Chovar Blues Mobile Size

ममता मिश्र

ममता पन्त मिश्र

बिहानीपख डाँडा पारिबाट झुल्किएको सूर्यले हुस्सुका पातला तहहरूलाई छिचोल्दै आमपीपलको बजारमा मीठो न्यानो घाम भित्र्याउँछ। सुलेमान साहु हतार हतार गर्दै बेसी झर्दैछन्। पछाडि ढाडमा लागेको न्यानो मिठो घामले उनको शरीरलाई केही ऊर्जा दिन्छ। उनी सोच्छ्न्, दशैं ताकाको मौसम सारै मीठो। मिठो न्यानो घाम। न गर्मी न जाडो, न धुवाँ न धुलो। पुर्खाले पनि कति राम्रो ऋतु छानेर चाडपर्व राखे। जेठ असारमा खेतझैँ हिलाम्मे हुने यो बाटो पनि अहिले त कति राम्रो अलकत्रे बाटोझैँ भा’छ।

सुलेमानलाई पसल पुग्न अझै दस पन्ध्र मिनेट हिँड्नु छ। उनको पसल लगभग रित्तै छ। ग्राहकहरू फाट्टफुट्ट देखा पर्छन् । त्यो पनि उधारो लिन। त्यसैले बिहानै हतारिएर पसल खोल्नुको कुनै औचित्य छैन र पनि उनी हरबिहान उही समयमा यसरी नै हतारिँदै पसल खोल्न जान्छन् ।

आज पनि पसल खोल्ने क्रममा बिहानै हिँडेका सुलेमानको मनमा नानाभाँती कुरा खेलिरहेछ। उनी एक्लै आफैसँग कुरा गर्दै भन्छन्, ‘पैसै मात्र सबथोक कहाँ हो र ? सबैभन्दा ठूलो रै’छ मनको सन्तोष। पसल नचले पनि पसल खोल्न जाँदाको जुन सन्तोष यो मनमा हुन्छ, त्यसको आनन्द बेग्लै छ। नभए त उधारो दिन किन पसल खोल्नु पर्यो र? अचेलको जमानामा उधारो ! त्यो पनि बिना ब्याज ! कसले दिन्छ ?’ पसलबाट केही आर्जन नभए पनि गाउँछिमेकीलाई परेको बेला दुई मुठी उधारो दिँदा सित्तै नै दिएझैँ उनको छाती गर्वले फुल्छ।

तीन-चार वर्षै भयो, उनको पसल उधारोमा चलेको। सुलेमानलाई उधारो दिन परेकोमा त्यति चिन्ता छैन, जति उनको जहान मिठीलाई छ। उनी सधैँ कराउँछिन्, ‘अब त घरबारै जालाझैँ भैसक्यो ए सुलेमान साहु ! अति पनि नगर्नु। ‘उधारो चल्दैन’ भनेर टाँगी दिनु पसलमा ।

‘हुन पनि अचेल त गारै छ,’ उनी भन्छन्। ‘हर्केलाई पैसो पठाउन पनि दूनो भैँसी बेच्न पर्यो,’ एक मात्र छोरा, हर्कमान। ऊ विदेसिएको पनि चार वर्षै भैसक्यो। छोराको सम्झनाले सुलेमानको मुहारमा तुँवालो छाउँछ। उनी दुःखी हुन्छन्। ‘कति भने, पैसा पैसा भनी नमर्नू। धेरै पैसाको पछि नला’उनू। क्यार्नु, त्यति राम्रो स्कूलको मास्टर भैसकेथ्यो हर्के। भनेकै सुनेन। जति भए पनि पुगेन उसलाई ! पैसोको रोग लागेपछि, त्यसको उपचारै नहुँदो रै’छ।’

पँधेरीमा पानी भरी घर फर्कन लागेकी छिन्नलता सुलेमान एक्लै फत्तफताउँदै हिँडेको देख्छे। सुलेमानलाई देख्दा जैले पनि केही न केही भन्ने छिन्नलता, आज पनि सुलेमान साहु एक्लै बोल्दै हिँडेको देखेर उनलाई भन्छे, ‘नमस्ते हौ सुलेमान साहु ! एक बिहानै के एक्लै बात मार्दै हिँडेका नि ?’ ऊ हलल्ल हाँस्छे। ‘साहुनीसँग बाझेर हिँड्यौ कि के हो ?’

