्यान्सर अस्पतालमा निधन भएको हो ।

संगीतकार संघका अनुसार रसिककी एक मात्र छोरी बेलायतबाट फर्किएपछि दाहसंस्कार गरिने जनाइएको छ । रसिकको पार्थिव शरीरलाई त्रिभुवन शिक्षण अस्पतालमा राखिने भएको छ ।

रसिक उपचारकै क्रममा भारत समेत जानुभएको थियो । क्यान्सर अन्तिम स्टेजमा पुगे थाहा पाएपछि उहाँ नेपाल फर्किनुभएको थियो ।

पाँच दशकअघि ‘लेकाली’ समूहबाट गायनमा उदाउनुभएका रसिक नेपाली साहित्य तथा गीतसङ्गीत क्षेत्रको बहुआयमिक व्यक्तित्व हुनुनुहुन्छ । उहाँका नेपाली साहित्यिक क्षेत्रमा कथा, कविता, उपन्यास, संस्मरण र निबन्ध विधाका दर्जन बढी पुस्तक प्रकाशित छन् ।

उहाँको जन्म भोजपुरको टेम्केमैयुङ गाँउपालिका वडा नं. २ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईबाट २००४ साल असोज ४ गते भएको थियो ।

भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्त्वपूर्ण योगदान दिनुभएको छ । उहाँका कथासङ्ग्रह ‘क्षितिजलाई छुन खोज्दा’ (२०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (२०२७), ‘बिलाउँदै गएका गीत’ (२०५८); गीतिसङ्ग्रह ‘रसिकका गीतहरू’ (२०४५) र ‘स्वाधिनताको पीडा’ (२०६८); उपन्यास ‘आकाशगंगाको ओतमुनि’ (२०४८) र ‘दशगजामा उभिएर हेर्दा’ (२०६३); संस्मरण  ‘जब सिस्नुहरू टेक्दै हिँडेँ’ (२०५५), ‘पेरुङ्गो संस्करण’ (२०७३) लगायत कृति प्रकाशित छन् ।

बीएसम्मको औपचारिक शिक्षा हासिल गर्नुभएका रसिकले सामान्य जागिरे हुँदै  विभिन्न विभाग र संस्थाहरूमा ३१ वर्षसम्म काम गर्नुभयो । उहाँले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू निर्वाह समेत गर्नुभएको छ ।