समदृष्टि – बाबुराम पोखरेल

लेखक बाबुराम पोखरेलको समालोचना सङग्रह हो समदृष्टि ।
बाबुराम पोखरेलले पुस्तकमा देवकोटाको मुनामदन देखि भूपीको जीवनदौड सम्म १४ सर्जकको सिर्जना माथि समालोचना प्रस्तुत गर्नुभएको छ ।

”सैद्धान्तिक विमर्शका आधारमा हेर्दा समालोचक बाबुराम पोखरेलको समालोचना लेखनमा ऋणात्मक पक्षहरु कम र धनात्मक पक्षहरु प्रबल देखिन्छ ।” पुस्तकमा प्रा.डा देवी नेपाल लेख्नुहुन्छ, ”उनको समदृष्टि समालोचनाभित्र समेटिएका १४ ओटा समालोचनाहरुमा २०५७ सालदेखि हालसम्मको लेखकीय समयसीमा देखिन्छ । धेरैजसो यी समालोचनाहरु पूर्वप्रकाशन भइसकेका छन् र यिनको एकत्रित वा सङ्कलित रुप नै ‘समष्टि’ हो । ‘सामाजिक खण्डकाव्य मुनामदनभित्र द्धन्द्धात्मकता’ यस सङग्रहमा सङ्गृहीत पहिलो समालोचना हो । ‘प्रतिभा’ वर्ष ६ अङ्क ४ वैशाख २०५७ मा प्रकाशित यस समालोचनामा महाकवि देवकोटाको अमर कृति मुनामदनभित्र प्रयोग भएको द्धन्द्धात्मक विषय, भाव र विचारका सन्दर्भमा गहन विश्लेषण गरिएको छ । यस समालोचनामा समालोचक पोखरेल एक वस्तुपरक द्रष्टाका रुपमा देखिनुभएको छ र उहाँले पाश्चात्य साहित्यका वर्डस्वर्थलगायतका कविहरुद्धारा प्रयुक्त स्वच्छन्दतावादी लेखनका सामीप्यमा रहेर महाकवि देवकोटाको स्वच्छन्दतावादी द्धन्द्धात्मक चिन्तनपरकताको गहिरो विश्लेषणात्मक दृष्टिकोणलाई सोदाहरण प्रस्तुत गर्नुभएको छ ।”

लेखक बाबुराम पोखरेल लेख्नुहुन्छ, ”रचनामा जस्तो कल्पना र भावुकताले महत्त्वपुर्ण स्थान समालोचनामा ओगट्न सक्दैन । यहाँ तार्किक र बौद्धिक क्षमताको परिपाकमा मस्तिष्कको बोधात्मक क्षेत्र सक्रिय बनेपछि एउटा विवेचनापूर्ण नतिजा उजागर हुन्छ । यही नतिजामा कृतिकारको मूल्य निर्धारण हुन्छ साथै रचनाकारलाई परिष्कृत हुन सघाउँछ । यो एउटा साहित्यिक कठिनतम बाटो हो । यो बाटो हिँड्ने हिम्मतसम्म मैले गरेको हुँ, सम्पूर्णता पर्गेल्न त कसैले पनि सकेको भान हुन्न । यस समालोचनात्मक कार्यलाई निरन्तरता दिन मैले सहयोगको अपेक्षा पनि गरेको छु । यस कृतिमा सङ्गृहितमध्ये केही आलेखहरु यस अगाडी नै साहित्यिक पत्रिकाहरुमा प्रकाशित भएका थिए । यसमा केही परिमार्जनसहित यहाँ समावेश गरिएका छन् भने केही आलेखहरु नयाँ छन् ।”

पुस्तकलाई पूर्वाञ्चल साहित्य प्रतिष्ठानले बजारमा ल्याएको हो । १४ ओटा समालोचना समेटिएको पुस्तकको मूल्य दुई सय रुपियाँ रहेको छ ।