सुलेमान छिन्नलता भएतिर फर्कन्छन्। चुरोटको निकोटिनले कालो घेरा बनाएका दाँतहरू अनि नीलो गिजा देखाउँदै ऊ सुलेमानलाई हेरी खित्त हाँस्छे।

यो आइमाई पनि, सुलेमान मनमनै भन्छन् । एक बिहानै पनि कति बोल्न सक्छे ! जैले पनि फतफत फतफत ! उनी छिन्नलतालाई बेवास्ता गर्दै बाटो लाग्छन्।

‘सनकी बुढ़ा !’ ऊ ठस्किन्छे। ‘दिमाख खुस्केछ कि के हो? एक्लै बात मार्दै हिँड्या छन् त,’ ऊ फेरि ओठ लेप्राउँदै भन्छे, ‘नमस्ते त फर्काउनु पर्छ ! ठूला भा’का। अबदेखि कल्ले नमस्ते गर्छ यिनलाई?’

तर सुलेमान भने एक पटक पछाडि नफर्की आफ्नो बाटो तताउँछन् ।

पसलको ढोका खोल्नेबित्तिकै सुलेमानको आँखा रित्ता तखताहरूमा पर्छन् । हुन पनि हो, उनलाई लाग्छ, उधारो दिँदादिँदा सबै सामान नै सकिन लाइसक्यो। सामान थप्न पैसा छैन। अनि हर्के की आमा पनि किन गनगन नगरोस् ?

उनी निहुरिएर तल ढोकाको चौकोस ढोकेर भित्र मात्र के पस्न लगेका थिए, परबाट धनराज बुढ़ा उनकै पसलतिरै आइरहेको उनी देख्छन्। ‘आए धनराज,’ उनलाई नदेखेझैँ गरी सुलेमान फत्तफताउँछन्, ‘बुढ़ा ! नाम मात्रका धनराज। खल्तीमा सुको छैन। सधैँ उधारो लाने त यी पनि हुन् । उहाँ भने धनराज रे ! आज त जे होस होस्, दिन्न म उधारो यिनलाई।’

भित्र पसल यसो बढारेझैँ गरी उनी कुचो यसो यताउता हल्लाई कुना लगाउँछन् र हुक्का चिलिम तानी तमाखुमा आगो जोडछन्।
‘नारायण ! नारायण !!’ भन्दै धनराज बाजे सुलेमान साहुको पसलको ढोकामा आई पुगे।

उनी फेरि ‘नारायण नारायण’ भन्दै सुलेमान साहुले पसलमा थपना गरेको सानो मन्दिरतिर हात जोडी भन्छन्, ‘ए साहु, यत्रो दशैँको बेला पनि देवी देउतालाई धूप बत्ती बाल्न भूल्यौ कि के हो? तमाखुमा त आगो जोडी सकेछौ ?’

सुलेमान झसङ्ग हुन्छन् । हो त, के भाको मेरो सुद्दी ? उनी मनमनै भन्छन्, भगवानलाई धूप बल्न पनि कसरी भुले ? त्यो पनि दशैंको बेला! लौ प्रभु भुल भयो। क्षमा गर। अनि फेरी धनराज तिर हेर्दै भन्छन, ‘के को भुल्नु नी बाजे। भर्खर त पसल छिरे। बाल्छु धूप बत्ती अब।’

अनि फेरि पर चुलोतिर हेर्दै धनराजले भने, ‘यतिखेरसम्म चियाको भाँडो पनि बसालेको रैन’छौ ? के भयो ? सबै ठीक त छ सुलेमान साहु ? तिमी यस्तो मान्छे त होइनौ ।’

‘ठीक छ बाजे, के हुनुछ र मलाई ? अब चियाको भाँडो बसालेर पनि के गर्नु ? पैसो तिरेर खान कोही आउँदैनन्। सबै उधारो खान आउने हो। उधारो लिन आउने हो। अब त पसल नै बन्द गर्न पर्लाजस्तो भैसक्यो, तपाईं भन्नुहुन्छ ।’ उनी आफ्नो पूजा तखतामा देउता राखेको ठाउँ सफा गर्दै भन्छन्, ‘चाडबाडको मुखमा उधारो दिन्न भन्न पनि नसकिने । सधैँ उधारो दिने सम्पति पनि आफूसँग कहाँ छ र ? जो आउँछन्, उधारै लान्छन् । अनि मुख फोरी नमागे कसैले ऋण तिर्दैन ।’

