उसैले जन्माएको छोरो – सरला शर्मा

सरला शर्माको लघुकथा संग्रह हो ‘उसैले जन्माएको छोरो’ । शर्मा वि.स. २०२४ असार ६ गते कट्टेलडाँडा, गोरखामा जन्मिनुभएको थियो । उहाँ चितवनमा घरगृहस्थी सम्हालिरहनुभएको छ । साहित्यिक पुस्तक अध्ययनमा विशेष रुचि राख्ने सरलाको औपचारिक अध्ययन भने एस.एल सी.सम्म सीमित हुन पुग्यो ।

”जुन होलाजस्तो लागेकै थिएन, अन्ततः त्यही भयो ।देश(विदेशमा दिग्गज(दिग्गज साहित्यकार, कथाकार हुनुहुन्छ ।” सरला शर्मा पुस्तकमा लेख्नुहुन्छ, म सानु शैक्षिक योग्यता भएकी एक गृहिणी आज कथाकार भएकी छु। यसमा मलाई जति खुशी लागेको छ, त्यसभन्दा धेरै सङ्‌कोच लागिरहेको छ । पहिला पहिला पनि म केही न केही लेखिरहन्थें। एक(दुई दिनपछि च्यातेर फाल्थें। पढ्दै गर्दा लेख्ने रहर लाग्थ्यो। घरमा साहित्यिक पत्रिका ‘गरिमा’, ‘मधुपर्क’ आदि नियमितजसो आउँथ्यो । मधुवन पौडेल, भागीरथी श्रेष्ठ, माया ठकुरी, राशी पाण्डे, राजेन्द्र चोथाले आदिका कथा पढ्दै गर्दा आफू पनि केही लेखूँजस्तो हुन्थ्यो । पछिल्लो समयमा जगदीश घिमिरे, कृष्ण धरावासी, राजु क्षेत्री, प्रोल्लास सिन्धुलीय आदिका कथा एवम् सिर्जनाले मलाई ताने र केही लेख्न प्रेरित गरे । जे जानें, त्यसलाई फेसबुकमा लेख्दै जान थालें। एक ठाउँमा बसेर ‘अब केही लेख्छु’ भनेर म लेख्नै सक्दिनँ । कुनै घटना वा कुराले छोयो भने लेखिहाल्छु । त्यसैले होला, मलाई हरबखत लागिरहन्छ( म कुनै साहित्यकार वा कथाकार होइन, सिर्फ घटनाप्रेरित टिपोटकर्ता हुँ। लघुकथाको उठान, पेटका कुरा र कथाको बैठान कसरी गर्ने भनेर सोच्न थाल्यो भने त झन् लेख्नै जान्दिनँ । जेजस्तो लेखें, लहडमा लेखें, कथाकार हुँला भनेर लेखिनँ। मैले फेसबुकमा लेखेका कुरा पाठकलाई कथाजस्ता लागे क्यार, प्रशंसा गरिदिनुभयो, मेरो उत्साह बढ्दै गयो । लेखेका कुरा फेसबुकमै पोस्ट गर्थे । साथीहरूले लाइक, कमेन्ट गर्नुहुन्थ्यो । सबै जम्मा गरेर एक दिन छपाउँछु भन्ने भित्री रहर त मनमा कतै थियो नै ।”

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । ४९ ओटा लघुकथा संग्रहित पुस्तकको मूल्य दुई सय ७५ रुपियाँ रहेको छ ।