पहिचान – ममता मिश्र

आख्यानकार ममता मिश्रको उपन्यास हो पहिचान ।
पहिचान भित्र स्व पहिचान खोज्दै हिड्ने मान्छेहरुको कथा छ, देश छोडेर परदेशिएका युवाहरुले परदेशमा गरेको सङर्घषको कथा छ ।

” ‘पहिचान’ कुनै व्यक्ति विशेषको जीवनी होइन तर परदेशिएका कयौँ निर्दोष किशोरकिशोरीहरुको मनोविज्ञान र जीवनसंघर्षसँग भने मेल खान सक्छ ।’ आख्यानकार मिश्र पुस्तकमा लेख्नुहुन्छ, ”यदि कथाले कसैको जीवनसँग समानता राख्छ भने त्यो केवल संयोग हुनेछ । यसको लागि म ती व्यक्तित्वहरुसँग सम्मानसहित क्षमायाचना गर्न चाहान्छु । ‘पहिचान’ नायकवादी कथा हैन । यसमा हरेक पात्रहरु आफूमै विशेष छन् र उनीहरु आफ्नै प्रकारले आफ्नो जीवनको नायक बन्न पुगेका छन् । यसमा परदेशिएकाहरुको जीवनसंघर्ष र दुःखभन्दा बढी उनीहरुको मानसिक द्धन्द्धहरुको चित्रण गर्छ र मानव अस्तित्वका गहिरा पाटाहरु उजागर गर्छ । यो जीवनदर्शन पनि हो । आत्म परिचयको खोजी हो र यो विभिन्न मानसिक परिस्थितिबाट गुज्रिएका मानिसहरुको मनोदशाको चित्रण हो । मैले जीवनको सफलता – असफलता, आधुनिक प्रविधिले जन्माएको विकृति र तिनले प्रदान गर्ने सुख शयलको लोभ, जन्मभूमिप्रति प्रेम, कर्मभूमिप्रतिको निष्ठा, कृतज्ञता –कृतघ्नता, निर्दोषिता, प्रेम– घृणा, विश्वास– धोका, अभाव – संवृद्धिजस्ता विविध भावहरुलाई पात्रहरुको मनोभावबाट प्रस्तुत गर्ने प्रयत्न गरेकी छु । यस उपन्यासमा मेरा पात्रहरु आफैँमा जीवन्त छन् । मलाई विश्वास छ, यी चरित्रहरुको मनोदशाले पाठकहरुलाई सोच्न पक्कै बाध्य तुल्याउँछ तर यिनले पाठकहरुको मन मस्तिष्कमा कस्तो प्रभाव पार्ने छन्, यसको मूल्याङ्कन भने आदरणीय पाठकहरुलाई नै जिम्मा दिएकी छु । ”

त्यसैगरी पुस्तकमा अश्विनी कोइराला लेख्नुहुन्छ, ”ममता मिश्रको उपन्यास पढिरहँदा कुनै दर्शनको पुस्तक पढीरहेको अनुभव हुन्छ । आख्यानमा आउने मोड र आश्चर्यमा पार्ने पात्रको भोगाइ र घटनाले पाठक रोमाञ्चक अनुभव गर्छ । नारी सशक्तिकरण ‘पहिचान’ उपन्यसाको प्राण हो । समग्रमा यो उपन्यासले नारी मनोविज्ञानलाई केलाउने प्रयास गर्नुका साथै अध्यात्मको महत्व स्थापित गरेको छ ।”

पुस्तकलाई शब्दमिडिया प्रा.लि. (साहित्यपोस्ट) ले बजारमा ल्याएको हो । दुई सय एघार पृष्ठमा फैलिएको पुस्तकको मूल्य चार सय रुपियाँ रहेको छ ।