‘सबै त्यस्ता कहाँ हुन्छन र साहु ?’ धनराजले कड्किएर भने, ‘आज म त तिम्रै पैसो तिर्न भनेर आएको। लौ, एक कप मिठो चिया पनि खुवाऊ अनि हिसाब पनि बताऊ ।’

सुलेमान छक्क पर्छन्, ‘चिट्ठा पर्यो कि के हो बाजे तपाईंलाई ? के सुन्न पर्यो यो बिहान बिहानै ।’

‘चिठ्ठा त किने पो पर्नु !’ उनले दङ्ग पर्दै भने, ‘छोराले दसैँ खर्च पठाएको, दुबईबाट। हिजो मात्र हात पर्यो ।’

केहीबेरपछि धनराजले जिस्कने अर्थमा थपे, ‘कोरोनाको महामारी चलिरा’छ। तिम्लाई केही भइहाल्यो भने त साहु, तिम्रो आत्माले मलाई पाताल गए पनि छोड्दैन भन्ने डरले…।’ धनराज मज्जाले हाँस्छन् ।

‘दसैँ भनेको त जसरी मनाए नि भो ! तिम्रो ऋण चैँ चुकाइहाल्छु भनी यता लागेको,’ उनी फेरि दिल खोलेर हाँसे।

बुढ़ा ! सुलेमान मनमनै रिसाउँछन् । मभन्दा पहिला आफैँ जाला जस्तो छ, कुरा गर्छ। तर आफूलाई सम्हाल्दै उनले भने, ‘ओहो ! हो र बाजे ? कति भो छोराले दसैँ खर्च भर्न थालेको ? आफ्नो हर्केले त सुको पठा’ छैन। चार वर्ष भो घर छोड़ेको। खाई पाई गरेको शिक्षकको जागीर पनि छोडेर विदेश भौंतारियो।’
उनी झिनो स्वरमा भन्छ्न्, ‘त्यस्तो बाउआमाको मतलब नगर्ने त थिएन त्यो ! अलिक गारै पो छ कि त्यसलाई ? खै के हो ?’

‘गारै होला र त,’ धनराजले भने, ‘विदेशको ठाम। अहिलेको समय पनि त त्यस्तै छ। सबैतिर महामारीले पिरोलेको छ। ज्यान मात्र जोगाए पनि भो अहिलेको बेलामा। पैसो त के हो र ? हातको मैला !’

‘सही हो बाजे। ज्यान भन्दा ठुलो के छ !’

सुलेमान र धनराजले सँगै बसी चिया पिए, हिसाब किताब र पैसाको चाँजोपाँजो मिलाएर धनराज ऋण तिरी घरतिर लागे।

‘लु हेर, धनराजका छोराले त बाउआमालाई खर्च पनि भर्न थलिसकेछन् !’ उनी सुस्तरी आफैँलाई भन्छन्, ‘हाम्रो हर्कमानले चैँ कमाउनै नसेकका पो हुन् कि ? खै के हो के हो ?’

उनी तमाखु ट्वार्रर तान्दै एकछिन टोलाउँछन् । ‘यो चार पाँच वर्षदेखि यता सबै तहसनहस भा’छ। झन् जैलेदेखि हर्कमान विदेसियो, त्यो वर्षदेखि त एउटा न एउटा दुःख नपरेको भनेकै छैन। त्यत्रो मास्टर भैसकेको छोरा, नजा भन्दा मानेन। ऊ हिडेकै वर्ष भूकम्पबाट जसोतसो ज्यान त बचाइयो, तर यो पसलको फाटेको भित्ता भने अहिलेसम्म सिलाउन सकेको छैन। सन्तान हुर्केर सुख पाउँला भन्नु पनि मनको लड्डु घिउसँग खानु भनेझैँ हो रै’छ !’

उनी पसलको चिरा परेर फाटेको भित्ता हेर्छन्। ‘आम्मै! भूकम्प पनि कम्ताको थियो र ? धन्न घर ढलेन। बल्ल भूकम्पको मारबाट अलिकति राहत के मिलेथ्यो, फेरि यो रोगको महामारीले पसल ठप्पै भयो। जय होस्, धनराजको। यस्तो बेलामा पनि ऋण चैँ तिरे। अब हर्केकी आमालाई मुखमा बुझो लाउन पनि त पाइने भो,’ उनी लामो सासमा तमाखुको धुवाँ निल्छन्।
xxx

हर्कमानको हवाईजहाज काठमाडौँको विमानस्थलमा उत्रियो। घरमा सुलेमान र मिठी दुवैलाई ऊ आउने अत्तोपत्तो छैन। ऊ विमानस्थलबाट टेक्सी समाएर सोझै गोंगबुको बस बिसौनीतिर लाग्छ। बाउले कति दुःख गरेर शिक्षकसम्म बनाइसकेका थिए। तर उच्च महत्त्वाकांक्षाले गर्दा जीवनमा गलत निर्णय लिएँ भन्ने पश्चतापले उसलाई हिजोआज ज्यादै पिरोलेको छ। दुःखै भए पनि नपुग त केही थिएन ! खेतीपाती थियो। बाको पसल अनि वस्तुभाउ, सबै त थियो ! ऊ टेक्सीबाट उत्री काँधमा झुन्डिएको कोट एउटा हातले मिलाउँदै सोच्छ्- यही दशा लागेको रै’छ र त !

आमपीपल जाने बस उनी चढ्नेबित्तिकै छुट्यो। करिब साढ़े चार घण्टाको उकाली-ओरालीपछि बस आमपीपलको उचाईमा गएर रोकिन्छ। आफ्नो गाउँ, आफ्नो ठाउँ । एउटा मीठो अनुभूतिले छाती ढक्क हुन्छ उसको। त्यही पहाडको उचाइमा उभिएर ऊ आफ्नो विगतलाई सम्झन्छ । चार वर्ष भयो, यो रातो माटोको पाहाडको उचाई त्यागी आफ्नो महत्त्वकांक्षाको उचाई बोकर घर छोडेको। समय बितेको पत्तै भएन। चार वर्षसम्म पछाडि फर्केर पनि हेरिनँ। आज जब पछाडि फर्केर हेरेँ, अब आफ्नो लागि केही सम्भाव्यता नै देख्दिनँ।

उचाइमा बहेको शितल हावालाई लामो स्वासबाट भित्र हुल्दै ऊ फेरि सोच्छ- उचाइको कति महत्त्व हुन्छ मानिसलाई ? आफ्नो कदको उचाइदेखि लिएर आफ्नो घरको धुरीको उचाइसम्म। आफूले टेकेको जमीनको उचाइदेखि लिएर आफू माथिको आकासको उचाइसम्म। हर मानिसलाई त्यो उचाइ भेट्ने चाहना हुन्छ, जुन उचाइमा उसले आफूबाहेक हजारौँ अरु पुगेको देख्छ। जब उचाइमा पुग्ने चाह हुन्छ, तब अरु केही देखिँदैन, केबल त्यो उचाइ। एउटा बालक आकासको चन्द्रमा छुन खोज्दै रोएझैँ । अर्को बालक बाबाको काँध चढी आफू मुनिको धर्ती हेरी रमाएझैँ। प्रेमीले प्रेमिकालाई आकासको तारा टिपिदिने बाचा गरेझै, यहाँ उचाइमा रहेका हरचीजहरू पाउने उच्च अभिलाषा राखिन्छ। उचाइमा टेकी तल हेर्दा सधैँ गर्वित भइन्छ। त्यसैले मानिसलाई जीवित छँदा सफलताको शिखर चुम्नु भनी आशीष दिइन्छ अनि मृत्युपश्चात पनि मानिसको स्वर्गमा बास होस् भनिन्छ। स्वर्ग पनि त माथि नै छ भन्ने अनुमान छ। अनि नर्क तल। नर्क जान को खोज्छ ? तल रहन को चाहन्छ ? तर ज़िन्दगीमा हरेक उचाइ भेटन त्यति सहज कहाँ ?

एक उच्च जीवनको परिकल्पना म विदेसिएँ, ऊ ठान्छ, तर मेरो उचाइ न त विदेशिएर बढ्यो या त फेरि यही रातो माटोको पाहाडको शिरमा टेकेर। आखिरमा के रै’छ त उचाइको मापन ? अरु सहजै पुगेझैँ देखिने त्यो उचाइ आफ्ना लागि किन यति कठिन ?

विविध सोचका तरङ्गसँगै तरङ्गित हुँदै हर्कमान सानो सूटकेस घिसारी आमपीपलको उकालो अझै उक्लदै छ। सम्झनाका लहरहरू फर्किएर मस्तिस्कमा छोएझैँ विगतलाई पनि फर्काएर त्यही गोरेटोमा ल्याउन सक्ने भए ! के गर्नु ? जे बित्यो बित्यो ! दुनियाँको सेरोफेरो लाएर पनि आखिरमा यही उकालो बन्यो अन्तिम मञ्जिल। अब त जीवनका बाँक़ी दिनहरू कसरी बिताउने भन्ने मात्र सोच छ, ऊ निरास हुन्छ।
XXXX
साँझ झमक्क पर्यो, झ्याउँकिरीको आवाज निकै परदेखि सुनिन्छ। पसल बन्द गरी सुलेमान घर फर्किसके। भित्र सुत्ने कोठाको झ्यालअगाडि उभिएर उनी बाहिर नियाल्दै सोच्छन्, हिजोआज चाडबाडको कुनै उत्साह नै छैन। कती सुन्य छ यो वर्षको पनि दशैं। न घरभित्र रौनक न घरबाहिर। न त दशैं बाज़ार छ न त मेलाको रमझम नै।

ऊनी सम्झिन्छन्, ऊ त्यो बाटोपारि दशैंको मेला लाग्थ्यो। रोटे पिङ र लिंगे पिंगहरू ठडिन्थे। फूल र माला, मसला र फलफूल अनि खसी बोकाको बजार लाग्थ्यो। त्यो डाँडाको भिरमा ठडाउने रोटे पिङ चढाउन हर्केलाई सकी नसकी साइकलको अगाडि डाँडीमा राखी त्यो उकालो चढ़ाउँथे। बाऊ आमाको माया सन्तानले कहाँ सम्झन्छन र?
अझै झ्याल बाहिरै हेर्दै ऊनी आफैसँग भन्छन्, ‘कसरी बदलियो समय? हो रै’छ, समय नै जीवन अनि जीवन नै समय भनेको। दुबै बितेको पत्तो नहुने अनि एक पल्ट बितेपछि फिर्ता नहुने।’

उनी झलक्क बिहान धनराजले फिर्ता गरेको रकम सम्झन्छन् र खल्तीबाट निकाली बिस्तरामा राख्छन् । निकै कमाएजस्तो छ धनराजका छोराले। यसरी बाउलाई पैसा पठाउनु भनेको सानो कुरो हो र? हाम्रो हर्के पनि त उ संगसंगै गएका ! खै त? कसरी बदल्लियो हाम्रो छोरो! ऊनी लामो सुस्केरा निकाल्छन।
उता मीठी साहुनी चिया बोकर कोठामा पसिन। बिस्तरामा साटिएको नोटहरू देखेर आश्चर्य मान्दै सोधिन, ‘कहाबाट आयो यत्रो पैसो? हर्केले पठायो कि के हो?’ उनको स्वर उत्सुकता र खुसीले भरपुर छ।

‘तिम्रो छोरोले हैन, धनराजको छोराले चैई पठाएका,’ बुढाले भने।

‘चाहिएको कुरा गर्नु नि ! धनराजको छोराले तपाईंलाई किन पठाउनु पैसो ? कैले सही कुरा गर्दैनन् यी साहु मसँग,’ ऊनी झोँक्किन्छिन् ।

‘हो भन्या। धनराजले ऋण तिरे। उनको छोराले दशैं खर्च पठाएका रे। उधारो दियो भनेर कराउँथ्यौ नि ! लौ हेर ! तिरी हाले त !’ उनी एकछिन अडेर भन्छन्, ‘राख त्यो पैसा। जे भए पनि बाजेले तिरे ऋण। दसैँमा खर्च गर्नलाई केही त भयो हामीसँग।’

मिठी दङ्ग परिन् । ‘गज्जबै गरे त बुढ़ाले तर क्यार्नु। अचेल दसैँ रमाइलै छैन,’ उनी पनि झ्यालबाहिर हेरी टोलाउँछिन्।

‘हो त,’ सुलेमान भन्छन् अनि आफ्नो चस्मा खोली सिसाको धुलो पुस्दै उनले भने, ‘सबै हिजो जस्तो लाग्छ मिठी तर चार वर्ष भैसक्यो हर्के हिँडेको पनि। खै फर्कने त कुरै गर्दैन ! हिजआज त फुन पनि त्यति गर्दैन।’

मिठी साहुनी पिलपिल आँसु झारी रुन्छिन्, ‘सकुसल रहोस्। खुसी र सुखी रहोस् मेरो हर्के ।’

अनायस बाहिरबाट कसैले ढोका ढकढकाउछ।

‘यतिखेर को आयो फेरि?’ दुवै फेरी कान थाप्छन् । कानमा हर्कमानको स्वर गुन्जन्छ । उनीहरू झस्किन्छन् ।
‘तपाइले नी सुन्नुभो ? हर्कमान ? हर्कमानको झै छ त स्वर।’ मिठी जर्याकजुरूक ऊठी ढोकातिर लाग्छिन् । सुलेमान साहु पनि पछि लागे।

ढोका उघारेर हेर्दा ढोकाअगाडि हर्कमान उभिइरहेको छ । छेउमा एउटा सानो सुटकेस अनि काँधबाट कोट गमलङ्ग तलसम्म झरेको। सपनाझैँ लाग्छ सुलेमान बुढ़ाबूढ़ीलाई।

‘हर्कमान,’ मिठी छोराको अनुहारतिर हात लग्दै आफूलाई विश्वास दिलाउन उसलाई छुन्छिन्।

‘आमा,’ भन्दै ऊ टाउको निहुराएर भन्छ, ‘ढोगेँ।’

सुलेमान मिठीको पछाडि हर्षविभोर भई उभिएका छन्। हर्कमान बिस्तारै अघि बढेर बालाई पनि ढोग दिन्छ।

‘तैँले त हामीलाई चौंकाइदिस् त बाबु। बिनाखबर ? अकस्मात्। विश्वास गर्नै गारो भो,’ उनी के गरुँ कसो गरुँ गर्दै भन्छन्, ‘सबै राम्रै त छ?’

हर्कमान चुप लाग्छ।

‘कति दुब्लो भएछ यो !’ आँखाभरि आँसु पार्दै मिठीले भनिन्, ‘म म्वही ल्याउँछु। उकाली चढेर कति गर्मी भयो होला !’

उनी भान्छातिर लागिन्। उनको अनुहारमा अपारको खुसी छ। के गरुँ र कसो गरुँ भन्ने भावले उनी हड़बड़ाएकी छिन् । सुलेमान फेरि सोध्छ्न्, ‘सबै ठिक त छ ?’

हर्कमान एकटक लाउँदै बुढ़ा बालाई हेर्छ। भूकम्पले जीर्ण पारेको घरझैँ बा पनि यो चार वर्षमा कस्तो जीर्ण भएछन्, ऊ सोच्छ।

‘तपाईं त के सारो गल्नु भएछ बा,’ ऊ भन्छ, ‘आराम त हुनुहुन्छ नि ?’ उसको आँखा रसाउँछ। ‘अब म फर्किन्न बा। तपाईंहरूलाई रूवाएर हिँडेको मैले सजाय भोगेँ।’

सुलेमान केही भन्न सक्दैनन् । हर्केले कुरा अन्तै मोडेको देख्दा उनको मनमा चसक्क पर्छ। सोच्छ्न्, के भएछ उता त्यस्तो र यो सुटुक्क फर्कियो ? अनुहार पनि निन्याउरो छ। ज्यान पनि निकै घटेछ । तर जे होस्, छोरा सकुशल फर्कियो, त्यै ठूलो कुरा। उनी खुसी अनुहार लाउँदै भन्छन्, ‘लु, त्यो त झन् राम्रो। तँ गएदेखि त हामी पो टुहूरो जस्तो भएका थियौ। न त चाडबाड, चाडबाडझैँ लाग्ने। झन् दसैँ त कैले नआ’ओस् झैँ हुन्थ्यो। यो पालि भने दसैँको रौनक आफ्नो घरमा पनि हुने भो ।’

मिठीले हतारहतार गर्दै एक गिलास म्वही अनि अण्डा र चिउरा प्लेटमा लिएर आइन्।

‘ल बाबु। यो म्वही पि हाल। कती प्यास लागे हुँदो हो। ज्यान पनि सुकेर कस्तो भएछ,’ उनी यताउता हेर्दै सुलेमानलाई भन्छिन्, ‘ए साहु, ऊ त्यो मुढा यता ल्याउनुस् त !’

सुलेमानले हत्त न पत्त चोयाको मुढा तानेर छोराको अगाडि राखे। मिठी प्लेट र गिलास मुढामा राखी हर्केको पछाडि जान्छिन। ‘यो भारी कोट कति भिरी राखेको ? खै त म उता राखिदिन्छु,’ यति भन्दै उनले हर्कमानको काँधबाट कोट हटाइन्।

एकाएक कोठामा निस्तब्धता छाउँछ। मिठीको हातबाट कोट खसेर भुईंमा झर्छ। सुलेमान आँखा फाटेर हेर्दै थच्च बिस्तरामा भासिन्छन। हर्कमानको सर्टको देब्रे बाहुला ह्याङ्गरमा सर्ट झुण्ड्याएझैँ झुण्डिरहेछ। मिठीले उनको हात छाम्छिन् । हात भेट्न खोज्छिन् । ‘लौन,’ उनी आफ्नो छातीमा हात राख्दै फेरि सोध्छिन्, ‘के भयो? कसरी? कसरी यस्तो भयो?’

छोराको उदास अनुहार देखेर उनी आफूलाई रोक्न नसकी डाँको छोडेर रुन्छिन्।

हर्कमानको आँखाबाट बर्रर आँसु झर्छ। ‘तपाईंहरूको पसिनाको कमाई मैले माटोमा मिलाएर आएँ। केही छैन मसँग तपाईंहरूलाई दिने। कर्म गर्ने हात पनि बुझाएँ,’ ऊ घुँक्कघुँक्क गर्दै रुन्छ।

ओहो ! यत्रो ठूलो पीडा ! एक्लै कसरी सह्यो होला यसले ? सुलेमान बिस्तारै उठेर छोरा नजिकै जान्छन् । ‘एउटा हात गएर के भो ? अर्को छँदैछ। सबैभन्दा ठूलो कुरा त ज्यान हो। चिन्ता नलिए। अब हामी सबै साथ छौँ । सबै ठीक हुन्छ ।’ उनी छोरालाई अँगालो मार्दै लुकेर आँसु पुस्छन् ।

हर्षोल्लासको मौसम एकाएक विचलित हुन्छ, मनमा छटपटी र तनाव बढ्छ र पनि मुटु भित्रको पीडा लुकाई दुवै सुलेमान र मिठी आफूलाई हर्कमानको अगाडि खुसी देखिने प्रयत्न गर्छन् ।

अनिद्रामा रात बितेको दुवै बुढाबुढीलाई पत्तो हुँदैन। दुवै निस्तब्ध छन् । के भन्ने, कसरी एकअर्कालाई सम्झाउने, उनीहरूलाई केही थाहा छैन। बारम्बार निस्किएका सुस्केरामा उनीहरू एकअर्काको पीडा महसुस गरिरहेछन् ।

‘धन्न ज्यान त रह्यो हर्केको ! भो चिन्ता नगर मिठी। ज्यान भन्दा ठूलो अरु केही हुन्न,’ यति भन्दै सुलेमान आफैँ नमीठोसँग रुन्छन् ।

आज दशैंको टीका, पीडासँगै खुसी मिसाएर सुलेमान र मिठी छोरालाई रातो टीका निधारमा लगाउँदै आशीष दिन्छन्। मिठी सोच्छिन्, हाम्रो आशीष किन यसलाई लागेन ? किन यसले यत्रो दुःख भोग्न पर्यो ? यत्रो दुर्घटना अनि पराई देशमा ! कसरी सह्यो होला?

हर्कमानलाई लाग्छ, दुनियाँमा न त बाउआमाको आशीष लाग्छ, न त सत्रुको सराप। तर सुलेमान भने लामो निश्वास लिदै सोच्छ्न्, विगत चार वर्षको दसैँ कति खिन्नतामा बित्यो। हर्केको अभाव, भूकम्प र महामरीले दिएको तनाब ! आज जे भए पनि छोरा त सामुन्ने छ ! छोरालाई हेर्दा मनमा जति नै पीडा भए पनि ऊ सहितको दसैँ आज पूर्ण भएको छ। आफ्नो परिवारका सबै वरिपरि हुँदा चाडबाड, चाडबाडझैँ लाग्छ।
@ममता मिश्र
अस्ट्रेलिया